अब कहिले शहर जान्न

- विश्वराज अधिकारी

‘अँ हँ, म त कहिले अब शहरतिर जान्न, बरु यै गाउँमा जिवन बिताउँछु। यै चिया पसलमा, यसरी नै चिया बेचेर। कति आनन्द आउँछ यो बाटो हिँडेर शहर पस्नेहरु र शहरबाट गाउँ झर्नेहरुको कुरा सुन्न, यो चिया पसलमा बसेर उनीहरुले चिया खाँदै गफ गर्दा। यहाँ कति रमाईलो छ कति। बिना सित्ति मुगलिन झरेर दुखमा मात्र पाएँ। मलाई त अब शहरको मान्छे देख्यो कि डर लाग्छ। तिनीहरुले ठग्लान कि भनि म त पिरोलिन थाल्छु, शहरका मान्छेहरु मेरो अगाडि पर्यो कि। अँ हँ, म त एक दुइ तिन, अब कहिले शहरतिर झर्दिन’ म सुन्तलीको कुरा कतै न अलमलिएर सुन्दै थिएँ। सुन्तलीको कुरा सुन्दा मेरो चिया सेलाएको मैले पत्तो पाइन।
शहरको मान्छे देख्यो कि डर लाग्छ, अब म शहर कहिले पस्दिन भन्ने सुन्तलीको भनाइले, उनको त्यो भनाइमा गहिरो अर्थ रहेको संकेत गर्यो। र त्यसैले पनि अझै प्रष्टसँग बुझ्न मन लाग्यो, त्यसको अर्थ वा भनौ उनको शहरप्रतिको त्यस्तो अनुभूति। एक किसिमले भन्ने हो भने म ब्यग्र नै भए, सुन्तलीको वर्तमान र विगत दुबै थाहा पाउन। मेरो मुखबाट निस्क्यो- के गरे नि त्यस्तो शहरका मान्छेहरुले, हँ सुन्तली? सबैले उनलाई सुन्तली भनेको हुनाले मैले पनि सुन्तली भने। उनको वास्तविक नाम के थियो मैले थाहा पाउने प्रयास गरिन पनि।
सुन्तलीले उम्लिंदै गरेको दुध-पानीमा चिया पत्ति हालिन। छेउका ग्राहकहरुलाई भनिन पनि ‘एकै छिन है दाइहरु, चिया पाक्नै थाल्यो, धेरै बेर लाग्दैन। एकै छिन उम्ल्योस, है यो चिया।’
सुन्तलीको चिया झै मेरो मनमा पनि धेरै प्रश्नहरु उम्लिरहेका थिए। र ती प्रश्नहरु पोखिन खोज्दै थिए, सुन्तली माथि। मैले फेरि प्रश्न गरे- के गरे त्यस्तो शहरको मान्छेले हँ सुन्तली, हामीले पनि सुन्न पाए हुन्थ्यो।
सुन्तली एकै छिन घोरिइन। उम्लिंदै गरेको चिया चलाउँदै भनिन ‘के कुरा गर्नु त्यस्तो, त्यहाँको? छि, घिन लाग्दो कुरा। त्यस्तो पनि मान्छे हुन्छ कहिं कतै मुलुक संसारमा, भन्नुस त, सर?’ हाम्रो पूर्व कुराकानीको क्रममा म कुनै अफिसको कर्मचारी हो र पहाडको कुनै गाउँमा रहेको कुनै अफिसको निरिक्षण गर्न त्यतातिर लागेको भन्ने कुरा सुन्तलीलाई थाहा भइ सकेको थियो। त्यसै कारण उनले मलाई सर भनेको हुनु पर्छ।
सुन्तलीको कुरा सुने पछि मैले हाँस्दै भने- हेर, बैनी, मलाई दाई भने हुन्छ। सर भन्नु पर्देन। अँ बरु तिम्रो त्यो कुरा सुनाउन।
मेरो कुरा सुने पछि सुन्तलीले मेरो मुहारतिर अप्रत्यासित किसिमले हेरिन। तर निमेष भर मै भन्न आरम्भ गरिन ‘त्यस्तो पनि मान्छे हुन्छ दाइ?’ यो एउटा वाक्य बोले पछि चुप लागिन। एकै छिनको मौनता पछि फेरि भनिन् ‘म मुग्लिनको एउटा होटलमा काम गर्थ्ये। ऊ, त्यो होटलमा महिनामा दसौं पन्द्रौ चोटि आउँथ्यो। त्यही खाना खानथ्यो र कहिले ट्रकमा तर धेरै जसो होटलमा नै सुत्थ्यो। ट्रक चलाउथ्यो। कहिले बीरगंज त कहिले बिराटनगरबाट, कहिले भने भैरहवाबाट पनि सामान ल्याउँथ्यो काठमाडौ पुर्याउनका लगि। जहिले पनि सोधे भने उसले भन्थ्यो -सामान मात्रै साउको हो, ट्रक त मेरो नै हो। तर म उसको ट्रक देखेर, धनी होला भनेर उसको पछि लागेको भने थिन, है। मलाई त उसको मिठो कुराले पो रक्सीले झै लठ्याएको थियो। रक्सीको नसमा रहेको मान्छेले जता पनि आनन्द नै आनन्द देखे झै म पनि उसको कुरा सुनेर हराउँथे कल्पनाको संसारमा। पुग्थ्ये कता कता। जता पनि उसको माया पोखिएको देख्थ्ये। मन भरि आनन्द नै आनन्द हुन्थ्यो।’
ग्राहकहरु सबै हिंडि सकेका थिए। हामी दुई मात्र भएको स्थितिले सुन्तलीलाई खुलेर कुरा गर्न झनै सजिलो पारेको थियो। सुन्तलीले फेरिन भनिन् ‘ऊ सुतेको कोठामा गएर म राति निकै बेरसम्म कुरा गर्थ्ये। कहिले काहिँ त रातभरि नै पनि। तर त्यस्तो अरु कुनै मान्छेसँग कहिले पनि गरिन। उसँग मात्र त्यस्तो……… भएको थियो। कुरा गर्दा जहिले पनि उसले भन्थ्यो- हेर सुन्तली यो त्रिसुली नदी जहिलेसम्म रहन्छ यो लोकमा, हाम्रो माया पनि त्यसरी नै रहि रहने छ, यो दुनियामा। हाम्रो माया यो त्रिशुली नदीको पानी जस्तै सँगलो र पबित्र छ। मेरो माया यो त्रिशुली नदीको दुई किनार हो अनि त्रिशुली नदीको पानी चाहिँ तिम्रो माया। जसरी नदीका दुइ किनारहरु र पानी जहिले पनि साथै हिंडछन् त्यसरी नै हामी हिँड्ने छौ। यो जुनीमा मात्र होइन, अर्को जुनीमा, अर्को जुनी त के सात जुनीमा। हामी साथ रहने छौ। हाम्रो साथ जुन र आकास जस्तो हुनेछ। जहिले पनि मिलेर बस्ने। कसैले छुटाउन सक्ने छैन हामीलाई। बुझेउ सुन्तली।’
यति भनेर सुन्तली एक छिन चुप लागिन। सफा गरेका गिलासहरुलाई मिलाइर राखिन पनि। तर उनको मौनता भने निकै बेर कायम रह्यो। मनको मौनतालाई तोड्द मैले प्रश्न गरे- अनि त्यस पछि के भयो त सुन्तली?
मतिर हेरेर भन्नुको साटो उनले चुल्होतिर हेरेर भनिन् ‘म दङ्ग परेको थिए। होटलको साउको कचकच सुन्दा सुन्दा दिक्क लागेको थियो, त्यसबाट छुटकारा पाइने भयो, मनमा त्यस्तो पनि लागेको थियो। त्यति मात्र हो, अब घरजम गरेर नै बस्न पाइयो। एउटा भरपर्दो मान्छे भेटियो जिवन बिताउनका लागि। अशल साथी पाइयो दुख सुख साट्ने, भन्ने टुङ्गोमा पुगेकी थिएँ म।’
यति भनेर सुन्तली केही क्षण चुप लागिन। म भने उनको विगत जान्न ब्यग्र थिएँ। मेरो मुहारको ब्यग्रता बुझ्दै उनले भनिन् ‘मलाई अति नै माया गर्थ्यो, उसले। जहिले पनि काठमाडौंबाट फर्किँदा केही न केही ल्याउँथ्यो, मेरो लागि। साडी, जुत्ता त कति दियो कति, उसले। त्यति मात्र हो एक जोडि टप पनि दिएको थियो कानमा लाउने। अनि टप दिँदा हाँस्दै भनेको थियो - सुन्तली तिलहरी र पोते चाहिँ अहिले होइन त्यै बेलामा दिन्छु, जुन बेलामा केटाहरुले दिने गर्छन, केटीलाई। त्यै बेलामा, बाजा बजाउने बेलामा, दिउँला है। उसको त्यो कुरा सुनेर म आकाशमाथि पुगेकी थिएँ, मन भित्रको खुसी मेरो पखेटा बनेर, पुर्यायो त्यसले मलाई आकाशमाथि…………….।’
सुन्तलीको पछिल्लो कुरा सुनेर म अलि थप आश्चर्यमा परे। मेरो थप आश्चर्य थियो सुन्तलीका साहित्यिक कुरा। सुन्तलीका साहित्यिक कुरा सुनेर म दङ्ग परेको थिएँ। उनको त्यो पछिल्लो भनाईलाई बिचमै रोक्दै मैले प्रश्न गरे- पढे लखेको जस्तो लाग्छेउ नि तिमी त, कुरा गराईले, हँ सुन्तली।
सुन्तलीले तत्काल जबाफ दिन ‘यस यल सी पास गरे नि, गाउँ कै स्कूलबाट।’
मैले तत्काल नै प्रसंग परिवर्तन गर्ने उद्देश्यले भने ‘अँ त्यस पछि के भयो त, हँ, सुन्तली? सुन्तलीले भनिन् ‘ऊ, मैले काम गर्ने होटलमा आउने र राति त्यहाँ बस्ने क्रम लामो समय सम्म चलिरह्यो। एक वर्ष भन्दा पनि बढीसम्म। अनि हाम्रो भेटघाट र कुराकानीको क्रम पनि त्यसरी नै बाक्लो हुँदै गयो। पछि त कस्तो पनि हुन थाल्यो भने ऊ होटलमा बास बस्न न आएको दिनमा, उसलाई नभेटेको दिनमा, मैले केही ज्यादै नै वहु मूल्य कुरा हराएर खोज्नु पर्ने जस्तो। त्यति मात्र हो, ऊ नभएमा म त बाँच्न नै नसक्ने स्थितिमा पुगे। त्यस्तो सम्म स्थितिमा पुर्यायो उसको त्यो पापी मायाले मलाई।’
सुन्तलीले आँखाको आँशु पुछ्दै फेरि भनिन् ‘एक चोटि ऊ काठमाडौ गएको एक महिना भन्दा बढी हुँदा पनि फर्केन। म यता पानी बिनाको माछा हुन थाले। आफूलाई रोक्ने नै गाह्रो भयो, मलाई। पुगे उसलाई खोज्न, बीरगंज नै। उसले आफ्नो, घर कुन शहरमा हो त्यो चाहिँ भनेको थिएन, तर बसाई भने बीरगंजको बस पार्कको छेउ छाउमा छ भनेको थियो। बीरगंजको बस पार्कको छेउ छाउका घरहरुमा खोंजे, सोधें उसको बारेमा, एक हप्ता नै लगाएर। तर, कतै न त ऊ, न त ऊ बसेको घरनै भेटियो। मुगलिनबाट एउटा भाई पर्नेलाई साथमा लिएर गएको थिएँ, त्यो भाई न भइ दिएको भए म त एक्लै झनै कति भौतिरन्थ्ये होला त्यति ठूलो शहरमा। निरास भएर बीरगंजबाट फर्किने निधो गरे। मुगलिन पनि होइन आफ्नै घरतिर जाने टुङ्गोमा पुगे। एक हप्ताको बसाई सक्याएर, बस पार्कमा पुगेर भौतारिँदै थिए, बीरगंजबाट हिंड्न, आफ्नो घरतिर लाग्न। कस्तो अचम्म! उसलाई बस पार्कको छेउमा, उसले चलाउने गरेको ट्रक बनाउँदै गरेको देखे। उसलाई देखे पछि मेरो मन भित्र रहेको खुसी, बाढी झै रोकिएन, अनि फैलियो मेरो आँखा भरि। अति खुसीले गर्दा आँखाबाट झरेको आँशु पुछ्दै भने ‘केही समय बीरगंज तिर नै रोकिन्छु, उता आउन पाउँदिन भनेर भन्नु पर्थ्येन। कम छटपटिए म, के भयो किन यता नआएको भनेर? मेरो कुरा सुने पछि उसले हाँस्दै भन्यो- लौ, किन छटपटिएको त्यसरी। मैले भने- बिना कुनै खबर यता यत्रो दिन बस्दा हामीलाई चिंता हुदैंन र। उसले भन्यो- किन चिंता लिनु पर्यो तिमीले मेरो बारेमा? म को हुँ र तिम्रो? मैले आश्चर्य मान्दै उसलाई प्रश्न गरे- म को हुँ तिम्रो भन्ने कुरा, मसँग होइन, आफूले आफै सँग नै सोध न। उसले फेरि भन्यो- म कोही पनि होइन तिम्रो। बढी लामो कुरा न गर। जाउ यहाँबाट, काम गर्न देऊ मलाई। उसको त्यस्तो कुरा सुनेर म आकाश माथिबाट झरे झै भए। मुटुमा शूल नै रोपियो मेरो। भक्कानिएर रुन मन लाग्यो मलाई। तर पनि आफूलाई रोक्दै भने- अनि, तिमीले गरेका ती मिठा मिठा कुराहरु, पोते तिलहरि, अनि सिन्दुरका कुराहरु के थिए? सबै झूठा? अर्थ न बर्थका?’
यति भनेर सुन्तली चुप लागिन अनि रुन पनि थालिन। म पनि मौन नै बसें। अनि त्यस पछि के भयो हँ सुन्तली, भनी सोध्न मन लागेन मलाई। एकै छिन रोए पछि आँशु पुछ्दै सुन्तलीले फेरि भनिन ‘त्यति मात्र भनेको भए त मेरो यो मुटु टुक्रा टुक्रा हुने थिएन। उसको त्यो अर्को कुराले पो मेरो मुटु छिया छिया पार्यो। उसले मलाई के भन्यो दाई, थाहा छ? उसले मलाई भन्यो- तिम्रो फाल्तु कुरा सुन्ने फुर्सत छैन, मसँग। म मात्र होइन त्यो होटलमा तिमी सँग सुत्न आउने सबैले भनेका होलान तिमीलाई, मैले भने जस्तो। म पहिलो मान्छे होइन। यति भनेर ऊ हाँस्यो गललल। छेउमा रहेका उसका साथीहरु पनि हाँसे, गललल।’
सुन्तली रोई नै रहेकी थिन। म उनको छेउमा मौन थिएँ। सुन्तलीको मुखबाट कुनै शब्द निस्किन सकिरहेको थिएन, न त मेरो मुखबाट नै।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 पौष, 2068

लेखकका अन्य रचनाहरु