‘रात ढलेको थिएन’मा डायस्पोरा

- होमनाथ सुबेदी

कवि गोपीकृष्ण प्रसाइँ अगस्त १०, हाङपाङ, ५ ताप्लेजुङको पार्वत्य शौन्दर्यमा जन्मेर हुर्केका हुन् । प्रसाईँ बर्लिन र लण्डनको हिम र हुरी खाएका एम.वि., विएससी (त्रि.वि.वि) गरेर पनि नेपाली नयाँ डायस्पोराका विविध भोगाइबाट उतीर्ण भएका कवि हुन् भन्ने कुरा कविको यही कृतिबाट स्पष्ट हुन्छ ।

२०४८ सालमै ‘एक वेदना दुई कल्पना’ (कवितासंग्रह) प्रकाशित गरिसकेका कवि गोपीकृष्णले २०६७ सालसम्म रातलाई पर्खेर बसे तर रात ढलेन । रात नढल्दै उनले ‘रात ढलेको थिएन’ कवितासंग्रह २०६७ लिएर आए । उनको यो लामो विश्राममा उनले पक्कै उनले नलेखेको न सुनेको होइन । बरु उनको निरन्तर संघर्षको लेखनको अभ्यासको समय थियो । त्यसैले २०४८ बाट २०६७ को कवितासंग्रहमा दाँजेर उनको यो कृति धेरै माथि उठेको कुरा उनका भूमिकाकारले लेखेको पढ्न पाइन्छ ।
बितेको यो २० वर्षमा कवि नेपाली कविबाट नयाँ डायस्पोराका कवि बनेर ‘लालीगुराँस’ बर्लीनमा सम्पादन गरे । त्यस्तै ‘अन्तर्दृष्टि’ त्रैमासिकको उनी अहिले सम्पादक छन् । अनेसास जर्मनको संस्थापक महासचिव युकेमा उपाध्यक्ष रहे अहिले त्यही संस्थाको सदस्य र ताप्लेजुङ्ग युके समाजको संस्थापक सदस्य रहेका छन् । पुरस्कार सम्मानमा पनि ताप्लेजुङ्ग पुरस्कार जित्दै आएका बोलक्कड छवि भएका वकिल हुनुपर्ने गोपीकृष्ण कवि, लेखक भएका छन् । प्रभावशाली वक्ता भएको मैले अनुभव गरेँ । युकेमा सरेपछि उनले अनलाइन साहित्य मञ्च, वेभ कविता प्रतियोगितामा चौथो स्थान र त्यसको लोकप्रिय मतमा प्रथम स्थान प्राप्त गरे । साहित्यिक चौतारो युके बाट कविता पुरस्कार, नेपाली साहित्य विकास परिषदबाट प्रशशापत्र पाएर विभिन्न साहित्यिक संस्थामा उनको दह्रो उपस्थिति जाहेर गरेको देखिन्छ । हाल युकेमा बसेका प्रसाइँको “रात ढलेको थिएन” कविता संग्रहको अध्ययन हो यो ।

“रात ढलेको थिएन” सो कवितासंग्रह गोपीकृष्ण प्रसाइँको दोस्रो कवितासंग्रह हो । यसको प्रकाशक अनेसास केन्द्र हो र यो २०६७मा प्रकाशित भएको हो । १६० पृ. को सात डलर मूल्य सुपथ नै छ । विदेशका लागि नेपाल र दक्षिणपूर्व एसियामा नेरु १३० छ । यो त अति नै सुपथ लाग्छ । यसको आवरण कलामा रमेश पौडेलले अध्यारोमा दियोको ज्योतिको कला प्रवीणाता प्रस्तुत गरेका छन् । पछाडि पट्टिको गातामा रमेश पौडेल, गोपी सापकोटा, जगत नवोदित र प्रतिभा वोहराका अभिव्यक्तिले कृतिको शोभा बढाएका छन् । भित्री पेजका अन्तमा भएको अनेसासका प्रकाशित कृतिहरुको सूचीले पाठकलाई अरु पुस्तक पढ्न चाहिँ त्यो इच्छा पनि पूरा गर्न अनेसासका लेखक र प्रकाशन र लेखनको प्रचारप्रसार गरेको छ । त्यसमाथि गोपीकृष्णबारे जिज्ञासुहरुका लागि कवि व्यक्तिवृत्त राखिदिएकाले कविता लेखन र अन्र्तसंघर्षका अनुभूतिका कुरा त बुझ्न पाठकलाई द्वार खोलेको छ ।

गोपीकृष्ण प्रसाइँको यो कवितासंग्रहमा जम्मा ५७ ओटा कविता छन् । जीवनयात्राक्रममा बर्लिन र बेलायतको अनुभूति यहाँ चित्रित छन् ।

डायस्पोरा के हो ? मूल भूूमिबाट नयाँ भूमिमा सरेका छपालीहरु नै डायस्पोरा हुन् । जुनसुकै कारणले भए पनि राजनैतिक शब्दमा एक राष्ट्रबाट अर्को राष्ट्रमा बसाइसराई गरेका जुनसुकै जातिका पनि समुदायलाई डायस्पोरा भन्ने गरिन्छ । साहित्य र इतिहासमा हिज जिउज डायस्पोरा पढिन्थ्यो युनिभर्सिटिहरुमा तर ऐले अरु पनि जातिका डायस्पोराको अध्ययन भइहेको छ । यसक्रममा हामी नेपाली पछौटे भएर हो कि विश्वका विभिन्न भूभागमा फैलेर आफ्नो डायस्पोरा बनाउन अलि पछि परेछौं र हाम्रो डायस्पोरा साहित्य बन्न समय लाग्यो र अध्ययनको क्रम त भरखर मात्र चलेको छ । उता धेरै न जाउँ । हामी नेपालीको पनि डायस्पोरा भारतमा पनि छन् तर त्यो पनि आज चर्चित डायस्पोरा हैन । आज चर्चित डायस्पोरा न हिजको जिउजको जस्तो हो न हाम्रा परदेशी साहुरेको हो बरु यो ती दुबैभन्दा फरक हो । यसको जग नयाँ संचार र यातायातको विकास पछि बसेको हो । हो नयाँ जगमा समुद्रपार लागेका वा सार्कदेश बाहिर गएका एन्आर्एन्लाई लिइन्छ र यो डायस्पोरालाई म “नयाँ डायस्पोरा” भन्दछु, नेपालका जातिको भएकोले नेपाली नयाँ डायस्पोरा भन्दछु । त्यही नयाँ डायस्पोराको कविको यो डायस्पोरिक कविता संग्रह “अझै रात ढलेको छैन” को अध्ययन हो यो । आज डायस्पोरिक साहित्यमा समुद्रपार नेपालीका विभिन्न जनजातिका आवालबृद्ध र तिनीसित गाँसिएको तत्तत्स्थानीय वस्तुपरक साहित्यको सिर्जना, समालोचना र तिनको इतिकारको अध्ययन प्रारम्भ भएको छ । त्यसै सन्दर्भमा मैले बेलायती नेपाली डायस्पोराका कृतिको बारेमा लेख्न पाएको यो तेश्रो कृति हो । यस अघि बिश्वास तिगेलाको... दोश्रोमा केदार संकेत सुनुवारको .. थिएँ । अनेक डायस्पोराको नेपाली साहित्यको हिसाबले पर्यावलोकन गर्दा बेलायती नेपाली डायस्पोराको साहित्यमा युद्धभूमि बढी चित्रित भएको मैले पाएको थिएँ तर यो गोपीकृष्ण प्रसाईंको कृतिले जनजीवनका अरु पक्षलाई बढी समेटेको पाएको छु ।

गोपीकृष्ण प्रसाइँको यो कवितासंग्रहमा जम्मा ५७ ओटा कविता छन् । जीवनयात्राक्रममा बर्लिन र बेलायतको अनुभूति यहाँ चित्रित छन् । कवि गोपीकृष्ण धाराप्रवाह बोल्न सक्छन् । गहन अध्ययन गर्न सक्छन् पीडा छ । दर्शनको अध्ययन छ । गति यति लयको गन्ध त उनका भाषणमै पनि ओज छ भने यी कुरा कवितामा किन नआउन् ! उनले राम्रा कविता किन न लेखुन ! म त भन्छु उनका लागि यी कविता सामान्य छन् ।
बसेको ठाउँको बारेमा डायस्पोरा बसेको ठाउँको बारेमा लेखिएको कविता हो — “मन्द मुस्कान बर्लिनमा” यसमा विंवात्मक तुलना प्रस्तुत गरिएको छ । “परदेसिएका मनहरु’ यो कविता डायस्पोरिक काविताको राम्रो नमूना हो । यौटा नमुना—

आफ्नो परिचय खोजिरहेछन् विदेशी भूमिमा
बेग्लेै आकाश छ, पदचापहरु बेग्लै छन्
तर संस्कृति तरेली सँगै
मेरा साथीहरु आज नेपालीपन रोपिरहेछन ।

त्यस्तै अर्को—
माटाको सुवास त मार्नु हुन्न
मुटुबाट निक्लेको हाँसोलाई विदेशी संस्कृतिमा
हुवहु आफ्ना भावनाहरु खार्नु हुन्न
आफ्नो उचाइ र ऐतिहासिक धरातललाई
यहाँको पपसंस्कृतिर रोबोर्टको दुनियाँमा रमेर
स्वअस्तित्वलाई तल झार्नु हुन्न ।
–परदेसिएका मनहरु

यसरी परदेसिएको कथा र व्यथासहित बेलायती नेपाली डायस्पोराको रङ्ग भर्छन् उनी कवितामा । बेलायती नेपाली भए पनि उनीहरु नेपालका संविधान, नेता, राष्ट्रियता र नेपाली एकतामा हुन्छ । विदेसिएर पनि मन त चौतारो र रोधी घरमै हुन्छ यो नेपाली डायस्पोराको विशेषता हो ।
वास्तवमा कविको यो युरोपको भोगाइ यात्राक्रममै जस्तो लाग्छ । त्यसो भएपनि कविताले डायस्पोराका नेपालीको पीडालाई उजागर गरेको छ—
आज फेरि वर्तमानको कुरा छ
युरोपको घाममा निक्लेको छ
इतिहास अनि भोगाइहरु सँगसँगै छन्
० ० ० ०
हाम्रा मुस्कानहरु घमाइला छन्
जीवनका पलहरु रमाइला छन्
० ० ० ०
गोसाइकुण्डको यात्रा र देवकोटाका मुनामदनमा
यही घाम छ र त आकाश आफ्नै जस्तो लाग्छ
—घामको फाहा स्पर्श

नेपाली जहाँ गएपनि आफ्नो रन्ध्ररन्ध्रमा संस्कृति बोकेर गएको हुन्छ । त्यसैको सहाराले घाम तापेको हुन्छ ।

मूल थलोको चिन्ता
‘नया धरातललाई टेकेर’ कविताकवितामा विदेसिएको नेपालीले नयाँ वर्षको प्रारम्भमा मूल थलोको पीडा र देशको भविष्यको बारेमा गरेको चिन्ता निराशा हुँदाहुँदै पनि “जीवनहरु पलायन हुनुहुँदैन, बाँच्ने सवालमा कोही पनि रुनु हुँदैन”, भन्दै जीवनप्रति आशा र मूलथलोप्रति शुभकामना छ, छटा छर्छन् ।
नेपाली डायस्पोरामा नयाँ नौलो परिवेशमा टिक्न खप्न कम गाह्रो छैन । कविले “मनै खुलेन” कवितामा “सुन्दर युरोपमा पनि मनको दीप जलेन” पीडा कति छ, हेरौँ पढ्नै नसकिने पीडा—
टाउको देखि पैतालासम्म
मीठो पीडा भनौँ कि यो अदृश्य बेथिति
मर्नु न बाँच्नुको दोसाँध
आखिर कतै पनि तनै डुलेन
तन डुल्नुभन्दा पनि मुख्य कुरा त
मेरो मन खुल्दै खुलेन ।
–मनै खुलेन

यो अगस्त ४, २००६ मा लेखिएको कविता अत्यन्त हृदयविदारक पीडादायी छ ।
अतीतको सम्झना यो डायस्पोराको महत्वपूर्ण पक्ष हो । डायस्पोराको पात्र यो कृतिमा अतीतका स्मृतिहरुले परिव्याप्त छ । जस्तो—

कहिले हलगोरु साउदै आउँछ
कहिले द्यौरालीबाट पात बजाउँदै आउँछ
कहिले दशैँमा रोटेपिङ खेल्न बोलाउँछ ।
–अतीतको सम्झना

राष्ट्रप्रेम “मेरो ताप्लेजुङ” कवितामा प्रकृति र सभ्यताको पुनर्मिलन भएको छ । यसमा मूल थलो प्रतिको अगाध श्रद्धा चाह र प्रेमको परिणाम हो । हेरौँ केही उदाहरण—

ताप्लेजुङ !
मेरो जन्मभूमि, मेरो कर्मभूमि
सभ्यताका बीऊ रोपेर अघि बढेको
धेरै अघिदेखि भाइचाराको नमुना हो ताप्लेजुङ
जातीय सद्भावको गङ्गा–जमुना हो ताप्लेजुङ
–मेरो ताप्लेजुङ

कवि गन्तव्य निकै टाढा देख्छन् तर पुग्ने आशा छ आपूm डायस्पोरामा भए पनि गृह थलोसित आत्मसात हुन अझै अभिलाषा छ त्यसैले उनी लेख्छन्—
टाढा छ घर पुग्न अझै
बाटोमा पर्छ चुवाँ खोला
चाँडोचाँडो हिंडेर मैले चुवाँ तर्नु छ ।
–मेरो ताप्लेजुङ

तुलना
ताप्लेजुङमा पाँच दिन लगाएर नुन बोकर हिंडेका पीडासित बेलायतका रेस्टुरेन्टका कामको पीडा दाँज्छन् कवि । फरक कत्ति छैन । मूलथलो छाडेर रिक्त आत्माले कमाएको स्टर्लिङ पाउण्डको धाकलाई जित्न सक्दैन । कविता “म बाँचिरहेको हुन्छु” मा डायस्पोराबाट मूलथलोको मोहको अनुपम नमुना हो यो कविता । जस्तै—
यसरी म पलपल आफ्नै तिर्सनाले बाँचिरहेछु
डाँडापारिको क्षितिजमा हेर्छ र
आफ्नै भीरपाखामा अमर माया साँचिरहेछु ।
–म बाँचिरहेछु

डायस्पोरामा पत्र थियो, इमेल छ, फेसबुक जस्तो प्रविधि जति प्रयोग भए पनि चिठी साहित्यको निकै महत्व अझै छ । त्यसको आम व्यक्तिको उदाहरण हो— “टाढाबाट” का पत्रहरु आइरहन्छन् तर पनि गति देखिन्न तापनि कवितामा पात्रहरु आशावादी देखिन्छन् । जस्तै—
आँखाहरु रसाइरहे रसाइरहे
द्यौरालीबाट गामबेसी र आफ्नो घरबारी हेर्दै
हिक्का छोडेर पलायन हुँदैछन्
महामारीले आफन्तसँगै टाढा बनायो
–आँखाहरु रसाइरहे रसाइरहे

कवि मूल थलोको संकुचित दायराभित्र हैन विशाल राष्ट्र त त्यसभित्रका चौतर्फी सौन्दर्य र समस्यालाई साथमा बोकेर कविता लेखक भएर त्यसै नै उनी ताप्लेजुङमात्र हैन बाग्लुङ्ग हुँदै जाजरकोटसम्म पुग्छन् ।
“ड्राइभरको जिन्दगी” कवितामा ड्राइभरहरु, ट्याक्सीवालाहरुसँग जोडिएका दुःख र पीडासित कवि कविता लेख्छन । डायस्पोरिक पीडाका चरम अनुभूतिका अभिव्यक्त हो कविता । “यो अलच्छिनी आँसु” २०५७ मा कवि जर्मन थिए वा बेलायत मलाई थाहा छैन तर उनले त्यहाँ डायस्पोरिक पीडाको चरम अनुभूतिको अभिव्यक्ति यो कवितामा दिएका छन् । घृणा, विसङ्गति, आत्मभत्र्सना पराकास्टाहो यो कविता । पीडाको चित्रण गर्दा कलेजकी निष्ठुरीसित क्यान्सरको सेन्सरसित गरिएको तुलना प्रशंसनीय छ । जस्तै—

आज आँसुले
भित्रभित्रै गढेर
मनको उत्तरसम्म बढेर
यो देहभरि क्यान्सर भर्दैछ
मेरो सूचना संयन्त्र र अरण्यरोदनको
पाइलैपिच्छे सेन्सर गर्दैछ ।
–यो अलच्छिनी आँसु

कवि बेताव मनका डायस्पोराका मान्छेको चित्रण गर्दछन् यसरी—
विदेसिनु पिल्सिनु अनि धरतीबाट टाढिएपछि
मन त्यसैत्यसै बरालिईरहन्छ
क्षितिजको तुँवालोले
हुरीबतासको अनिकालले मुख
हो साथी परदेशमा पनि
बेथितिले मन उरालिरहन्छ
–महाकवि तिमी जीवितै छौ

विसङ्गतीको बोध
यो नेपाल होस् वा बाहिर रोग नै भएको छ । जति चेतना बढ्यो, उति यसको क्षेत्र फराकिलो भएको छ । त्यसले विसङ्गतीको बोध डायस्पोरामा पनि झन् तीव्र भएको छ । ऐले जे उद्देश्य राख्यो त्यो पूरा हुनुको सट्टा उल्टो अर्कै केही भैदिन्छ । यस्तो परिवेशबाट आज मान्छे पीडित छ । यो समस्याको बिम्बात्मक प्रस्तुति हो कविता “ताराहरु झरिगए” एक नमुना—
यसरी मेरा रहरहरु त्यसै मरिगए
आँखाबाट बग्ने आँसुहरु मुटुतिर डेरा सरिगए
मन्दमन्द न्यानो ताप आशाको
आगलागी हुँदा
सिङ्गो वस्तीभित्र डढिगए
ताराहरु झरिगए ।
–ताराहरु झरिगए

“रात ढलेको थिएन” कविताले प्रतिकात्मक रुपमा यही भन्छ नेपाली डायस्पोरामा अझै अँध्यारो छ । उज्यालो त होला तर अहिले औसीकै रात छ । यो अँध्यारो संघर्षको बाटो हो । डायस्पोरामा हिंड्न सजिलो छैन । जीवन जहाँ भए पनि यस्तै त हो भनेर चित्त नबुझाइ सुख छैन । अनि उज्यालो कहिल्यै नहुने पनि होइन । हुन्छ पक्कै हुन्छ तर रात अझै बाँकी छ । नढलेको रातले दुःख दिइरहेछ । यहाँ कवि कविता लेख्दा स्वयम् कविता भएर लेख्छन् । त्यसमा उनी तादात्म्य स्थापित गर्न सफल छन् । डायस्पोरा नेपालीको आजको जीवनको रात अझै ढलेको छैन । उज्यालो होला भन्ने व्यग्रता यो कविताले गरेको छ । कविता हृदयग्राही छ र वौद्धिक पनि छ । आपूmले जति दुःख पाए पनि आदर्श भने गान्धी, मण्डेला, बुद्ध, यशु र गोकर्ण उनका आदर्श हुन् ।
“मेरी आमा”
“मेरी आमा” कवितामा नेपाल आमा र प्रवासीको छोराको बीचको यो सम्बन्ध आँखाबाट आँसु झार्ने खालको छन् । तर, अन्त्य नभएजस्तै अरु पढौँ जस्तो लाग्छ तर कविता सकिन्छ । केही गर्छु भन्दाभन्दै जीवन टुङ्गिएजस्तै । कति खेद लाग्दो छ—
आमाको दुःख हटाउने दृढ प्रतिज्ञा मेरो
सायद प्रतिज्ञामै बित्ला कि जीवनको सेरोफेरो
–मेरी आमा

यो कविता नै हृदयक छ, क्लेस छ । आफ्नो जन्मथलो छाडेर हिँडेको धेरै भयो । त्यो धरातल भित्रको आफ्नोपन आफैँसँग रह्यो । उस्तै छ मेरो मन त्यही भूगोलको अह्वान जस्तै जता हिँडे पनि जहाँ नै डुले पनि खोला र झरनाको स्मृति सबै उस्ताउस्तै माया मार्नलाई म परदेसिएको होइन ।
डायस्पोराका नेपालीलाई आफ्नो गाउँले सिकाएको संघर्ष, इमान्दारीका स्वप्निल स्मृतिहरु वौलाएर आउँछन् । एक पटकको नेपाली जहाँ गए पनि ऊ नेपाली नै हुन्छ, नेपालमै हुन्छ । त्यो भावना हो । यस कुरालाई “तमोर खोला जस्तै बगेर” कविताले यसो भन्छ—
मुटुभरि ताप्लेजुङ बोकेर बगिरहन्छु
म युरोपमा छु
र पनि ताप्लेजुङकै भूगोलभरि बाँचिरहन्छु ।

सन् १९८२ तिर अमेरिकाबाट लेखिएका मेरा कविताको सँगालो “प्रवासी स्वर” का कवितामा भएको तीतो पीडा गोपीकृष्णका “यी दिनहरु” कवितामा पनि छ ।
मैले नबोलिकनै गला नखोलिकनै
मेरो छेउछाउका भित्ताले उल्टो कुरा सुन्छ
मेरो रुवाइको साथ दिने एउटा शून्य कोठा छ
दर्दनाक पीडा यहाँ बहेको छ
पीडाको पारावारको डायस्पोरा यहाँ देखिएको छ ।
कस्तो मलाई त पढ्दा रुनै मनलाग्यो कति मार्मिक छ—
निर्जीव एकदमै काल्पनिक कोठा
मेरो कोठा मभन्दा धेरै कुरा खेलाउँछ
यसले मेरा उम्लँदा इच्छाहरु र
मेरा प्यारा उन्नतीका सीमाहरुलाई
सिरानीमा न पुग्दै सेलाउँछ ।
–यी दिनहरु
नेपाल युरोपको तुलना
साँझ पर्छ चार बजेपछि
अँध्यारो तराइको फाँटजस्तो
बुट्यानहरु छन्
जङ्गलहरु छन्
तर सबै नाङ्गानाङ्गै छन् ।
–युरोपको साँझ
लण्डनको चिसो र मेरा सपनाहरु कविताले खाङसाङ, सोलु र सल्लेरीसित लण्डनलाई तुलना गरी हेर्दछ ।


आजको जीवन
यो सर्वजनीन भएको छ कि आज जीवन पीडाग्रस्त छ । त्यो विश्वको जुनसुकै कुनामा होस् । यो कविता संग्रहमा यस्ता धेरै कविता छन् । ती मध्ये “क्यान्सर” कविताले आजको पीडालाई मूर्तिमत् बनाएको छ । जस्तै—
विजयको शंखघोष गर्छ क्यान्सर चारै दिशामा
एउटा शान्त देशमा राक्षसी राज छाए जस्तो
यमराजले यौटा मृत्युपत्र मानववस्तीमा छोडेर आएजस्तो ।
–क्यान्सर

गोपीकृष्णका कविताले आजको मानवसमाजलाई हाँक दिएका छन् जस्तो—
खोई हाँसो यहाँ, जसमा सृष्टि लुकेको होस्
खोई ममता यहाँ, जसमा पीडा दुःखेको होस्
– ती यादहरु

जीवन दर्शनमा
“मलामीहरु” कविताले मृत्यु, भयको चर्चा गर्दै अस्तित्ववादी स्थितिको विवेचना गरेको छ ।
“सुन्दरता” कविताले संसार सौन्दर्यमय भएको विवृत्ति दिन्छ ।
डायस्पोरामा नेपालीहरु काम खोज्न आएको तथ्य “बर्लिन टेगलमा” कविताले प्रस्तुत गर्दछन् । यहाँ नेपाल र जर्मनको तुलना गर्दै नेपाली डायस्पोरा बनेको कथा हो या संसार कै मान्छेहरुसँगको विनयशीलतामा झन् पग्लिदै गएको कथा हो यो ।
देशभक्त र शान्तिप्रेमी
प्रवासीले शान्तिको कामना गर्छ जस्तै—
हामी शान्तिको गीत गाउँछौँ
आफ्नो माटोको सुवाससँगै धरतीमा
लोकतान्त्रिक प्रीत लाउँछौँ
किन कि अब देश सबैको हो
नेपाल भित्र कर्म खोज्नेहरुलाई
मातृभूमिको अभूतपूर्व मोह रोज्नेहरुलाई
मेरो पनि परदेशबाट सलाम छ ।
गरिबीले बारंबार दाह्रा नङ्ग्रा नधसोस् मेरो देशमा
सुन्दर पूmलको सुवास फैलिरहोस् नौलो परिवेशमा
–वृहत शान्ति सम्झौता २०६३

नेपालको रुख र आप्रवासीको सम्बन्ध भेट्नेहरुको लागी ‘अगाडि यौटा रुख छ’ कविताले पुष्ट गरेको छ ।
दशैँ
“दार्विनको सिद्धान्त” कविताले डायस्पोराको दशैं आदि मानव सँस्कृतिको विविधता सहित वर्णन गर्छ ।
डायस्पोराका स्थान वर्णन— ‘हिउँको वर्षा’ कविता बर्लिनको वर्णन छ र तीखो व्यंग्य छ –
ऊ त भन्छ— चिसोबाट बच्न ‘रुमहिटर’ चाहिन्छ
बाहिर ननिक्ल साथी हो !
यो हिउँबाट नराम्रो धोका खाइन्छ ।
यस्तै गरी ‘किन यसरी बतास चल्छ ?’ कवितामा भूमण्डलीय चक्रपथ लण्डनको प्रकृति वर्णन छ । ‘अपरिचित मन’ कविताले पराइको देशमा बसेको नेपालीको मनस्थितिको मार्मिक चित्र खिचेको छ ।
कला
बिम्ब
‘डार्बिनको सिद्धान्त’ कवितामा अनुप्रास अर्थान्तरको अतुलनीय तुलना छ । ‘ती यादहरु’ कवितामा कम्प्युटर आदिको नयाँ बिम्ब छ ।
प्वाल परेको डुङ्गामा यात्रा गरिरहेको मान्छे
उसको सग्लो क्षितिज नै कहाँ छ र ?
–क्यान्सर

यसमा प्वाल परेको डुङ्गा जीवन हो तत्कालको लागि डायस्पोरिक जीवन हो । यो बिम्ब अनमोल छ । उसको तन एकातिर छ विदेशमा, मन नेपालमा डुबिरहेको छ । पूरा क्षितिज उसले पाएको छैन । डायस्पोरिक बिम्ब भन्न पनि मिल्छ ।

कम्प्युटर सम्बन्धी बिम्ब
अस्थिपञ्जरभरि पीडा दिन भाइरसहरु डेरा जमाएर बसेका छन् मेरी आमा कवितामा भएको यो हरफमा चाउरी परेको मुहारभरि भीरपाखा भरिएका छन् । छाला खुम्चेकोलाई भीरपाखाको बिम्बधान गरिएको छ । त्यस्तै त्यही ‘सेताम्मे उनको कपाल र हाम्रा हिमालयहरु’ हरफमा फुलेको कपाललाई हिमालय र देश नेपालको हिमालयलाई आमाको फुलेको कपालसित बिम्बाधान गरेका छन् । आमाको रुप मेरो देशको नक्सा जस्तै भनेर देशको उपमा बिम्बको प्रयोग गरिएको छ ।
‘मेरी आमा’ यो उत्तम कविता हो । यहाँ बिम्बका पंक्ति अनुप्रासका धाराप्रवाहमा गति यति लयमा श्लेषार्थक शब्द संयोजन गरिएको छ । जस्तै—
वैँसको उन्मत्त गरिबीसँगै परदेसिएको छोरो
अहिलेसम्म घर फर्केन त्यो आशाको डोरो
–मेरी आमा

शब्द र अर्थको संयोजनमा देखाइने बिचित्रता हो अलंकार । अलंकारको एक प्रकार हो अनुप्रास । यसले कवितालाई बनाउँछ र अर्थमा पनि अर्थ भर्छ ।
अनुप्रास
आफैँ फक्रन खोज्ने पूmल
सृष्टिमा कतै भयो कि भूल
–मन्दमुस्कान बर्लिनमा
फूल, भूल यी अनुप्रासले कवितालाई उत्तम बनाएका छन् । गोपीकृष्णका कवितामा अंशअंशमा सार, हार काफिया भएर आएका छन् भने हुन्छ । रदिफ भएर आएको गद्य कवितामा पनि अनुप्रासको यति उत्तम सम्मिलन बिरलै पाइन्छ जस्तै—
यो जगत्मा सपनाहरुको पनि सार हुन्छ
पूmलहरुको पनि रङ्गीचङ्गी हार हुन्छ
मायाको पनि फरकफरक उपहार हुन्छ
साँचो सपना, प्रेमिल गुञ्जन जीवनमा बहार हुन्छ ।
–सपनाको मृत्यु
हेर्न घमाइला र रमाइला अनुप्रासको सङ्गम यो कवितांशमा—
हाम्रा मुस्कानहरु घमाइला छन्
जीवनका पलहरु रमाइला छन्
–घामको फाहा स्पर्श

अनुप्रास
यौवनको हाँसो जीवनको गुनासो, हाल आदिले ‘युरोपको साँझ’ कविता गद्य भए पनि लयात्मक भएको छ । गद्यमा पनि लय हुन्छ भन्न यो कविता उदाहरणीय छ ।
उखान टुक्काको प्रयोगमा पनि खप्पिस छन् कवि—
बाँच्दाको जन्ती मर्दाको मलामी

उपमा—
ती अत्याधुनिक टर्मिनल र सिस्टममाझ
गिद्धले पखेँटा फिँजाएर बसेजस्ता जहाजहरु
–बर्लिन टेगलमा
उपमा सुन्दर छ र लय पनि हो, उपमा बिम्ब र पौराणिक बिम्बको समिश्रण भएकाले यो संश्लिष्ट बिम्ब हो ।


क्लेश
पहाड कविता हृदयर्थक छन् । क्लेशमा लेपिएको यो कविताले यमकको मीठो छनक पनि दिएको छ र पहाडप्रति यानी मूल थलो प्रति डायस्पोराको मत पनि प्रकट गरेको छ ।
शब्दभण्डार
कवि गोपीकृष्णसँग शब्द भण्डार विशाल छ उनी शब्दसित खेल्छन् शब्दमै उनी सुसेल्छन् त्यसको एक उदाहरण हो यो कविता ‘आकाश’—
अनन्त, हलन्त, क्लान्त
क्रान्ति, भ्रान्ति, सङक्रान्ति
–आकाश
नेपाली ठेट शब्द
पोल्टामा सातु अनि भुटेका मकैहरु
–पखिनी जेठी

स्वप्न साहित्य
साधारण साहित्य पनि कवि लेखकका कल्पना हो स्वप्न हो, तर त्यसबाहेक पनि यथार्थमा स्वप्न साहित्य हुन्छ । जस्तो पत्र साहित्य, दैनिकी साहित्य, यात्रा साहित्यका विविध भेदमध्ये स्वप्न साहित्यको पनि विशेष महत्व छ । यस्तो स्वप्न साहित्यको संकलन धेरैले गरेकाछन् र मैले पनि गरेको छु । यहाँ गोपीकृष्णको पनि स्वप्न मात्र हैन मेरै आफ्नै स्वप्नसित मिल्ने मैले लेखेको जस्तो पाएँ कविता ‘यौटा भयानक सपनामा’ खासगरी यो अंशमा—
घस्रीघस्री ज्यान छोडेर मलाई डस्ने लक्ष्यमा छ सर्प
बटारिएको छ, मोडिएको छ
थुक्क साला जिन्दगी !
अरुलाई नमारेर बाँच्ने रहर मेरो
पूरै हुन सकेन
अब मैले सर्पसँग भिड्नु थियो
ठूलो साहस बोकेर लाठी सहित
सर्पतिर फर्कन के खोजेको थिएँ
सर्प त्यहाँ थिएन
तर मेरा आँखाहरु सर्वत्र छरिए
अब पो म चिच्याउन पुगेछु ।
–भयानक झ्याल

यहाँ सपनालाई कविले गद्य कवितामा बाँधेका छन् भने मेरो गद्य नै छ र प्रकाशनको तयारीमा छ । उसो त ‘यमपुरीको महल’ उपन्यास पूरा स्वप्न विधिमा लेखिएको छ । यो विधि छुट्टै कुरा, कल्पना छुट्टै कुरा हो । स्वप्न नै रेकर्ड गरी लेख्नु त्यो छुट्टै कुरा हो ।
मेरो र गोपीकृष्णका स्वप्नमा सामञ्जस्य किन आयो ? यथार्थमा स्वप्न पनि स्वप्नद्रष्टाको परिवेशको उपज हो । त्यसैले लण्डन डायस्पोराको नेपालीको मनस्थितिका चित्रण यसले गर्दछ । मेरोले अमेरिका गर्दो हो, तर दुवै नेपालीका नया डायस्पोरका दर्पण हुन् । बिउँझिएपछि देखिने सर्प डर अनि मान्छेका प्रवृत्तिहरु, भोगाइहरु, दृष्टिकोण, जीवनको वितृष्णा यसमा छ र जीवन बाँकी नै छ, सपना अधुरै रहन्छ विहानको ।
वचनामृत
तीतो सत्य...
मेटिन्छ ।
यो अंश डायस्पोराको मान्छे कथा संग्रहको आर्टसित मिल्छ ।
तीतो सत्य करुण रस मान्छेबाटै पल्लावित हुन्छ, तर त्यसमा कुठाराघात पनि त यही मान्छेले नै गर्छ । मान्छे आधा पशु नै हो ।

कला
कवि आजको परिवर्तशील डायस्पोरिक समाज र उत्तरआधुनिक साहित्यको गतिबाट पूर्ण परिचित छन् । यसको उदाहरण हो कविता उत्तर आधुनिक साहित्य ‘हामी’ । यसमा उनले रोलाँ वार्थ, ज्याक डेरिडा, फुकुयामा, बाल्मिकी, भानुभक्तको साङ्गोपाङ्गो अध्ययन र तुलना गर्दै उनी भन्छन्— उत्तर आधुनिक साहित्य पनि परम्पराकै निरन्तरता हो—
समग्रमा
यो एउटा कुनै नयाँ वाद भन्दा पनि
समयको प्रवाहसँगै वहने ब्युँझने
सपना हो, विपना हो
यथार्थता हो ।
–उत्तर आधुनिक साहित्य हामी

लम्पसार परेर हामी तन्द्रामा ढलेको लण्डन सहरको बिम्बात्मक प्रयोगकविता ‘साउथल मन्दिरमा’ अनुपम नमुनाको रुपमा प्रयोग भएको छ ।
कवि गोपीकृष्ण प्रसाईँ आजका नयाँ नेपाली डायस्पोराका चम्किला तारा हुन् ।

वुडब्रिज, भर्जिनिया

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 27 पौष, 2068

लेखकका अन्य रचनाहरु