कमलरी

- दिनमान गुर्मछान ‘दिगु’

ऊ मध्य रातमै घर छाडेर हिँडी ।
ठूलो झरी परिरहेको छ । मध्य वर्षामासको समय आइसकेको छ । आकास गर्जिएको भने छैन, अन्धकारमा मुसलधारे वर्षा भइरहेको छ । बाहिर केही देखिने अवस्था भने फिटिक्कै छैन । गाउँ एक किसिमले त्रसित देखिन्छ । बेलुकादेखिको एकोहोरो झरी मुसलधारेमा परिणत भएको छ; रोकिने छाँट देखिँदैन ।
यस्तो अन्धकार थियो । त्रसित समय थियो । ऊ चर्को आक्रोशमा थिई । ऊभित्र ज्वाला दन्किरहेको थियो ।

माघी नजिकिइसकेको थियो । गाउँमा उत्साह र उमङ्गले हरेकको घर घरमा प्रवेश गर्ने क्रममा थियो । घरमा अन्नपातको कमी सबैको कमजोरी थियो । सबै निराश थिए । त्यो नैराश्यतालाई माघी धुमधामले मनाउने कल्पनाले मेट्थे । चामलको पीठोको ढिक्री, जाँड, हरियो खुर्सानी हरेकको मुखमा झण्डिएको हुन्थ्यो । भित्री मन भने पिरोलिएर आउँथ्यो । सबै भन्थे– यो माघी कहिल्यै नआइदिए पनि हुन्थ्यो ।
घरमा एक पाथीसम्म धान नभएपछि भिखवा धानको खोजीमा हिँड्यो । कसैले पल्ले गाउँबाट भए पनि उधारो चलाउन दिन्छन् कि भन्ने आश थियो । ऊ मनभरि एक मुठी आश लिएर पल्लो गाउँतिर छि¥यो । गाउँमा धेरैको हाल भने उस्तै थियो । आखिर ऊ थाक्योे । कोही कसैको साहारा थिएनन् । सबै आफ्नो विवशतामा रोइरहेका थिए । तर पनि माघी मनाउने झिनो आशा मनभरि लहलह झुलिरहेकै हुन्थ्यो । जसरी पनि मनाउनै पर्छ भन्ने सबैको ठहर निस्किन्थ्यो– आ–आफ्नो घरमा सल्लाह गर्थे ।
एक दिन बाँकी थियो, सबै आ–आफ्नो घरमा माघीलाई स्वागत गर्नमा व्यस्त देखिन्थे । व्यस्ताता यस्तो थियो कि छिमेकीको कसैलाई कुनै मतलब थिएन । सबै आ–आफ्नो दुःखसँगै व्यस्त थिए ।
ठूण्डीकी आमा निराश देखिएकी थिई । भिखवालाई उसको निराशा असह्य भई दुखेर आउँथ्यो र आफ्नो विवशताप्रति रिस पनि उठ्थ्यो । मनमा अनेकथरी तर्कनाहरू आएर चियाउँदै जान्थे । अब ऊसँग एउटै उपाय बाँकी थियो । उसले आफ्नो मन कठोर बनाउन भने सकेको थिएन । द्विविधा मनभरि तँछाडमछाड गरिरहेको थियो । आफ्नो लाचारीपन र विवशताप्रति आफैँलाई धिक्कारिरहेको थियो । उसले आखिरमा सोच्यो– माघी त जसरी पनि मनाउनै पर्छ । छिमेकीहरूले एउटा एउटा उपाय लगाइसकेका छन् । उनीहरूको आँगनमा माघीले रङ देखाइसकेको छ । आफ्नो पनि देखाउनकै लागि भए पनि जसोतसो माघी मान्नै प¥यो । यति सोचिसकेर भिखवाले ठूण्डीकी आमालाई आफ्नो विचार व्यक्त ग¥यो ।
ठूण्डीलाई मालिकको घरमा काम गर्न पठाउने भिखवाको कुराले ठूण्डीकी आमा अत्तालिई । दुवैबीच लामो कुराकानी भयो । भिखवाले आफ्नो लाचारीपन र विवशतालाई यो कठोर निर्णयले दुखेको कुार सुनायो । निकैबेर रुवाबासी चल्यो । अन्तमा बलिरहेको भोको पेटको अगाडि कस्को के नै लाग्थ्यो र । आठ वर्षकी ठूण्डीलाई मालिकको घर पठाउने निर्णय भयो ।
(अन्धकार रातमा पानी अझै परिरहेको थियो । यो रोकिने लक्षण देखिएन । ऊ पानीको अविरल झरीलाई एकोहोरो आफ्नो विगतसँग तुलना गर्दैछे ।)
आठ वर्षकै उमेरदेखि ऊ कमलरी भई ।
मालिकको घरमा मीठो खान र राम्रो लाउन पाउने आश्वासनले ऊ डोेरिएकी थिई । अब उसको आफ्नो संसार भन्नु नै मालिकको यही घरआँगन थियो । सबैको खटनमा आफ्नो दश नङ्ग्रा घोट्नु थियो । उनीहरूको सेवा नै आफ्नो कर्म हो भन्ने भावना मनमा पाल्नुपर्ने हुन्थ्यो ।
अब उसको जीवनको क्रम मालिकको घर आगनमा बितिरहेको थियो । बिहान ऊ उठ्थी । उठ्दा आफू सुतेर छाडेको ओछ्यानलाई हेर्थी । त्यो ओछ्यानमा फेरि सत्र घण्टापछि मात्रै लड्न पाउने कुराले ऊ लामो सास फेर्थी । दिनभरि काम गरेर थकाइ लाग्दा पनि आराम गर्न एकछिन पनि पाउँदिनथी । सबेरै उठेर घर आगन लिपपोत गर्थी । पानी पनि ऊ आफैँले ओसारेकी हुन्थी । दाउरा जम्मा गरेर भान्छा घरसम्म पु¥याउँथी । गोठमा गाईवस्तुको गोबर सोहोरेर सफा गर्थी । सफा पारिएको गोठलाई एकफेर रामं्ररी नियालेपछि मात्र गाईवस्तुलाई घाँस हालिदिन्थी ।
यति काम गरिसक्दासम्म ऊ गलिसकेकी हुन्थी । थकाई मार्न मनलाग्दा लाग्दै पनि पाउँदिन । भान्छाघर फेरि एकफेर बढार्न आदेश जारी हुन्थ्यो । ऊ बढारेर सिनित्तै पार्छे । सबैले भान्छामा खाइरहँदा ऊ बाहिर भाँडा माझिरहेकी हुन्छे ।
“ठून्डी अब तँ पनि खा ।” मालिक्नीले यसो भन्दा ऊ बुझ्छे सबैले खाइसकेछन् ।
दुई छाक खान पाउने र लाउन पाउने अवसरसँग उसको जिन्दगी साटिएको छ–बाँधिएको छ । उसको विवशता उसका बाबुआमाको लाचारीपनको पर्याय बनेको छ । ऊ जीवन खोजिरहेकी छे योे कमलरी प्रथाको बन्धनभित्र ।
दिनभरि पनि ऊ बस्न पाउँदिनथी । लुगा धुने, भाँडा माझ्ने र घाँस दाउरा गर्ने काम उसको दैनिक कार्य सूचीमा पथ्र्यो । ऊ आठ वर्षकी हुँदाको समयदेखि अहिलेसम्म यसै घरमा मालिकको काम गरेर बसी ।

साँझदेखिको एकोहोरो झरी मुसलधारेमा परिणत भएको छ । रोकिने छाँटकाँट देखिँदैन । ऊ झरीमा रुझेकी छे । उसको अवस्था विगतले आक्रोशित बनेको बाढीको भेल सरी देखिन्छ । ऊ सम्झिन्छे–
माघीको तामझाम गाउँभरि रन्किएको छ । मालिकको घरमा पनि माघीको सुगन्ध फैलिँदो देखिन्छ । सधैँका वर्षहरूमा माघी रमाइलो हुन्छ यहाँ ।
ठूण्डी पनि माघी आउने अघिल्लो दिनसम्म रमाइलो मान्थी । हुन त मालिकको घरमा काम सधैँ गर्नुपथ्र्यो उसले । तर उसको मनमा सधैँ झिनो आशा पलाएर आउँथ्यो– उसलाई आफ्ना मतारी र वापुले लिन आउनेछन् र ऊ भाइ पल्टु , मतारी र वापुसँग रमाइलो गरी आफ्नै घरमा माघी मनाउने छे ।
सधैँ माघी नजिकिँदा ऊ यसैगरी आफ्नो मनलाई आशाको पिङमा झुलाउँथी । ऊ मख्ख पर्थी । तर कुनै पनि माघीमा उसलाई लिन आएनन् र मालिककले पनि पठाएनन् । ऊ त्यसदिन एक्लै हुँदा रोएर बस्थी । उसको पुछिएको आँसु आँखामा कसैले पनि देख्दैनथे ।
सात वर्ष यसैगरी यस घरमा बिताई ठूण्डीले ।
यो माघीमा पनि उसले आश गर्न भने छाडेकी थिइन । अझ साथीसङ्गीहरूको याद पनि आइरहेको थियो । उसमा चन्चलता झाँगिरहेको अवस्था थियो । अब ऊ पन्ध्र नाघिसकेकी थिई । उसको उठेको छाती कसिलो देखिन्थ्यो । त्यो देखेर उसलाई आफैँ लाज लागेर आउँथ्यो । कसिलो जिउ, छिनेको कम्मरले अब उसलाई तरुनी पो भएकी हुँ कि भन्ने लाग्न थालिसकेको थियो । सधैँजसो मालिकको कान्छो छोराको कोठा बढार्न जान्थी । कान्छो मालिक उसले कोठा बढारिरहँदा उसैलाई हेरिरहेको हुन्थ्यो । ऊ निहुरिँदा उसको खुकुलो लुगाबाट उसको छाती प्रष्टैसँग देखिन्थ्यो । चिसो हावाले स्पर्श गर्दा ऊ चाल पाउँथी । उसलाई लाज लागेर आउँँथ्यो तर ऊ विवश थिई कोठा बडारुन्जेल ।
कान्छो मालिकले कति पटक त उसलाई समाएको पनि हो ।
कान्छो मालिकका लोभी आँखाले उसलाई जताततै पछ्याइरहेको हुन्थ्यो, छोएर काउकुती लगाइरहेको हुन्थ्यो । त्यसैले ठूण्डी लजाउँथी । तर कान्छो मालिक उसलाई समातेर भन्थ्यो–“किन लाज मान्छेस् ?”
ठूण्डी लाज र भयले एकैसथा लगलगी काम्दथी र कान्छो मालिकबाट फुत्किने प्रयास गर्दथी । उसको शरीरको नशा नशामा भयको सञ्चार हुन्थ्यो । फुत्किसकेपछि ऊ आफूलाई स्वतन्त्त एकान्तमा पाउँथी । यस्तो धेरै पटक भएको थियो ।
माघीको दिन पाहुना आउने जाने क्रम चलिरहेको थियो । बिहानदेखि ठूण्डीलाई फुर्सद थिएन । ऊ काम यति छिटो गर्न भ्याउँथी जुन उसले बाध्यतापूर्वक पनि गर्नुपथ्र्यो । उसको शरीर गलेर थाकिसकेको थियो तर एकछिन पनि थकाइ मार्न पाउने छाँट थिएन । दिनभरि उसले काम सघाइरही । काम सघाउँदा पनि उसको मन घरबाट यो माघीमा पनि लिन आएनन् भन्नेमा अल्झेको हुन्थ्यो । गाउँमा सबैजना रमाइलो गरिरहेका होलान् भन्ने सोचिरहेकी थिई ऊ । आज पनि आफूजस्तै अर्को कुनै केटी कमलरी भई होली– ऊ यस्तै सोच्थी ।
“अब तँ पनि खाएर सुत्न जा ।” मालिक्नीले भनी । यसले उसको मनभित्र ठूलो राहत मिल्यो र थकानले एकसाथ छिटो गर् भन्यो । ऊ छिटोछिटो खाना खाएर आफू सुत्ने कोठातिर गई । थकाइ यतिबिघ्न लागेको थियो कि ऊ सरासरी ओछ्यानमा डङरङ्ग पल्टिई । गलेको शरीर ओछ्यानमा लमतन्न भएर पल्टाउँदा आनन्द मिल्यो । काम पनि कति गर्नुपर्ने हो– मनमनै सोची । सोच्दासोच्दै ऊ निदाइसकेकी थिई ।
ऊ निद्रामै थिई । उसको शरीर उदाङ्गो देखिन्थ्यो । ओढेकोे लुगा कतिखेर उसको शरीरबाट सरिसकेको थियो । वक्षस्थलमा कसिलो दवाब परेपछि ठूण्डी बिउँझिएकी थिई । एकैपटक भय र दुविधाले उसको शरीर लगभग काँप्यो । के गरूँ के गरूँ भएर आयो । ऊ चिच्याउन चाहन्थी तर कान्छो मालिक हो भन्ने चाल पाइसकेकी थिई । ह्वास्स गन्ध रक्सीको थियो, उसको मुखसम्म आयो ।
“तँ चुपचाप बस् ठूण्डी । नत्र नराम्रो होला ।” उसको कानमा कान्छो मालिकले साउती मा¥यो । ऊ डर, त्रास र अव्यक्त भयले एकसाथ छोएको अवस्थामा आफूलाई त्यत्तिकै छाड्न तयार् भई । उसको शरीरभरि हात र ओठको स्पर्श हुँदै थियो । उसलाई अलिकति अनौठो, अलिकति डर अनि दुविधाले छोयो । कताकता रमाइलो पनि लागेको हो कि जस्तो हुन्थ्यो । तर जबर्जस्ती गरेको उसलाई पटक्कै मन परेको थिएन । अन्त्यमा पीडा सहँदै पनि उसले थाकेको बेला आफूलाई चूपचाप लुटाई ।
आफू लुटिएको रात ठूण्डी आफ्नो जीवन ओरालो लागेको अर्को खुड्किलो ठान्थी । अहिले ऊ सम्झिन्छे । अविरल झरी दर्किरहेकै थियो । पानीको एकोहोरो आवाज उसको कानमा बज्थ्यो । ऊ आफूलाई एक अभागिनी हुँ भन्ने ठान्दैथी । आज पनि उसलाई त्यो समयको याद आइरहेको थियो ।
त्यसपछि पनि ऊ दुईचारपटक कान्छो मालिकद्वारा लुटिएकी थिई ।
त्यसपछिका दिनहरूमा ठूण्डी मालिकको घरमा आफूलाई असुरक्षित ठान्दथी । राती सुत्नेबेलामा पनि आफ्नो कोठा राम्रोसित नियाल्थी । कोठाको ढोका राम्ररी बन्द गर्थी । जतिसुकै थाकेको भए पनि संयमित र शङ्कास्पद अवस्थालाई दूर गर्थी । आफ्नो सुरक्षा गर्न खोज्थी ।
“ठूण्डी तलाई राम्रै छ हैन ?” उसकी मतारीले सोधेकी थिई । उसलाई भेट्न उसका बाबु भिखवा र मतारी आएका थिए ।
“राम्रै लगाएकी छे, खान पनि राम्रै पाएकी होली । मोटाइछे पनि । यहाँ मालिककोमा के दुःख हुनु यसलाई !” भिखवाले तुरुन्तै मुख फो¥यो । त्यो सुनेर ठूण्डीलाई ‘ग्वाँ ग्वाँ’ रुन मन लागेको थियो । आफ्नो व्यथा अर्कालाई के थाहा– उसले सोची । ‘यस घरमा बिहानदेखि रातीसम्मको खटनले म थकित भइसकेँ भन्न मन लागेको थियो’ तर ऊ विवश थिई । वापु मतारी फेरि पनि घरमा अन्न नभएकाले मालिकसित माग्न आएका थिए । त्यसैले ठूण्डी विद्रोह गर्न नसक्ने गरी दच्किई ।
“तेरा काकाकी कान्छी छोरी पनि यसपालिको माघीमा मालिकको घरमा गई ।” ठूण्डीकी आमाले मन्द स्वरमा भनी ।
“त्यो पनि कमलरी बनी ! विचरीले सक्छे त ?” उसले आफूभित्रको माया पलाएको भावमा व्यक्त गरी ।
हिजोआज उसलाई दिक्क लागेर आउँथ्यो । आफ्नो जवानी उमेरमा समेत घोटिनु परेको ठान्दथी । यो घरदेखि नै ऊ अघाइसकेकी थिई । दिनहुँको काम, एकैखाले जीवन भोग्दा ऊ दिक्क मान्थी ।
‘हामी पनि मान्छे नै हौँ, हामीमा पनि चेतना छ, इच्छा, आकाङ्क्षा सबैमा झैँ हामीमा पनि हुन्छ ।’– ऊ सोच्ने भइसकेकी थिई ।
यो नारकीय जीवन, दासताको शोषण उसलाई खपिनसक्नुको भएको थियो । थकाइ मार्न पनि कठिन थियो । मान्छेलाई पनि पशु समान लादेको लादेयै गरेको भान हुन्थ्यो । त्यसैले ठूण्डी मालिकको घर र दासताको यो बन्धनलाई तोड्न चाहन्थी । कहिलेकाहीँ ऊ आफूलाई नै सिध्याइदिऊँ झँै गर्थी । तर भित्रैदेखि अज्ञात भयका कारण सक्दिनथी र आफ्नो विचार परिवर्तन गर्थी ।
“कति खप्नु अब । के हामी गरिबको जीवनचाहिँ जीवन होइन ?” यसरी ठूण्डी आफू शोषित भएको ठान्थी ।
अस्ति भरखर उसले बोक्दै गरेको काँचको गिलास हातबाट झरेर फुटेको थियो । मालिकले तथानाम गाली गरेका थिए । मालिक्निीले कुटूँला झैँ गरेकी थिइन् । त्यतिबेला पनि उसले घर छाड्ने विचार गरेकी थिई । भाइ पल्टु सिकिस्त बिरामी हुँदा पनि भेट्न, हेर्न जान पाइन । उसलाई औधी रुन मन लागेको थियो ।
“आ, अर्काको घरकी कमारी भएर कति बस्नु !” दिक्क मान्दै उसले आक्रोशित भावमा सोची ।
*
बेलुकादेखि एकोहोरो झरी मुसलधारेमा परिणत भएको थियो । पानी डरलाग्दो गरी ओइरिएको थियो । गाउँ एक किसिमले त्रस्त देखिन्थ्यो ।
अनि ऊ मध्यरातमै घर छाडेर हिँडी ।
*****


हरेक मालिकको घरबाट कमलरीहरू त्यसै रात आफूखुशी बाहिरिएको थाहा भयो । कमलरीहरू स्वतन्त्ररूपले आफ्नो स्वतन्त्रता पाउन सफल भएको सुनियोे ।पत्रपत्रिकामा छापिएको धेरैले पढे ।
०००

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 27 पौष, 2068

लेखकका अन्य रचनाहरु