संसारको सबै भन्दा सानो सहर ‘दुर्वी’मा एक दिन

- कृष्ण बजगाईं

‘संसारको सबैभन्दा सानो सहर ‘दुर्बी’मा तपाईंलाईं स्वागत छ ।’ ब्रसेल्स, बेल्जियमको ब्यस्त सडकमा गोरा छाला भएका मानिसहरु हरे राम... हरे कृष्ण... भजन गाउँदै हिँडेको पहिलो पटक देख्दा छक्क परेर हेरिरहेको बेला सुरीलो आवाज कानमा ठोक्कियो । यसो नजर उठाएर हेरें साक्षात गोपीनी जस्ती देखिने युवती सोही अनुरुपको श्रृंगार पटार गरेकी । उनले मेरो हातमा पर्चा दिँदै कुरा अगाडि बढाइन । नाम ठेगाना सोधिन । मेरो नाम कृष्ण भनेपछि ठूलो आदरभावसाथ झुकेर प्रणाम गरिन । म त्यस्तो धार्मिक ब्यक्ति पनि होइन तर उनले त्यस्तै ठानेर विशेष अनुरोध र निमन्त्रणा गरेपछि मलाई त्यो सानो सहर दुर्वी र कृष्णभक्तहरुको मन्दिर क्षेत्र राधादेश घुम्ने इच्छा जागेर आयो ।

त्यसको एकसाता पछि त्यो सहर घुम्न जाने भइयो । हामी ३ भाई ब्रसेल्सको ट्रेन स्टेशन अगाडि छौ । दिपेश, म र एक जना कलकत्ताका बंगाली मित्र धिमन दास ।

ट्रेन भित्र धिमनले धर्म कर्मका धेरै कुरा गरे । उनी बडो धार्मिक प्रवृत्तिका रहेछन् । धर्म सम्बन्धी कुनै चासो नराख्ने ब्यक्ति भएकोले त्यस सम्बन्धमा मलाई त्यति धेरै जानकारी थिएन । उनका कुरा धार्मिक गुरुका प्रवचन सम्झी सुनिरह्यौं दिपेश र मैले । उनका अनुसार कृष्णभक्त इस्कोनका प्रवर्तक अभयचरणारविन्द भक्तिवेदान्त स्वामि प्रभुपाद पनि बंगाली नै हुन् । र उनी विभिन्न प्रसंग आउँदा बारम्बार आफूलाई बंगाली भएकोमा ठूलो गर्व गर्दथे । उनको यस्तो कुरा सुनेर मलाई झोंक चलिसकेको थियो म पनि नेपाली भएकोमा गर्व गरौं कि क्या हो भनेर । परदेशमा धर्म, जात र राजनीतिका बारेमा कहिलै बहस नगर्नु भन्छन् । त्यही कुरा सम्झन्छु र त्यसै बोल्न छाडिदिन्छु बंगाली मित्रलाई ।

गफिदै, ठट्टा गर्दै करिव डेढ घण्टाको ट्रेन यात्रा पछि हामी दुर्वी सहरमा आइपुग्यौं । सहर के भन्नु दुर्वीलाई नेपालमा पूर्वको इटहरीलाई सहर भने जस्तै लाग्यो । ढुंगा, काठले बनेका ससाना घरहरु, सफा बाटाघाटा र सभ्य मानिसहरुको बस्ति थियो त्यहाँ । यति सानो बस्तिलाई कसरी र किन सहर भनेको होला मनमा लागि रह्यो । वरपर अलिकति घुम्यांै । अत्यन्त साँघुरा तर सफा गल्ली, पुराना तर सफा साना चिटिक्क परेका घर हेर्दा लाग्दथ्यो यो नेपालको कुनै पहाडी गाउँको विकसित रुप त होइन ?

यो दुर्वीलाई सन् १३३१ देखिनै सहरको रुपमा मानिएको रहेछ । सहरको लागि आवश्यक पर्ने सबै पूर्वाधार भएपछि उति बेलै चारसय बासिन्दा भए पनि त्यसबेला नै सहरको मान्यता पाएको रहेछ । अहिले यहाँ करिव दसहजार जति बासिन्दा रहेछन् । वरिपरि सुन्दर साना तथा होचा पहाडले घेरिएको उर्थ उपत्यका भित्र यो दुर्वी सहर पर्दो रहेछ । पर्यटकको मुख्य आकर्षण एउटा ठूलो गुफा पनि दुर्वी नजिकै रहेछ । जता हेर्यो ढुंगा तथा काठका ससाना घरहरु । उस्तै ससाना बाटाहरु यी सबैले नेपालको स्मरण गरायो ।

अग्लो होचो हुँदै गएका नागबेली बाटाहरुमा सहरबाट निस्सासिएका मानिसहरु घोडचढी, साईकल सवार तथा पैदल यात्रु भएर आनन्द लिदै थिए । उर्थ नदीे नजिकै भएर बहने हुनाले यस नदीले दुर्वी सहरको सुन्दरतामा रौनकता थपेको छ । यही नदीको कारण धेरै पहिले नै यो ब्यापारिक क्षेत्रको रुपमा विकास भएको रहेछ । दोस्रो विश्व युद्धमा जर्मन सेनाले यसका आसपासका क्षेत्रमा बमबारी गराई ध्वस्त पारे पनि यो सहर चाहीँ संयोगले बचेको रहेछ ।

वरपर घुमेर हामी ट्रेन स्टेसन अगाडि फेरि फर्केर आएका छौं । यो जनवरी महिनाको ठिहिर्याउने माइनस २ डिग्रीको जाडोमा अब कृष्ण मन्दिर भएको ठाउँ राधादेशसम्म जानु छ । त्यो जाडोमा करिब १ घण्टा हिँडेर जाने हिम्मत छैन । त्यहाँसम्म जाने ट्रेन वा बसको सुविधा रहेनछ । बाटामा बसेर अनेक उपायको बारेमा विचार गरियो । अन्त्यमा राधादेश जानेबाटोमा उभिएर निजी कारहरुसँग लिफ्ट माग्ने निर्णय गरियो । सोही अनुरुप कैयौं कारहरुलाई लिफ्ट मागियो । हामीलाई नै उडाउँला जस्तो हावाको झोँक्का फ्याक्दै सबै कारहरु हुँक्किदै गए । अहँ कसैले लिफ्ट दिएनन । दिने पनि कसरी ? हामी ३ भाइ छौं, त्यो माथि पनि विदेशी मूलका । यता अपराध गर्नेहरु जति सबै विदेशी नै बढी छन् । दोष त हामी जस्तै विदेशीहरुकै त हो नी । अब के गर्ने ? हामी अलमल्ल पर्याैं ।

त्यो कठ्यांग्रीने जाडोमा हाम्रो अवस्थालाई निकै बेरदेखि नियालीरहेका एक जना भद्र क्याफेबाट निस्केर आए । उनले उपाय बताए । एउटा फोन नं दिँदै भने राधादेशमा फोन गर्नु त्यहाँबाट कोही न कोही लिन आउँछन् । नभन्दै फोन गरेको १५ मिनेटमै हाम्रो अगाडि नयाँ मर्सिडिज कार आएर रोकियो । ललाटमा लामो चन्दनको टिका र गलामा तुलसीको माला, खाँदी रंगको लुगा लगाएका, लामो मोटो टुप्पी पाली कपाल मुुण्डन गरेका गोरा जातिका भद्र मानिस गाडिबाट निस्केर हामीलाई हरे कृष्ण भनेर प्रणाम गरे । र गाडीमा बस्न अनुरोध गरे ।

गाडी भित्र अनुप जलोटाको हरे कृष्ण....भजन गुञ्जि रहेको थियो । तिब्र बेगमा हुँइक्याउँदै थिए उनले गाडी । बाटामा सामान्य भलाकुसारी भए । दश मिनेट पनि लागेन उनले राधादेश आइपुग्यौं भने । एउटा पुरानो विशाल महल अगाडि गाडी रोके । धन्यवाद भन्दै गाडीबाट हामी उत्रियौं । गाडी भाडा दिनु पर्ला तर कसरी भन्ने हो ? नभन्दा के भन्ने हुन ? हामी तीन भाइले एक आपसमा कुरा गर्यौ । आखिरमा मैले पैसाको कुरा उठाए उनीसँग । उनले भने–‘मन्दिरको दान बक्सामा खसाली दिनू ।’ त्यसपछि अलि ढुक्क भइयो र हामी मन्दिर तिर लाग्यौं ।

मन्दिरमा हाम्रा जस्ता अनुहार भएका थुप्रै मानिसहरु देखिए । पछि थाहा भयो ती सबै छिमेकी नेदरल्याण्डबाट आएका भारतीय जस्तै लाग्ने सुरेनामी मूलका हिन्दुहरु रहेछन् ।

मन्दिर भित्र पुग्ने बित्तिकै एक कृष्ण भक्त गोराले हाम्रो स्वागत गरे । अघि हामीलाई गाडीमा राखेर ल्याउने भद्र मानिसको जस्तै थियो उनको पहिरन पनि । उनले हामीलाई मन्दिर घुमाउने कुरा गरे । हामीले ठीक छ तर घुमाए बापतको कति पैसा हो सोध्यौं । अरुहरुलाई प्रति ब्यक्ति ५ युरो हो । तर तपाईंहरु हिन्दु राष्ट्रबाट आउनु भएकोले निःशुल्क सेवा हो भने । हामीले त्यतिबेला हिन्दु हुनुको फाइदा उठाउँदै थियौं ।

मन्दिर बनौट हेर्दा निक्कै प्राचिन होला भन्ने लागेको थियो । तर हाल मन्दिरको रुपमा उपयोग गरिएको सो भवन मैलै सोँचे भन्दा निक्कै पुरानो रहेछ । ११ औं शताब्दी पुरानो भवन रहेछ त्यो त ! ढुंगाले बनेको त्यो भवन विभिन्न समयमा किल्ला, गीर्जाघरको रुपमा प्रयोग गरिएको रहेछ । अलि पछि त्यो भवन दोस्रो विश्व युद्धका घाइतेहरुलाई उपचार गर्ने अस्पतालको रुपमा पनि प्रयोग गरिएको रहेछ । सोही बेला फेरी अमेरिकन सेनाहरुले यसलाई आफ्नो कब्जामा लिइ युद्ध बन्दी राख्ने जेलको रुपमा केही समय प्रयोग गरेका रहेछन् । सन् १९४८–४९मा एउटा कम्पनीले यसलाई बिदा मनाउने क्याम्पको रुपमा संचालनमा ल्याइएको रहेछ । त्यहाँ स्कूल, युथ होस्टेल, होटेल, रेष्टुरेण्ट सबै संचालन गरिएको रहेछ । त्यसपछि केही वर्ष वेवारिसे अवस्थामा रहेको त्यो भवनलाई पछि सन् १९७९ मा इस्कोन संस्थाले किनेर जिर्णोद्धार गरी कृष्ण मन्दिरको रुपमा विकास गरेको रहेछ । हाल त्यस मन्दिर वरिपरि करिव एकसय परिवार त्यही धर्मलाई मान्ने गोरा जातिका मानिस मात्र बसोबास गर्दै सानो बस्तिकै रुपमा विकाश गरिसकेका रहेछन् । ती गाइडका अनुसार त्यहाँ अरु त्यस्तै सम्प्रदायका मानिस त्यस क्षेत्र वरपर बसोवास गर्न खोज्दा सरकारले उनीहरुलाई अनुमति दिएनछ । हिन्दू धर्मको प्रभाव फैलिन्छ भनेर यसो गरेको रे । बेल्जियम सरकारको नीति प्रति रुष्ट हुँदै उनले भने ।

मन्दिरका गाइडले हामीलाई पहिलो तल्लाको एउटा कक्षमा लगेर प्रोजेक्टरका माध्यमले इस्कन धर्म सम्बन्धी दुर्लभ डकुमेन्ट्री देखाए । इस्कनका संस्थापक अभयचरणारविन्द भक्तिवेदान्त स्वामि प्रभुपादको जीवनी र उनले स्थापना गरेका संस्थाका गतिविधीको बारेमा धेरै कुरा थाहा भयो । त्यस कोठासँग जोडिएको अर्को कोठामा पुर्याए उनले हामीलाई । त्यो कोठा हिन्दू धर्मका प्राचिन ग्रन्थहरु भएको पुस्तकालय रहेछ । त्यहाँ कतिपय हस्तलिखित पुस्तकहरु पनि थिए । त्यसपछि हामी चौथो तला हुँदै छानामाथि पुग्यौं । छानाको टुप्पोमाथि डम्बरु र त्रिशुल ठड्याईएको थियो । त्यहाँबाट पुरै उर्थ उपत्यकाको दर्शन गर्ने अवसर मिल्यो । हिउँले कठ्याङ्ग्रीएर पात झरेका रुखहरु वसन्त पर्खदै गरेको देखिए । अत्यन्त पातलो बस्ति देखियो वरपर । वरिपरिका सुन्दर पहाड र जंगल माझको त्यो कृष्ण मन्दिरले युरोपमा बृन्दावनको आभास दिलायो ।

हाम्रा गाईडले अब हामीलाई राधाकृष्णको मूर्ति भएको मुख्य आकर्षण पुजा कोठामा लगेर छाडि दिए । विदेशी भूमिमा भएको कारण निकै लामो समयपछि भगवानको दर्शन मिल्यो । चित्त आनन्द भयो । श्रद्धाले शिर निहुरियाएर नमस्कार गरेँ । दान तथा भेटीको रुपमा केही नगद चढाएँ । फूलप्रसाद ग्रहण गरेर हामी बाहिर निस्कियौं । बाहिर उही गोरा छालाका स्वयंसेवकहरु के सेवा गरुँ भनेर सोधीखोजी गरे । र प्रसाद(खाना) खाने समय करिव एक घण्टापछि हुन्छ अवस्य खानुपर्दछ भनेर निमन्त्रणा दिए ।

मन्दिर परिसरमा घुमघाम गर्दै थियौं । मन्दिरको छेउमै गाईका माउ बाछा देखिए ।

‘यो त हाम्रै तिरको जस्तो गाई रहेछ’ । दिपेशले भने ।

हामीले यता बसुन्जुल ठूल्ठूला कल्चौडा भएका बडेमानका गाईमात्र देखेका थियौं । उताका जस्ता साना गाई देखेकै थिएनौं ।

‘यताका विकासे गाईलाई यी खैरै हिन्दूहरु गौमाता नमान्दा रहेछन् ।’ मैले थपे ।
मेरो कुरा सुनेर धिमन र दिपेश खुब् हाँसे ।

‘भर्खरै हिन्दु भएका यी खैरैहरुले यहाँको विकासे गाई खाएकाले गौमाता मान्न मनले नमानेर उतैबाट ल्याएको होलान’ –धिमनले थपे ।

हामी फेरी हाँस्यौं ।

बाहिर माइनस २ डिग्री जति थियो तापक्रम । अत्यन्त चिसो भएर आयो हातखुट्टा । उता प्रसाद खान दिएको समय अझै आधा घण्टा बाँकी थियो । मन्दिरले संचालन गरेको क्याफे त्यहीँ अगाडि देखियो । एकछिन भए पनि तातोमा बसेर तातो कफी पिउने विचारमा सबै सहमत भयौं ।

बडो आधुनिक र सफा क्याफेभित्र पस्यौं हामी । त्यहाँ काम गर्ने वेटर, भान्से, क्यासिएर सबै चन्दनको टिका, तुलसीको माला लगाएका, सारी चोलोमा महिला र धोती कुर्तामा पुरुषहरु देख्दा एकछिन छक्क पर्यौं । मलाई त्यो त पुजारीहरुको चमेना गृह जस्तो लाग्यो । दुध, घिउबाट बनेका सुद्ध शाकाहारी परिकारका वासनाले चमेना गृह मग्मगाएको थियो । एकै छिनमा प्रसाद अर्थात खाना खानु थियो । हामीले एक एक कप कफी लियौं । बाहिरको बजार मूल्य जत्तिकै मुल्य रहेछ त्यहाँ पनि ।

कफी पिइसकेपछि हामी चमेना गृहसँगै जोडिएको पसल भित्र छिर्यौँ । भगवानका मूर्ति, घण्टी, पुजा सामाग्री, भजनका सिडी, धुप, कपडा र हस्तकलाका सामानले भरिभराउ थियो त्यो पसल । निक्कै बेर हामीले घुमीघुमी हेर्यौ । काठमाण्डौं ठमेलतिरका पसल जस्तै उस्तै उस्तै लाग्ने । त्यो पसल भित्रको सामाग्री देख्दा परदेशमा मातृभूमि पुगेको झझल्को आयो । सँगसँगै परिवारका सदस्य तथा साथीभाइको सम्झना आयो । निकै बेर घुमेपछि खाली हात निस्कन अप्ठ्यारो लाग्यो । केही त लिनै पर्यो भनेर विचार गर्दा गर्दा तत्काल आफूले उपयोग गर्ने त्यस्तो कुनै वस्तु भेटिएन । अन्त्यमा केही सुगन्धीत धुपका बट्टा टिपेँ । बंगाली मित्रले भजनका केही सिडी किने । र हामी बाहिर निस्किेर सिधै प्रसाद खाने कोठा तिर लाग्यौं ।

ढोका बाहिरै जुत्ताको भिड देखेपछि भित्र बस्न ठाउँ पाईँदैन कि क्या हो भनेर दिपेशले चिन्ता ब्यक्त गरे । उनको चिन्ताको कारण अर्कै थियो सँगै बस्न नपाईने । उनलाई राम्ररी फ्रेन्च भाषा बोल्न आउँदैनथ्यो । सामान्य अंग्रेजी बुझ्दथे मात्र फर्काउन आउदैनथ्यो । खासमा उनी कहीँ कोहीसँग बोल्नु नपरोस भन्दथे । कारण उनी अड्की अड्की बोल्ने अर्थात भक्भके थिए । त्यही हिनताबोधले पनि गर्दा होला यता बसेर पनि मातृभाषा बाहेक अरु भाषामा बोल्न उनले प्रगति गर्न सकेनन् ।

भित्र कोठामा छिरेपछि नभन्दै दिपेशको आशंका सत्यतामा परिणत भयो । त्यो कोठामा मानिसहरु प्रसाद (खाना) खाँदै थिए । कहीँ कतै खाली ठाउँ देखिरहेका छैनौं । एक जना भद्र गोराले हाम्रो हातमा प्लाष्टिकको थाल काँटा चम्चा थमाइदिए । टेबुलमा लहरै पुरी, जुलबी, खिर, चना आलु, मटरको तरकारी, अचार आदि थिए । घिउमा पकाइएका, लसुनप्याज नहालेको शुद्ध वैष्णव खानाका परिकार थिए । आफूलाई मन पर्ने सामाग्री प्लेटमा राखिसकेपछि बस्ने ठाउँ खोज्दै थिएँ । एक जना कृष्ण भक्तले बोलाए । संयोगले त्यहाँ दुईवटा ठाउँ खाली रहेछ । दिपेश हतारिँदै मसँगै आई हाले । बंगाली मित्र धिमनले अलग्गै बस्नु पर्यो । मैले दिपेशलाई जिस्काउँदै भने –‘तिमीले गर्दा नेपाली नेपाली मिलेर बंगालीलाई पाखा लगाए भन्छ होला धिमनले?’

‘जहाँ गए नी दाइको पछि छाड्दिन जसले जे सुकै भनून्’ दिपेशले मलाई फेरी प्रश्न नआउने गरी जवाफ फर्काए । म चुप भएँ ।

चन्दन तथा तुलसीको माला धारी, धोतीकुर्तामा सजिएका कृष्णभक्तको छेउमा हामी बस्यौं । उनले कुराकानी अगाडि बढाए ।

‘भारतबाट आउनु भएको हो ?’ उनले सोधे ।

‘हैन ब्रसेल्स, बेल्जियमबाट’– मैले भने ।

‘बेल्जियमका गोरा जस्तो त हुनुहुन्न नी’ –उनले मलाई जिस्काए ।

‘हैन हैन अहिले चाहीँ त्यहीँबाट हो केही वर्ष भयो नेपाल छाडेर आएको’– मैले प्रष्ट्याएँ ।

नेपालको कुरा गर्ने बित्तिकै पशुपतिनाथको कुरा गरे उनले । धेरै वर्ष अघि पशुपति पनि गएका रहेछन् । उनी चेक रिपब्लिकका रहेछन् । दश वर्ष भएछ इस्कोनमा लागेको । उनी त्यही राधादेशमा संचालित भक्तिवेदान्त कलेजका स्नातक तहका बिद्यार्थी पो रहेछन् । त्यहाँ उनले वैष्णव धर्मशास्त्रको अध्यन गर्दा रहेछन् । त्यो धार्मिक कलेज ‘वेल्स लाम्पेटर विश्वविद्यालय’को साझेदारीमा संचालन गरिएको रहेछ । अहो ! म कल्पना गर्दछु विदेशमा हिन्दु धर्मशास्त्रको कत्रो महत्व, कत्रो रुची ! नास्तिक तथा क्रिश्चियन यी खैरेहरु विस्तारै हिन्दू धर्म, पूर्विय दर्शनको अध्यनमा लाग्दैछन् । हामी नेपालीहरु कुरा नबुझी, अर्काको लहैलहैमा वा आर्थिक प्रलोभनमा परेर आफ्नो धर्म परिवर्तन गरेर क्रिश्चियन भैरहेका छौं । यता भने मानिसहरुमा हिन्दू धर्मप्रति कस्तो श्रद्धा ! कत्रो चाख !

म उनीसँग गफिदै खाना खाँदै छु । उनलाई मेरो नाम कृष्ण हो भनेपछि कृष्ण भगवानसँग सम्बन्धीत विषयमा धेरै जानकारी होला भन्ने ठानेर निक्कै प्रश्न गरे । तर मलाई धर्म सम्बन्धी खासै ज्ञान नभएको बताएर उम्किन खोजे । कुरै कुरामा फेरी उनले मलाई प्रश्न सोधे ।

‘किन तपाई हातले खाना नखाएर काँटा चम्चाले खानु भएको हो । तपाईहरुको संस्कृति पनि हातैले खाने होइन र ?’

उनले यसो भनेपछि हेर्दछु, उनी त हातले नै खपाखप खाना पो खाँदै रहेछन् । उनको यो प्रश्नले मलाई ठूलो ब्यङ्ग्य गरेको ठानँे । वास्तवमा मैले चम्चाले खाना खान थालेको केही वर्ष मात्र भएको थियो । अर्थात विदेश आएपछि । मसँग त्यसको सन्तोष जनक उत्तर थिएन ।

मैले जवाफ फर्काएँ– ‘सजिलोको लागि ।’

तपाईलाई थाहा छ हातले खानु स्वास्थ्यको लागि कति फाईदाजनक छ ? उनले प्रश्न गरे ।

मैले भने–‘हातले खानु भन्दा चम्चाले खानु स्वास्थ्यको लागि फाइदाजनक होला । किनकी हात त्यती सफा नहुन सक्छ । नङमा फोहर तथा ब्याक्टेरिया रहेको हुनसक्छ ।

उनले भने –‘हात राम्ररी साबुन पानीले धोएपछि चम्चा जतिकै सफा हुन्छ । हातले खाना खाँदा सजिलै पच्छ । स्वादिष्ट पनि लाग्छ । यसको कारण जब हाम्रो हातले खाना स्पर्श गर्दछ त्यो कतिको तातो चिसो छ त्यो सूचना तुरुन्त दिमागमा पठाउँछ । दिमागले पेटलाई तुरुन्त अर्को सूचना पठाउँछ यतिको तातो वा चिसो खाने कुरा आउँदैछ भनेर । सोही सूचनाको आधारमा पेटले तुरुन्त आवश्यकता अनुरुपको पाचन रस निकाल्छ । र खाना सजिलै पच्दछ र खानाबाट बढी भन्दा बढी पौष्टिक तत्व ग्रहण गर्दछ शरिरले ।’

उनको यस्तो तार्किक र बैज्ञानिक तर्क सुनेर म नतमस्तक भएँ । हामी आफ्नो परम्परालाई बिर्सदै अर्काको परम्पराको अन्धाधुन्ध अनुकरण गर्दैछौं । उनीहरु हाम्रा परम्पराहरुको वैज्ञानिक अध्यन गरेर राम्रा कुराहरु ब्यावहारमा उतारेका छन् । मनमा यस्तै यस्तै कुराहरु खेल्दै थिए । यसो हेरँे त्यहाँ भएका मध्ये दिपेश र मैले मात्र काँटा चम्चा प्रयोग गरेका रहेछौं । म तुरुन्तै धर्मसंकटमा परे बाँकी खाना हातले खाउँ कि काँटा चम्चाले ?

लन्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 17 पौष, 2068

लेखकका अन्य रचनाहरु