देशपरदेशका तस्वीरः 'यात्रा स्पर्श'

- युवराज नयाँघरे

सम्झना गर्छु त्यो पहिलो पाइलोलाई !
पाइलासँग आउने मनग्गे कुरा छन् । ‘घुम्’ शब्दले बोकेर ल्याएका प्रशस्त अर्थमा घुमन्ते, घुमुवा, घुमघाम, घुमफिर, घुमाइजस्ता धेरै भाव पाउँछौं हामी । यात्रा त्यही सन्दर्भले जोडिएर आउने पक्ष हो । यात्रा, नियात्रा, यात्रा–संस्मरण, यात्रा–वर्णन वा यात्रा–निबन्ध यी सबै शब्दले अँगालेको सारभूत भाव हो– घुमाइ अनुभूति ।
नेपाली साहित्यमा यसको उठान बिन्दुको इतिहास छन् नै । सामान्य जनमनले घुमेर जति धर्ती नापे व्यक्त गर्ने अवसर पाएनन् सहजै । ठूला पदासीन ज्यानले जत्ति नि पाए त्यो मौका, लेख्ने कष्टकर झम्मार किन गर्थे र ? यही दोहोरी चरित्रमा नेपाली साहित्यमा यात्राको शिल्प जुन बेला आउनुपथ्र्यो आइहाल्न सकेन ।
करुण, कन्तबिजोग र करेप–करेप भएर यात्राको लेखनसंसार उठ्यो र जति आयो त्यसले भूगोल, संस्कृति, जीवनपद्धति, शासन, व्यवस्था र अनुभूतिका हरेक पत्रे बुझाइ उतार्दै ल्यायो, लेख्दै ल्यायो र खिप्दै–खिप्दै ल्यायो ।
नेपाली यात्रा साहित्यको उपलब्धि र मूल्यका विवेचना भइरहेकै छन् । तिनको सूची, खास मोड, प्राप्ति र मुख्य प्रभावबारे आइरहेका तथ्यमा मौन छैनौं हामी । धर्म, सिसार, भेटघाट, बजार, बिहे, मलामी, चरन, घाँसपात– यी सबै यात्रामा भइआएका हामी नेपालीका दिनचर्या हुन् ।
समयका पाङ्ग्राले ‘घुमन्ते’ स्थितिमा नयाँ खालका गति गाँसिदिएको छ, चरित्र जोडिदिएको छ ।
अब त आकाश, जलमार्ग, रेल, केबुलकार आदिमार्फत यात्रा गर्ने चरित्रलाई झन् जोरजाम गरिदिएको छ– डुलाइको सिसार । अनुभूतिका नौला भावमा यात्राको आकार बढेको छ । अर्थ र शब्दको सानो अँगालोमा यात्राको परिचय सीमित छैन । यसले बोकेको मौलिक मूल्य हो— डुलडालको लेखाइ ।
संसारका सबैतिर छरिँदै छौँ हामी । पेसा, व्यवसाय, रोजगारी वा अवसरको छोपछाप–आज नेपाली समाज छरिने एउटा प्रमुख पक्ष हो । धर्तीभरि पुगेर या नपुगेर लेखकले हृदयभरि छड्काएर लेखिरहेको विधा बनेको छ— यात्रा ।
शिल्प र रचनाको त्यही नातोमा केदार सङ्केत भेटिए । प्रविधिले नजिक त एकदमै पारिरह्यो । फेसबुक अघि नै जीमेल वा अनलाइन पत्रिकामै हामी भेटियौं । यात्रा साहित्यको सिर्जना, अभिरुचि वा संवद्र्धनमा सङ्केत त सारा ज्यान छोडेर लागेको भेटेँ मैले । हुँदा–हुँदा ‘यात्रास्पर्श’ साइट बनाएर इन्टरनेटमा जतिखेर तन्मय पोखे तिनले, हुटहुटी देखाए तिनले र समर्पण सजाए तिनले अनि यात्रास्पर्शमै आएका निकै स्वादिला, कसिला र रसिला नियात्राहरू भेला पारी तिनले छपाउने मनसुवा राखे ।
यस्तै एक वर्षको तालमेलमा आएका हुन्— यात्रास्पर्शका कोसेलीहरू ।
यसो त सबै महादेश र सबै महासागरवरपरका नेपाली अनुभूति समेट्ने यहाँ प्रयास थियो । तर पेसा, व्यवसाय, ज्ञान र अभिरुचिजस्तो सबै पक्षको तारतम्य मिल्न सकेन । तैपनि अमेरिकी, एसियाली, युरोप, अस्ट्रेलियालीजस्ता महादेशीय भाव र शिल्पकला यहाँ समाविष्ट छन् । सत्र नियात्राकारका यात्राहरू समाविष्ट छन् यसभित्र ।
यी वैविध्य भावका छन्, चरित्रका छन् र कलाकारिताका छन् ।
विज्ञान, पुस्तागत बोलाइ, लेखकीय भाव र चिन्तनका दृष्टिले फरक सोच— यो सङ्ग्रहको सुन्दरता हो । एक विशेषता र उपलब्धि पनि हो ।
यात्रास्पर्शमा स्थापित, यात्रारत र उम्दा गरी तीन भावका नियात्राकारहरूको उभ्याइ छ । यी तीनै रूप र भावभङ्गिमाबाट पनि नेपाली यात्रा लेखाइको गतिशीलता र स्वरूप छाम्न सकिने सबल स्थिति जान्न सकिन्छ । यात्रा साहित्यको हिजोदेखि आजसम्मको सूची–श्रृङ्खला मात्र होइन— रस, रूप र कम्पनबारे ज्ञान आर्जन गर्न सकिन्छ ।
यात्रास्पर्शमा सँगालिएका रचनाका ‘पेटबोली’ विवरण र अनुभूति दुवै ढङ्गले अभिव्यक्त छन् । यसैले यिनका व्याख्यानमा एउटा रुढ हेराइको लयमा जानु उपयुक्त नहोला कि ?
इल्या भट्टराई, शर्मिला खड्का, दिप्स शाह, जया राई, उमा सुवेदी र सानु शर्मा यहाँ नियात्राकारका रूपमा भित्रिएका छन् । यद्यपि कथा, कविता, उपन्यास र गजलजस्ता भावप्रवण सिर्जनामा यी लेखिकाहरूले आफ्नो बलशाली र सघन उपस्थिति जनाए पनि— नियात्राप्रति खन्याएको आसक्ति र चाहना एउटा खुसीको विषय हो, यो विधाको प्रगतिका हिसाबले ।
भूगोलको र अन्तर्देशीय दृष्टिमा यो कृतिको महत्व आफँैमा आकारयुक्त लाग्छ । पूर्णताको तथ्य नमानौं– तैपनि भेला पारिएका नियात्रामा अनुभूतिको कुशल संयोजनकै कारण कृतिको मूल्य एकदमै सामयिक लाग्छ ।
यी नियात्रा हेर्ने विविध भाव र दृष्टि अनिवार्य हुन्छ । भर्खर प्रारम्भिक यात्राका भावालु मनदेखि परिमार्जनले फड्को मारिसकेका नियात्राकारहरूलाई एउटै चौतारोमा सम्पादकले गरेका छन् भेटघाट र भेला ।
पैदलदेखि मोटरसम्म हुइँकिएका, वायुयानमा बेगिएदेखि रेलमार्गमा घिस्रिएका बित्पाते विचार, भावना र चिन्तनका रचना यसभित्र भेटिन्छन् ।
भौगोलिक हेराइमा नेपाली भूमिलाई डायरीमा उतारे— शर्मिला खड्का, जगत नवोदित र ज्ञानेन्द्र विवशले । उमा सुवेदी, दिप्स शाह, हरि मानन्धरले इजरायली धर्तीका अनुभूतिमा पु¥याउँछन् । बेलायती सभ्यता र इतिहासमा केदार सङ्केत, विश्वासदीप तिगेला, इल्या भट्टराईले दृष्टिबिन्दु दिएका छन् । त्यसो त जया राई, सुमलकुमार गुरुङका नियात्रामा पनि बेलायती प्रसङ्गसँगै युरोप र एसियाले स्पर्श गरेको लाग्छ ।
इरानको भूमिमा पु¥याउने भीष्म उप्रेती मुस्लिम सभ्यताका जोडघटाउ गर्छन् र प्रतिक्रिया दिन्छन्— एकदमै निर्भयसाथ ।
कृष्ण बजगार्इंले चिनियाँँ संसारमा हामीलाई अवतरण गराउँदा कविता, साहित्य र प्रकृतिको सम्यक् भेला लाग्छ ।
युवराज नयाँघरे र श्रीओम श्रेष्ठ ‘रोदन’ को नियात्राले अमेरिकी दृश्य र वस्तुचित्रका श्रृङ्खलाहरू सार्वजनिक गर्छन् ।
हेमन्त परदेशी मध्यपूर्वका व्यापारिक संसारमा नेपाली अन्तष्करणका आँधीबेहरी उतार्छन् । ती आज ‘बाहिरिएको’ मन र खुल्दुलीको समग्र तस्वीर हुन् ।
सानु शर्मा एक्लो प्रतिनिधित्व नाम भएको छ– अस्ट्रेलियाली अनुभूतिमा । विशेषतः सिड्नीको सभ्यता र विकासलाई तथ्यपूर्ण विस्तार पाइन्छ शर्माको नियात्रामा ।
यात्रा साहित्य आजको आकर्षण र अभिरुचिको कोटीमा क्रमशः स्थापित भइरहेको विधा हो । पाठकलाई उद्वेलित हुन र प्रच्छन्न तस्वीर दिनमा गैह्र आख्यानको एउटा चखिलो विधातर्फ उन्मुख भइरहेको छ— यात्रा । यो एउटा मनोगत लेखनी मात्र नभएर वस्तु, विवरण र तथ्यगत संयोजन गरिने विधा पनि त हो । यसैले लेखकले उडान गरिरहने विधाका रूपमा मात्र हुन सक्दैन, प्रमाण र भूगोलका सही आँकडामा बाँच्ने गर्छ यसले ।
भ्रमण वा दिग्दर्शन— सबै पक्ष यात्रा साहित्यले स्वीकार्ने पाटो हो । अनुभूतिको तीव्रतालाई चटक्क छोडेर नियात्राको कल्पना हम्मे–हम्मे हुन जान्छ । खुट्टामा ठेला उठाएर अन्नपूर्णतिर लर्किने ज्ञानेन्द्र विवश होऊन् वा जहाजमा वर्किफर्की गर्ने जया राई हुन्— साधन र स्थितिमा पृथकता भए पनि भावको हुरीमा धनी छँदैछन् । त्यसैले खुल्दुलीमय चित्र र तथ्यका सूची नियात्राले आफ्नै पोल्टामा हाँक्ने पक्ष परे ।
सुमलकुमार गुरुङले पेरिससम्म पुग्न सके पनि, हरि मानन्धरले बहार्ई गार्डेनसम्म टेक्न सके पनि घुम्दाका हतारो र भावनाका बेगवान सुसेली हाल्न छोडेका छैनन् । घुमघामको उपलब्धि यो अनन्यतम् लाग्ने गर्छ ।
व्यक्तिका बुझाइ र अभिव्यक्तिले नियात्रामा सधँै मानक स्थान पाउँछन्— भीष्म उप्रेतीले भेटेका मुस्लिम महिला, विश्वासदीप तिगेलाले नभेटेका दिवङ्गत व्यक्तित्वहरू वा कृष्ण बजगार्इंले हृदयतः साक्षात्कार गरेका कवि त्यही बिम्ब र टोलीसँग एकाकार पक्ष हुन् ।
यात्रामा लेखकले दगुरेका बाटामा पाठक नपुगेसम्म अभिव्यक्तिको मूल्यलाई उन्नत मान्न सकिन्न । जगतले बाटामा भेटेका पात्र, परिवेश र प्रकृतिका तहहरू– सानुले अनुभूत गरेका बिम्ब, विकास र विचारहरू, शर्मिलाले यात्रामा खेपेका परिणाम, स्वभाव र अनुहारहरू यात्रामा मीठा, सङ्गठित र प्रेमपूर्ण भएर आएका छन् ।
लेखनमा लैङ्गिक चेतनाको सबलताले लिने गरेको महत्ता आजको अर्को तर्कशील पक्ष हो । उमाले समुद्रमा ढुक्कले डुब्न नपाउँदाको खिन्नता, सानु शर्माले पोखरेली विमानस्थलमा पाएको असहयोग र उपेक्षा–पुरुषका दृष्टिले पर्गेल्नुपर्ने विचारोत्तेजक स्थिति हुन् । यिनले यात्राको कोरा र भावुक तस्वीर मात्र नदेखाई समाजका कपट र कालाभावनाको उदाङ्गोपनालाई प्रस्ट्याउँछन् ।
नियात्रामा अनुभूतिको समग्रताले स्थान खोजिरहेको हुन्छ । पात्र र लेखकको एकाकारमा वस्तुतथ्य बिस्तारै ओर्लन्छ । त्यो हृदयमा, वस्तुता र अनुस्मरणको तरेली–तरेलीमा आउँछ— घुमाइको परिणाम ।
यात्रास्पर्शमा केही कुरा समानका लाग्ने पनि त छन्— तर तिनले भोगेको सबै स्थिति भिन्न लाग्छ । सम्भवतः लेखनको उचाइ, गहिराइ र लम्बाइको व्यापकता यही हुनुपर्छ ।
पानीमा तैरिनु वा रेलमा दगुर्नु, हवाईजहाजमा हुइँकिनु वा ठसठसी कन्दै लस्किनु– घुमाइका आफ्नै साधन र परिस्थितिका परिणाम हुन् । लेखनमा हुने बठ्याइँ र इमानजमानले नियात्राको मानकता कायम गर्छ ।
सोझो र सपाट अभिव्यक्तिसाथ उद्घाटन गरे पनि कला र दृश्यले सँगाल्न नसके यात्रा बन्नेछ— बबुरो, एकदमै बिचरो । त्यस्तो कमजोर र रोगी सिर्जनाको आत्माले कसरी आफ्नो अस्तित्वका निम्ति पौंठेजोरी खेल्न सक्छ ? चिन्तनीय विषय हो यो ।
यात्रास्पर्शमा कुनै मानक आधार र तथ्य तेस्र्र्याएर नियात्राकारको भेला गरिएको पाइन्न । यात्रा गर्न कम्मर कसिरहेका अन्य धेरै हृदयहरूको कुम्भमेला किन नगरिएको ? यो प्रश्न सम्पादकलाई पनि गरिनँ मैले । माथि नै उदार र सङ्कोचहीन भएर भनिएकै छ— यात्रास्पर्शका लहरमा भेटिए र भेला भएसम्मका नियात्राहरू नै यहाँ सजाउन सकियो । तिनले यात्राका भव्य शिखर र चुली फड्किएको ठान्नु त्यत्ति व्यावहारिकता पनि होइन ।
यात्रास्पर्शमा सबै मन र ठाउँमा पुगिरहेको शरीरसँग साक्षात्कार भइन्छ ।
ओहो, यस्तो पनि !
लौ, यस्तो पो है !!
आहा, यो पो त !!!
यी पङ्क्तिका माध्यममा कतिपय यात्राकार छन्— यो सङ्ग्रहमा । कतिपय चैं त्यस बाटोमा नपुगिसके पनि प्रयत्नकै छेउछाउमै रहेको प्रतीत हुन्छ । हो, चेष्टा चैं तिनमा छ ।
देखेका कुरा, भेटेका मान्छे, जानेका अवस्था, गरेका छलफल र भोगेका जाडो–गर्मीलाई यात्राकारले सत्यका छेउमा बसेर लेखिदिने हो भने— राम्रो यात्रा त्यो बन्दैन भन्नु ढाँट्नु हो । मित्थ्या बोल्नु हो र फलाको हाल्नु हो ।
यात्रास्पर्शमा आएका धेरै यात्राकारका सङ्गति सोच र अवधारणाले हाम्रो मानवीय रूपाकृति मात्र कोरिएको छैन— संस्कृति, मनस्थिति र प्रकृतिका नदेखिने गुरु–भावलाई कपेर लेखिएको मैले ठानेँ ।
आज साहित्यलाई विभेदयुक्त नराखौं भन्ने हूल जति छ त्योभन्दा अर्को समूह झन् बढ्दो छ— वर्गीय र वर्गभेदका भड्खालामा उभ्याएर ‘वामन विचार’ मा रङमगाइरहने ।
नियात्रालाई सिर्जना संसारको कित्तामा कसरी छाडा छोड्ने ? यो त एउटा सानो अर्थ र मूल्यमा मुन्टो उठाएर लम्कन खोज्ने शैली मात्र हो— यसो भन्ने वर्ग र ओठलाई केही जिज्ञासा किन नराख्ने ? भन्ने लाग्छ मलाई ।
घुमेर आएकाहरूले वा तीर्थाटन गएर आएकाले ‘तीर्थे भोज’ खुवाउने आशय यो पनि हो— लेखाइको अभाव । वास्तविक यो नै हो– घुमघामपछिको मन र व्यवहार साटौँ । अब त एउटा दक्ष र कलापूर्ण जीवन बाँच्न खोज्नेले ‘तीर्थे डुलाइ’ पछि कसैलाई टेप वा रेकर्डरमा भरी–सुनाई छाप्न सक्छन् भोलिका दिनमा ।
नियात्रा त अनुभूति हो— घुमघामको । अभिव्यक्तिका अभावमा त्यसले मौलाउने र ढकमकिने मौका पाउँदैनन् ।
यात्रास्पर्शमा अन्तस्करणको यात्रा देखेँ, मनस्थितिको सार भेटेँ र भोगाइको बिस्तार पाएँ ।
यात्राका फग्लेटा अनेक छन् । आज त मुलुकसँग भेटघाट गर्न आउने अनुहारको सूची कम छ । हरेक वर्ष देश छोड्नेहरूले आफ्नो आँगनभन्दा बढ्ता अर्कै आकाश र बाटोघाटो छिचोलिरहेका हुन्छन् । ती स्मरण र भावनाले यात्रा साहित्यका परम्परागत ढबढाँचा अलिक बेग्लै छन्, भिन्न बनाउँदाछन् र नौल्याइँ रूपमा निर्माण गर्दछन् ।
अझ पुस्तागत परिचयमा विपन्नता बन्दै गएको हाम्रो जनजीवनमा प्रभाव र प्रवाह झनै नौलो भइरहेको छ । विज्ञान र पद्धतिको एकदमै गहिरो उपस्थिति भएकैले होला– यात्रा साहित्यमा भेलबाढी आएकै मान्छन् पढालुहरू । तर छानिएर, थिग्रिएर वा मसिन्निएर सुन्दर हुने नियात्राको दर्बिलो प्राप्ति त्यत्ति धेरै भइनसकेको प्रमाण भेटिन्छ । पर्खौँ, यो बेला पर्खि नै पर्छ हामीले ।
घुम्ने जति सबैले लेख्दैनन् । लेखिहाले पनि त्यो भावग्राही र शैल्पिक चमत्कारले चपक्क समाति हाल्दैनन् । यसरी धीत नमर्ने लेखाइ र कलाको आयु लामो हुँदैन । समय त प्रकृतिले दिएको हुन्छ । आयुलाई दीर्घरूपको बनाउने काम त लेखकको हो । दीर्घायु बनेको सिर्जना नै पुस्तागत प्राप्ति हुन्छ, उपलब्धि बन्छ र प्रेरणादायी रहन्छ ।
डा. तारानाथ शर्मा वा लैनसिंह बाङ्गदेल वास्तवमा त्यही दीर्घायु अनुहार हुन्— हाम्रो यात्रा साहित्यमा । एउटा मूल्यबोध, मानकता र आयाम हरेक तथ्यमा नियात्रा विधाको कर्मशील छवि तिनले दिएर गएका छन्— हामी तनमस्तक होऔँ ।
वर्षभरिको सोलोडोलो प्रकाशन सामग्रीलाई निफननाफन पार्ने हो भने नियात्रामा खँदिलो सहभागिता रहिआएको छ । हो कतै टिपोट हुन्छ, कतै रिपोर्ट हुन्छ । यी दुवै असल र कमसल सिर्जनाको आगमन भए पनि यात्रा– जागरण भन्छु म यस स्थितिलाई । नआउनु, आए । यो रचनाकारिताले बूढो साँझको परिपक्वता नदेखाइहाले पनि– शिशु बिहानीको शुभ्रतामा चरित्र बनाउने वातावरण सोचेको देखिन्छ ।
जानेहरूले, अनुभवका धेरै प्रकारका स्मृति सँगेल्न सक्छन् नै । यात्रास्पर्शमै आएका लेखकहरूका वैविध्य पेसा र रुचि छन् । ती फरक भाव, मनस्थिति र संस्कारका भएकैले भूमि, आकाश, प्रकृति वा मान्छेका पैतालालाई झनै फरक धारणाले विवेचना गर्दा हुन् । लन्डन बसेर खोटाङ पुग्ने जगत, पोखराका सुमलले टेकेको पेरिस, धादिङकी दिप्सले पसेको इजरायली ओडार– यी सबैका काम, जिम्मेवारी र जिन्दगीका उपर्तल्ली छन् अलग–अलग । तर घुमेर पाएका बिम्बसँग यी समर्पित छन् । लेखक र तपस्वी यहीँनिर मिल्छन् ।
यात्रामा नहुने कुरा केही हुँदैन । अझ आफ्नो भूमि छोडेपछि त भोग्नुपर्ने जुनै परिस्थितिका निम्ति छाती दह्रो बनाउनैपर्ने । हाँसो, भाषाको अभाव, सूचना निरपेक्ष वा खर्चबर्चको अपुग— यी हुन सक्ने स्थिति परे । यस अतिरिक्त घुम्न भनी जाँदा आइपुगेका अप्ठ्यारा गुजुल्टाले तत्क्षण उकुसमुकुस भए पनि लेख्य सामग्रीमा– कालान्तरमा हृदय उमङ्गित हुन पुग्छ ।
इल्या, हेमन्त, विश्वासदीप, भीष्म र केदारका केहीक्षण तिनै मर्म र मोहकताका विषय भएर आउँछन् ।
यात्राले व्यक्तिको रूप मात्र बोल्दैन— देश, संस्कृति, जाति र प्रकृतिको सेरोफेरो सम्बोधन गर्छ । इरानको सम्पन्नता, बेलायती विकास, अस्ट्रेलियाली आदिवासीको सूची वा मध्यपूर्वमा नेपाली भीडभाड– यात्रास्पर्शका रचनामा सम्झौताहीन भएर ओर्लिएका विषयबिम्ब हुन् ।
यो मिसमासे सँगालो हो । नियात्राका निकै कृति दिइसकेका रचनाकारदेखि एकदमै थोरै यात्रालेखनमा जुटेका जस्ता– पूर्णतया फरक अनुहार र साधनाका नियात्राकारहरू एकै ठाउँमा भेला पारिएका छन् । यसले एकातिर यात्रा लेखनको अन्तर्चरित्र देखापर्छ भने अर्कातिर यात्राको अद्यावधिक इतिहासका मोड थाहा पाउन पनि सहयोगै गर्नेछ । यात्रास्पर्शलाई परदेशको प्रयत्नको रूपमा लिनुपर्ने पनि हुन्छ ।
यस सङ्ग्रहमा समाविष्ट निकै स्रष्टाहरू विदेशमै कर्मशील छन् । तिनका हृदयले देखेका कर्मभूमि र परेलीभित्र बाँचिरहेका जन्मभूमिको हृदय कति मार्मिक लाग्छ । दस जना नियात्राकारहरू संसारका अनेक ठाउँमा जीवनको पाङ्ग्रा गुडाइरहेका छन् । हेमन्त, हरि, सुमल वा सानु परदेशमा रहेर स्वदेशका इन्द्रेणी निहालिरहेका छन् । यस्तै विश्वासदीप, दिप्स, जया, जगत वा केदार नेपालबाहिरै रहेर परदेशका घामपानी छिचोलिरहेकै छन् ।
परबाट यता हेर्नु र यताबाट त्यता हेर्नुको दोहोरो भाव कथाका सुन्दर पङ्क्ति यहाँ देख्न सकिन्छ । यात्रास्पर्श कुनै मानक र अन्तिम प्रयास होइन नियात्रा साहित्यको निम्ति । यो त एउटा हुटहुटी हो, उमङ्ग हो, आवेग हो र जोरजाम हो ।
मानिसहरूले आज बाहिरिइरहेको पुस्तालाई ‘रेमिट ज्यान’ भने पनि, साहित्यिक संसारले अलिक बेग्लै र सकारात्मक दृष्टिले यो प्रक्रियालाई मूल्याङ्कन गरेको लाग्छ मलाई । बाहिरिने मनले बाहिरको संसार हेर्छ र विश्लेषण गर्छ । धेरै त बिलाउँछन्— बचेका र बलिया मनले चैं लेख्छन् । हो, धेरैले हेरे पनि लेख्नेले त कमै हेरे पनि त पुग्छ । अझ नियात्राकारले त एउटै बत्ती, एउटै सहर वा एउटै सडक हेरे पनि धेरै कृति जन्माउन सक्छन् ।
‘रेमिट ज्यान’ बाट ‘रेमिट सिर्जना’ आइरहेको पनि त छ नि । यो यात्रास्पर्श त्यही एक अर्थ हो, उपलब्धि हो र पाहुर हो । आफ्नाहरूले भोगेको भाव अरूमा दिनु, आफ्नाहरूले स्वीकारेको समाज अरूका लागि छुट्ट्याउनु– यात्रास्पर्शले बोलेको सत्य हो । आप्रवासी हृदयले अन्तरदेखि नै बोलेका स्वरका पङ्क्ति यहाँ नभेट्नु अर्को भूल हुनेछ ।
व्यक्ति र प्रवृत्ति यात्राको अन्तिम नतिजा हो । व्यक्तिसँग गाँसिएर आउने स्वभाव र प्रवृत्तिले दिने प्रतिक्रिया सिर्जनाको सोपान हो । कतै कम कतै बढी, कतै अपेक्षित कतै अनपेक्षित भएर यी प्रतिक्रिया आएका छन् ।
यात्रास्पर्शमा मान्छेका छरपष्ट तस्वीर देख्न सकिन्छ । दुखिरहेका, दुख्ने क्रमका, दुख्दा–दुख्दा थिल्लिएका मन पढेपछि एक पटक त आफैं पनि निकै दुखेँ म । आखिर मैले अमेरिकामै भेटेका पात्र पनि दुखाइले थिल्थिलिएका मन थिए । सबै महादेशमा बाँडिएका यी अनेक नेपाली धुकधुकीले मान्छेका प्रयास, सभ्यता, विकास र निर्माणबारे बोल्न जिब्रो लक्पकाएका छैनन् ।
बाहिरबाट गोरेटो बनाइयो, अब राजमार्ग बनाउन बेर नगरौं । बधाई छ, धेरैधेरै ! त्यत्तिक्कै छ शुभकामना पनि !

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 पौष, 2068

लेखकका अन्य रचनाहरु