देश बोल्छ आफ्नै भाषामा

- गोविन्द विकल

सुन

देश बोल्छ आफ्नै भाषामा-

कि एउटा मान्छे अाजानमा

एम्बुसमा परेर पड्किए जस्तै

एउटा ग्लास अंजान

खसेर सिमेन्टमा प्याट्ट फुटे जस्तै

फुट्यो नेपालको उज्यालो भविष्य

मेरो भविष्य

इतिहासमा अनगिन्ती घटना

फुटेको सिसाको टुक्रा जस्तै छातीभित्र भासिएर

हेरिनसक्नु विसंरचना

ज्याक डेरिडाले बोकी आए

उनकै पनि हाड भाँचियो / ढाड भाँचियो

उत्तर आधुनिकता र त्रासमय वातावरण

पूर्व आधुनिकता र आशमय वातावरण

फुटेको ग्लास अगाडि छ

टुटेको हृदय अगाडि छ ।

 

म जहाँ छु त्यो ठाउँ

एक्काइसौं सदी हो भने

किन समय हिजो भन्दा सुन्दर भएन

किन शाकुन्तलम् र मेघदूतलाई

आजको कुनै बाङमयले उछिन्न सकेन

म फुटेको ग्लास हेर्छु

र म भत्किएका मक्किएका र चर्किएका

नेपाली घरहरु हेर्छु महलहरु हेर्छु

आलिशान दरबारहरु हेर्छु

चिरिएको धर्तीको छाती हेर्छु

म के को लागि गर्व गरुँ

कि म आधुनिक नेपाली हुँ

सोह्रौं सत्रौं शताब्दीमा छु

र एक्काइसौं सदीको भूगोलमा रोइरहेको छु ।

 

यसरी देश बोल्छ

रगतको नदीमा डुबेर

पसिनाको सागरमा तैरिएर

आँसुको झरनामा नुहाएर

पुस-माघको घाममा

चिसोमा बाथले सताएको

आङ सेकाएर

देश बोल्छ आफ्नै भाषामा

म हराएको छु मेरै परिवेशमा म छु ।

तर बेपत्ता छु मेरै परिवेशमा म छु

तर बेपत्ता छु मनभित्रको आपट्टे जंगलमा

विन्ती गर्छु देशबासी हो

तपाईंहरु मलाई खोज्नुहोस

म दलदलमा भासिएको छु

तपाईंहरु मलाई उकास्नोस

मलाई उचाल्नुहोस् यो कुइरीमण्डल

अन्धकारमय परिवेशबाट

मलाई उज्यालोमा ल्याउँनुस

मलाई उचाल्नुस

मलाई उचाल्नुस् ।

धरान

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 18 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु