डल्ली घरै फर्किई

- योगेन पौडेल

उफ्… कति चिसो !!! त्यसै त माघको महिना, त्यसमाथि यो झरी! मुटु नै लुगलुग काम्दैछ। धन्न यहीँ नजिकै एउटा चिया पसलसम्म भएपनि भेटियो। यही चिया मात्रले पनि केहि न्यानो बनाए झैँ लाग्दैछ।
एउटा साथीले कार्यक्रम ४५ मिनेट पछाडी सर्यो रे भन्ने सूचना ल्याएपछि हामी चिया खान नजिकको पसलमा बसेका छौं। हामी अर्थात पत्रकारहरुको सानो समुह। आज यहाँ अनमिनले योग्यता नपुगेको भनेर ठहर गरेका लडाकुहरुको बिदाई हुँदैछ। त्यहि बिदाई कार्यक्रममा भाग लिएर सिबिर छोड्न लागेका माओबादी छापामारहरुको समाचार रीपोर्टीँग गर्न भनेर म काठमाण्डौबाट साथीहरुसँग आजै बिहान मात्र यहाँ आईपुगेको हुँ। शुरुमा कार्यक्रम बिहान १० बजे हुने भनिएको भए पनि यही पानीको कारणले कार्यक्रम सरेको रहेछ।
चिया पीऊँदै साथीहरु गफमा मस्त छन्। चीसो बढेको कुरा, पानीको कुरा, छापामारको कुरा, सरकारको कुरा, माओबादीको कुरा, बार्ताको कुरा, असुरक्षाको कुरा, मानव अधिकार हनन, हत्या, लुट, डकैति र बलात्कारको कुरा। कुरा गर्न सायद आजकल अझ धेरै कुरा बढेका छन्। म भने आज बिहानको कुरा सम्झन्छु। आज सिबिर छाड्न लागेका लडाकुहरुको प्रतिक्रिया लिन मेरा क्यामेराम्यान साथी हरि र म सिबिर छिर्ने अनुमति पाएका थीयौँ। त्यहि प्रतिक्रिया लिने क्रममा देख्यौं , धेरै लडाकुका आँखा र बोलीमा तादम्य थिएन। बोलिमा सुनिने आक्रोस भन्दा आँखामा देखीने भाव केहि फरक थीयो सायद। लाग्थ्यो, क्रान्तिको सपना देखाइएका आँखाहरुले सायद अहिले बेग्लै यथार्थ देख्दैथिए। आफ्ना आदर्श नायकहरु आज सरकार र सत्तामा मात्र भूलेर ज्यानको समेत पर्वाह नगरी युद्ध लडेका आफूहरुलाई अनिश्चित भविश्यतिर धकेलेको पीडा देखिन्थ्यो तीनिहरुको आँखामा। तिनीहरु कोहि एटम बम बनेर फुट्ने भन्थे, कोहि आफूलाई रक्तबिज बताउँथे, कोहि भने घर फर्केर घर-गाउँमै केहि काम गर्ने र पार्टीले जिम्मेवारी दिए पार्टीको काम पनि गर्ने भन्थे। तीनिहरुको कुरा सुन्दा लाग्थ्यो, लडाकुहरुका ती कलिला आँखाहरुले देख्न त देशकै उन्नतिको सपना देखेको रहेछ अथवा भनौँ देखाईएको रहेछ। मैले पहिलोपटक त्यति नजिकैबाट तीनिहरुको रगतमा उम्लिरहेको त्यस्तो मिश्रणको ताप अनुभब गरेँ जुन मिश्रण सामाजिक अपहेलना र छिचोमिचो बिरुद्धको आक्रोश, युवा जोश, भावुकता, आवेग, देशभक्ति आदि अनेकौँ तत्वहरु मिलेर बनेको रहेछ। सोचें, छातीको नाप, जीउको उचाई र उमेरलाई मात्र योग्यताको आधार मान्दा अयोग्य ठहराईएका यी लडाकुहरु माथि कत्रो ठूलो अन्याय भईरहेको छ?! तर यो कुरा मजस्तो चानचुने मान्छेले भन्दा सरकार चलाइरहेका, माओबादी हाँकिरहेका अनि अनमिनमा रहेकाहरुले नै राम्रो संग बुझेका थिए होलान्।
स-सानै भएपनि एउटा कभर-अप मात्र के सक्न लागेका थीयौँ, अचम्म संग एउटा चीर-परिचित अनुहार पो देखियो। म त अक्क न बक्क भएँ, त्यहाँ त राधिके पो देखा परी। “डल्ली!!!”, मेरो मुखबाट अनायसै निस्कीएछ। अनि एकछिन कुरा गरेपछि उसैले भनी, "म पनि आजै बिदाइ हुन लागेकी नी त”। अरु छापामारहरुको अनुहारमा देखिएको जस्तो आक्रोश त्यसको अनुहारमा थिएन। कान्तिहिन, फुँग उडेको भावबीहिन अनुहारमा कुनै पीडा, चमक, आक्रोश, खुसी केहि पनी ब्यक्त नगर्ने उदास आँखा लिएर त्यो मेरो अगाडी उभिएकी थिई। एक्कैछिन कुरा गरे पछी कसैले “कमरेड ज्वाला, तपाइको नानी रुँदैछ भन्यो” अनि त्यो त्यतै लागी। ज्वाला?! नानी?! म भनेँ फेरी एकपटक छक्क परेँ अनि बाहिर आएर अहिले साथीहरुको समुहमा मिसिएर चिया खाँदैछु।
भनेपछि राधिके अर्थात् त्यो बेला सबैले भन्ने गरेकी 'डल्ली' आज कमरेड ज्वाला भईछे। राधिके र म संगै हुर्केका हौँ सानै छँदा। मेरो घरभन्दा अलि माथितिरको कान्लामा तिनीहरुको घर थियो। एउटा सानो कदमको रूखले तिनिहरुको भूँईतल्ले घरलाई छेक्थ्यो, हाम्रो घरबाट हेर्दा। राधिकेकी आमा बितेको बेलातिरको अलिअलि धमीलो जस्तो याद आउँछ। राधिके त दुई कक्षामा पढ्थी। छ-सात बर्ष जतिकी मात्रै थिई होला त्यो बेला। तर राधिकेकी दिदि फुलमाया चाँहि अलि हुर्किसकेकै थिइन्। तिनलाई सबैले फुली भन्थे। चिटिक्क परेका लुगा लगाएर फुली दिदि स्कूल जान्थीन्। मेरा बुबा आफैँ स्कुलको मास्टर हुनुहुन्थ्यो, तर मलाई भने डल्ली सँगै ‘इस्कूल’ जान मन पर्थ्यो। तीनै फुली दिदीको पछि लाग्दै राधिके र म स्कूल जान्थ्यौँ। स्कूल देख्न त घरबाटै देखिन्थ्यो तर पहाडको ठाउँ, एकपटक डाँडाबाट झरेर खहरे तरेपछि फेरी अलिकति डाँडा चढेर स्कूल पुग्न झन्डा ४५ मिनेट- एक घण्टा जति लाग्थ्यो। स्कूल सँगै जान्थ्यौँ, सँगै फर्कन्थ्यौँ, कहिलेकाहीं खहरेमा जम्मा भएको पानीमा पौडी खेल्न छिर्थ्यौँ। पानी परेको दिन त्यो भिज्दै मेरो घरमा आउथी। जस्ताको छानामा परेको पानी जम्मा भएर अल्ली ठूलो हुँदै बार्दलिमा खस्थ्यो। हामी नाँगै भुतुँगै त्यहाँ नुहाउथ्यौँ। अल्ली ठूलो भएपछि अरुले चोर औँला हल्लाउँदै कुरीकुरी भन्न थालेपछी बार्दलीमा नुहाउन लाज लाग्न थाल्यो।
राधिकेकी आमा बितेपछि बुबाले कान्छि श्रीमती भित्राए, र एउटा सानो भाई पनि सँगै भित्रियो। त्यसपछी फूली दिदिको स्कूल जाने क्रम कम हुँदै-हुँदै बिस्तारै पुरै पढाई छुट्यो। तीनको दिन बाख्रा-बस्तु हेर्ने, घाँस काट्ने गर्दैमा बित्दथ्यो। राधिके चाँही स्कूल जान्थी। सानीमाको छोरो स्कूल जान थाल्दा राधिके चार कक्षामा पढ्थी। सानीमा बारम्बार बीरामी पर्न थालेकी थीईन् । बुबाचाँहि जेठी श्रीमती बितेदेखी नै ‘बिजुलि-पानी’ मा नै रमाउन थालेका थिए धेरैजसो। घरको कामको बोझ दिदि हुँदै बिस्तारै राधिके तिर सर्दै थीयो। त्यसले कहिलेकाँही स्कूल जान समेत पाउन्नथी। तर दिदी आफू धेरै काम गरेर भएपनी सकभर त्यसलाई स्कूल पठाउँथिन्।
गाउँमा बिस्तारै राजनैतिक/सामाजिक चेतनाले कोल्टे फेर्दै थीयो। प्रजातन्त्र आएको करीब दस बर्षपछी मानिसहरु अर्को एउटा आन्दोलनको तयारीमा थीए । तीनीहरु काठमाण्डौ केन्द्रीत त्यसबेलाको राज्य ब्यबस्थामा राजधानी सहरको सुबिधामा चुर्लुम्म डुबेका नाईकेहरुलाई हिँसा सहितको आन्दोलनबाट झक्झक्याउने प्रयत्नमा थीए। गाउँघरमा अलि उत्पीडनमा परेका, मूलधारबाट ओझेलमा परेका निमुखा, अनपढ, दलीत, सामाजिक र कुनै कुनै मान्छेको हकमा त पारवारिक थिचोमिचोमा परेका युवाहरु एउटा हिँस्रक आन्दोलनको तयारीमा थीए।
यसै क्रममा ‘एक घर एक जवान’ भन्ने उर्दी आयो। धेरै मान्छे त्यहिबेला जङ्गल छिरे। फुली दिदिलाई पनि एकदिन सैनिक झैँ पोसाक लगाएर आएका केही मान्छेले भेटे रे भन्ने सुनियो । सानिमाले त्यसै पनि ती दुई दिदि बाहिनिलाई हेँला गर्न थालेकी थीईन् । त्यस दिन तीनले फुली दिदिलाई कपाल लुछ्याउँदै पीटिछिन्। त्यसकै भोलिपल्ट फुली दिदि जङ्गल छिरीन् अरे भन्ने हल्ला गाँउ भरी फैलियो।
गाँउमा आउँदै गरेको राजनैतिक परिबर्तनको यो नयाँ दृश्यबाट सबैजसो परिवार प्रत्यक्ष परोक्ष प्रभाबित थीए। परिबर्तनको यो भेलले हाम्रो परिवारलाई मात्र के छाड्थ्यो? समयले हाम्रो परिवारलाई पनि बगायो, तर सायद कैयौँ परिवारहरुको तुलनामा केही कम। मेरा बुबालाई पञ्चायती ब्यबस्थामा काँग्रेसमा लागेको भनेर अलि-अलि मान्छेले चिन्थे तर बहुदल आएको केहि बर्षमै राजनितीदेखी बिरक्तिनु भएकोले पढाउने काममा मात्र ब्यस्त हुनुहुन्थ्यो । राजनितीमा वहाँको कुनै पनि सक्रियता थिएन । बुबालाई आन्दोलनमा सहयोग गर्न ‘अनुरोध गरेका’ धम्की आउन थाले । त्यसो त स-साना नगद, चन्दाहरु बिस्तारै सहयोग हुनै छाडिसकेका थीए। हाम्रो घरमा पार्टीका मान्छेको आवतजावत दिनमा भन्दा रातमा बाक्लीन थाल्यो। बुबाले आफ्नो बिचार परिबर्तन नगरे पछि चन्दा भन्दै तीन लाख रुपैया मागेको रसीद भएको एउटा चिठ्ठि घरमा आयो । सहयोग नगरे भौतिक कारबाही हुने भनेर रसीद सँगै राखिएको चिठ्ठीमा लेखीएको थीयो। फेरी त्यहि बेला ठाउँ- ठाउँमा शिक्षकहरु मारीन थालेका समाचारहरु रेडियोले भन्थ्यो। आफ्नै बिद्यालय प्राङगणमा हात पछाडी बाँधेर घाँटी रेटिइएका लमजुंगतिरका एकजना अधिकारी थरका मास्टरको फोटो पनी पत्रिकामा देखीयो। हाम्रो परीवार बिस्तारै भयभीत बन्न थाल्यो। बुबा इलामबाट बिदाका दिनमा सुटुक्क कहिले बिर्तामोड, चन्द्रगडीतीर त कहिले सदरमुकामतिर धाउन थाल्नु भयो, तराईतिर जागिर सरुवा खोज्न। नभन्दै हामी इलाम छोडेर झापाको चन्द्रगडी सर्ने भयौँ, बुबाले एउटा माध्यमिक बिद्यालयमा जागिर सरुवा पाएपछी। यो घटना पुस्तौँ देखि इलाममा बस्दै आएको हाम्रो परिवारकोलागी निष्चय नै ह्रिदयबिदारक थियो, तर हाम्रो आत्तिएको मनले कल्पना गरेको दुर्घटनाको चोट भन्दा कम दुखद। हामी बसाई सर्ने दिनको दुई दिन अगाडि मात्र एउटा अत्यन्त दुखद खबर सुनियो। रोल्पाको सदरमुकाम आक्रमण गर्न जाँदा मरेका कैयौँ प्रहरी र बिद्रोहिको समुहमा फूली दिदि पनि परिछन्। गाउँभरी हल्ला चल्यो। म पनि राधिकेको घरमा पुगेँ। त्यो त्यसै पनी अलि दुब्ली, आँखाभरी आँशु र जिंग्रिंग परेको मैलो कपालमा आज झन त त्यो झनै दुब्ली र नीरीह देखीई। छेउमा कम्ब्याट ड्रेस लगाएका बिद्रोहीहरु राईफल समातेर उभीएका थिए। मलाई त्यहाँ लामो समय बस्न डर लाग्यो, चाँडो- चाँडो घर फर्किएँ।
इलाम छोडेर चन्द्रगडी आउँदा त्यहाँको वातावरण केहि सहज र खुकुलो भेटियो। बुबा त्यहिँको सरकारी स्कूलमा पढाउन थाल्नु भयो र म त्यही स्कूलमा कक्षा नौमा भर्ना भएँ। बेला-बेलामा इलामतिरका मान्छेहरु हामि बसेको डेरासम्म आइपुग्थे, तिनीहरुबाटै इलामतिरको खबर थाहा हुन्थ्यो। चन्द्रगडी आएको तीन-चार महिना जति पछाडि इलाममै अली टाढाको काका नाता लाग्ने ‘पोखरेल ठुल्दाई’ ले जन्डिसले थलिएकै बेलामा धेरै रक्सि खाएर राधिकेको बुबा चन्द्रमान काका बिते भन्ने खवर सुनाए। कुरा गर्दै जाँदा पो थाहा भयो, फूलमाया मारीएको करिब पन्ध्र दिन जति पछाडी जँगलबाट आएका मान्छेसँगै राधिके पनि जँगल छिरिछे। राधिके सायद सात कक्षामा पुगेकी थिई, त्यो बेला।
‘चिया त हिऊँ भईसक्यो नी त सर्!’ हरीले भनेपछि पो झसङ्ग भएँ। म त पूर्ब-स्मृतिमा कता-कता पो हराएँछु। बाहिर पानी पनि थामिई सकेछ। एकछिनमा हेलिकप्टरको आवाज आयो। पार्टि अधक्ष्य आईपुगेछन। सँगै बसेका साथिहरु भित्रको कार्यक्रम कभर गर्न उठ्न थाले। हरि र म पनि गेट भित्र छिर्यौँ। अगाडी मञ्च बनाइएको रहेछ। केहिबेरको भाषण पछि अधक्ष्य कामरेडले फूलमाला र अबिर लगाइदिँदै हात मिलाएर एक पछि अर्को ‘अयोग्य’ छापामारहरुलाई बिदाई गरे अनि फेरि अर्को एक चरणको भाषण पछि कार्यक्रम सकियो। हेलिकप्टरको पँखा फेरी घुम्न थाले। योग्य, अयोग्य दुबै खाले लडाकुहरुले बिदाईको हात हल्लाए। हेलिकप्टर उड्न थाल्यो र एकछिनमा अलप भयो।
मलाई राधिके सँग भेट्नै पुगेको थिएन। गेटमा पर्खिबसेँ। एउटा टुकुटुकु हिड्न सक्ने हेर्दै रहरलाग्दो बच्चो डोर्याउँदै त्यो गेट सम्म आई अनि म भए तिरै बढी। त्यो छेऊमा आएपछि मलाई खै के भो के ? त्यसको अनुहार देखेरै आँखा रसाएर आए। घाँटिभित्र कुनै कुरा अड्के जस्तो भयो। एकछिनमा आफूलाई सम्हालेँ र सोधेँ “छोरा कि छोरी”? त्यसले “छोरा” भनेर भनी। फेरी सोधेँ “अनि यसको बुबा नि त, के गर्नुहुन्छ?” “धनकुटा-सल्लेरि हान्न सँगै गएका थियौँ। हाम्रो डफ्फाको कमाण्डर हुनुहुन्थ्यो। मोर्चामा सबैबन्दा अगाडिको पङ्तिमा हुनुहुन्थ्यो। म चाहिँ सहिद भएका साथिहरुको लास पुर्न खाल्डो बनाउने समुहमा थिएँ। साथिहरु सकि-नसकि लास डोकामा बोकेर ल्याउँथे। सँगै तालीम गरेका, सँगै लडेका, सँगै भागेका, प्रहरी-सेनासँग ज्यानको दाउ राखेर सँगै लुकामारी खेलेका साथिहरुको लास देख्दै भक्कानो छुटेर आउँथ्यो। कुनै अनुहारै नचिनिने, कोहि अहिले नै बोल्ला कि जस्तो खुल्ला आँखा । हामी रुँदै खाल्डो खन्दै थियौँ। हाम्रो समुहकी कमाण्डरचाहीँ रुँदै हामिलाई नरुने आदेश दिँदै थीइन्। यत्तिकैमा एउटा डोकामा त सोनामको लास पनि पो आयो। त्यहि युद्धमा बित्नु भो।“ मलाई सिनेमाको कथा सुने जस्तै लाग्दै थियो। “त्यो बेला बाबु मेरो पेटमा भर्खर पाँच महिना लाग्दै’थ्यो।“ त्यति भनेर त्यो मलाई छाँद हालेर रुन थाली। मलाई अझ के गरौँ के गरौँ भयो। वरिपरिका मान्छे हामितीर हेर्न थाले। केहि क्यामेरामेन साथिहरुले गज्जबको दृश्य देखे क्यारे, क्यामेरा तयार गर्न थाले। मैले अनुरोधको भावमा फोटो नखिच्न आग्रह गरेपछि फोटो चाहिँ कसैले खिचेनन्। केहिबेरपछि त्यो आफैँ चुप भई। मजेत्रोले आँशु पुछि। मैले पनि आफ्नो गला सफा गरेँ अनि सोधेँ “ अब कता जाने त, डल्ली?” “इलाम नै जान्छु। भाई आठ कक्षामा पढ्ने भयो रे। आमालाई घरको काममा सघाऊँछु। छोरोलाई पनि त्यतै पढाउँछु”
बिदाई हुने छापामारहरु बस भएतिर लागे। सैनिक पोसाकका एकजना कामरेडले टुक्रुक्क बसेर राधिकेको छोराको हात समाए अनि राधिकेतिर हेर्दै भने, “देश अझ मुक्त भएको छैन, कामरेड ज्वाला। देश मुक्त पार्ने सोनामको सपना तपाईको यो छोरोले पुरा गर्छ। क्रान्ति अझै सकिएको छैन। आफूभित्रको ज्वालालाई जीवन्त राख्नुहोला, निभ्न नदिनुहोला ।” राधिकेले छोराको हात झ्वाट्ट समातेर आफूतिर लीई। छोरालाई बोकेर बेस्सरी छातिमा टाँसी र उपेक्षाको भावले ती कामरेडतीर हेरी। अलीपर माघको जाडोले सबै पात झरेर थला परेका लामबद्ध रुखहरुको मुनि बाटो किनारमा एउटा बस तिनीहरुलाई पर्खिराखेको थियो। त्यो बस चढ्न भनेर छिटो छिटो तीनै उजाडिएका रुखहरु तीर लागी। कामरेड हेरेको हेर्यै भए। एक्कैछिनमा बस बिस्तारै गुड्न थाल्यो। आँखा भरीएछन्, बस हिँड्दै गरेको द्रीश्य धमीलो भयो।
हरिले छेउमा आएर भने, “अझ पनि बादल लागी राखेको छ, पानि पनि रोकिएला जस्तो छैन, आज पनि आकाश खुल्दैन जस्तो छ है सर।“ लामो सुस्केरा हाल्दै बोलीमा मिसिन खोजेको हिक्क आवाज रोक्ने प्रयास गर्दै मैले भनेँ, “हो, आकाश अझै खुल्दैन जस्तो छ, थाहा छैन, कहिलेसम्म”!!!

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 3 पौष, 2068

लेखकका अन्य रचनाहरु