सुब्बा बा

- शिखर बैद्य

"नमस्कार सर म तारा नेपाली" आफ्नो परिचय दिंदै हातमा भएको पत्र सचिवज्यूलाई बुझाई आदेशको प्रतिक्षामा बस्छु ।

"मन्त्रालयमा तपाईलाई स्वागत छ । यहाँ दत्त चित्त भई पूर्ण निष्ठाका साथ आफ्नो कर्तव्य पालना गर्नुहुने नै छ भन्ने आशा राखेको छु" पत्र पढिसकेर सचिवज्यूले भने अनि ईन्टरकममार्फत आफ्ना पिएलाई बोलाए ।

"वहाँ तारा नेपाली बरखरै नियुक्ति लिएर आउनुभएको । यो पत्र प्रशासन माहाशाखामा बुझाएर वहाँलाई आफ्नो कार्यकक्ष देखाईदिनु ।" पिए लक्ष्मणको कोठामा प्रवेशसंगै सचिवज्यूबाट आदेश भयो ।

लक्ष्मणले सचिवज्यूबाट पत्र लिंदै मलाई नमस्कार गरेर ढोका तिर ईशारा गर्‍यो । मैले सचिवज्यूलाई नमस्कार गरि ढोकाबाट बाहिरिएं र लक्ष्मणको पछि पछि लागे । केहि पर पुगेर लक्ष्मणले एउटा कोठाको अगाडि उभेर भन्यो "म्याडक हजुरको कोठा ।"

ढोका बाहिर झुण्डाईएको नेमप्लेट हेरे 'तारा नेपाली, शाखा अधिकृत' मन ढक्क फुल्यो र लक्ष्मणलाई धन्यवाद दिंदै भित्र छिरे । लोकसेवा आयोग पास गरि पहिलो नियुक्ति लिएर मन्त्रालयमा हाजिर हुन आएको थिए - मेरो जिन्दगीको लक्ष्य र संघर्षको लडाईको प्रतिफल ।

आफ्नो टेबुललाई नमन् गर्दै कुर्चीमा बसें । झोलाबाट सुव्वा बाको तस्विर निकालेर टेबुलमाथि राखें अनि श्रद्‍दाले ढोग गरे । ति सुव्वा बा कै आशिर्वाद र दयाले मलाई नयाँ जन्म मिलेको थियो ।

मध्य पुषको जाडो - विहानीको कुहिरोले ढपक्क ढाकेको थियो । विष्णुमति पुलको छेउमा जीउ ढाक्न पनि मुस्किल कपडामा लुग लुग काँपेर रुँदै बसिरहेकी थिएँ । तरकारीका दुई पोका बोक्दै आएका एक भलादमीले सोधे "किन रोएकी नानी ? तिम्रा बा आमा खोई ? अनि घर कहाँ हो नी ?"

"पोहोरको पैरोले घर पुर्दा बा त्यही पुरिनुभएको थियो । आमा र म काठमाण्डौ झरेको केहि दिन मात्र भयो । सरकारले पैसा दिन्छ र घर फेरी बनाउने भन्नु हुन्थ्यो आमाले । हिजो हुलमुलमा आमा पनि छुट्नु भयो । कता जानु भयो कता, पत्तै पाईन ।" रुँदै मैले जवाफ दिएकी थिए ।

"अनि हिजो देखि यही बसेको ! के खायौ यो जाडोमा ?" निश्चल मेरा खैरो आँखामा हेर्दै तिनले फेरी सोधे । मैले टाउको मात्र हल्लाउन सके आँसु रोकिएको थिएन गला अवरुद्ध थियो ।

"नरोउ । हिड म संग मेरो घर यही नजिक छ ।" भन्दै औला दिए । मैले औला समाती विस्तारै संगै लागे । केही पर गल्ली भित्रको एउटा घरमा छिर्‍यौ ।

"यि नानी को नी ? हेर जाडोले काँमेको ? " अधवैशे देखिने आईमाईले ढोका खोल्दै सोधी । ति भलादमीले सबै कुरा बताए । हामी भित्र बैठक कोठामा पुगिसकेका थियौ । म त्यहाँ बलिरहेको हिटर अधिल्तिर बसें ।

तात्‍तातो चिया दिदै उनीले सोधिन "तिम्रो नाम के हो ? "

"तारा" मैले छोटो जवाफ दिएको थिए ।

"म सुब्बा । मलाई सुब्बा बा भन्दा हुन्छ । यिनी सुब्बिनी अनि आमा भन्दा हुन्छ । उ त्यो सुतेको निश्चल हाम्रो छोरा । अलि सन्चो छैन त्यसलाई ।" सुब्बा बा ले भन्दै थिए । "तिमी यहीं बस्नु हामी तिम्री आमालाई खोजौला ।"

केही समयमा सुब्बा बा खाना खाईवरी अफिस तिर हिडे । सुब्बिनी आमाले मलाई नुहाई धुवाई गराईदिई अनि निश्चलको शर्ट पाईन्ट अनि बाल्को स्विटर लगाउन दिई । तातो तातो भात, दाल, अनि साग खान दिई । धेरै भईसकेको थियो मैले यसरी भात खान नपाएको । आँखा भरी आँसु राखेर विस्तारै भात खाए ।

समय यसरी नै वित्दै थियो । सुब्बा बा ले भ्याएसम्म ठाउँमा मेरी आमालाई खोज्नुभएछ । प्रहरीमा पनि खबर गर्नुभएछ तर कतै केही पत्ता लागेन । केही दिन पछि हरेस खाएर सुब्बा बा ले भन्नुभयो "हेर तिम्री आमाको कही कतै पत्तो चलेन । तिम्रो गाउँको ठेगाना थाहा छ ?" मैले नकारात्मक संकेतमा टाउको हल्लाएँ । थाहा होस् पनि कसरी - म बल्ल ९-१० वर्षकी भएकी थिए ।

"त्यसोभए तिम्री आमाको पत्ता नलागेसम्म तिमी यही बस । सुब्बिनी आमालाई घर धन्दामा सगाईदिनु, अनी यो विदा पछि स्कूलमा पढ्न जानु । कति कक्षा पढेकी छौ ?"

"दुई" सुस्तरी जवाफ दिए ।

समय वित्दै गयो । सुब्बा बा र सुब्बिनी आमाले छोरी जस्तै गरि माया दिएर राखेका थिए । निश्चलले पनि माया गर्थे । म भन्दा अलि ठूलो भए पनि धेरै कमजोर थिए - जहिले पनि सन्चो नहुने ।

"तिमीलाई यही नजिकको स्कूलमा भर्ना गरिदिएको छु, तिन कक्षामा । अर्को आईतवारबाट स्कूल शुरु हुन्छ । मेहनत गरेर पढ्नु, अनि ठूलो मान्छे हुनु ।" मैले मुस्कुराउदै सहमतिमा ठाउको हल्लाएँ । सुब्बिनी आमाले नजिकैको दमाई कहाँ स्कूल ड्रेस सिलाउन दिनु भयो । अर्को दिन सुब्बा बाले किताव कपी किनेर ल्याईदिनु भयो । यस्तो नयाँ किताव कापीहरु मैले कहिले पनि देखेको दिईन । हाम्रो गाउँको स्कूलमा पुराना कितावहरु मात्र आउथ्यो अनि स्लेटमा लेखाउथ्यो सरहरुले ।

बिहान सवेरै उठ्नु अनि सुब्बिनी आमालाई पूजा तयार पारिदिनु, चियाको तयारी गरिदिनु, तरकारी केलाउनु आदी मेरो दैनिकी भईसकेको थियो । खाना खाएर स्कूल जान्थे र चार बजे आएर विहानको घरधन्दा भ्याउथे । बेलुकीको खाना पकाउने तयारी गरि स्कुलको गृहकार्य गर्ने तिर लाग्थे । राती सबैजना सुतिसकेपछि पनि अवेर सम्म पढिरहन्थे - विजुली नहुँदा लालटेनको उज्यालोमा । निश्चल प्राय स्कूल जाँदैन थियो - सक्दैन थियो पनि । खै के भएको हो - जहिले पनि कमजोर हुन्थ्यो ।

समय वित्दै गयो विस्तारै घरको कामहरु सिक्दै गएको थिएँ । सुब्बिनी आमा प्राय निश्चलको स्याहार सुसारमा नै व्यस्त हुन्थी । मैले घरको कामहरु सबै सम्हाल्न सकिसकेको थिए । सुब्बा बा लाई कहिले चिया, खाना, नास्ता चाहिन्छ, सुब्बिनी आमालाई के मन पर्छ र निश्चललाई के खान दिनु हुन्छ, के हुन्दैन सकै सिकिसकेको थिए - यो चार वर्षमा । परीक्षाको समयमा सुब्बिनी आमाले ठ्याम्मै केही गर्न दिनु हुन्थेन, जति खेर पनि पढ मात्र भन्नुहुन्थ्यो । अरु वेला भने मैले नै घर सम्हाली सकेको थिए ।

स्कुलमा पनि पढाई राम्रो थियो । म कक्षामा सधै प्रथम हुन्थे । सात, आठ, नौ गर्दै एसएलसीको पनि समय आयो । मैले धेरै नै मिहिनत गरेर पढे अनि परिक्षा पनि राम्रो भएको थियो । नतिजा - म बोर्डमा आउन सके ।

यसले मेरो जीन्दगीको बाटो अझ खोलिदियो । प्राईभेट प्लस टु का कलेजहरुले तानातान गर्न थाले । सुब्बा बा को सल्लाह अनुसार घर नजिक कै कलेजमा भर्ना भए, व्यवस्थापन संकायमा पूर्ण छात्रवृत्ती लिएर ।

यसै वर्ष निश्चलको रोग अलि च्याप्दै गएको थियो । सुब्बा बाले एक दिन भने "तारा, हामी निश्चललाई भारत लगेर उपचार गराएर ल्याउछौ, तिमी घर सम्हालेर बस्नु ।" अनि मलाई एक्लै घर जिम्मा दिएर सुब्बा बा, आमा र निश्चल सित भारतको दिल्ली लागे । दुई महिना पछि फर्की आउदा निश्चल अलि हेर्न लाएकका थिए । "अब विस्तारै ठिक हुन्छ रे" सुब्बा बाले भनेका थिए ।

बाह्रको परिक्षा पछि मलाई चार वर्षको लागि फिनलेण्ड पढ्न जाने छात्रवृत्ती मिल्यो । अझ भनौ सुब्बा बाले मिलाईदिनु भयो । म फिनलेण्ड तिर लागे आफ्नो भविष्यको बाटो तिर, जुन भविष्य ति सुब्बा बाले दिएका थिए अनि सुब्बिनी आमाले मलजल गरी बनाईदिएका थिए । फिनलेण्ड गएको छ महिना सम्म त टेलिफोन अनि चिठ्ठी पत्रबाट सम्पर्क भई नै रहेको थियो तर छ महिना पछि अकस्मात सम्पर्क छुट्यो, सुब्बा बाको परिवारसंग । म धर्मसंकटमा परें । के गर्नु, के नगर्नु । एक मनले फर्केर जान मन लाग्यो तर फेरी तिनै सुब्बा बा को वाणी याद आउथ्यो "जुनै परिस्थितिमा पनि आफ्नो पढाईलाई अगाडी बढाउनु, कहिले हरेस नखानु, तिमीले पढेर ठूलो मान्छे बन्नु छ ।"

समयले डाँडा काट्यो । चाहेर पनि सुब्बा बा संग सम्पर्क हुन सकेन । मेरो पढाई पनि सकिन लागेको थियो । मन चंचल थियो, कहिले फर्केर जाउँ र सुब्बा बाको खवर लिउँ भन्ने लागेको थियो तर नियतिले अर्कै चाह्यो । मेरो लगनशिलता र दक्षताको कदर गर्दै मलाई त्यही युनिभर्सिटीले माष्टर्स गर्ने अवसर प्रदान गर्‍यो अर्थात अर्को दुई वर्षको वसाई थपियो ।

जसो तसो समय वित्यो, पढाई सकियो । मैले युनिभर्सिटीमा सर्वकृष्ट अंक ल्याउन सफल भए र मलाई गोल्ड मेडल दिईयो । त्यही युनिभर्सिटीमा बसेर काम गर्न धेरै प्रस्तावहरु आएका थिए तर मेरो मन आफ्नै देश फर्कनेमा निश्चिन्त थियो । मलाई सुब्बा बा र सुब्बिनी आमालाई खोज्नु थियो । सानैमा आफ्नो आमा हराउदा खोज्न नसकेको पिडामाथि कर्मदिने बा आमा पनि हराउदा मलाई साह्रै दुख लागेको थियो ।

विमानस्थलबाट सिधा घर गए तर घरमा ताला थियो । सोधखोज गर्दा सुब्बा बाले त घर वेचेको पाँच वर्ष भईसकेछ । अब के गर्ने मलाई ध्याउन्नै भएन । रिङ्गटा लाग्यो त्यही भुईमा थचक्क बसें । केही वेर पछि आफैलाई सम्हाल्दै बाहिर सडकमा आए अनि होटल खोज्न तिर लागे ।

भोलिपल्ट विहानै फेरी घरमा गए अनि ढोका ढकढकाए । ६०-६५ वर्षको बृद्धाले ढोका खोल्दै "कस्लाई खोज्नुभएको?" भनि सोधे ।

"मैले सुब्बा बा लाई खोजेको । तपाई ?"

मेरो प्रश्नमा उन्ले भने "म जीवनराम, घरधनी । सुब्बाले त यो घर पाँच वर्ष अधि नै वेचेका भन्थे । मैले किन्दा पनि अर्कै संग किनेको । उसले सुब्बासंग किनेको रे । अनि नानी ?"

"तपाईलाई सुब्बा बाको बरे केही थाहा छ ? कहाँ छन् ? कहाँ बस्छन् ?" उस्को प्रश्नको जवाफै नदिई मैले एकै सासमा सोधे ।

"खै सुब्बा कहाँ छन् त्यो त थाहा भएन । अं उनका छोरालाई उपचार गराउन घर वेचेको भन्ने सुनेको थिए तर विचरा वचाउन सकेनन् ।"

म स्तम्भित भए निश्चलको मृत्युको खबरले । "अनि अरु केही थाहा छ ?" मैले अत्‍तालिंदै सोधे ।

"छोराको मृत्युको पिरले आमाले पनि एक वर्षमा नै दह त्यागिन् रे देवघाटमा"

रिङ्गटा लाग्यो - थचक्क बसे । कस्तो बज्रपात परेछ सुब्बा बालाई । आँखाबाट अविरल वर्षा भईरह्यो । त्यस्ता ज्ञानी दयावानलाई पनि यस्तो कष्ट ? मलाई अझ विश्वास भएको थिएन । विस्तारै होटल तिर फर्केर आए ।

केही दिन होटलमा बसि एउटा डेराको बन्दबस्तो गरे । सुब्बा बालाई खोज्ने अभियान जारी नै थियो । चिने जानेका सबैलाई सोधीखोजी गरे कसैले पनि यसै हो भन्न सकेनन् । सुब्बा बाको कार्यालयमा पुगि सोधखोज गर्दा दार्चुला सरुवा लिई गएको भन्ने सम्म थाहा भयो तर कुन कार्यालय कहाँ केहि थाहा भएन ।

यत्तिकैमा लोकसेवा आयोगको जाचँ दिने समय आईसकेको थियो । मलाई विभिन्न निजी कम्पनीहरुले जागिरको प्रस्ताव नदिएको होईन तर सरकारी नोकरी नै गर्ने मेरो अठोत थियो । सुब्बा बाले जहिले पनि 'धेरै पढेस, ठूला मान्छे भएस्' भनी आशिष दिन्थे । उनको बुझाईमा यो ठूला मान्छे भनेको सरकारी अफिसर थियो । सो उन कै सपना पुरा गर्न सरकारी जागीरको पछि लागेको थिए ।

ढोका ढक ढक गरेको आवाजले झसंग भए । अतितको सम्झनाबाट यथार्थमा फर्किए - अनि अगाडी फाईल बोकेर बसेका अधवैशे कर्मचारीलाई देखे - हेरेको हेरै भए । आफ्नो टेवलमा भर्खर सजाएको फोटो - अनि अगाडी उभिएका सुब्बा बा । दौडेर अंगालोमा कसें, अनि भक्कानो छुट्यो । मेरा सुब्बा बा ॥

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 23 मङ्गसीर, 2068

लेखकका अन्य रचनाहरु