हजार सिँढी चढेर थुम्कामा पुग्दा

- भेषराज रिजाल

बिहान झिसमिसेमै धुलिखेलको सडकमा निस्कियौँ भोला दाहाल, विनोद खनाल, रामकृष्ण आचार्य र म । मर्निङ वाक गर्दै पुग्ने गन्तव्य थियो हजार सिँढीको उचाइले छोएको माइथानको थुम्को । माइथान धुलिखेल बजारदेखि करीब एकघण्टाको दुरीमा पर्दो रहेछ । होटल अरनिकोबाट निस्केर हामी केही अघि पुग्दा हाम्रो गाइडजस्तै भएर पर्खिरहेकी थिइन् - कान्तिपुर टेलिभिजनका स्थानीय सम्वाददाता रमा दाहाल । राम्ररी बाटो नचिनिने मिर्मिरेमा धुलिखेल बजारका एकाध कार्यालय र बजारका स्थान विशेषसँग चिनापर्ची गराउँदै रमाजीले हामीलाई उकालोनेर पुर्याइन् । हजार सिँढीको शुरूवात भयो ।

रमाजीले स्पष्ट पारिदिइन् – “माइथानसम्म पुग्ने हजारभन्दा कम सिँढी भए पनि अनुदान गर्ने घरधुरीले प्रतिसिँढी हजार योगदान गर्नुपर्ने भएकोले यसको नाम हजार सिँढी रहेको हो । जति हजार योगदान हुन्छ, त्यति नै सिँढी उसका नाममा बन्दछन् ।“
हाम्रो पछि लाग्यो एउटा कुकुर । सम्झनामा आयो पौराणिक कथा - महाभारतको । मैले खुसुक्क भोलाजीलाई कोट्याएँ । पाण्डवहरू युद्ध जितेर जिउँदै स्वर्ग लाग्दा कुकुर पछि लागेको थियो रे ! हामी पनि पाँचजना । एकजना महिला । हाम्रो पछि कुकुर । कुरा रमाइलो भए पनि अनर्थ लाग्छ कि भनेर हामी दर्ईजना मात्र मुखामुख गरेर हाँस्यौँ । शायद अरू साथीहरूलाई थाहै भएन । तर हामी एकजना कम थियौँ । पाण्डवहरू पाँचजना र कुकुर । हामी चारजना र कुकुर ।

"कुकुर किन पछि लाग्यो- " जिज्ञासा सबैका लागि भए पनि भोलाजी र म फेरि मुखामुख गर्यौँ । रमाजीले कुकुरको पक्ष लिन थालिन् -"कुकुर मान्छेको सुरक्षाका लागि पछि लागेको हो । यो जङ्गलमा बाघ लाग्छ ।" बाघबाट हुने पहिलो जोखिम बहन गर्न तयार भएझैँ अघिअघि लागिरहेको थियो कुकुर । "कुकुर गुनिलो प्राणी हो ।" साथीहरूले थप्दै थिए । साथीहरूले गरिरहेका तर्कमा म पनि मिसिएँ - हामी भोजभतेरमा जाँदैछौँ भन्ने लागेको पनि त हुनसक्छ यसलाई ।हाम्रो हाँसो अब अर्कै मोडमा पुगिसकेको थियो ।

स-साना पोथ्रे रूखहरू भएको जङ्गल आयो । "र्फकँदा देखिन्छ गुराँसका बोटहरू ।" रमाजीले जानकारी दिइन् । बाटाका ढुङ्गे सिँढी भने निकै राम्रा देखिन्थे । निकै सफा थियो बाटो । कुँदेर मिलाएका ढुङ्गाले बनाइएको सिँढी । छेउबाट पानी बग्ने कुलेसो । सहरदेखि नजिकै भएर पनि चाउचाउका खोल, चुरोटका ठुटा, खाली सिसी, ...कुनै फोहर थिएन त्यहाँ ।

केहीबेरमै आइपुग्यो शान्ति वन । फर्कंदा हेर्ने भन्दै हामी उकालियौँ । हामी पुग्यौँ - माइथानको मन्दिरमा । थानमा पुग्नासाथ रमाजीले मूर्तिलाई ढोगेर टीका लगाइन् अनि सत्तलको भित्ताको ऐनामा हेरिन् -"यो मन्दिरमा लगाएको टीका यो ऐनामा हेरे अनुहारमा चमक आउँछ रे ।" मूर्तिसामु धनुष्टङ्कार गरेर जुत्ता लगाइसकेकाले अफ्टयारो लागेको देखेर रामकृष्णजीले हामीलाई टीका लगाइदिए । सकरात्मक मान्यताले मान्छेको मनोविज्ञानमा राम्रो प्रभाव पार्छ भन्ने एउटा विचार दियो त्यो घटनाले मलाई । साँच्चै, चमक ल्याउनैका लागि खुसीसाथ हेरेको ऐनाको दृश्यले अनुहारमा अवश्य चमक ल्याउँछ । मैले पनि ऐनामा अनुहार हेर्दै मनमनै सहमतिमा टाउको हल्लाएँ ।

मन्दिर प्राङ्गणबाट वरपर फराकिलो भएर गएका डाँडाका आकृति छुट्याउन सकिन्थ्यो । लालीमा चढेको पूर्वी क्षितिजमुन्तिर पिल्पीले बत्ति बलेका गाउँबस्तीहरू देखिन्थे । रमाजीले देखाउन थालिन् -"उः त्यो पर क्षितिजको अग्लो डाँडा तिमाल । धेरै हिमशिखरहरू देखिन्छन् तिमालबाट । तिमाल वल्तिर काभ्रे भञ्ज्याङ, काभ्रे भञ्ज्याङ हुँदै नमोबुद्ध जाने बाटो । पूर्वतर्फ त्यतैपट्टी नेपालथोक, भकुण्डे बेँसी, कोशिपारी । दोलखाको शैलुङ पनि त्यतै पर्छ ।"

"दोलखा, सिन्धुपाल्चोक, रामेछाप आदि जिल्लाको सिमानामा रहेको प्रसिद्ध गुम्बा हो लिसङ्खु ।" - विनोदजीले भने । "धुलिखेलले हिमालका छायाँ बेचेर निर्वाह गरिरहेको छ ।" रमाजी भन्दै थिइन् । हामीले मन्दिर प्राङ्गणमा घुमेर हेर्दै थियौँ । लाग्थ्यो, मन्दिर परिसरको उचाइ छुन आकास ताकिरहेका पैयूँ, चिलाउने, कटुस र काफलका सुरिला बोटहरू डाँडाकाँडाका सुन्दर हिमाली टाकुराहरू हेर्न उत्तिकै लालायित छन् ।

पूर्वउत्तरदेखि उत्तरतर्फपङ्गतिबद्ध हिमशिखरहरू अलेली टल्कन थालेका थिए बिहानीको र्स्पर्शले । लामटाङ हिमश्रृङ्खलाका चुचुराहरू पहिलोपटक देखेको थिएँ मैले । रसुवाका जिल्ला निर्वाचन अधिकारी भोलाजी भन्दै थिए- "माला लगाउन मिल्नेजस्तै हारबद्ध हिमश्रृङ्खलाहरू । अचेल मेरो बास लामटाङको नजिकै छ नि ।"

साथीहरूबीच फेरि चर्चा चल्यो -"उः त्यो जुगल हिमाल हुनुपर्छ ।"होला’ मैले टाउको हल्लाएँ । जुगल काठमाडौंबाट सबैभन्दा नजिकको हिमाल हो भन्ने मात्र सुनेको छु मैले । हामी सूर्योदयका लागि पर्खिरहँदा पूर्वउत्तरतर्फ तल खोल्सामा पाँचखाल कुहिरामुन्तिर आनन्दले सुतिरहेको थियो । चारखाल काठमाडौँमा पाँचखाल काभ्रेमा मैले किताबमा पढेका कुरा स्मरण गरेँ ।

"दोलखा, सिन्धुपाल्चोक, तातोपानीतिर जाने गाडी पाँचखाल भएर जान्छन् ।" जानफकारहरूका लागि सामान्य लाग्ने कुराहरू । केही थाहा नपाएको मजस्तो मान्छेलाई भने बिछट्टै रमाइला लाग्ने तिनै कुरा । नजिकै पश्चिमपट्टी हामी उक्लेर आएको थुम्काको फेदीमै थियो धुलिखेल । धुलिखेल पनि बिहानीमै उठ्लाजस्तो लागेको थिएन मलाई । नजिकै रहेको यति रमाइलो थुम्कामा चढ्ने एकाध मान्छेहरूले धुलिखेलको विस्तृत फाँटको प्रतिनिधित्व गरेझैँ लागेको थिएन । शायद नजिकको तीर्थ हेलाँ भनेको यही होला ।
माइथानको टावरमाथि चढेर हेर्दा शान्ति वनभित्र देखियो - धुलिखेलतिर फर्केको बुद्धको ठूलो मूर्ति । धुलिखेल नजिकै काठमाडौँ विश्वविद्यालय । अलि पल्तिर वनेपा । वनेपाको भित्तापट्टी सूचना प्रविधि पार्क । वनेपा नजिकै दुईडाँडा जोडिएको साँगा भञ्ज्याङ । बिक्रम सम्बत् २०५५ सालमा पहिलोपटक म काठमाडौं आउँदा साँगा आएर बसेको थिएँ । एउटै गाडी चढेर आएका प्रहरी सेवामा जागिरे गाउँले ऋषि कार्कीदाइले आफूसँगै ल्याएर राखेका थिए मलाई त्यहाँ । म बसाइँ सरेर मधेश झरेपछि ऋषिदाइलाई भेटेको छैन । सूचना प्रविधिले सम्पर्कै नदिएको युगमा भेटिएका वा चिनेजानेकाहरूलाई मनले सम्झनुबाहेक केही गर्न सकिँदैन । मैले लामो सुस्केरा हालेँ ।

वनेपामाथि उठेका कुहिराका पातला धर्सा देखाउँदै रमाजी भन्दै थिइन् -"केहीबेरमा कुहिराले छोप्छ वनेपालाई ।" वनेपाबाट अलि अगाडि नाला । ऐतिहासिक धेरै ठाउँहरूले सम्पन्न रहेछ काभ्रे जिल्ला ।

दक्षिणपट्टी बाक्लो कालो जङ्गल । स-सानो फाँट शंखुबेँसी । शंखुबेँसीलाई काखमा राखेर ठडिएको महाभारत पहाडको श्रृङ्खला । त्यही श्रृङ्खलाका छातीमा अन्नका भकारी घोप्टयाएजस्ता वा भनौँ सह थुपारेका जस्ता हरिया थुम्काहरू । शंखुबेँसीदेखि अलिमाथि ढुङ्खर्क । पर्वत र स्याङ्जा जिल्लाको सिमानामा पर्ने डहरेदेउरालीजस्तै लाग्यो मलाई ढुङ्खर्क । महाभारत पहाडको चुचुरामै बनेको देउरालीको थान डहरेदेउराली । बाल्यकालमा डहरेदेउरालीको अग्लो डाँडा हेर्दै दौडँदा आफू नभएर डाँडा उफ्रेजस्तो देख्दथेँ मैले । साथीहरू भन्दै थिए - कलाकार हरिवंशलाई जन्म दिने गाउँ हो शंखुबेँसी ।

रमाजी र विनोदजीले सिन्धुपाल्चोक र दोलखाका सीमातिर पर्ने गाउँहरूका बारेमा कुरा गरिरहेका थिए । म कखरा सिक्ने बालकजस्तै अवाक भएर सुनिरहेको थिएँ । उः त्यता मेलम्चीबाट प्रभावित गाविसहरू पर्दछन् । मेलम्चीले ती गाविसहरूका बाटामा ग्राभेलसमेत गरिदिएको छ ।

माइथानबाट फर्कंन थालियो । फर्कंदा शान्ति वनको ढोका हानिन् रमाजीले । एउटी बूढीआमैले ढोका खोलिन् । सातबजेदेखि खुला हुने भने पनि छ बजे नै हाम्रा लागि ढोका खोलिदिएकी थिइन् ती बूढीआमैले । कटुसका काँडासँग छलिँदै हामीभित्र पस्यौँ । ध्यानमग्न बुद्धको विशाल मूर्तिका अगाडि थियौँ हामी । रमाजीले लम्पसार परेर फेरि ढोग्न थालिन् बुद्धलाई । अघि मन्दिरमा टीका अहिले मूर्ति अगाडि लम्पसार । उनी धार्मिक सहिष्णुताको प्रतिकझैँ लागिरहेकी थिइन् ।

"यी बुद्ध त अलि आधुनिक परेछन् नि ।" मलाई रमाइलो गर्न मन लाग्यो । काठमाडौंलाई छोडेर एकदुई दिनका लागि धुलिखेल आएको भरपूर उपयोग गर्न खोज्दै थिएँ मैले । "किन?" साथीहरूले अब के भन्ला भन्ने प्रश्नसूचक भाव अनुहारमा लिएर मलाई हेरे । मैले केही नबोली केबल इशाराले बुद्धका लिपस्टीक लागेका ओठ र पालिस लागेका नङतिर देखाएँ । भोलाजी किन चुक्थे साहित्यकार न परे । भनिहाले - बुद्ध उनै हुन् मान्छे आधुनिक बन्दै गइरहका छन् । तिनै मान्छेभित्र छन् बुद्ध ।

साथीहरूले फोटो खिच्न थाले । रामकृष्णजी मूर्तिका अगाडि मूर्तिवत् उभिँदा सबै हाँसे । जुत्ता मोजा फुकालेकोले चिसाले खुट्टै झर्नै लागिरहेको थियो । साथीहरू मूर्ति परिसरबाट निस्कनै लाग्दा झरेका कटुसका दाना टिपेर खाँदै थिए -उखान भन्दै । कोसा खाँदै सुसेल्दै गरे जसरी । “जङ्गे बाउ अजङ्गे आमा नाति कालो पनाति सेतो” ।

माइथानतिर उक्लेर जङ्गली बाटोको आधाजति पुग्दा देखिएको हामीतिरै तेर्सिइरहेको बाघजस्तो आकृतिको तेर्सो ढुङ्गो उज्यालामा भने बाँसुरी बादकमा फेरिएको थियो । अँध्यारोमा ढुङ्गाले पनि आवरण फेर्दो रहेछ ।

केही तल पुगेपछि म झाडीतिर छिरेको साथीहरूले पत्तै पाएनन् । शायद रमाजीलाई ढिलो हुने हुनाले छिटो हिँडे होलान् उनीहरू । तीन सन्तानकी आमा रमाजीलाई घरधन्दा पनि भ्याउनु थियो । अघि देखि नै उहाँको हतारो नबुझेको भने होइन ।

म नेपालमा भए पनि सम्झनामा जापानको टोकियो पुगेँ । साथीहरूसँग बिहान एकछिन टहलिन सेन्झुकुस्थित होटल वासिङ्गटनबाट निस्केर हामी अलिपल्तिरै पुगेछौँ । जति हिँडे पनि अझै अगाडि गएर हेरौँजस्तो लाग्ने जापानका गगनचुम्बी भवनहरूको क्षेत्र सकिएर मन्दिर, पार्क हुँदै गाउँजस्तो क्षेत्रमा पुगिएको थियो । मलाई पिसाब लागेर निकै समस्या पर्यो । मैले र्सार्वजनिक शौचालय छन् कि भनेर निकै खोजेँ । केही नलागेपछि साथीहरूलाई फर्कंन आग्रह गर्दै पार्कको झाडी परेको जङ्गलनेर पुगियो । पिसाब पनि नफेरी भएको थिएन । नियम कठाइसाथ पालना गर्ने जापानमा कसैले देख्छ कि भन्ने पीर पनि थियो ।

मैले एउटा उपाय निकालेँ । म झाडीभित्र पसेँ । टोलराजजीलाई क्यामरा निकाल्न र मेरो फोटो खिच्न भनेँ । साथीले कुरा बुझिहाले । उनले मिलाइमिलाइ फोटो खिचिरहेको अभिनय गरे । मैले रूख र झाडीले छेलिएर पिसाब फेरेँ । म हाँस्दै बाहिर निस्केँ । सबै कुरा सुनाउँदा साथीहरू पेट मिचिमिची हाँस्दै थिए । मैले पाइन्टमा लागेका माकुराका जालो हटाउँदै थिएँ । दश कदम जति अगाडि बढेपछि त्यो हाँसो झन् बढोत्तरी भयो । त्यहाँ नजिकै हाम्रासामुन्ने र्सार्वजनिक शौचालय थियो ।

मैले आफूलाई धुलिखेलमा पाएँ फेरि । सबैभन्दा धेरै जनसङ्ख्या भएको नगरपालिका काठमाडौंबाट सबैभन्दा कम जनसङ्ख्या भएको नगरपालिका धुलिखेलमा शान्ति खोज्दै आएको थिइन म । सरकारी कामले अस्ती बेलुका देखि नै होटलका चिसा पर्खालभित्र गुम्सिएका नजरलाई एकै छिन भए पनि उन्मुक्ति दिन निस्केको थिएँ । बिहानी नबित्दै फर्किहाल्न म कुद्दै ओरालो लाग्दा छलिएर साथीहरूभन्दा झन् अघि परेँछु । हजार सिँढी सुरू हुने खुट्किलानेर आएर यताउता हर्दै थिएँ । साथीहरूले आफू पछि रहेकोले पर्खन भन्दै फोन गर्दा मैले कतै पढेको एउटा कविताका पङ्गति सम्झँदै थिएँ -
सँगसँगै जाने सँगसँगै जाने भन्न कति सजिलो छ
तर सँगसँगै जाने बाटो भने मनजस्तै भाँचिएको छ ।

हामी जिल्ला निर्वाचन कार्यालयको छतमुनि बसेर चिया खाँदै थियौँ । साथीहरूले चियागफ गर्दै थिए । कृषिको उन्नति । जडिबुटी खेति । पढाइमा प्राथमिक विद्यालयदेखि नै बाख्रा, भेडा, भैँसी कक्षाको शुरूवात । गफगाफ रमाइला भए पनि बिहान बितिसकेको थियो । मैले मोबाइल झिकेँ । साथीहरू भन्दै थिए, मोबाइल संस्कृतिले धेरै चिज बिगार्यो । घडी, एफएम, हुलाक, क्यामरा, ... । मैले मोबाइलमा समय हेर्दै मनमनै भनिरहेको थिएँ - एउटैले धेरैको काम गर्छ भने किन चाहिए त अरू धेरै औजारहरू । आखिर दासै हुनु छ भने धेरै औजारको भन्दा एउटैको हुन बेस ।

धुलिखेल, काभ्रेपलाञ्चोक

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 17 मङ्गसीर, 2068

लेखकका अन्य रचनाहरु