नूरी–१०

- वर्षात् दर्लामी

“तिमी अब मलेसिया फर्कन्छौ कि नाई ?”

मायाले सोध्दैथी । वातावरण बडो गम्भीर बनिरहेथ्यो । साथीहरु सबैजना ड्यूटीमा थिए ।
हामी बसिरहेको होस्टेलभित्र यतिखेर दुईजना मात्र थियौं– माया र म ।

“सायद सम्भव छैन माया । ....”

मेरो कुरा सुनेर उसको अनुहारमा कालो बादल छायो । मेरो सुटकेशभित्र सामानहरु मिलाउँदै राख्दै गरेकी थिई । एकाएक उसका हातहरु प्राण नभए जस्ता भएर लत्रिए । हेर्दाहेर्दै उसको आँखामा समुन्द्र छचल्कन थाल्यो । म पनि भावुक नभइ बस्न सकिनँ । मेरो पनि छातीभित्र कसैले पटक–पटक छुरा चलायो । उसको आँसुलाई आफ्नो हत्केलामा लिएँ अनि भनें–

“कति रुन्छ्यौ ? कति रुन्छ्यौ माया ? ...हेर, हाम्रो जीवन यति सस्तो कहाँ छ र ? ..... आँसुमा बग्न दिने ? .... संसारलाई हेरेर बाँच्न सिक्नु पर्छ अब त .... ।”

मेरो कुराले उसको आँसु रोकिएन । ऊ झन् जोडले रुन लागी । आफ्नै घुँडामा निधार राखेर ऊ रोइरही । मैले सुटकेशभित्र राख्नुपर्ने सबै सामानहरु राखेर भ्याएँ । सामान त के नै थियो र ? आफूले लगाइरहने केही जोर लुगा, अल्छी लाग्दा कोरिएका दुईवटा डायरी ....केही किताबहरु ... अनि मायाले दिएकी केही प्याकेट ... मिठाईका, भाइबहिनीलाई दिनू भनेर । अरु त के नै थियो र मसँग ? .....

भित्ते घडीको सूई रोकिएको थिएन । आफ्नै सुरमा त्यो अगाडि बढिरहेथ्यो । त्यसैको तालमा मेरो मुटुको धड्कन पनि बढिरहेथ्यो । मायासँग, साथीभाइसँग अनि यो सुन्दर देशसँग विछोड हुने मेरो समय नजिक–नजिक आइरहेथ्यो ।

“तिमी साँच्ची नआउने अब यहाँ ?”


मायाले अपत्यारको भावमा सोधेकी थिई यसपाली, गहभरि आँसु भरेर । आउँछु भनेर उसलाई झूटो सान्त्वना पनि दिन कसरी सक्थें र म ? आउँदिनँ भनुँ भने ऊ झन्–झन् टुक्रिनेछे । कसरी सहन सक्ली उसले मेरो त्यो जवाफ ? भन्ने सोँचेर म केही बोलिनँ । उसलाई हेरिरहें, उसको अनुहारमा, उसको आँखामा । कति निर्दोष थिई ऊ । कति निर्दोष थियो उसको प्रेम ।

“जिन्दगीको के नै ठेगान हुँदो रै’छ र माया ? ..... गर्छु भनेको गर्न सकिन्न । जे गर्न मन पर्दैन त्यही गर्नुपर्छ । यहाँ आउँछु र तीन वर्ष बिताउँछु भनी मैले कहिल्यै योजना बनाएको थिइनँ, तर भयो यस्तै । .... म आउँछु भन्न सक्दिनँ, आउँदिनँ पनि ..................।”

रातको नौ बजिसकेछ । अबको एक घण्टापछि ड्यूटीमा गएका साथीहरु आइपुग्नेछन् । अबको ठीक दुई घण्टा पछि मैले होस्टेल छाड्नुपर्नेछ र कम्पनीको गाडीले मलाई क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याएर छाडिदिनेछ ।


मैले सुटकेशमा राखिसकेको एउटा मले भाषाको उपन्यास किताबलाई मायाले बाहिर निकाली । शुरुको पानामा आफ्नो हस्ताक्षर हेरी । करिब डेढ वर्ष अघिको त्यो दिन सम्झना आयो होला । उसका आँखाले ओभानो हुनै चाहेनन्, हुनै चाहेनन् ।

पोहोरै मायाले दिएकी थिई त्यो पुस्तक ।

‘ओराङ जाहु’ अर्थात् ‘टाढाको मान्छे’ ।

यसपटक सोधी – “पूरै पढ्यौ ?”

“पढ्न त पूरै पढें, बुझेको चाहीँ एक चौथाई ।”

“धन्न त्यति त बुझेछौ । साहित्यिक किताब बुझ्न मलाई पनि गाह्रो पर्छ ।”

“बियोगान्त कथा छ हैन, एउटा परदेशीको ?”

“हो, तिमीजस्तै परदेशीको ।”

“तर यो परदेशी म भन्दा लक्की रै’छ ।” मैले उपन्यासको अगाडिको कभरमा छापिएको काल्पनिक तस्वीर देखाउँदै भनें ।

“कसरी ?” उसको प्रश्न ।

“कमसेकम यो परदेशीलाई मलेसिया आउन पासपोर्टको आवश्यकता पर्दैन ।”

मायाले मुस्कुराइरहेको मेरो अनुहारमा हेरी । तर ऊ मुस्कुराउन सकेकी थिइन । बरु आहत थिई ऊ यतिबेला, आफ्नो मनभित्र उर्लिएको समुन्द्रको छालले । म सँग परिचित हुनु अघि कसरी ऊ मुस्कुराइरहन्थी भन्ने सम्झें । त्यो हाँसो अब उसको जीवनबाट हराएको थियो ।

भनी–

“भूगोललाई टुक्रा–टुक्रा कसले बनायो होला वासु ? ...कसले को¥यो होला एउटा सिंगो पृथ्वीमा अनगिन्ती सीमारेखाहरु ? ....यदि त्यसो नहुँदो हो त हामी सबैको साझा धरती हुनेथियो । .... कति रमाइलो हुनेथियो, जब तिमी राहदानीबिना बस चढेर मलेसिया आइपुग्थ्यौ । अनि म पनि बस चढेर थाइल्याण्ड, म्यानमार, बंगलादेश र भारत हुँदै नेपालमा पुग्ने थिएँ ... कति रमाइलो हुनेथियो, हैन ? .........”

म केही बोलिनँ । उसको यो कुराले मेरो मनलाई पनि कता–कता कल्पनालोकमा पु¥याएछ । त्यस्तो लोक, जहाँ पुग्दा हाँस्दा–हाँस्दा थाकिन्छ । तर त्यो लोक, त्यो संसार हाम्रो थिएन । हामीले पाइला टेकिरहेको ठाउँ अर्कै थियो, जहाँ रुँदा–रुँदा थाकिन्छ ।

समय न हो, त्यसको तानाशाही शासनसत्ता कसमाथि चल्दैन र ? आखिर समयले रातको दस बजाएरै छाड्यो । दस त के हुन्थ्यो र, हाम्रो शीरमा हजारौँ लौरा बजायो त्यसले । कस्तो छट्टु समय !

हल्लीखल्ली गर्दै साथीहरु आए होस्टेलमा । हामीलाई देखेर कतिजनाले कानेखुसी पनि गरे । जीवन हाम्रो नजिक आयो । मायालाई हात जोडेर ‘नमस्ते भाउजु’ भन्यो । मायाले नमस्ते गर्न जानेकी थिई, फर्काई तर भाउजु भनेको बुझिन । बुझ्न पनि खोजिन तर उसको अनुहारमा प्रश्नैप्रश्नहरुको रेखा तानिएको थियो यतिखेर ।

“बा–आमालाई अर्को वर्ष जसरी पनि आउँछ भन्दिनू है ।” भन्यो जीवनले । भाइबहिनीको नाममा मिठाई लगिदिन अह्रायो ।

मायाले अन्तिमपटक ‘ओराङ जाहु’ लाई चुम्बन गरी र सुटकेश भित्र राखी । सुटकेश ¥यापिङ्ग पेपरमा बेह्रियो नखोलिने गरी ।




होस्टेलको मूलगेटमा कम्पनीको गाडी आएर रोकियो र लामो हर्न बजायो । घर फर्कन नपाएका साथीभाइहरुका आँखामा फेवाताल जम्यो । सबैसँग हात मिलाएँ । ‘अब यो देशमा फेरि आउन नसकुँला’ भनी सोँचेर मुटु ढक्क भइरहेथ्यो ।

सुटकेशलाई गाडीमा राख्न सघाए साथीहरुले । माया पनि सँगसँगै झरी तल । कम्पनीको गाडी ड्राइवर चाइनीज थियो ।

मायाले मलाई आफ्नो कारमा आफूसँग लैजान त्यस ड्राइवरसँग अनुरोध गरी । तर उसले मानेन । भन्यो रुखो स्वरमा–

“यो मान्छे भाग्यो भने कम्पनीले मलाई मार्र्दैन ?”

“म लिन्छु जिम्मा ।” मायाले भनी । आफ्नो नागरिकताको प्रमाणपत्र पनि देखाई । तर त्यो चिम्सेलाई कुनै प्रभाव पारेन । उसको हठ यथावत् रह्यो । केही नलागेर माया रुँदै आफ्नो कारभित्र पसी ।

म पनि कम्पनीको गाडीमा चढें । ड्राइवरले अगाडि बढायो त्यो सानो गाडी । साथीहरुलाई अन्तिम पटक हात हल्लाएँ ।

मायाले पछ्याउँदै आई हामीलाई । अगाडि जाने संकेत दियो ड्राइवरले, मौका दियो । तर माया अगाडि जान मानिन । मैले पछाडि फर्केर हेर्थें बेला–बेलामा । ऊ भावपूर्ण नजरले मलाई हेर्थी । डर लाग्थ्यो– भावावेशमा मायाले स्टेयरिङ्ग घुमाउन छाडी भने ? ... झसँग हुन्थें आफै । ऊ त्यही भावमा विस्तारै आई पछि–पछि ।

“को हो यो केटी ?”
ड्राइवरले सोध्यो एकपटक । मैले केही जवाफ दिन सकिनँ । जवाफका निम्ति मनमा धेरै–धेरै कुरा खेल्न आए तर ती मनमै रहे । मुखसम्म ल्याउनका लागि म सँग कुनै जवाफ बाँकी थिएन ।

मलाई विमानस्थलको बाहिरै छाडेर ड्राइवर फर्कियो । गनगन गर्दैथियो–
“बाइयाँ लम्बाट ओ । ..परम्पुआन तुङ्गु साया । माउ बाले चिपात् । ”
(धेरै ढिला भो । ...आइमाईले पर्खिरा’छे मलाई । चाँडै जानु छ ।..”)

गाडीमा चढेर ऊ फर्कियो । एकपटक हात हल्लाउन पनि चाहेन । मैले हात उठाउन नपाउँदै ऊ टाढा गइसकेको थियो ।

भाग्न चाहने मान्छे यहाँबाट पनि भाग्न सक्छ भन्ने त्यसलाई थाहै रहेनछ ।

माया आइपुगी । हतार–हतार कार पार्किङ् गरी र मनिर आई । यसरी हेरी मेरो आँखामा– मानांै दसकौँको विछोड पछि आज हाम्रो मिलन भएथ्यो । हेरीरही एकछिन, त्यसपछि डाँको छाडेर रुँदै मलाई अँगाल्न आइपुगी । वरिपरिका मान्छेहरुले यतै हेर्न लागे तर उसलाई कुनै पर्वाह थिएन त्यसको । मेरो घाँटीमा झुण्डिएर ऊ रोइरही, रोइरही ।

मैले उसलाई नरुन भनें । किन पो मान्थी र ? भविष्यमा मिलनको सम्भावना रहेका सबै बाटाहरुमा डम्म कुहिरो लागेको थियो । ‘म फर्केर आउँछु’ भन्न सकिनँ मैले । मेरो प्रतिज्ञा, मेरो कसम भोलि झूटो भइदियो भने मायाले मलाई के ठान्ली ? जस्तो लाग्यो । चुपचाप उसको कपाल मुसारिरहें । मन शून्य–शून्य भइरहेथ्यो । जीवनमा यस्तो क्षण पनि आउला भन्ने सोँचेको थिइनँ ।


धेरैबेर पछि ऊ अलि शान्त भई । हामी सँगसँगै भित्र पस्यौं, एउटा ट्रलीलाई दुईजनाले धकेल्दै । विमानस्थल भित्र भीडभाड थियो । स्वदेश छाडेर विदेशिएकाहरु अनि विदेशबाट स्वदेश फर्कनेहरुको लाम ठूलै थियो ।

माया र म नजिकैको बेञ्चमा सँगै बस्यांै । बिहान पाँच बजे मैले मलेसिया छाड्नुपर्ने थियो । अहिले दुई बजिरहेको थियो । अब जम्मा तीन घण्टा ! उफ् ! .....त्यसपछि माया र म एक–अर्कादेखि टाढा हुनेछौं । सम्झना मात्र एक–अर्काको साथमा रहनेछ । .... उसको आफ्नै संसार हुनेछ, मेरो आफ्नै । उसको विवाह हुनेछ .....। बालबच्चा हुनेछन् । ...ऊ बूढी हुनेछे । ...मेरो जीवन पनि त त्यस्तै हुनेछ ....। बूढेसकालमा सम्झना आउला यी दिन र रातहरुको.....। अनि यता ऊ रोली म चाहीँ उता । .... सायद आँसु पनि नआउला त्यतिखेर ... बूढो आँखामा ।

यही सोँचिरहें मैले । नजर उसको अनुहारमा अडिएथ्यो एकटक । आँसुले लछप्पै भिजेको उसको अनुहारमा । त्यही निर्दोष अनि त्यही बिवश अनुहारमा । उसलाई देख्दा मैले पनि आफूलाई थाम्न सकिरहेको थिइनँ । आँखा निरन्तर भिजिरहेका थिए मेरा पनि ।

उसले आफ्नो नजर उठाएर मलाई हेरी । रुञ्चे हाँसो हाँसी र सोधी–

“अघि तिम्रो साथीले मलाई के भनेको ?”

“के भनेको ?”

“भाइजे कि भाउजे, के रे के रे ??”

“ए.....अँ ..... उसले तिमीलाई भाउजु भन्दैथियो ।”

“अनि ? .... भाउजु भनेको के नि ?”

म एकछिन सोँचमग्न भएँ । भनुँ कि नभनुँ जस्तो लाग्यो । आखिर भन्नैपर्छ भन्ने लाग्यो, भनिदिएँ–

“भाउजु भनेको दाइकी श्रीमती ।”

“अनि ? ....दाइ को नि उसको ?”

यसपटक झनै अप्ठेरो लाग्यो । उसको त्यो सरल मुहारमा हेरिरहें । त्यसरी नै भनें–

“उसले भाउजु भनेको तिमीलाई नै हो माया ।”

मायाले मलाई चुपचाप हेरी । आँसु भरिएका आँखाले हेरीरही मात्र ।

ऊ र म एक–अर्कालाई छोएरै बसेका थियौं । समय आफ्नै गतिमा अगाडि बढिरहेथ्यो । सेकेण्ड–सेकेण्ड गर्दै घण्टा बित्यो । त्यही समय अचानक घरबाट फोन ग¥यो कसैले । रिसिभ गरें । भाइ बोलिरहेथ्यो फोनमा । मैले स्पीकर अन गरिदिएँ–

“कतिघण्टा पछि जहाज चढ्नुहुन्छ दाइ ?”

“अब दुईघण्टा पछि ।” मैले भनें ।

“अनि भाउजु पनि आउँदै हुनुहुन्छ नि ?”

.............................................

मैले मायातिर हेरें । यतिञ्जेल नेपाली भाषा नबुझेर भूइँमा गाडिरहेका नजर उठाएर मलाई हेरी उसले । खास गरी फोनमा ‘भाउजु’ भन्ने शब्द सुनेर उ झस्केकी थिई ।

मैले भाइलाई भनें–

“ऊ आउन सक्दिन । .... नपर्खनू उसलाई ।”

“किन र दाइ ?” सोध्दै थियो भाइले । म चाहीँ केही बोलिनँ । फोनमा भाइकै आवाज आइरहेथ्यो –

“हुन त, त्यस्तो सम्पन्न देशका मान्छे किन आउँथे र यहाँ, हैन दाइ ?”

अरु पनि के–के भनिरहेथ्यो उसले । म केही पनि बोलिनँ । फोन पनि कसले राख्यो थाहा पाइनँ । मायाले सोधी–

“कसले गरेको फोन ? .... तिम्रो त्यै’ अघिको ‘भाइ’ले ?”

“हैन, .... मेरो आफ्नै भाइले ।”

“नेपालबाट ?”

“हो ..... नेपालबाट ।”

“त .... तिम्रो परिवारले पनि मेरो बारेमा सुनिसक्यो ?”

“सुनेको मात्रै हैन, .... तिमीलाई पर्खेर बसेको थियो, नयाँ पाहुनाको रुपमा स्वागत गर्न । ....”
......... ..... ...................
... ...... ..........
“तिमीले के भन्यौ ?”
“मैले भनें ...अँ.... मैले भनें ....मैले केही पनि भनिनँ .....। ”


मेरो आँखा भरिएको देखेर माया फेरि पनि रुन लागेकी थिई । रुँदा–रुँदै अर्को एक घण्टा पनि बितेछ । नेपाल जाने यात्रुहरुलाई तयार हुने सूचना आयो माइकमा । मान्छेहरु हतार–हतार लाम लाग्न थाले । मायाले मेरो हात जोडसँग समाती र मेरो कुममा आफ्नो निधार अड्याएर धेरैबेरसम्म घुँक्क–घुँक्क गर्दै रोई ।

तर मलाई आखिर हिँड्नैपथ्र्यो त्यहाँबाट । म उठें अनि अगाडि बढें । अध्यागमनले मेरो राहदानीमा रातो छाप लगाइदियो । सुटकेश चाहीँ जाँचबुझ पछि भूमिगत बाटो भएर कार्गोका निम्ति नदेखिने गरि हिँड्यो कतै ।

विमानस्थलभित्रका क्यान्टीनहरु खुलै थिए । माया र म एक ठाउँमा पस्यौं । कफी पियौं एक–एक कप । अचानक अन्तिम सूचना आयो– नेपाल जाने यात्रीहरु तुरुन्तै विमानभित्र छिर्नू भन्ने । माया जुरुक्क उठी । कफीको अन्तिम घुट्को भएर हाम्रो यतिञ्जेलको सहयात्रा टुंगिन लागेको थियो । माया र म एक–अर्काको हात समातेर अगाडि बढ्यौं । अन्तिम जाँचस्थलमा आइपुगेर मैले आफ्नो राहदानी र हवाइजहाजको टिकट देखाएँ । राम्ररी हेरिसकेपछि त्यहाँको कर्मचारीले मायातिर फर्केर सोध्यो–

“म्याडम, हजुरको खै’ त ?”

मायाले मेरो आँखामा पुलुक्क हेरी । कति टीठलाग्दी देखिन्थी ऊ ....कठै ।

“म त नजाने ।” जबर्जस्ती हाँसेर उसले त्यो मोटे कर्मचारीलाई जवाफ दिई ।

“ए !..... विदाई गर्न आउनु भा’ होला हैन ?” भन्दै त्यो मोटे हाँस्यो । हाम्रो बाध्यता, बिवशता र वेदनासँग अपरिचित थियो ऊ ।

सबै जाँचिसकेपछि त्यो मोटेले हामीतिर फर्केर भन्यो–

“ल अब तपाईं जानुस् ।...... तपाईं चाहीँ यहाँदेखि उता जान पाउनुहुन्न । ....”

माया, बिचरी ऊ रुँदा–रुँदा थाकेकी थिई । अब त रुन पनि सकिन । एकपटक बल गरेर मेरो हत्केलालाई आफ्नो हत्केलाले कसी । अनि .... समयले हाम्रो त्यो बन्धन खुकुलो पारीदियो । ... म मायालाई त्यहीँ छाडेर अगाडि लम्किएँ ।

“वासु ?”

अचानक मायाको आवाज सुनें– आँसुले भिजेको आवाज । फर्केर हेरें । उसको आकृति धमिलो देखियो । आँखाहरुमा बादल लागेछ, झरी लागेछ । अवरुद्ध भइरहेथ्यो गला, सासैले बोलाएँ– “माया !”

ऊ दौडिँदै मेरो अगाडि आई । फेरि उही किल्किले रुवाइ अनि झम्टन आई । उही उसको भाव, उही उसको सरलता । सम्पूर्ण लाजलाई एकातिर पन्छाएर उसले मलाई अँगालो हाली ।

झन्पछि झन् उसको रुवाइ बढ्दै जाँदै थियो । मैले हजार सम्झाएँ उसलाई । तर म आफैलाई थाहा थियो– मेरो बोलीमा कुनै शक्ति थिएन ।

“अति भयो ।”

भारी आवाज त्यही मोटे कर्मचारीको । नेपाल एयरलाईन्सको हवाइजहाज अब उड्न तयार भइसकेको जानकारी दियो उसले ।

माया र मेरो शरीर अलग्गियो । त्यतिबेला यस्तो लाग्यो मलाई, मेरो जीवन मैबाट अलग्गिँदै छ । सास पनि फेर्दैछु कि बन्द छ ? थाहा थिएन । होशमा छु कि बेहोशीमा ? त्यो पनि थाहा थिएन । त्यही अवस्थामा अगाडि बढें म । आफ्नो पैताला भासिए झैँ महसुस गरें । आफ्नो शरीर आफैलाई हिँडाउन गाह्रो भइरहेथ्यो । लिफ्टमा पनि खै कसरी राखेँ पाउ ? अनि माथि पुगेर एकपटक मायालाई हेरें । एउटा हातले आँसु पुछ्दै अर्को हातले मलाई ‘बाई बाई’ गर्दैथी ऊ ।

उसको त्यो हात हल्लाइमा कुनै जोश थिएन, जाँगर थिएन ।

बेहोशीमै कतिखेर मेट्रोमा चढें, कतिखेर झरें । अनि कतिखेर हवाइजहाजभित्र पसेर आफ्नो ठाउँमा बसें । एउटा तन्द्रामय अवस्था थियो । केही थाहा छैन । केही पनि थाहा थिएन ।

झ्यालबाट बाहिर हेरिरहेको थिएँ । हवाइजहाजले अझै जमिन छाडेको थिएन । एउटा मधुरो आवाज आइरहेथ्यो इञ्जिनको । रातभरिको जागा बसाईले आँखा गह्रौं भइरहेथ्यो ।
“एस्क्यूज मी !”

एउटा आवाज कानमा प¥यो । हतार–हतार झ्यालबाट नजर हटाएर आवाजतिर फर्किएँ । माया हैन एउटी परिचारिका रहिछ । मायाको आवाजझैँ लागेको थियो मलाई त ।

“टफी प्लिज ।” भन्दैथी ऊ, ट्रे भरि चकलेट उचालेर । म केही बोलिनँ । हातैको ईशाराले ‘पर्दैन’ भनिदिएँ । सोँचीहोली उसले–

“गुलियो मन नपराउने मान्छे पनि भेटें ।”

तर मैले सोँचिरहें–

“कुन खुसीयालीमा खाउँ म चक्लेट ? ..... मेरी माया रुँदै होली उता । म यता चकलेट खाएर रमाउँ ? ...... ।”


फोन गरें मायालाई । एक घण्टी पूरा नजाँदै उठाई उसले । तर केही बोल्न सकेकी थिइन ऊ । ‘हेलो’ मात्र पनि । मैले भनें–

“माया, कहाँ छ्यौ तिमी ?”

“तिमी र म जहाँ बसेका थियौँ रातभरि ।” सानो आवाज आयो ।

“जाऊ अब घर ।” मेरो बोली रुञ्चे बोली ।

“नगएर सुख ?” उसको थोरै हाँसो तर त्यो पनि रुञ्चे हाँसो ।

“जानुपर्छ माया, जानुपर्छ । ..... हामीलाई आफ्नो घर जानैपर्छ । भलै त्यो एउटा झोपडी किन नहोस् । माया गर्नुपर्छ आफ्नो घरलाई ... आफू जन्मेको .....।”

“तिम्रो जहाज उडेन अझै ?”

मेरो कुरालाई बीचमै काटी उसले । सायद बढी भावुकतामा नबग्न भनेर होला कि भन्ने साँेचें । जवाफ दिएँ–

“उडेको छैन ।”

“झरेर आऊ न उसो भए .... म यहीँ पर्खिरहन्छु ।”

मेरो सोँचाइको ठीक उल्टो उसको यो चरम भावुकता । एकपटक मेरो मुटु थरर्र काँप्यो । फोनमा ऊ रोएको नजिकै सुनिन्थ्यो । झरेर जाउँ जस्तो त मलाई पनि लागेको थियो तर कहाँ सम्भव थियो र अब ?

“माया नरोइकन चलाउनु है गाडी ।” भनें मैले । ‘हुन्छ’ भनी उसले, त्यो पनि रुँदै–रुँदै ।
अनि हवाइजहाज जमीनमा गुड्न लाग्यो ।

‘फोनलाई फ्लाइट मोडमा राख्नू या त स्वीच अफ नै गर्नू’ भन्ने उर्दी सुनियो जहाजभित्र ।

“बाई माया ।”
यत्ति भनें अन्तिममा मैले । तर उसले केही भनिन । केही क्षण पछि मेरो फोनको स्वीच अफ भइसकेको थियो ।

जमिनमाथि विस्तारै गुडिरहेको हवाइजहाजले आफ्नो गति बढाउँदै लग्यो । दुई मिनेट पनि नबित्दै त्यसले जमिन छाड्यो । मान्छेहरु देखिन छाडे बिस्तारै । त्यसपछि घुम्दै–घुम्दै हवाइजहाजले हामीलाई बादलभन्दा माथि पु¥यायो । अनि घरहरु पनि देखिन छाडे ।


सेता बादलका झुण्डहरु मात्रै जताततै देखिन्थे । कसैले बाक्लो न बाक्लो कपास ओछ्याए जस्तो लाग्ने । अनि मैले मायाको त्यो आवाज सुनें–

“झरेर आऊ न ....म यहीँ पर्खिरहन्छु । .....”

म हवाइजहाजबाट निस्केर तल–तल झरिरहें । माया आई माथि–माथि भएर । अनि हाम्रो मिलन भयो बादलको त्यही भुवादार ओछ्यानमा । हाम्रो आँसु त्यहाँ जमेको पानीले धोइदियो । हाम्रा सारा दुःख र वेदनालाई त्यहाँको बतासले उडाएर कतै टा—ढा लगिदियो । अनि त्यो बादलले हाम्रो मनलाई पनि आफू जस्तै सेतो र उज्यालो बनाइदियो ।

तर .... तर यो सब कल्पना थियो । फगत कल्पना ।

यथार्थ त्यसको ठीक उल्टो थियो । असहनीय र क्रुर ।

बादलमाथिबाट केही पनि देखिन्नथ्यो । कहिलेकाहीँ समुन्द्र देखा पथ्र्यो । शान्त अनि स्थिर । पटक–पटक मैले मायाको त्यो शान्त र सुबोध अनुहार सम्झें । अनि उसको आँसुलाई त्यही समुन्द्रसँग तुलना गरें । आँसु त आफ्नो पनि बग्दैथियो अझसम्म ।

करिब चार घण्टाको हवाइयात्रा पछि हामी नेपाल आइपुग्यौं । काठमाडौँको विमानस्थलबाट बाहिर निस्कने बित्तिकै मायासँग फोनसम्पर्क गरें । थाहा पाएँ, ऊ अझै त्यही बेञ्चीमा बसेकी छे । साह्रै नरमाइलो लाग्यो । रोइदिउँ जस्तो लाग्यो तर फोन पसलको साहुजीले हेरिरहेको थियो, सकिनँ ।

“घर जाऊ माया ।...पीर लिएर के फाइदा छ र अब ? ...” मैले भनें ।

उसले भनी–

“भर्खर त नौ बजेको छ ।”

फेरि केही सम्झेझैँ गरी सोधी–

“साँच्ची, त्यहाँ अहिले कति बज्यो ?”

“पौने सात हँुदैछ माया ।”

“बिहानको कि रातिको ?” उसको अनभिज्ञता ।

“बिहानको ।”

“ओहो, दुईघण्टाको समयान्तर है ? अनि जाडो छ कि गर्मी त्यहाँ ?”

“जाडो छ । .... फेब्रुअरीको महिना हो नि त यो । हिमालतिर हिउँ परि रा’होला ।”

“आज तिम्ले हिमाल देख्यौ कि नाई ?”

“देखेँ ।”

“कति राम्रो हुन्छ है हिमाल ?.. ... मैले त टीभीमा मात्रै देखेकी । ..”
उसको आवाज टाढाबाट आइरहेझैँ सानो सुनिन्थ्यो । मैले उसलाई घर जान कर लगाएँ । उसले भनी–

“तिमी गएपछि सात बजेतिर थुप्रै नेपालीहरु फर्केका छन्– बंगलादेश विमान चढेर । बंगलादेशबाट अर्को जहाज चढ्ने अरे । चार घण्टा यहाँ बस्दा मलाई थुप्रै कुराको ज्ञान भयो वासु .....। मलाई निश्चयता भयो कि हाम्रो जिन्दगी एउटा यात्रा मात्रै हो । भेट्टिनु, केही समय सँगै यात्रा गर्नु, फेरि छुट्टिनु यो त यात्राको नियम नै हो नि,.... हैन ? ....”

उसको आवाजमा अलिकति खुसी मिसिएको थियो यतिखेर । थोरै भएपनि सन्तोष लाग्यो– मायाले जिन्दगीलाई यसरी अथ्र्याउन लागिछ ।

तर मैले यति सोँच्न नभ्याउँदै भावविह्वल हुँदै बोलेको मायाको आवाज कानमा ठोक्कियो–

“तर वासु .....मैले जे भनेपनि मेरो मनले चाहीँ भन्दैछ – ‘यो सब सान्त्वनाको निम्ति बहाना मात्रै हो ।.... बहानाले जिन्दगी कतिञ्जेल चल्छ र ? यदि त्यो यात्री बौलाहा हो भने त ठीकै हो तर यदि त्यो सद्दे र सम्वेदनशील छ भने त भेट्टिएर छुट्टिनु पर्दाको पीडा उसलाई नहोला र ?’ .... हो वासु...यही भन्दैछ मलाई मेरो मनले .... ।”

यति बोलिसकेर माया बेस्सरी रोई । मैले हजार प्रयत्न गरें । उसलाई नरुन आग्रह गरें । बल्ल–बल्ल उसले मेरो आग्रहलाई मानी । मैले फेरि घर जान अनुरोध गरें उसलाई ।

करिब एकघण्टा पछि होटेलमा पुगेर उसलाई पुनः फोन गरें । आफ्नो कारभित्र थिई । अझै पनि सुँक्क–सुँक्क गर्न छाडेकी थिइन ऊ । व्यस्त सडकमा थिई होली, गाडीहरु ओहोर–दोहोर गरेको आवाज फोनसम्मै आइपुगेको थियो । उसलाई पटक–पटक नरुन भनें । कल्पना गर्दैथियो मन –

आँसुले आँखा ढाकेको बेला, बाटो राम्ररी नदेखिएको बेला उसको कार कुनै राक्षस जस्तो कन्टेनरमुनि पुग्यो भने ....? तर कामना पनि गर्दैथियो मन– उसलाई कहिल्यै त्यस्तो हुनैछैन....कदापी हुनेछैन । .....

राति होटेलको फोनमा सम्पर्क गरी उसैले र भनी–

“म तिमीसँग जान नसकेपनि मेरो निँद्रा त लगेछौ नि सुटुक्कै । ....”

यति भनेर ऊ सुस्तरी हाँसी । तर मलाई थाहा थियो– त्यो हाँसो मेरो निम्ति थियो– फोन मार्फत् पठाएकी उसले । ... उसको निम्ति त त्यही आँसु नै छाडेर आएको थिएँ म ।


भोलिपल्ट ।

साँझ आइपुगें घरमा । पूरा वातावरणले मलाई नै स्वागत गरेझैँ लाग्यो । बाबा–आमाको आँखामा हेर्दा उनीहरुको एउटा आँखाले मेरो र अर्को आँखाले मायाको प्रतिक्षा गरिरहेथे जस्तो लाग्यो ।


दुख्ने मन आफूसँगै थियो, दुख्न छाडेन ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 17 मङ्गसीर, 2068

लेखकका अन्य रचनाहरु