कथा साहित्यमा उदयपुरको योगदान

- नन्दलाल आचार्य

(१) परिचय
कुनै पनि मुलुकको सभ्यता र संस्कृतिको परिचय त्यस मुलुकको कला र साहित्यले दिने गर्दछ । साहित्य समृद्धशाली छ भने त्यस देसको समुन्नतिमा समेत ठोस टेवा पुग्दछ । साहित्य, कला र संस्कृतिको विकास भनेपछि कुम्भकर्णजस्तो निदाउने सरकारका सामु अरू कसैको केही लाग्दैन तर सर्जकहरूले भने सिर्जनामार्फत् नै परिवर्तन गर्न सक्छन् भन्ने कुरा विश्व इतिहासमा भएका वौद्धिक क्रान्तिहरूले पुष्टि गरिसकेका छन् । यो जगत् सुन्दर हुनु र देखिनुमा साहित्यले आधारभृ्त भृ्मिका खेलेको छ । मानवीय जीवनको प्रगतिको द्योतकका रूपमा साहित्य चिनिन्छ । मानिसलाई मानव भनेर चिनाउने गहना पनि साहित्य नै हो । नेपाली साहित्यको विकासमा राज्यको देन न्युन छ तापनि केही कृतिहरूले विश्व साहित्यसँग पौँठेजोरी खेल्ने क्षमता राखेका छन् । साहित्यलाई अनुत्पादक क्षेत्रका रूपमा हेरिएको छ । केही सर्जकवाहेक प्रायः जसो लेखेर बाँच्न सकेका छैनन् । एक त किताब किनेर पढिदिने पाठक पाउन मुस्किल छ, अर्कातिर पूरै रचना वा कृति पढिदिने पाठक भेट्नु लेखकको लागि गौरवको विषय बनेको छ । केही ख्याति कमाइसकेका र बिकाउ लेखकका निम्ति पाठक छन्, बाँच्ने अवस्था छ तर अधिकांशका लागि अभिव्यक्ति क्षमता हुँदाहुँदै पनि प्रकाशनको समस्या छ, साहित्य जगत्मा उदाउने अवसरको समेत अभाव छ, पाठकको त कुरै पर जाओस् । विहान बेलुकाको छाक टार्न धौधौ परेको बखत साहित्य पढ्नु र साहित्यमा लाग्नु व्यर्थ सावित हुने अवस्था छ । जीविकोपार्जनबाट बचेको समय रहरले साहित्यमा लगानी गर्नु अधिकांशको वाध्यता छ । औसत नेपालीको लागि साहित्य रहरको खेती ठहरिएको छ । यसै परिप्रेक्ष्यमा प्राकृतिक दृष्टिले सम्पन्न तर पूर्वधार विकासले पछाडि परेको उदयपुर जिल्लामा राम्ररी फस्टाउन नसकेको नेपाली कथा साहित्यको अवस्था वारे अभिरेखाङ्कन गर्ने प्रयास यस लेखमा गरिएको छ ।
(२) उदयपुरे कथाकारको नालिवेली
राममणि पोखरेल (००४) का ‘हरिमानको आत्महत्या’ (०६३), ‘सोममाया र शान्ति अभियान’ (०६४), ‘दण्डहीनता’ (०६५), ‘सूचना टाँस’ (०६६) र ‘समयका पाइला’ (०६७) गरी पाँच वटा कथासङ्ग्रह प्रकाशित छन् । शारदाप्रसाद भट्टराई (०१०) को ‘जम्काभेट’ (०५३) कृति प्रकाशित छ । टंकबहादुर आलेमगर (०१५) ले समेत २०६४ सालमा ‘कालो चायाँ’ नामक लघुकथा सङ्ग्रह प्रकाशन गरेका छन् । मातृका पोखरेल (०२३) का ‘सन्त्रस्त आँखाहरू’ (०६१) र ‘घाम झुिल्कनु अघि’ (०६७) अनि पुन्य कार्की (०२७) का ‘मखमली’ (०५७), ‘मध्यरातमा’ (०६२) र ‘बलभन्दा बुद्धि ठूलो’ (०६३, बाललोककथा सङ्ग्रह) गरी तीन वटा र कौशल चेमजोङ (०२८) को ‘भूत’ (०५६, लघुकथा सङ्ग्रह) प्रकाशन भएका पाइन्छन् । कपिल ठकुरी (०२९) को ‘एउटी वेस्या र म’ (०६१), कृष्ण शाह ‘यात्री’ (०३२) का ‘सूक्ष्म शिखाहरू’ (०५६, लघुकथा सङ्ग्रह) र ‘आणविक अस्त्र’ (०६२, लघुकथा सङ्ग्रह), धनुष राई (०३८) को ‘सेतो हस्ताक्षर’ (०५९, लघुकथा सङ्ग्रह) प्रकाशन भएका देखिन्छन् । त्यस्तै सगरमाथा साहित्य परिषदका सदस्य समेत रहेका नन्दलाल आचार्य (०३०) को ‘गरिमा’ कथासङ्ग्रह सोही परिषदबाट प्रकाशनको तयारीमा रहेको देखिन्छ ।
(३) प्रमुख कथाकार र तिनका कथागत प्रवृत्तिहरू–
(१) राममणि पोखरेल (००४)– उनका ‘हरिमानको आत्महत्या’ (०६३), ‘सोममाया र शान्ति अभियान’ (०६४), ‘दण्डहीनता’ (०६५), ‘सूचना टाँस’ (०६६) र ‘समयका पाइला’ (०६७) गरी पाँच वटा कथासङ्ग्रह प्रकाशित छन् । (क) निम्न स्तरीय ग्रामीण जनजीवनमा देखिएका आर्थिक सवाल अन्तर्गत भएका कटु यथार्थहरूको चित्रण, (ख) नयाँ पुस्ताको अदूरदर्शी नीतिबाट भएको पारिवारिक विचल्नीको चर्चा, (ग) राजनैतिक विकृतिको भण्डाफोर, (घ) भौतिक अभाव र असन्तोषबाट सिर्जित अन्यौलताको वर्णन, (ङ) पत्नीप्रेमभन्दा राष्ट्रप्रेम ठूलो अर्थात् परिवारभन्दा मुलुक ठूलो भन्ने भावना सम्प्रेषण, (च) राजनैतिक नारा र जुलुसले हैन मान्छेमा अन्तर्निहित चेतनाबाट सांस्कृतिक रूपान्तरण हुनसक्ने संभावना औँल्याउनु, (च) तराईमा रहेका सशस्त्र समूहहरूको लुटपाट, संत्रास, र अपराधिक मनोदशालाई केलाई सही मार्गमा लागी नेपाल राष्ट्रका सच्चा नागरिक हुन आह्वान् (छ) भ्रष्ट कर्मचारीतन्त्रको घोर विरोध, (ज) आडम्बरी पात्रको जीवनचर्यालाई समेत देखाई निमुखा वर्गप्रति श्रद्धा, (च) जनतालाई एकताको सूत्रमा बाध्न र राहत दिलाउन आह्वानजस्ता कथागत विशेषता लिएर उनी कथा साहित्यमा देखापरेका छन् ।
(२) शारदाप्रसाद भट्टराई (०१०)– उनको ‘जम्काभेट’ (०५३) नामक कथा सङ्ग्रह प्रकाशित छन् । यो नै पहिलो कथाकृतिका रूपमा देखिएको छ । उनी (क) सामाजिक यथार्थको चित्रणमा रूचि, (ख) समाजसुधारको चाह व्यक्त, (ग) सामाजिक विकृतिको भण्डाफोर, (घ) समाजसुधारको प्रवल चाह प्रकट, (ङ) नैतिकता र आदर्शताको स्थापनामा जोड, (च) ग्रामीण जनजीवनभोगाइलाई दुरुस्त उतार्नु, (च) सांस्कृतिक सम्पत्तिको सुरक्षामा केन्द्रीत हुन आह्वान् (छ) श्रमप्रति श्रद्धाभाव जगाउनुपर्ने भावना अभिव्यक्तजस्ता कथागत विशेषताका साथ कथा साहित्यमा देखिएका छन् ।
(३) टंकबहादुर आलेमगर (०१५)– उनले २०६४ सालमा ‘कालो चायाँ’ नामक लघुकथा सङ्ग्रह प्रकाशन गरेका छन् । समाजमा घटेका यथार्थताका नालीबेलीलाई कलात्मक रूपले प्रकट गर्ने काममा उनी पोख्त देखिन्छन् । विशेष गरेर दुःख, पीडा र बेचैनीका बेलिविस्तार मात्रै हैन अग्रगामी विचारयुक्त लघुकथा पनि पाइन्छन् उनको ‘कालो चायाँ’ लघुकथा सङ्ग्रहमा । उनीबाट मुलुकको अस्मितामाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय तत्वले धावा बोलिएको बखत आक्रोश पोख्ने काम समेत भएको छ । युवायुवती बीच हुने स्वभाविक प्रेमअनुरागलाई पनि स्थान दिइएको छ । सप्रिएको राजनीतिले मात्र देश र जनताको पक्षमा काम गर्न सक्ने कथन अघि सारिएको छ । सामान्य वर्गका मानिसहरूप्रति विशेष सहानुभूति राखेर समाजको अस्तव्यस्तताको विरोध गर्ने जस्ता विशेषताले उनका लघुकथाहरू युक्त छन् । यिनबाट युद्धमा पिल्सिएकाहरूको व्यथा सम्बोधन गर्ने काम पनि परोक्षरूपमा भएको छ । मूलभूत रूपमा यिनी समाज रूपान्तरणको पक्षमा मत जाहेर गर्दछन् । कथ्य एवं ठेट भाषाको प्रयोगले कथा रोचक बनेका छन् । रेडियो, टेलिभिजनमा वाचन गर्ने दृष्टिमा भने उपयुक्त देखिन्छन् । उनका धेरै जसो कथाहरू रेडियो नेपालबाट प्रसारण भइसकेका छन् । तर कतैकतै कथावस्तु, पात्रहरू नै किटान गर्न नसकिने अवस्था छ । कतिपय ठाउँमा लघुकथा, लघुकथाका रूपमा नभएर पोथी गद्यको कुनै रचनाको अंशजस्तो भेटिन्छ । स्पष्ट विचार खुल्न नसकेका लघुकथा पनि यस सङ्ग्रहमा मनग्यै परेका छन् । वर्णविन्यास सम्बन्धी कमजोरी जताततै पाइन्छ । यी विविध कारणले गर्दा भने खोजेजस्तो परिपाक तयार नभएको स्पष्ट झलक मिल्दछ । सामान्य लेखपढको वातावरण पाएका कथाकारका शब्दहरू र भाव सबै व्यावहारिक प्रकृतिका नै छन् । सैद्धान्तिक नजरले हेरेमा उनको उचित मूल्याङ्कन गर्न सकिन्न । कवितात्मक शैलीलाई पक्रेर कथा सिर्जेका छन् । भावसँगै वाचनमा मीठासपन र मधुरतालाई उनले विशेष महत्व दिएको भान हुन्छ । जे होस्, विधागत मान्यताका लागि फस्टाइरहेको र धेरै स्रष्टा साधक समर्पित रहेको लघुकथा विधामा उदयपुर जस्तो ठाउँमा एक साहित्यिक हस्ती उदाउनु र जनताले आफ्ना पिरमार्का सम्बोधन गर्ने कलमजीवि भेट्नु भनेको गर्वको कुरा हो । अर्का कवि, निबन्धकार तथा कथाकार पुन्य कार्कीले भूमिकामार्फत् नै लघुकथाकार टंकबहादुर आलेमगरलाई साहित्य संसारमा आमन्त्रण गरेर लेखन, प्रकाशन, परिष्कार, परिमार्जन र समीक्षणको चौतारी भेटे साहित्यको मन्दिर निर्माणमा उनको देन महत्वपूर्ण हुनसक्ने बताएका छन् । आले मगर कथा लेखनमा निरन्तर सक्रिय छन् । उनको अर्को कथा सङ्ग्रह प्रकाशोन्मुख छ ।
(४) मातृका पोखरेल (०२४)– उनका ‘सन्त्रस्त आँखाहरू’ (०६१) र ‘घाम झुिल्कनु अघि’ (०६७) गरी दुई कथा सङ्ग्रह प्रकाशित छन् । उनी (क) माक्र्सवादी सिद्धान्तबाट प्रभावित वर्गीय दृष्टिकोण, (ख) नयाँ र पुराना पुस्ताका बीच देखिएका द्वन्द्वात्मक अवस्था अभिव्यक्त, (ग) विसङ्गति एवम् निःसारतापूर्ण परिस्थितिप्रति तीव्र आक्रोस, (घ) अमूर्त विषयवस्तुलाई सूत्रात्मक एवम् साङ्केतिकरूपमा प्रयोग, (ङ) निरीह, विवश तथा यन्त्रवत् आधुनिक मान्छेको चित्रणमा रूचि, (च) समतामूलक समाजनिर्माणको आग्रह, (छ) प्रगतिशील चेतनाको तीव्रता, (ज) स्वतन्त्रता प्राप्तिका लागि सङ्घर्ष र विद्रोहका पक्षमा अभिमत प्रकट, (झ) वर्ग र पात्रानुरूप भाषा र शैली प्रयोगमा सजगता, (ञ) आर्थिक विषमताबाट सिर्जित पीडाहरूको प्रस्तुतिमा रूचिजस्ता कथागत विशेषताका साथ कथा लेखनमा सक्रिय छन् ।
(५) पुन्य कार्की (०२७)– उनका गरी ‘मखमली’ (०५७), ‘मध्यरातमा’ (०६२) र ‘बलभन्दा बुद्धि ठूलो’ (०६३, बाललोककथा सङ्ग्रह) गरी तीन कथा सङ्ग्रह प्रकाशित छन् । उनी जनयुद्धकामीहरूप्रति श्रद्धाभाव प्रदर्शन गर्ने कथाकार हुन् । जनयुद्धको क्रममा पति मारिएकी एक विधुवाको स्वलापलाई कथ्यवस्तु बनाएर जन्मेको ‘स्वलाप’ कथामा उनका छोराहरू क्रान्तिको मैदानबाट उनलाई चिठीमा लेख्छन्—क्रान्तिको महाअभियानमा पस्नु, यस्तो विश्वविद्यालयको विद्यार्थी हुनु मेरो अहो भाग्य हो । यहाँ जो पनि आजीवन विद्यार्थी नै रहिरहने रहेछ । सिकेर सिकी नसकिने अथाह कुराहरू रहेछन् यहाँ । जानेर जानी नसकिने अनन्त कुरा रहेछन् यहाँ । यहाँ यस्तो पनि देखियो आमा ! युगौँयुगदेखि उत्पीडनमा परेर लाटिएका जीब्राहरू छुराजस्तो धारिलो भएको पनि देखियो । सन्दुक खोल्न नजान्ने हातहरू बन्दुक चलाउन जान्ने भएको पनि देखियो । टोपीमा, तन्नामा दिनभरि कार्चोपी बुट्टा भर्ने बहिनीहरू कम्मरभरि कार्तुसको माला भिरेर युद्धको गीत गाउँदै रनबन चाहरेको पनि देखियो । कपुरी ‘क’ नजान्ने हातहरू –हामी निरङ्कुशताका कैदी हैनौँ स्वतन्त्रता, समानता र न्यायका सेनानी हौँ भनेर भित्ता भित्तामा गर्जना कोर्ने भएको पनि देखियो । यस विश्वविद्यालयको प्राङ्गनमा त यस्तो लाग्छ— हावाको सुसाइभित्र जुलुसको तुमुल ध्वनि मिसिएर आएजस्तो, गृहिणीले घुमाएको जाँतोमा जनता खाने घुन कीराहरू मकैकोदोसँगै पिसिएर आएजस्तो, चराहरूको चिरविराहटभित्र नयाँ दिनको स्वागत गान भेटिन्छ यहाँ । नदीहरूको कुलकुलाहटभित्र धर्तीकै उमङ्ग छचल्किएको आभाष मिल्दछ यहाँ । यहाँ हरेक चीज नौलो छ, नयाँ छ । युद्ध भन्ने कुरा सिकेर जान्ने कुरा होइन रहेछ । हामी व्यवहारबाट धेरै कुराहरू सिक्दै जाँदै छौँ । (‘मध्यरातमा’ कथा सङ्ग्रह (२०६२) मा सङ्ग्रहीत ‘स्वलाप’ कथाबाट)
पुन्य कार्कीका कथाका वारेमा साहित्यकार रामप्रसाद ज्ञवालीको कलम बोलेको छ– बहुसङ्ख्यक शोषितपीडितप्रतिको गम्भीर चासो, राष्ट्र र राष्ट्रियताप्रतिको गम्भीर संवेदनशीलता, समाजप्रतिको दायित्व बोध र प्रगतिशील राजनैतिक सचेतना कथाकार कार्कीका प्रमुख विशेषता हुन् । उनका कथाहरूले सामन्तीसंस्कार, दासमनोवृत्ति र सामाजिक शोषणले लाटो पारिएका मनहरूमा विद्रोह सञ्चार गर्छन्, अज्ञानता र अशिक्षाले सुषुप्त मनहरूमा जागृति भर्छन् र मानवद्वोषीहरूद्वारा गरिएको असह्य अत्याचारले पलायन भएका मनहरूमा आँट र उत्साह छर्छन् । उनी (क) जनयुद्धको विषयवस्तुमा केन्द्रीत, (ख) युगिन यथार्थको प्रतिबिम्वन, (ग) अग्रगामी पात्रमा आधारित, (घ) विकृत राजनैतिक खेलप्रति घोर वितृष्णा, (ङ) पात्रहरूको वाह्य र आन्तरिक दुबै जगत्को चित्रणमा खप्पिस, (च) आञ्चलिकता र स्थानीयताको प्रभाव ग्रहण, (छ) ग्रामीण निम्न र मध्यम परिवारको चित्रण, (ज) अन्धविश्वास र रूढिवादी परम्पराप्रति विद्रोही भावना, (झ) विसङ्गति र विकृतिमूलक परिवेशप्रति व्यङ्ग्य, (ञ) बालमनोविज्ञान र मनोविज्ञानमा आधारित अभिव्यक्ति दिन रूचिजस्ता कथागत विशेषताका साथ कथा लेखनमा सक्रिय छन् ।
(६) कौशल चेमजोङ (०२८)– उनको ‘भूत’ (०५६) लघुकथा सङ्ग्रह प्रकाशित छ । उनी (क) गरिबीको चित्रणमा रूचि, (ख) मानवताको पक्षमा वकालत, (ग) सामाजिक एकता र भाइचाराको सम्बन्ध सुदृढीकरणमा जोड, (घ) सामाजिक वेमेललाई मेलमा परिणत गर्ने चाह व्यक्त, (ङ) नैतिकता र आदर्शताको स्थापनामा जोड, (च) ग्रामीण जनजीवनभोगाइलाई दुरुस्त उतार्नु, (छ) सांस्कृतिक सम्पत्तिको सुरक्षामा केन्द्रीत हुन आह्वान् (ज) श्रमप्रति श्रद्धाभाव जगाउनुपर्ने भावना अभिव्यक्त, (झ) सामाजिक यथार्थलाई अङ्गिकार गर्दै कथा लेखनमा सक्रिय, (ञ) सिकारूपनका प्रशस्त अवस्थाजस्ता कथागत विशेषताका साथ कथा लेखनमा सक्रिय छन् ।
(७) कपिल ठकुरी (०२९)– उनको ‘एउटी बेस्या र म’ (०६१) कथा सङ्ग्रह प्रकाशित छ । विशेषतः उनी (क) यौन मनोविश्लेषणमा रूचि, (ख) जनयुद्धकालका विषयवस्तुको उठान गरी गृहयुद्धको समाप्तिको चाह व्यक्त, (ग) रूढिग्रस्त परम्पराप्रति विमति प्रकट, (घ) मनोवैज्ञानिक यथार्थको चित्रणमा अग्रसर, (ङ) निम्न वर्गप्रति श्रद्धाभाव प्रकट गरी कारुणिक चित्रणमा सफल, (च) पात्रानुरूप उचित संवादको संयोजन, (छ) नारीवर्गको विवशताको चित्रण, (ज) हडबडमा निर्णय गर्ने र फुर्सदमा पछुताउने मानवीय प्रवृतिको भण्डाफोर, (झ) ग्रामीण र सहरीया दुवै परिवेशको प्रयोगमा रूचि देखाउनु, (ञ) आलोकाँचो भाषा र अपरिपक्व भाषाशैली प्रयोगजस्ता कथागत विशेषताका साथ कथा लेखनमा सक्रिय छन् ।
(८) नन्दलाल आचार्य (०३०)– उनको प्रकाशोन्मुख ‘गरिमा’ कथा सङ्ग्रहमा विशेषतः पत्रात्मक कथा समेटिएका छन् । ‘बाठा मच्छडहरू’ कथाबाट एक अंश– प्रिय मित्र भुनेश्वर, हप्ता दिन अघि गाविसमा गाउँसभा थियो । सबै डाकिए, मलाई कसैले वास्ता गरेन । दलितका कुरा आउँदा पनि निर्णय गर्ने आफैँ र पेट भर्ने पनि आफैँ गर्ने गरेको कुरा थाहा पाएँ । हाम्रो जातिको नाम बेचेर किन पैसा कु्म्ल्याउँछौ भनेको त मैले मुखभरिको जवाफ भेट्टाएँ । सबैले एक मतका साथ मलाई वाक्युद्धमा पराजित गरे तर म मानसिक युद्धबाट भने पराजित भएको छैन । कुरा सुन्न चाहान्छौ, भुनेश्वर ? तिमीले पनि सुन्नैपर्छ । सुन्न सक्यौ भने मात्र तिमी मेरो विचारसँग निकट हुनसक्छौ ।
त्यस वेला सबै मिलेर मलाई उल्लीबिल्ली पारे । सभ्य मेरो छिमेकी आनन्देले ठूलै स्वरमा भन्यो–“के बुझैछी रै लक्ष्मणमा, तोरा राजनीति के सिखेलकौ ? तोरा भाँतीभाँतिके गन्थन कक आखिरमे कि भेटतौ ? चुपचाप जी, जी कक रही न ।” (¬के ठान्छस् ए लक्ष्मणे, तँलाई राजनीति कसले सिकायो ? तँ नानाभाँतिका गन्थन गरेर आखिरमा के पाउँछस् । चुपचाप हजुर, हजुर भनेर बस् न ।)
अर्कातिर घनश्याम कुर्लियो–“अपन औकातसँ उपर उठैलासभ हरदम खसले अछि । तोँ किया आफतमे परैल चाहैछ ? दलित वस्तीमे खानेपानी’क व्यवस्था केलगेल अछि । बच्चासभके पढैल स्कूलोँके दरबज्जा खुल्ले छोडल अछि । आब कि ताकै छी, लक्ष्मणमा ?” (आफ्नो औकातभन्दा माथि उठ्नेहरू सधैँ लडेका छन् । तँ पनि किन भड्खारामा पर्न चाहन्छस् ? दलित वस्तीमा खानेपानीको व्यवस्था गरिदिएकै छ । बच्चाहरूलाई पढ्न स्कूलको ढोका खुल्ला छाडेकै छ । अब के खोज्छस्, लक्ष्मणे ?)
पुराना विचारका धुथर बूढाले समेत नयाँ कुरा गरे–“रौ लक्ष्मणमा ! दलित विकासक लेल आएल बजेट जगहजगहमे लगाए देने अछि । तोहर परिवारक बरतनमेँ चाउर राखिदैल सरकारी बजेट अलग केनै नहि अछि ।” (अरे लक्ष्मणे ! दलित विकासका लागि आएको बजेट ठाउँठाउँमा लगाइदिएकै छ । तेरो परिवारको भाँडोमा चामल हालिदिन भनेर सरकारी बजेट छुट्याएको पनि त होइन । (न्यूज टुडे, असोज, ०६८ बाट)
उनी (क) निम्न वर्गप्रति अनुराग र शोषक वर्गप्रति आक्रोस व्यक्त, (ख) प्रगतिशील चेतनाको तीव्रता, (ग) आशावादी दृष्टिकोण व्यक्त, (घ) सही ढङ्गले सांस्कृति रूपान्तरणमा जोड, (ङ) पात्रहरूको मनोदशा र विवसताको चित्रण, (च) घटनाप्रधानभन्दा बढी चरित्रप्रधान कथा लेखनमा अग्रसर, (छ) पात्रानुकूल संवाद प्रयोगमा सजगता, (ज) आञ्चलिकता र स्थानीयताको प्रभाव ग्रहण, (झ) समाजको यथार्थ चित्रणमा अग्रसर, (ञ) पत्रात्मक शैली अङ्गिकारजस्ता कथागत विशेषताका साथ कथा लेखनमा सक्रिय छन् ।
(९) कृष्ण शाह ‘यात्री’ (०३२)– कथाकार यात्रीका ‘सूक्ष्म शिखाहरू’ (०५६) र ‘आणविक अस्त्र’ (०६२) गरी दुई सङ्ग्रह प्रकाशन भएका देखिन्छन् । विशेष गरी उनी (क) मानवीय र मानवेत्तर पात्रहरूको सफल संयोजन, (ख) झिनो आख्यानात्मक प्रस्तुति, (ग) समाजमा व्याप्त विकृति विसङ्गतिको सफल भण्डाफोर, (घ) मानवीय मूल्यह्रासमा चिन्तावोध, (ङ) लैङ्गिक विभेदप्रति रोष व्यक्त, (च) विश्ववन्धुत्वको भावनामा जोड, (छ) बिम्ब र प्रतीकको प्रयोगबाट अमूर्त विषयवस्तुलाई सूत्रात्मक एवम् साङ्केतिकरूपमा प्रयोग, (ज) वैज्ञानिक चिन्तनयुक्त कथा लेखनमा रूचि, (झ) जनयुद्धका सकारात्मक र नकारात्मक पक्षको चित्रणमा रूचि, (ञ) सरल, सुवोध भाषाशैलीमा कथात्मक अभिव्यक्ति दिन खप्पिसजस्ता कथागत विशेषताका साथ कथा लेखनमा सक्रिय छन् ।
(१०) धनुष राई (०३८)– राईको ‘सेतो हस्ताक्षर’ (०५९) लघुकथा सङ्ग्रह प्रकाशन भएको पाइन्छ जसमा उनले समसामयिक विषयवस्तुलाई टपक्क दिपेर कथात्मकरूप दिने काम गरेका छन् ।
यी माथि वर्णित १० जना कथाकारहरूका अतिरिक्त दीपक चिन्तक, शकुन आँँसु, जोतारे धाइवा, स्वस्ती थापा, न्द्र थापा ‘मिलन’, बाबुराम खपाङ्गी, मदन तामाङ्ग, सुसम आचार्य, लक्ष्मी रिजाल आदिले समेत कथा विधामा कलम चलाउँदै आएका छन् । यसरी आजका मान्छेका मनमा लोभ, पाप, जालझेल, षड्यन्त्र, स्वार्थ, तेरोमेरोको निकृष्ट भाव, क्षुद्रता, अहङ्कार र इष्र्या, कलुषितभाव, कामेच्छा, मद, मात्सर्य, दुष्टता, पापाचार, दुराचार, अनाचारजस्ता कुभावना आएर मानवता नै हराएकोमा उदयपुरे कथाकारहरू खेद प्रकट गर्छन् । आजका हामी ढोँगी, स्वार्थी, सङ्कीर्ण, आडम्वरी भएर स्वावलम्वी तथा स्वनिर्भर संस्कृतिका कुराहरू बिर्सी लुच्च्चा, लफङ्गा, स्वार्थी, निर्घिणी, कामचोर, दलाल, भष्ट्राचारी, द्रव्यपिपासु भएको दृश्य कथामा उतार्न खप्पिस छन् । विकृत राजनीतिको उपजका रूपमा धेरै जसो कथाहरू जन्मेका र समाज रूपान्तरणको चाह संगालेको समेत भेट्टाइन्छ । नेपाली कथा साहित्य फाँट फराकिलो पार्ने काममा उदयपुरे सर्जकहरूको योगदान महत्वपूर्ण रहेको देखिन्छ ।
समग्रमा हेर्दा साहित्यक क्षेत्रमा उदयपुरे सर्जकहरूले जे जति गर्न सकेका छन् त्यो मननीय र गर्व गर्न लायकको छ । साहित्यको त्यत्रो माहोल नभए पनि विविध अवसरहरूमा विविधखाले साहित्यिक गोष्ठीहरू हुँदै आएका छन् । यहाँ अहिलेसम्म साहित्य जगत्मा जे जति प्रगति भएको छ त्यो पर्याप्त भने छैन । नयाँ पुस्ताका सर्जकहरूले अवसर पाए, साहित्यिक वातावरण भेट्टाए यो जिल्ला भौगोलिकरूपमा मात्रै होइन साहित्यिकरूपले समेत सानो उपत्यका (काठमाण्डौ) बन्नसक्छ भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।

तपेश्वरी–१, गल्फडिया, उदयपुर

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 17 मङ्गसीर, 2068

लेखकका अन्य रचनाहरु