फाटेको छाता

- उत्तरकुमार पराजुली



आयु आरोग्यले राम्ररी साथ दिए हाम्रो सात पुस्ते पारिवारिक संस्कार हो । आफूले जिजुबुबा–आमा देख्ने र आफू जिजुबुबा–आमा बन्ने । नभए पाँच पुस्ते त कहीं नजा । आफूले हजुरबा–आमा देख्ने र आफू पनि हजुरबा–आमा बन्ने । एउटै गोलटोल मिलेर बस्ने । जीवन गुजाराको कारोबार छुट्टाछुट्टै गरे पनि आस्थाको धरोहर एउटै बरिष्ठतम व्यक्ति । तल्ला गराको पानी उपल्ला गरामा ननिस्किए पनि उपल्ला गराको पानी त चुही ,रसाई तल्लो गरामा झर्छ नै । आफ्नै खुन पोलिहाल्छ नि १ साउँको भन्दा ब्याजको माया ।.....यस्तै यस्तै भन्दै छुट्टिभिन्न भएका आफ्ना छोराबुहारीका सन्तान अर्थात् आफ्ना नातिनातिना स्याहार्ने बूढाबूढीहरु । बूढाबूढीका हातपाखुरा चलुञ्जेल आयआर्जनको साख नगिरुञ्जेल हजुरबा–आमा बसेको घर सबै नातिनातिनाहरुलाई साझा धौलेघर ।

“सत्तका भर सम्पत्ति, धर्मका बल सन्तान ,बाउबाजेका धर्मले छोरा नातिलाई खान हुन्छ ।”ंं......यस्तै यस्तै हुन् नैतिक नेतृत्वका आधारहरु । त्यसैले त “मर्दाका मलामी पर्दाका जन्ती’ भनाइको सार्थकता भेटिन्थ्यो । सुत्केरी उतार्ने तातो घरलाई जस्तै परलाई पनि हुन्थ्यो । छोराछोरीको ब्रतबन्ध,विवाहको लागि घरबाट भन्दा परबाटै कुरा चल्थे । छोरीको घर बिग्रदा ,छोराको घर नहँुदा आफन्त छरछिमेकलाई चासो । आफू केवल भएर पसारिने “लौ यो छरछिमेकले गर्ने काम त हो नि ” भनेर । यसरी पसारिँदा न दासताको अनुभूति न शरणको मरण गर्ने कुप्रवृत्ति । लम्पसारिँदा पाइने वात्सल्यता ,त्यो सामुहिक अभिभावकत्व १
दुःखमा गुहार भनेर चिच्याउन नपरी मद्दत जुट्ने ,सुखमा निम्ता बिना पनि सुख बाँड्न आउने त्यो निश्छल हार्दिकता । निम्ता नभनेकोले पनि साक्षी बक्ने, गीता, तामो, तुलसी , पीपल, आगो, द्यौ, पितृ प्रतिको अटल आस्था र सत्य प्रतिको निष्ठा । त्यो सामाजिक एकताको दृढता । यस्तो हुँदाहुँदै पनि अझ पुग्दैनथ्यो हजुरबुबा र हजुरआमालाई र भन्नुहुन्थ्यो – सत्ते जुगमा जन्मियो , अहिले कलिको भुक्तान गर्न परिरहेछ । बूढाबूढीहरु कलहमा कलि देख्थे , मन मलिनतामा कलि देख्थे , शायद तीव्र परिर्वतनको अत्याहटमा पनि कलिको झझल्को आउँदो हो ।

यो टुक्रिएको पारिवारिक परिवेश, केवल दुई पुस्ते बाध्यात्मक सीमाबद्धता । जन्मने र जन्माउने बीचको सम्बन्ध । नाति नातिनाले हजुरबाआमा चिन्दैन हजुरबाआमाले आफ्ना नातिनातिना जान्दैनन् । उनीहरु भोकाएको जान्दैनन् , उनीहरु के खान्छन् कुन्नी त्यो पनि जान्दैनन् , उनीहरुलाई कसरी उचाल्नुपर्छ , कसरी काख लिनुपर्छ , त्यो पनि जान्दैनन् , उनीहरुलाई सेकताप ,कानीकानी गुर्नपर्छ पर्दैन त्यो झन् जान्दैजान्दैनन् । थाङ्ग्रामा सुताउन हुने हो कि होइन त्यो पनि जान्दैनन् , सुतेको बेलामा यताउता सार्दा कोला कोला भन्न हुने हो कि होइन ! शंका व्यक्त गर्छन् , सुतिरहेको बलेला गुुन्दै्रसित सार्दा नानी बाढ्यो नानी बाढ्यो भन्दा साह्रै पुरातनवादी होइने हो कि ? भित्र भित्रै त्राहीमाम् बन्छन् । वर्षदिनको दसैंमा स्वदेशमै मुग्लानी भएका छोराछोरीका जहान घर भित्रिए । नातिनातिना खेलाउने बूढाबूढीको रहर छोरीपट्टिको नातिलाई थिरिथिरि तातेताते गराउन जोतियो । ज्वाइँ उदास देखिए । बूढाबूढी शिताङ्ग भए । नातिनीलाई धैयाधैया गराउँदै तारबाजी लैलै.....को लयमा लोली मिलाउँदा बुहारी निराश देखिई । बूढाबूढी झसङ्ग भए ।

ए बूढाबूढी हो , तिमी पत्रु भैसक्यौ भनेर कसले भनिदेला उनीहरुलाई ।अबको जमानाले न तिम्रो कुरा बुझ्छ न तिमीहरु नै आजको जमानाका कुरा बुझ्न सक्छौ भनी कसले बुझाइदेला ती आपस्तले भरिपूर्ण अनाथलाई । अबका केटाकेटी त भोक लाग्दा रुदैनन् । उनीहरुलाई त घडीको समय हेरेर कैले न मैले बनेका सुख्खा तैयारी खानेकुरा दिनुपर्छ । ए बूढाबूढीहरु हो , तिम्रा पालामा पुराना धानका चामल खान्थ्यौ , खुवाउथ्यौ । पुराना जौको सातु खानुपर्छ भन्थ्यौ, पुराना मकैको आटो पथी ( पथ्य ) हुन्छ भन्थ्यौ अहिले पनि पुरानु त छोडिएको छैन , पुरानिएका पीठाको खुराक , ओजिनोमोटो मन्द विष घोलेर , प्लास्टिकमा पोका पारी पुरानु गराएर खुवाउने चलन छ । उचालिने र काखिने बानी कहाँ छ र उनीहरुमा कोल्टे पर्ने, कोखो फर्कने अवस्था नहुँदै चाइल्ड केयर सेन्टर (शिशु स्याहार केन्द्र ) मा भर्ना हुन्छन् । उनीहरुको सेकताप त जगत साक्षी सूर्यैले गर्छन् । तिमीहरु भन्दा हौला जसको कोही छैन उसको भरोसा ईश्वर हुन्छ तर हेर यिनीहरुको सबै हुँदाहुँदै पनि त नानी ताती नानी ताती भनेर तेलमा लतपतिएको तातो हाल उनको शरीरमा पर्न पाएन । पुराना, भाँचिएका हलाका ठुटा चिरेर रनकठाहा लाएर सुत्केरी सेक्ने चलन धेरै पुरानु भैसक्यो । बच्चा सेक्दा सुत्केरी पोषिन्छन् भन्थ्यौ । जति तेल लगाएर माड्यो सेक्यो उति छिटो बच्चा सप्रिन्छन् भन्थ्यौ अब ती कुरा उहिलेका भएर खुइलिइसकेका छन् । बच्चा सेक्दै गरेका हातले आफ्ना चण्डीपुर्पुरा सेके सुत्केरीको टाउको दुख्दैन भन्ने कुरा अहिले आहान भएको छ । कुनामै हुँदा कोखा र तल्लो पेट सेक्दा बाआँेरो ( तल्लो पेट ठूलो देखिएर सधै दोजिया जस्तो देखिने स्थिति ) रहन्न भन्ने भनाइ अहिले उखान भएको छ ।

ए वृद्धात्माहरु , तिम्रा पालामा जस्तो आडिला थाङ्ग्रामा केटाकेटीहरुलाई सुताउने कल्पना गर्दा हौ । अहिले त लचकदार डनलपमा सुताउने चलन छ । निद्रा नबिथोल्न प्रयोग गर्ने सासैसासले उच्चारण गर्ने कोला कोला ...... तिम्रो मन्त्र त शायदा कोकाकोला , कोकाकोला भएको छ होला जुन अन्तरराष्ट्रिय पेय पदार्थ तिम्रा नातिनातिनाका पेटमा गोरस प्रवेश गर्नुभन्दा अघि नै प्रवेश गरिसकेको हुनसक्छ । त्यसै आधुनिक भइन्छ र !ंं तिमीहरु नातिनातिनासंग बोल्न जान्दैनौ । स्टान्ड अप स्टेप स्टेप भन्नु पर्नेमा उही थाङ्गे्र थिरिथिरि ताते ताते भन्दा ज्वाइँको अनुहार उब्लेको तिमीहरुले पनि ख्याल गरे हौला । धैया नानी धैया भन्दा ताराबाजीलैलै को लयको अलापले बुहारीका अनुहार भुतुक्क निभेको याद गरे हौला । त्यसबेला तिमीले ट्विङ्कल ट्विङ्कल लिटल स्टार हाउ आई वण्डर वाट यु आर गाउन जान्नु पथ्र्यो । नजाने चुपचाप बस्न सक्नुपथ्र्यो । ए बानप्रस्थीहरु , अब तिम्रो घरै बन बनेको छ । अब तिम्रा गृहस्थी जीवनका विचार संयोजनका लागि बन जानु पर्दैन । तिम्रा संयोजित अनुभव लिन कोही तयार छैन । तिम्रो संस्कारको अपुताली परेको छ , तिम्रो विचारको जिलो मासिँदैछ । तिमी आज्ञा पालन र कर्तव्यका कुरा सिकाउन खोज्छौ होला तर तिम्रा सिकारु त आफ्नो अधिकार र अरुको कर्तव्य मात्र जान्न चाहान्छन् ।



ए दाँत झरेका गाउँमा बस्ने सत्यात्माहरु , तल्लो पीँढीलाई संस्कार दिने तिम्रो हतार र छटपटी हेर्ने लायकको छ । संस्कार दिने हो कि लिने ? यो त दिने भन्दा लिने हो । अनुभूति पनि त दिने भन्दा बढ्ता लिने हो । तिमीहरु त महासागर हौ , ज्ञान र अनुभव सागर जसले जत्रो भाँडो लिएर आउँछ उत्ति पानी लिएर जान्छ । गोरुलाइृ पानीघाट सम्म लिएर जान सकिन्छ , पानी आफैले खानुपर्छ । तिमीहरु त्यै गाउँमा महासागर झैँ अटल भै रहन्र , निश्चल र निश्छल भैरहनु । कुनै दिन तिमै्र सन्तान समाजकल्याण मन्त्री बनेर तिम्रो जीवनको उल्टो गनाइको निरीक्षण गर्न , वृद्धाश्रमको प्रतिवेदन तयार गर्न हेलिकोप्टर चढेर आउनेछन् । प्रतिक्षा गर्नू ।



अव्यवस्थित खचाखच खाँदिएको बसोबास नै शहरी जीवनको परिभाषा । उच्च अहं , तीब्र छटपटी । अस्तव्यस्त बसाइलाई शहरीया सभ्यता ठान्ने एउटा कोरा भ्रम । आमा भए कर हुन्थ्यो , बुबा भए भर हुन्थ्यो , सासू भए डर हुन्थ्यो , ससुरा भए भर हुन्थ्यो थकित सुस्केरा पछिका परिकल्पना । केवल कृत्रिम अभावको नाटक मात्र । अहिले स्वतन्त्रताका नाममा एक्लै रुने , एक्लै कुहुने अवस्था छ । लैङ्गिक समता शिक्षाले विपरित लिङ्गिको परिपूरक स्वभावको व्याख्या गर्न नसक्दा द्वन्द्वको सिर्जना भएको छ । यही द्वन्द्वको तमासा हेर्दै हुर्केका बालबालिकाले आमालाई झींगाको लेखा र बुबालाई झुसे बारुलोको हैसियतमा बुझ्ने गरेका छन् । बीस वर्षे बालबालिकाको बाल अधिकारले बा आमाको कर्तृव्य बोधको बोझ अझै थपिँदो छ । “अरु कोही नभए धुरी खाँबा लाई सोध्नू ”भन्ने कथन त्यसै बनेको होइन रहेछ । सबैलाई गललागिरेहको छ । जीवन काटिएको चङ्गा जस्तो सबैलाई अनुभूति भइरहेछ ।

आमा अस्पतालमा छटपटाइरहँदा छोराछोरीको , मात्र फोन आउँछ । बाबु मृत्युशैयामा घिटिघिटि हुँदाको घिटकिसो सुनिदिने कोही छैन । पूरा गर्ने त धेरै परको कुरा । मृत्यु संस्कारको संवेदनशीलता केवल औपचारिकतामा परिवर्तन भइरहेको छ । स्नेहशील आर्द्रता सून्यतर्फ उन्मूख छ । आँसु र हाँसो रित्तिएको उराठ जीवन ! कौवाको ,बाँदरको जत्तिको एकता पनि मानवीय एकताका लागि ठूलो चुनौती बनेको छ । आमाले झैं दूध खवाएको भनी गाई ,भैंसी र बुबाले झैं आर्जन खुवाएको भनी गोरुको मलामा गर्दाको दिन छाक छा्ड्ने कुरा केवल शुष्क सम्झनाका लागि मात्र ।



बाबू , छिट्टै फर्किस् त स्वास्थ्यले साथ दिएन कि ! सञ्चै त आइस् ।
आमा बाबा , मैले मेरो अभिभावकीय छाता धुजाधुजा पारेको छ । अब सिलाउँदा धागोले कपडा काट्ने कपडाले धागो काट्ने हुन्छ होला । अब म जीवनभर यही पश्चातापमा तड्पिरहने बाहेक कुनै विकल्प छैन ।

प्यारो औतार तैँले छाता च्यात्दै गर्दा बाबा आफै रुझिन्छ नि भनैकै थियौँ । कानमा बतास लागेन ।अहिले तँलाई समयको झरीले कुट्दा कालक्रमको घामले पोल्दा हामी तमासे बन्नुको विकल्प रहेन । हामी केवल अनचिनारु रमिते बन्न बाध्य छौँ । बाबू , यो छाता सानो झरीमा वर्षिने , सानो हावामा उल्टिने , चर्को घामले फाटिहाल्ने छाता होइन । यो असली घरबुनाको छाता हो । यो त जति भिज्यो उति नबर्सने, जति तात्यो उति शित्तल दिने , जति तुन्यो उति बलियो, जति पुरानिँदै गयो उति बाक्लिँदै जाने जातको छाता हो । ए बुढेसकालका बैसाखी, तैँले मात्र अपनाइस् भने यसको म्याद अझै कटिसकेको छैन ।

बाबा–आमा, आफ्नो अभिभावकीय छाता च्यात्दा राष्ट्रिय छाता पनि च्यातिँदो रहेछ । हाम्रो देशको रक्षा मन्त्रीले देश टुक्राउने धम्कि हिजो मात्रै दियो जुन म गएको देशका पागलले पनि बोल्न सक्तैनन् । मैले मेरो देशको कामलाई घृणा गरें । केवल छुट्ट्याएको गास टिपेर च्याउ बढेझैँ बढेँ । न सिद्धान्त बुझेँ न व्यवहार पढेँ । वास्तवमा गास जुठाउन गाह्रो रहेछ । मेरो उच्च शिक्षाको हैसियत साक्षर भन्दा एक बिन्दु माथि पुग्न नसकेको कुरा बल्ल थाहा पाएँ ।

विद्यार्थी जीवनमा सीपको लागि मेरो हात अभ्यस्त हुन सकेनन् । परिश्रमका लागि मेरो जिउ माडिएन, दाइएन । विकासका लागि अठार घन्टासम्म पनि काम गर्न पछि नपर्ने देशमा पुगेको म एक निम्नस्तरको ज्यामी त्यहाँ के काम गर्न सक्थेँ र केवल तमासे बनेर आएँ । परिश्रमले सानो हुने भए ती देशवासीको अस्तित्व उहिल्यै बिलिन भैसक्थ्यो । अरुलाई आदर सम्मान गरेर सानो हुने भए उनीहरु भुसुनाभन्दा साना हुने थिए । सक्दो काम सबैले गर्नुपर्छ , परिश्रमप्रति श्रद्धा गर्नुपर्छ भन्ने मान्यताले नै उनीहरुको नाम विश्वमा चम्किरहेको छ । मेरो सत्र वर्ष अध्ययनभन्दा त्यो देशको ६ महिने असफल भ्रमण मेरो लागि उच्च शिक्षाप्रद रह्यो । त्यहाँ मैैले जीवनमा शिक्षा देखेँ र शिक्षामा जीवन । देशवासीको परिश्रमको चमक त्यस देशको मुद्रामा देखिँदो रहेछ । मेरो अर्थशास्त्रमा स्नातकोत्तर तहको प्रथम श्रेणीको दिक्षा त्यहाँ पाएँ । छाता च्यात्ने प्रवृत्तिको अन्त्यको लागि आफ्नो पिँढी र तल्लो पिँढीलाई तालिम गर्ने प्रण मेरो अन्तस्करणले गरेको छ । अब अभिभावक नतड्पिने वातावरणको सृजनाको लागि लाग्ने बाचा मेरो अन्तरआत्माले गरेको छ । बाबा–आमा, अहिलेको दशैँमा मलाई यही आशिर्वाद चाहिएको छ । हामी र हामी जस्तालाई यही चाहिएको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 5 मङ्गसीर, 2068

लेखकका अन्य रचनाहरु