एउटा स्केच

- अबीर खालिङ

वर्तमान को त्रासद जङलबाट
अक्षरको वीर्य खोजेर ल्याएको छु
रोप्छु अब तिम्रा आँखाका
कचौरामा ।

अभिशप्त मान्छेका मन मस्तिष्कबाट
उठेको छ मुँस्लो धुँवाँको
र विचारको बगदाद ढकिएको छ ।
फाटेको तन्नामा परिवर्त्तित् छ सोंच
तुहिनुमा उद्द्यतशील सधैं।

भोकग्रस्त आकाशबाट घाम तुहेको छ
संकटको छातामा ओत थापेर
हिडिरहेछन महाजुलुस।
शताब्दी-स्वरको चट्याङ खसेको छ
रुख्-रुखमा ।
उर्लेको छ वेमौसामको वादी
खुशीको गीत गाउँने चराको वस्तीमा।

यसबेला
हातमा क्यामेरा लिएर
खिँच्न खोज्दैछु एउटा तस्वीर
तिम्रो,मेरो, हामी दुवैको
यसो भनौं
हामी सबैको हाँसिरहेको अनुहारको।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 1 मङ्गसीर, 2068

लेखकका अन्य रचनाहरु