'फर्बिडन सिटी'मा आधा दिन

- कृष्ण बजगाईं

त्यानमेन चौकमै साँझ झमक्क परिसकेको थियो । थकित सूर्यले हामीसँग बिदा मागिसकेको थियो । सडकबत्ती भर्खरै बल्यो । झिलिमिली बत्ती र गाडीका प्रकाशले चम्कियो त्यानमेन चोक । एउटा विशाल भवनको प्रवेशद्वारमाथि टाँगिएको अध्यक्ष माओको बडेमानको फोटोलाई पृष्ठभूमि बनाएर त्यसका ठीक मुन्तिर उभिएँ म । यु फुङ्जीले मेरो फोटो खिचिदिनुभयो । फोटो खिचिसकेपछि यु फुङ्जीले भन्नुभयो, 'भोलि यही भवनभित्र फरबिडन सिटीमा घुम्ने कार्यक्रम छ ।' यत्रो बडेमानको पर्खालभित्र पनि सिटी अर्थात् सहर !? कत्रो होला, कस्तो होला त्यो सहर ? मनमा कुतूहल जागिरह्यो ।

बिहान सबेरै बेइजिङको मुटुमा हामी बसेको प्रसिद्ध मिन्जु होटलमा हाम्रो भ्रमण दलका दश सदस्य सबै जम्मा भइसकेका थियौँ । गाडी तयारी अवस्थामा थियो । हामी सबै चढ्यौँ । बेइजिङको सडकका साइकिल र गाडीको भीड छिचोल्दै एउटा ठूलो प्रवेशद्वारअगाडि पुगेर गाडी रोकियो । सबै उत्रियौँ । चीनमा जहाँ गए पनि मानिसको भीड । त्यहाँ पनि उस्तै भीडभाड थियो । भित्र प्रवेश गर्ने टिकट पहिले नै लिइसक्नुभएको रहेछ यु फुङ्जीले । हामी सबै प्रवेशद्वारतर्फ लाग्यौं । तर, यो प्रवेशद्वार हिजो देखेको त्यानमेन चोकको अगाडिको त होइन ! त्यानमेन चोकबाट फरबिडन सिटी प्रवेश गर्ने द्वार देखेकोमा भोलिपल्ट अर्कै प्रवेशद्वार देख्दा म अलमल्ल परेँ । हिजो यु फुङ्जीले भनेका कुरा बुझिनँ छु कि क्या हो भन्ने लाग्यो । उहाँले नै भनिहाल्नुभयो, 'फरबिडन सिटी पस्ने र निस्कने मुख्य दुईवटा गेट छन् । योचाहिँ मेरिडियन गेट हो ।'

बेइजिङको मध्यभागमा अवस्थित चिनियाँ सम्राटहरुको राजप्रासाद भवन नै फरबिडन सिटी रहेछ । जसलाई अहिले राजप्रासाद सङ्ग्रहालयको रुपमा राखिएको रहेछ । चीनका मिङ तथा क्विङ वंशका सम्राटहरुको राजकीय तथा आवासीय भवन रहेछ यो । सन् १४०६ मा सुरु गरी चौध वर्ष लगाएर बनाएको भवनको विशाल स्वरुप र भव्यत्ाा हेर्दा जोकोहीलाई आश्चर्यचकित बनाउँछ । त्यहाँका भवनहरु तयार भएपछि नान्जिङ प्रान्तबाट राजधानी बेइजिङ सारिएको रहेछ । ७२ हेक्टर क्षेत्रफलमा रहेको फरबिडन सिटीमा जहाँ ९८० वटा भवन र ८७०७ वटा कोठा रहेछन् । कोठाले मात्रै ७२०,००० वर्गमिटर क्षेत्रफल ओगटेको रहेछ । यसको सुरक्षाका लागि उतिबेलै नौ मिटर अग्लो र करिब पाँच मिटर चौडा पर्खाल लगाइएको रहेछ । पर्खालको चार कुनामा सुरक्षा र निगरानीका लागि अग्ला-अग्ला पहरा दिने बुर्जा बनाइएको छ । जहाँबाट चौबीसै घन्टा यसको निगरानी र सूचना आदान-प्रदान गरिने रहेछ । यो राजप्रासादमा मिङ वंशका चौध र क्विङ वंशका दश गरी जम्मा चौबीसजना सम्राटले शासन गरेका रहेछन् ।

सन् १९१२ मा चनिका अन्तिम बादशाह पुयीले नयाँ चीनको आन्दोलनकारीसँग एउटा सम्झौता गर्न बाध्य हुनुपर्‍यो । जसअनुसार ती बादशाहलाई त्यस राजप्रासादको भित्री दरबार र बाहिरी दरबारचाहिँ सार्वजनिक प्रयोगमा दिने सम्झौता गरी उनको अधिकारमा कटौती गरियो । सन् १९२४ मा अर्को विद्रोह भएपछि सम्राटको शासन अन्त्य गरियो । सन् १९२५ देखि त्यसलाई म्युजियमको रुपमा स्थापना गरिएको रहेछ । एकपटक सन् १८६० को दोस्रो अफिम युद्धमा एङ्लो-प|mेन्च सेनाले फरबिडन सिटीलाई केही महिना आफ्नो कब्जामा लिएका रहेछन् । पछि सन्धि भएर युद्ध समाप्त भएपछि छाडेका रहेछन् ।

भित्र भवनको विशाल रुप र कला देखेर म छक्क पर्छु । होइन यत्रो विशाल भवन आजै हेर्न भ्याइन्छ ? म्यारिडियन गेटबाट भित्र प्रवेश गरेपछि यु फुङ्जीलाई प्रश्न गर्छु । उहाँ मेरो दोभाषे हुनुहुन्छ । यु फुङ्जी चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली विभागको पूर्वप्रमुख तथा पत्रकार पनि हुनुहुन्छ । यत्रो व्यक्तित्वसँगको सामीप्यतामा चीनका बारेमा थुप्रै कुरा थाहा पाइने भो भनेर दङ्ग छु ।

'चिनियाँ भएर पनि म आफैंले सबै हेर्न भ्याएको छैन । तर पनि मुख्य-मुख्य स्थान हेर्ने हो,' यु फुङ्जीले भन्नुभयो ।

यसको नाम कसरी फरबिडन सिटी भयो भन्ने रोचक कुरा यु फुङ्जीले सुनाउनुभयो । त्यतिबेलाका सम्राटहरुको विश्वास रहेछ तिनीहरुको राजदरबार पृथ्वीको बीचमा भागमा पर्छ । भूमध्येरेखा उनीहरुको दरबार क्षेत्र फरबिडन सिटी भएर जान्छ । उनीहरु मात्र संसारका केन्द्रीय शक्ति हुन् । उनीहरु भगवान्को पुत्र हुन् । र, उनीहरुको दरबारमा भगवान्को बास हुन्छ भन्ने ठान्दा रहेछन् । भगवान् बस्ने ठाउँमा अन्य सर्वसाधारण बस्न सक्ने वा पाउने कुरै भएन । सर्वसाधारणले त्यस सम्राटहरुको सहरलाई त्यागेकोले त्यसको नाम फरबिडन सिटी रहन गएको कुरा सुनाउनुभयो । उहाँको यस्तो कुरा सुनेपछि नेपालमा राजाहरुले पनि आफूलाई भगवान् विष्णुको अवतार ठान्छन् भन्ने कुरा सुनाउँदा उहाँ छक्क पर्नुभयो । र, भन्नुभयो, 'संसारका सबै राजा आफूलाई यस्तै ठान्दा रहेछन क्यार ! यो त खोजी गर्नुपर्ने झन् रोचक विषयवस्तु भयो ।'

फरबिडन सिटीलाई दुई भागमा विभाजित गरी बनाइएको रहेछ । बाहिरी र भित्री भाग । बाहिरी भागमा सम्राटहरुले दैनिक शासन चलाउने र भित्री भागचाहिँ राजपरिवारका सदस्यहरुको निवासस्थान रहेछ । फरबिडन सिटीको मेरिडियन गेटबाट भित्र छिरेपछि सबैभन्दा पहिले आउने स्थानलाई दरबारको बाहिरी भाग भनिँदो रहेछ ।

मेरिडियन गेट फरबिडन सिटी प्रवेश गर्ने मुख्य प्रवेशद्वार रहेछ । यो गेट अति महत्वपूर्ण रहेछ । महत्वपूर्ण घोषणा सार्वजनिक गर्न यही गेट प्रयोग गरिँदो रहेछ । हरेक वर्ष चिनियाँ सालको नयाँ पात्रो यहीँबाट घोषणा गरिँदो रहेछ ।

बाहिरी भागको ठूलो चोकअगाडि मानिसको भीड खचाखच छ । विदेशीभन्दा चिनियाँकै चहलपहल छ । हाम्रा भ्रमण दलका सबै सदस्य अगाडि बढदै छौँ । त्यहाँको बारेमा यु फुङ्जी धेरै कुरा बताइरहनुभएको छ । उहाँको ज्ञानको असीमित भण्डार देखेर इन्साइकोपिडिया भनिदिन्छु उहाँलाई । उहाँ मुसुक्क हाँस्नुहुन्छ ।

हाम्रोअगाडि एउटा नदी देखियो । त्यो नदीमाथि सँगसँगै लहरै बनाइएका पाँचवटा पुल देखियो । त्यसमध्ये कुनै पनि पुल प्रयोग गर्न सकिने रहेछ । 'गोल्डेन वाटर' नामक नदीमाथि बनाइएको पुलमध्ये तेस्रो पुल तरेर अगाडि बढ्यौँ ।

एउटा विशाल ठूलो चोक अगाडि पुग्यौँ । त्यो चोक ठीक अगाडिको भवन 'हल अफ सुपि्रम हार्मोनी' रहेछ । त्यसको विशालरुप र उच्च कारिगरी देख्दा आश्चर्यचकित भएँ । करिब तीस मिटर अग्लो प्यागोडा शैलीको त्यो भवन प्रयोग भएको काठमा बनाइएको उच्च शिल्प कला प्रस्ट देखिन्थ्यो । त्यो भवनमा सम्राटहरुले आफ्नो औपचारिक कार्य गर्दारहेछन् । भित्र थुप्रै मानिसको भीड परैबाट देखियो । त्यो भवनसम्म पुग्न ढुङ्गा र संगमरमरले बनेको भर्‍याङ चढेर जानुपर्दथ्यो । माथि जाने तीनवटा भर्‍याङ थिए । दुई भर्‍याङको बीचमा ड्रागनको नक्सा कुँदिएको विशाल ठूलो र लामो तेस्रो भर्‍याङ थियो । पहिले त्यो भर्‍याङबाट सम्राटले मात्र हिँड्थे रे । त्यो भर्‍याङ सग्लो संगमरमरको जस्तो लाग्यो । मैले राम्ररी हेरेँ कहीँ पनि जोडेको देखिनँ । सिङ्गो संगमरमर ढुङ्गालाई खोपेर बनाइएको त्यत्रो विशाल संगमरमर कहाँबाट कसरी ल्याए होलान् सुरक्षित साथ ? फेरि त्यतिबेला गाडी, आधुनिक यातायात, क्रेन केहीको पनि विकास भएको थिएन । म छक्क पर्छु यस्ता अद्भूत दुस्साहसी कार्य देखेर । हामी बिस्तारै विशाल ठूला संगमरमरबाट बनेको भर्‍याङ उक्लिँदै गयौँ । माथि पुगेर त्यस भवनभित्रका कोठालाई नियाल्यौँ र एकछिन पछि तलै फर्कियौँ ।

त्यस भवनको छेउमा रहको एउटा पर्खालमा बनाइएको चीनको प्रसिद्ध नौवटा ड्रागन हेर्न अघि बढ्यौँ । अति सुन्दर तथा कलात्मक सेरामिक्सका ती ड्रागनमा प्रयोग गरिएका रंगहरुको मिश्रण हेर्न लायक थियो । ती ड्रागनको सम्बन्धमा विभिन्न मिथक रहेको कुरा यु फुङ्जीले बताउनुभयो । खासगरी आध्यात्मिक दर्शनसँग सम्बन्धित कुराहरु । ती ड्रागन पनि विभिन्न किसिमका हुन्छन् रे । ती रक्षा गर्ने ड्रागन भएको बताउनुभएपछि मैले पनि तिनलाई स्पर्श गरेपछि ढोगेँ । मैले दुई हात जोडी ढोगेको देखेर विदेशीहरुले अचम्म मानेर मेरो फोटो पो खिचे !

त्यो ड्रागन भएको ठाउँबाट हामी बिस्तारै अगाडि बढ्दै गयौँ । त्यहाँ अर्को भवन र गेट देखियो । त्यो गेटबाहिर एउटा ठूलो चोक थियो । करिब दुई सय मिटर लामो र तीस मिटर चौडाको । त्यसको नाम 'गेट अफ सेलेसियल' हो भन्नुभयो यु फुङ्जीले । त्यही गेटले फरबिडन सिटीको बाहिरी र भित्री भागलाई छुट्याउँदो रहेछ ।

हामी भित्री भागमा प्रवेश गरिसकेछौँ । भित्री भागमा तीनवटा मुख्य भवन देखिए । 'प्यालेस अफ हेवन्ली प्युरिटी', 'हल अफ युनियन' र 'प्यालेस अफ अर्थली ट्रन्किलिटी' । त्यसमध्येको मुख्य 'प्यालेस अफ हेवन्ली प्युरिटी' र 'हल अफ युनियन' हेर्ने कुरा गर्नुभयो यु फुङ्जीले । हामी सोही भवन भएतिर लाग्यौँ । त्यो 'प्यालेस अफ हेवन्ली प्युरिटी' मिङ वंशका सम्राटको निवास्थान रहेछ । त्यहाँका सबै कोठा-चौका चहारेर हेर्न थाल्यौँ । त्यहाँ दुईवटा तलाका नौवटा कोठामा सत्ताइसवटा पलङ रहेछन् । ती पलङ सुहागरातका लागि सिंगारिएकाजस्ता रङ्गीचङ्गी पर्दा लगाइएका आकर्षक तथा कलात्मक थिए । त्यहाँका कोठाहरुमध्ये कुनै एकमा सम्राटले रात बिताउँदा रहेछन् । तर कुन कोठामा सुत्छन् कसैलाई थाहा नहुने । सुरक्षाका खातिर यसो गरिएको रहेछ । राणाहरु पनि नेपालमा कोठा बदली-बदली सुत्दथे भन्ने पढेको थिएँ कतै । निरङ्कुश शासकहरुलाई जहिले पनि जो-सुकैबाट डर हुन्छ भन्ने कुराको प्रमाण हो यो ।

त्यहाँबाट निस्केर हामी 'हल अफ युनियन' भएतिर लाग्यौँ । त्यो भवन अघि हेरेको भवनभन्दा अलि सानो रहेछ । त्यो भवनको एउटा कोठामा सम्राट क्यिानलोङले लेखेको कविता सजाएर राखिएको थियो । प्रेम तथा जीवनसँग सम्बन्धित विषयवस्तु कविताको भाव रहेछ । रक्सीको नशामा धेरैजसो मस्त हुने ती सम्राट राम्रा कवि पनि रहेछन् । त्यस भवनभित्र विभिन्न समयका सम्राटका राजकाज कार्यसम्बन्धी सामान थिए । त्यहाँको प्रमुख आकर्षण संसारको पहिलो पानी घडी थियो -पहिलो पानी घडी चीनले बनाएको हो भनी दाबी गर्छन् चिनियाँहरु) । त्योसँगै अर्को बडेमानको मेकानिकल घडी र साना-ठूला थुप्रै अरु घडी पनि हेर्न पाइयो । त्यस हलमा स्विट्जरल्यान्ड, फ्रान्स, बेलायत, जापान आदि देशमा बनेका करिब एक हजार घडी रहेको कुरा यु फुङ्जीले बताउनुभयो । ती सबै त्यतिबेलाका सम्राटहरुले सङ्कलन गरेका १८आंँ शताब्दीदेखिका पुराना, महँगा घडीका सङ्ग्रह साँच्चै आकर्षक थिए ।

फरबिडन सिटीको निर्माण चिनियाँ परम्परागत वास्तु शिल्पीय कला र चिनियाँ दर्शनमा आधारित रहेछन् । त्यहाँ प्रयोग गरिएका हरेक रंगहरुको बेग्लै अर्थ र दर्शन छ । भवनको अग्रभाग कता बनाउने, कोठा, आँगनको क्षेत्रफल आदि सबैमा चिनियाँ दर्शन पाइँदो रहेछ ।

त्यहाँका अधिकांश भवनका छाना पहेँलो रङका देखिए । यस्तो किन होला मलाई लागिरह्यो । त्यो खसखस रोक्न सकिनँ र यु फुङ्जीलाई सोधेँ । उहाँले भन्नुभयो, पहेँलो रङलाई चीनमा रङहरुको राजा भनिँदो रहेछ । त्यही भएर आफ्ना दरबारका हरेक छाना पहेँलो रङले रंग्याउँदा रहेछन् । राजा-महाराजाको शोख र सनक पछिका पुस्तालाई चाख लाग्दा कहानी हुँदारहेछन् । फरबिडन सिटी घुमेपछि विभिन्न सम्राटका समयमा ताओधर्म, बुद्धधर्म र तिब्बतियन बुद्धधर्म तथा लामाधर्मको प्रभाव परेको कुरा थाहा लाग्दो रहेछ ।

त्यस दरबारका भवनका झ्याल, ढोका, भर्‍याङका खुड्किला सबै अङ्कको आधारमा बनाइएका रहेछन् । हरेकलाई कुन अङ्क दिने र कुन अङ्कले फाप्दछ सोको निर्णय सम्राटले गर्दारहेछन् । सबैभन्दा ठूलो अङ्क नौचाहिँ सम्राटले लिँदा रहेछन् । त्यसै भएर नौवटा ड्रागन चीनमा प्रसिद्ध भएको र त्यसको ठूलो अर्थ भएको हो ।

फरबिडन सिटीभित्रका जुन भवन हेरे पनि उस्तै-उस्तै लाग्ने प्यागोडा शैलीका । जहाँ काठको चिनियाँ प्राचीन वास्तुकलाको उच्च शिल्पी देखियो । नेपालमा जस्तै हरेक भवनको अगाडि सिंहको मूर्ति देखियो । यस विषयमा भने नेपाल र मैले घुमेको बेइजिङका धेरै स्थानमा एकरुपता पाएँ । यो प्रभाव नेपालबाट चीन गएको हो कि चीनबाट नेपाल आएको हो थाहा पाउन जिज्ञासा लागिरहेको छ ।
संसारका पाँचवटा महत्वपूर्ण राजभवन फ्रान्सको भर्साय दरबार, बेलायतको बकिङघम दरबार, अमेरिकाको ह्वाइटहाउस र रुसको क्रेमलिन र यो फरबिडन सिटी मानिँदो रहेछ । युनेस्कोले सन् १९८७ मा विश्व सम्पदा सूचीमा समेत राखेको यो फरबिडन सिटी संसारमा संरक्षण गरेर राखिएको सबैभन्दा ठूलो राजप्रासाद रहेछ । यस राजप्रासाद सङ्ग्रहालयमा वर्षेनी करोडौँ पर्यटकले यस भवनका आश्चर्यजनक वास्तुकला, विशाल र भव्य कोठाहरु र तिनका सानदार बहुमूल्य सामग्री हेरेर आश्चर्यचकित भएर र्फकन्छन् ।
फरबिडन सिटी घुम्दै जाँदा त्यहाँको हरियालीले हामीलाई लामो समयदेखि आकषिर्त गरिरहेको थियो । हामी विस्तारै शाही बगैंचातिर लाग्यौँ । सन् १४१७ मा मिङ राज वंशको पालामा बनाइएको शाही उद्यानले १२००० वर्ग किमि क्षेत्रफलमा ओगटेको रहेछ । शाही परिवारका लागि बनाइएको उक्त बगैंचा अलिकपछि सबैका लागि खुल्ला गरिएको हो । त्यस उद्यानभित्र तीन-चार सय वर्ष पुराना रूखहरु पनि भएको कुरा यु फुङ्जीले बताउनुभयो । कतिपय रूखहरुका जरा तथा फेद वा हाँगालाई विभिन्न आकार दिइएको देखियो । त्यो कृत्रिम हो या प्राकृतिक भन्न सकिने अवस्था थिएन । त्यहाँ विभिन्न आकृति बनेको थियो । कहीँ नरनारी आलिंगनबद्ध, कुनै जनावरका आकृतिहरु यस्तै यस्तै अद्भूत आकृतिहरु । ती दृश्यहरुलाई क्यामरामा कैद गर्न पालो पर्खनुपर्‍यो हामीलाई ।

फरबिडन सिटीलाई तीनतिरबाट शाही बगैंचाले घेरेको रहेछ । त्यही भएर रहेछ जहाँबाट हेरे पनि अग्ला-अग्ला रुख र हरियाली देखिएको । हामी विस्तारै फरबिडन सिटीको जिङशान पार्कमा आइपुग्यौंँ । त्यो पार्कबारे यु फुङ्जीको कुरा सुन्दा आश्चर्य लाग्यो । त्यहाँ देखिएको पहाड त कृत्रिम पो रहेछ । त्यो पहाड बनाउनका लागि माटो झिक्दा त्यहाँ ताल नै निर्माण भएछ । र त्यो तालमा त थुप्रै स-साना डुङ्गा चलेको देखियो । यो कुराले मलाई आश्चर्यचकित बनायो । कत्रो दुस्साहसी कार्य ! त्यहाँबाट अर्को पार्क पनि देखाउनुभयो यु फुङ्जीले । भोलिको कार्यक्रम त्यो पेहाई पार्कमा छ भनेर यु फुङ्जीले भन्नुभयो । त्यहाँ एउटा ताल, सानो पहाड र एउटा श्वेत स्तूप देखियो । पोखराको फेवातालमा बराही मन्दिर देखिएजस्तै लाग्यो परबाट पेहाई पार्क हेर्दा । त्यो हेर्दै गर्दा मन एकैछिनमा नेपाल पुगिहाल्यो । त्यो पेहाई पार्कको श्वेत स्तूप नेपालका युवा कालिगढ अरनिकोले बनाएको हो - यु फुङ्जीले भन्नुभयो । यो सुन्दो विदेशी भूमिमा गर्वले छाती ढक्क फुल्यो । पहिलोपटक नेपाली हुनुको गर्व गरेँ मैले विदेशमा । अब मलाई अहिले नै हतार भइसकेको थियो त्यो श्वेत स्तूप हेर्न जान ।

यो विशाल फरबिडन सिटी पूरै घुमेर राम्ररी अवलोकन गर्ने हो भने हप्तै पो लाग्ने रहेछ । तर, सबै वस्तु र ठाउँ पर्यटकका लागि खुला पनि गरिएको रहेनछ । दिनभर लगाएर घुम्दा पनि अझै धीत मरेन । धेरै चिज हेर्न छुटेजस्तो लाग्यो । यो कुरा यु फुङ्जीलाई सुनाएँ । उहाँले भन्नुभयो- तीन लाख चालीस हजार सेरामिक्सका सङ्कलन, पचास हजार पेन्टिङ, दश हजारभन्दा बढी काँसबाट बनेका धातुका वस्तु र यत्रो विशाल क्षेत्रफलका सबै चिज हेर्न एक दिन त के एक हप्तामा पनि सकिँदैन ।
सन् १९९४, सेप्टेम्बरमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको निमन्त्रणामा भएको दुई साताको चीन भ्रमण सकिन लागेको थियो । मलाई चीन भ्रमणको यत्रो अवसर जुराइदिने चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली विभागकी निर्देशक दिदी छाङ हो (कुसुम), दाइ यु फुङ, सु हाऊ, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र त्यसका अन्य सबै कर्मचारीलाई लाखलाख धन्यवाद दिँदै थिएँ मनमनै । यो ऋण कसरी तिर्ने हो भन्ने लागिरह्यो मनमा ।

यसैबीच यु फुङ्जीले अगाडि भन्नुभयो- चीनमा भन्ने गरिन्छ जति महिना लगाएर जहाँ घुमे पनि फरबिडन सिटी घुमिएन भने चीन भ्रमण अधुरो हुन्छ ! ग्रेटवाल र अरनिकोले बनाएको श्वेत स्तूप घुम्न जाने कार्यक्रम बाँकी नै थियो । उहाँको यस्तो कुरा सुनेपछि पूर्ण चीन भ्रमणको सन्तुष्टि लिएर साँझ होटल फर्किएँ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 28 कार्तिक, 2068

लेखकका अन्य रचनाहरु