कालीगण्डकी जलयात्रा र अनुभूति

- राजेश कुमार अर्याल

पहिलो अनुभव थियो, जलयात्राको । बोटमा चढेको केहीबेरमा आएको पहिलो छिइरोले नै उत्साह भरङ्ग बनायो । कालीगण्डकीको भेल र भंगालोमा परेर शरीरमा जिरिङ्ग काँडा उठे । छाल र बोटमाथि उर्लिपसेको पानीले शरीर निथु्रक्क भिज्यो । चिसो पानी त्यसमाथि भिजेका उनी कपडामा बोटिङ्ग । नदीमा पर्ने भुवँरी र छाँगो जस्तो लाग्ने खसाई । डर, भय र त्रासको एकैपटक अनुभूति हुन्थ्यो । काली र अँगाहाखोला मिसिएको दोभानमा बोट तलमाथि हुँदा उचालेर पछार्न आँटेको जस्तो हुने । नदीको वहावमा गति मिलाएर बोट अगाडि बढेको छ । तर शरीर त्यहाँ मन भने कहाँकहाँ । ‘बोटम्यान’ पछाडि बसेर नियन्त्रणमा लिने प्रयासमा थिए, भन्दै थिए नआत्तिनुस् । मुटुले ठाउँ छोड्यो भनेको सुनिन्थ्यो । हैन के भनेको होला ? भन्ने लाग्थ्यो । कालीगण्डकी नदीमा ¥याफ्टिङ्ग गर्दा धेरै पटक मुटुले ठाउँ छोडेको अनुभूति भयो ।

बोटमा चढ्ने बित्तिकै लागेको डर केहीबेरमा हरायो । राम्दीबाट तीन वटा बोट पहिला हिंडे । पाँच वटा बोट पछि बसे । यात्रामा स्वदेशी र विदेशी गरी करिव असी जना जलयात्री थिए । अझ भनौँ पर्यटक थिए । रामनदीधामदेखि आँधीघाटसम्म गण्डकीको छेउछाउँ भएर धेरै पटक पैदल हिंडेको हुँ । मोटरसाईकल र मोटरयात्रा त अनगिन्ति गरिएको छ । ¥याफ्टिङ्गमा २८ किलोमिटरको दुरी पार गर्नु भने मेरा लागि नौलो यात्रा हो । जुनसुकै समय र जहाँ जाउँ भने पनि घुम्नका लागि तयार सागर घिमिरे तथा पलपलका क्षण क्यामरामा कैद गर्न र ‘स्टाटस्’ बनाउन मन पराउने टेकनारायण भट्टराई सहयात्रामा थिए । बोटमा छन्, स्याङ्ग्जाली पत्रकारहरू संगीता भाट, जानु पंगेनी र विजय अधिकारी आदि !

कार्यक्रमको सन्दर्भ थियो कालीगण्डकी नदीमा तेस्रो राष्ट्रिय नदी महोत्सव तथा रिभर ¥याफ्टिङ्ग । महोत्सवको उद्घाटन् तथा औपचारिक कार्यक्रम थियो, कुवाकोट गाउँ विकास समितिको आँधिघाटमा । नेपालमा पैदल यात्रा र सवारी यात्राका लागि सहज बाटो छैनन् । बाटो खन्न र सुविधायुक्त बनाउन राज्यको ठूलो लगानी चाहिन्छ । यद्यपी जलयात्राका निम्ति बाटो बनाउन ठूलो लगानीको जरुरत पर्दोरहेनछ । चालकको भूमिका अन्य यात्राका लागि बढी महत्वपूर्ण छ तर जलयात्राका लागि चालकसँगै यात्रीको क्रियाकलाप पनि त्यति नै संवेदनशील हुने रहेछ । पाल्पा र स्याङ्ग्जाको संगमस्थल राम्दीबाट कुवाकोट आँधिघाटसम्मको दुरी २८ किलोमिटर रहेछ, यो दुरी तय गर्न कम्तिमा ४ घण्टा लाग्ने रहेछ ।
‘बोटम्यान’ ले राम्दीमा सामान्य प्रशिक्षण दिएका थिए । भोजभतेरमा भात, तरकारी चलाउने ठूलो पन्यू जस्तो प्लाष्टिकको दाबिलो थमाएर पानी तान्ने र फाल्ने सीप सिकाए । गाउँघरमा डुंगा चलाउँदा माझीहरूले त्यसलाई गमना भन्दछन् । छालले हुत्याएर पानीमा खसिहाले, नआत्तिनु र डोरी समात्नु भनेर सान्त्वना दिइएको थियो । ¥याफ्टिङ्गमा पानी चलाउने वा खियाउने प्रक्रियालाई प्याडल भनिदो रहेछ । प्याडल फरवार्ड भनेको तलतिर बगेको पानी माथितिर फाल्ने बुझ्नु पर्दथ्यो । बोटमा चढेका सबैले एकै तालमा प्याडल फरवार्ड मार्न सके रिदम मिल्ने रहेछ र गति बढ्दो रहेछ । ब्याकवार्ड भनेको उल्टो खियाउने वा विपरित दिशातर्फ पानी फाल्ने कार्य रहेछ । नखियाइकन बस्नुलाई स्टप भनेर संकेत गर्दा रहेछन् । बोटम्यानले प्याडल फर्वार्ड भनेर हैरान पार्थे । समयमा सुरक्षित गन्तव्यमा पु¥याउनु उनको जिम्मेवारी थियो । त्यसैले पटकपटक प्याडल मार्न नजानेको भनेर झोकिन्थे । आफू सुरक्षित हुनुमा नै सबैको ध्याउन्ना हुन्थ्यो । समूहमा हिंडेको यात्रा तर बोट हल्लिएमा मात्र पनि सबैका आ–आफ्नै सुर । साथीहरू खियाउँदा खियाउँदै च्यात्तै छोडेर बस्ने गर्थे । बोटम्यानले स्टप भन्दा आरामको महशुस हुन्थ्यो ।

पहाडको गल्छी र खोंचबाट बगेको काली नदी नागबेली भइ बग्छिन् । यो दृष्य साँच्चै आकर्षक र लठ्याउने छ । बोटमा सहयात्रा गरेका इजरायली पर्यटकले आफ्नो देशमा एउटा मात्र नदी रहेको र त्यहाँ ¥याफ्टिङ्गमा जाँदा यति आनन्द नहुने अनुभव सुनाएका थिए । वास्तवमै नेपालको जलसम्पदा र नदीहरूको वहाव जलयात्राका लागि अत्यन्त उपयोगी छ । नेपालमा यस्तो ¥याफ्टिङ्ग गर्न लायकका नदीहरू करिव १६ वटा रहेका छन् । भोटेकोसी, सुनकोसी, त्रिसुली, कालीगण्डकी प्रमुख हुन् । असर्दीघाटमा पुग्दा काँडे बयर पाकेर पहेंलपुर देखिन्थ्यो । बालबालिकाहरू बयरको घारीमा छापिएका थिए । गण्डकीमा हेलिदै आएको ¥याफ्टिङ्ग देखेर बयर टिप्दै गरेका केटाकेटी झुम्मिन आइपुगे । ढुङ्गाले हानेको झैँ मानेर केटाकेटीलाई हकल्याइयो । हातमा परेपछि थाहा भयो, फालेको त पाकेको बयर रहेछ । अमिलो तर तिख्खर स्वाद । फेरि बोट अगाडि बढ्यो । जनताले माया गरेर असर्दीघाटको झोलुङ्गे पुलबाट फालेका सुन्तला र स्याउ समात्नै नसकेर तरङ्ग फिँजाउँदै नदीमा बिलायो । नदीको जलाशयबाट देखिने दृष्य मनोरम र मनमोहक थियो । धार्मिक र पर्यटकीय महत्व स्थल अवलोकन हुँदै बोट अगाडि बढेथ्यो । जलयात्राको क्रममा विभिन्न घाटहरूमा स्थानीय जनताले स्वागत गरे । हात हल्लाएर बिदाई गरे । हुँगीघाटमा पुग्दा एकादशीको मेला भर्न पुगेका सर्वसाधारणको ताँती लाग्यो । हुँगीघाटमा स्थानीय जनता नजिकै आएर स्वागत गरे । बोटलाई बगरमा पु¥यायौँ । सर्वसाधारणसँग बसेर संझनायोग्य तस्वीर खिचायाँै । कतिपय केटाकेटी, बुढापाका सबैले बोट छोएर गति परेको महशुस गरे । केही त बोटमा चढेर, एकछिन बसे पनि । उनीहरूको न्यानो माया मनभरी संगाल्दै फेरि पानीमा तैरियौँ ।

माझीगाउँमा स्थानीय जनताले माथिबाट हात हल्लाएर स्वागत गरे । स्थानीय जनता औधी खुशी देखिन्थे । त्यो बेला याद आयो, घाटैघाट । खोरियाघाट, गौरीघाट, तातोपानीघाट, रामघाट, केलादीघाट, पुट्टारघाट, हडाहाघाट, अत्रौलीघाट, खस्रानघाट, साधुरीघाट । हिन्दु धर्मालम्बीहरूले मरेका मानिसको अन्तिम दाहसंस्कार यस्तै घाटमा गर्दछन् । सुकेका दाउराको चाङ्ग बनाएर शव जलाउने विधि बढी उत्तम मान्दछन्, लास जलाइएका स्थानमा अँगारैअँगार देखिन्थ्यो । हिन्दु धर्ममा मुक्तिनाथ क्षेत्रको ठूलो महिमा रहेको छ । बौद्धमार्गीहरू पनि मुक्तिनाथलाई विशेष मान्दछन् । कालीगण्डकीको मुहान नै दामोदर कुण्ड र मुक्तिनाथ हो । यस नदीमा पाइने शालिग्रामको अर्को महत्व छ । जलयात्राका क्रममा कालीगण्डकी आसपासका मानिसले तिरमै आएर हामीलाई फूल र फल दिएर स्वागत गरे । स्वागतले मन प्रफुल्ल भयो । आखिर मानिसको मन न हो, स्वागत सत्कार पाउँदा गमम्क परेर फुलिने र गाली गर्दा ठोड्सिएर लुत्रुक्क पर्ने स्वभाव छ । पानीको छालसँग छिल्लिदैँ र बहेलिँदै अगाडी बढ्यौँ । जति खियायो उति गति बढ्ने र जति रिदम मिलायो उति छालमा तैरिने रहेछ, बोट ।
गण्डकीवेशीका ठाउँठाउमा भेटिएका केटाकेटी नदीको वारिपारि भएर दगुरेको दगु¥यै गर्थे । कोही कोही त नाचगान गरेर उर्जा भर्थे । सुस्साउँदै झरेकी कालीगण्डकी र आसपासका रमणीय र हरियाली हेर्दै अगाडी बढ्दा मज्जा आउँथ्यो । कालीगण्डकीको माथिल्लो भागमा ¥याफ्टिङ्ग प्रशस्त गरिन्छ तर तल्लो भागमा नदीको गति सोचे जस्तो छैन । ¥याफ्टिङ्गको मज्जा लिन नदीको गति पनि बेतोड हुनु पर्दोरहेछ । गेझाबाट ओरालो लागेपछि पानी टोलटोले भइसकेको थियो । सूर्यका किरण पनि पश्चिम ढल्किसकेको थियो । बढ्तै जाडोको महशुस हुन्थ्यो । जाडो र भोकले शरीर लखतरान थियो । जलयात्राका लागि ‘वाटरप्रुफ’ कपडा भए उचित हुँदो रहेछ तर ¥याफ्टिङ्गको मज्जा लिन हिंडेका हामी कसैले पनि त्यस्तो तयारी थिएन । पानीमा खेल्दाखेल्दा यति थाकिने रहेछ, जति दिनभर भदौरे डल्ला फोर्दा पनि लाग्दैनथ्यो । उहिले तिनाउमा पौडेर आएका साथीहरूले अम्लिहान र रानीचुँडीको चुके आँप कोपर्ने कारण त्यही थकान रहेछ । भोक लागेका बेला फापर वा कोदोको रोटी, लोकल कुखुराको सुप र गोलभेंडाको चटनी खाने रहर भने यो स्वादे जिब्रोले फेला पार्न सकेन । तर साँझ साढे ५ बजेतिर सुरक्षित यात्रा गरी आँधीघाटमा ओर्लियाँै । चापकोटका बुद्धिमान श्रेष्ठलाई लाखलाख धन्यवाद छ, उनी कालीगण्डकी एकीकृत विकास केन्द्र तथा रिभर फेस्टिवल आयोजक मूल समितिका अध्यक्ष हुन् । ‘स्याङ्ग्जा, वालिङ्ग, गल्याङ्ग, मालुङ्गा हुँदै राम्दी जाऔँ, तुल्सीभज्याङ्ग, पकवादी, कुवाकोट, चापाकोट, दामाचौरसम्मको मज्जा लिऔँ‘ नारा तय गरेका रहेछन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख अतिथिको मन्तव्य सकेर फर्किसकेका थिए । दोस्रो दिन चापाकोटका सुन्तलीटारमा कालीगण्डकी उपत्यका विकास र सम्भावनाका बारेमा छलफल र तेस्रो दिन शहीद सूर्य घिमिरेको भूमि रत्नपुर दामाचौरमा विविध सांस्कृतिक कार्यक्रम छ भन्दै थिए आयोजकहरू । आँधिघाटबाट जलयात्रा गरी देवाघाटसम्म पुग्न सकिन्छ ।

राम्दी– देवघाट ¥याफ्टिङ्गका लागि पाँच दिनको यात्रा हो । राम्दी चितवनको दुरी भने करिव १ सय ५० किलोमिटर रहेको छ । उत्पादनका दृष्ट्रिले हुँगी, गेझा, चापाकोट र रामपुरलाई उत्पादनयोग्य क्षेत्र मानिन्छ । गण्डकीवेशीमा धान र गहुँ लगायतका कृषि जन्य उत्पादनको प्रचुर सम्भावना छ । खालीवन पाल्पाको खैरेनी र राम्जाकोट तनहुँमा गिद्धको बासस्थान छ भने डेढगाउँमा चमेरे गुफा, देबीस्थानमा स्यालपानी गुफा प्रसिद्ध रहेको छ । प्रकृतिका उपज र चराचुरुङ्गीको बिचरणले मनै लोभ्याउछ । समय लिएर जलयात्रा गर्ने हो भने नदी तटमा बसोबास गर्ने कुमाल, बोटे र माझी समुदायको जीवनशैली हेर्न सकिन्छ । लोपोन्मुख दरै समुदायको जीवनसंस्कृति हेर्ने सकिन्छ । ब्राम्हण समुदायमा प्रचलित भजनकृतन र मगर समुदायमा लोकप्रिय मारुनी, कडुवामा झुम्ने अवसर पनि पाइन्छ । ग्रामिण पर्यटन तथा होमस्टेसमेतको विकास गर्ने र नियमित ¥याफ्टिङ्ग चलाउन सके पर्यटकीय दृष्ट्रिले कालीगण्डकीमा जलयात्रा गराएर पाल्पा र स्याङ्गजाले धेरै फाइदा उठाउन सक्ने छ । कालीगण्डकी आसपासका जनताको यति ठूलो पहल र प्रयत्नलाई स्थानीय निकाय र केन्द्र सरकारले साथ दिने हो भने पर्यटकीय गन्तव्य बन्न बेर लाग्ने छैन ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 कार्तिक, 2068

लेखकका अन्य रचनाहरु