घर भित्र हराएको मेरो घर

- विश्वराज अधिकारी

डेरामा बस्दा बस्दा दिक्क लागिसकेको थियो। एक वर्ष हो, दस वर्ष भएको थियो डेरामा बसेको। यस यल सी दिएर जब म पहाडबाट काठमाडौ आएँ यस्तै २०५० तिर हुनु पर्दछ, त्यो बेलादेखि डेरामा बसेको थिएँ। दस वर्ष डेराको बसाइमा डेरा पनि दस ठाउँमा सरेको हुँला। घर धनीहरु पनि थरि थरिका देखें। भोगें तिनीहरुलाई। त्यो दस वर्षमा संगाले, विभिन्न किसिमका अनुभवहरु, देखें मानिसका विभिन्न थरिका आडम्वरहरु, घमण्डहरु, मान्यताहरु, विश्वाशहरु, अन्धविश्वासहरु। नयाँ वानेश्वरको डेरामा बसेको भने कहिले बिर्सन सक्तिन। डेराहरुको बसाइको सम्झना आउने बित्तिकै वानेश्वरको बसाइको याद तुरुन्त आउँछ।

नया बानेश्वरको डेरामा बस्दा नै मेरो भेट आकृतिसँग भएको थियो। त्यति खेर म आइ कम मा पढ्थे, कुरा २०५२ सालतिरको हो। म जुन घरमा बस्थे, त्यै घरको छेउको घरमा आकृतिको डेरा थियो। आकृति आफ्नी दिदीसँग बस्ने गर्थिन। उनीसँगको भेटको सँयोगको पनि आफ्नै राम कहानी छ। कहानी के थियो भने - हाम्रो घरमा ठूलो पानी टंकी थियो, पानीको ज्यादै अभाव नहोस भनेर बनाइएको। वाटर सप्लाइ र रोअर पम्पको पानी मिसाउँदा पानीको अभाव पटक्कै हुन्थेन। तर आकृति बसेको घरमा भने जहिले पनि पानीको अभाव हुने। उनी बसेको घरमा कोठा धेरै तर पानीको टंकी भने अति सानो। दुइ आना जग्गा, घर भने पाँच तल्ले। म बसेको घरमा भने बस्ने मान्छेहरु कम तर पानीको टंकी ठूलो। दुइ तल्ले घरमा जम्मा चार जना। पहिलो तल्लमा हामी दुइ भाइ, दोस्रो तल्लामा घर धनीका दुइ भान्जाहरु। घर धनी अमेरिकामा बस्थे। त्यहाँको कुनै ठूलै शहरको युनिभर्सिटीमा पढाउथे। आफ्नो घर हेर्न भनी मामाले ती भान्जाहरुलाई राखेका थिए। त्यो घरमा पानीको व्यवस्था मिलाउने काम मेरो थियो। भान्जाहरुले त के गर्थे, मामाको पैसामा पुल पुलिएर बसेका ती भान्जाहरु। बिहान घरबाट हिँडेका ती भान्जाहरु राति कुनै बेला आउँथे थाहा नै हुन्थेन। राति ढिलो आँउदा मैले नै ढोका खोलिदिनु पर्ने भएकोले थाहा हुन्थ्यो तिनीहरु आएको। ढोका खोल्नु पर्ने नभएको भए त्यो पनि थाहा हुन्थेन। उनीहरुले आफ्नो दैनिकीको हिसाब किताब कसैलाई बुझाउनु पर्थेन।

आकृतिले पानी माग्नु परे मसँग नै माग्नु पर्थ्यो। पानी माग्न प्राय आइ नै रहन्थिन। पानी माग्दा माग्दै एक दिन मन पनि मागिन। दिएँ मन पनि। म बसेको घरको टंकी ठूलो भए झै मेरो मन पनि ……………….। म अलि सोझो मान्छे, उनले मेरो मन मागेको पनि एक वर्ष पछि थाहा पाएँ। एक वर्ष पछि थाहा पाउने मूर्ख नभए अरु के हुन सक्छ। कहिले काहि धेरै भलादमी हुनु कायर र मूर्खताको सम्मिश्रण हुँदो रहेछ।

आकृतिले पानी माग्ने नाता झाँगिन थालेको मैले थाहा नपाउनुमा दुइवटा ठूला कारणहरु थिए। पहिलो थियो मेरो डर। म डराउँथे मैले कुनै किसिमबाट आफू उनीतिर आकृष्ट भएको देखाएमा उनी रिसाउने हो कि र त्यसैले पनि उनको मनको कुरा थाहा पाउन सकेको थिइन। उमेरमा कुनै पनि पुरुष कुनै पनि महिला प्रति छिटै आकर्षित हुने विशेष व्यवहार देखाउन चाँहन्थिन म। दोस्रो कारण थियो म जहिले पनि पढाइ र जागिर खोज्नमा व्यस्त र मस्त हुन्थेन। मेरो आँखामा जहिले पनि एउटा सपना घुमिरहेको हुन्थ्यो। त्यो सपना थियो अलि चल्ने विषय पढेर राम्रो डिभिजनमा पास गर्ने अनि राम्रो पैसा आउने जागिर समात्ने। राम्रो डिभिजनमा पास हुनका लागि कडा अध्ययन गर्नु पर्ने भएकोले म जहिले पनि पढ्नमा व्यस्त हुन्थे। कोठामा आएर पढ्नु बाहेक मेरो अर्को कुनै काम नै हुन्थेन भने पनि हुन्छ। नाता गोता, साथी भाइहरु कहाँ पनि खास जान्थिन। मेरो दिनचर्या टाँगाको घोडा जस्तो थियो विहान क्याम्पस जाउ, फर्क, त्यस पछि अफिस जाउ अनि फर्क।

घटना यस्तै २०५२ सालको अन्ततिरको हो। एक दिन म कोठामा पढिरहेको थिएँ, साझको बेला थियो, आकृति पानी माग्न आइन। पानी थाप्न मैले बाथरुमको ढोका खोलि दिएँ। आफू फेरि कोठामा आएँ। आकृति बाथरुममा पस्नुको साटो मेरो कोठाको अगाडि उभिन। कोठा अगाडि निकै बेर उभिएको देखे पछि मैले मेरो कोठा भित्र आउन भन्नु त पर्यो नि। मैले कोठा भित्र आउन भने। उनी कोठा भित्र आइन। हामी दुइ बिच लामो समयसम्म गहिरो कुराकानी भयो। र त्यस पछि शुरु भयो उनी मेरो कोठामा आउने अनि लामो समयसम्म कुराकानी गर्ने सिलसिला। त्यस दिन देखि हामी दुइ भावनात्म र भौतिक दुबै रुपमा नजिक हुन पुगेका थियौ। त्यै दिन आकृतिले मलाई मन पराएको प्रष्ट रुपमा भनेकी थिइन। म पनि कस्तो, हुस्सु भनौ या ज्यादै भलादमी ,त्यो दिन पनि मैले भन्न सकेको थिइन, आकृति म तिमीलाई मन पराउँछु भनेर। उनले मलाइ मन पराउँछु भने पछि मात्र आफूले पनि मन पराएको तथ्य जाहेर गरे। तर आकृतिले मलाई मन पराएको कुरा उनको मुखबाट सुन्दा मलाइ अलि अनौठो र रोमान्चक दुबै लागेको थियो। अनौठो किन लागेको थियो भने मैले बुझ्न र भन्न नसकेको कुरा आकृतिले बुझेर र मेरो अगाडी बिना कुनै संकोच प्रष्ट रुपमा भनिदिएकी थिइन। म आफूलाई ज्यादै भलादमी या कायर, के भनौ, आफूले कसैलाई मन पराएको पनि भन्न नसक्ने।
आकृतिसँगको प्रेम प्रसंग्ङले मलाई एउटा, मेरो बुझाइमा, जीवन उपयोगी दर्शन बोध गराएको थियो, र त्यो दर्शन थियो, ज्यादै भलादमी हुनु पनि कुनै परिस्थितिमा, कायर हुनु सरह हुँदो रहेछ। खास अवस्थामा अलि सार्हो अलि………. त्यस्तै ………..पनि हुनु पर्दोरहेछ।
त्यो घटना पछि मेरो र आकृतिको भेटघाट प्राय जसो नियमित रुपमा हुन थाल्यो। मेरो आइ कम सकिन थालेको थियो। आकृतिको भने आइ कम शुरु मात्र भएको थियो। पढाइको कारण दर्शाएर पनि आकृति मेरो कोठामा आउन सजिलो भएको थियो। हुनत आकृतिको दिदीले हामी बिचको सम्बन्ध थाहा पाई सकेकी थिइन । तर छर छिमेककाहरुले दस थरिका कुराहरु गर्ने हुनाले आकृतिले मसँग ट्युसन पढ्न आएको भनी अरुलाई भन्न सजिलो भएको थियो म सँग नियमित किसिमले भेट्न आउँदा।
२०५३ सालमा हामी, म र आकृति विवाह बन्धनमा बाँधियौ। विवाह ज्यादै सामान्य किसिमबाट भएको थियो। घरबाट आमा र बा मात्र आउनु भएको थियो, काका काकी, फुपुहरु आउनु भएको थिएन। विवाह ज्यादै छोटकरीमा गुहेश्वरीमा गर्ने भनिएकोले मेरो घरतिरका धेरैले चाहेर पनि आउन सकेका थिएनन् त्यो विवाहमा। सानोतिनो खर्चमा विहे सकियो। त्यस्तै आकृतिको घरतर्फबाट पनि भएको थियो। तर मेरो एउटा ठूलो सपना भने पूरा हुन पाएन त्यो विहेमा। सपना के थियो भने विहे आफ्नो घरबाट गर्ने, डेराबाट होइन।

२०६० सालमा मैले मास्टर डिग्री सक्याएँ। पढ्दै जागिर गर्दै गर्दा जागिर पनि राम्रो नै पाएको थिएँ। एउटा गैरसरकारी बैकको शाखा प्रबन्धक जस्तै भएको थिएँ, बि कम पढ्दा खेरि नै। तर मेरो अलि गतिलो आम्दानी गरेर घर बनाउने इच्छा पुरा हुन सकिरहेको थिएन, त्यो आम्दानीले। हुन त आम्दानी नराम्रो थिएन तर आम्दानी बढ्दै जाँदा जिवनस्तर पनि ह्वातै बढेको हुनाले बचत गर्न सकिएको थिएन। उता काठमाडौमा एउटा गतिलो घर बनाउने मेरो इच्छा झन झनै आकासिंदो थियो।
देशमा काहाली लाग्दो द्वन्द एकतिर, घर बनाउन जसरी पनि कमाउनु पर्छ भने उच्च आकांक्षा अर्कोतिर, यी दुइको चेपुआमा परेर म २०६१ सालमा म कतारको राजधानी दोहा पुगे।
दोहा आए पछि मैल तलबबाट राम्रो आम्दानी गर्न थाले, राम्रो तलब आउने जागिर पाएकोले । तर बडो हिफाजत साथ खर्च गरेर गतिलो बचत काठमाडौ पठाउन थाले।

विदेश कमाउन जाने, पाँच सात वर्ष टन्न कमाएर काठमडौमा घर बनाउने अनि विदेशबाट फर्के पछि हातमा रहेको पैसा बैकमा राखेर मस्तसँग बसेर खाने। त्यसैल जसरी भए पनि कमाउन विदेश जाने। मेरा यी इच्छा र लालसाहरु आकृतिलाई पटक्कै मन परेको थिएन। उनी जहिले पनि भन्थिन- जे जस्तो कमाई छ त्यसमा नै पुराएर आफ्नै देशमा बस्नु राम्रो हो। हामी डेरामा बस्दा मलाई डेराको बसाई दिक्दारी लागेता पनि, साथीहरुलाई म डेरामा बस्छु भन्दा लघुताभास भएता पनि आकृतिलाई त्यस्तो कहिले पनि भएन। जहिले पनि उनीलाई हाँसी खुसी नै देख्थे। काठमाडौमा डेरामा बस्दाको आफ्नै किसिमका पिडाहरु, जुन बयान गर्न पनि सकिँदैन, त्यस्ता डेराहरुमा बस्दा पनि आकृतिले दिक्क मानेको मैले कहिले पाइन।

एक चोटी डेरा सर्ने क्रममा म बुध्दनगरको एउटा घरमा पुगे। हाम्रो विहे भएको पाँच वर्ष पछिको कुरा हो, आकृति सुत्केरी हुने थिइन, त्यति बेला। त्यो घरमा सरेको भरखर छ महिना मात्र भएको थियो। एक दिन घर धनीले आएर भने - तपाँईहरु बसेको कोठा हामी आफैलाई चाहियो। मेरी श्रीमति सुत्केरी हुने छिन। उनलाई सहयोग गर्न आउने मान्छेलाई राख्न थप कोठा चाहियो। घर धनीको कुरा सुने पछि एकै छिन म अक्क न मक्क भए। डेरा सरेको छ महिना पनि भएको थिएन। मैले घरधनीलाई भने – हेर्नुस, मेरी पत्नी सुत्केरी हुने छिन, पाँच महिना पछि, यस्तो बेलामा कहाँ जाउँ म डेरा खोज्न। मेरो अनुरोधको कुनै असर ती घर धनी माथि परेन। उनले भने -त्यो तपाँइको समस्या हो मेरो होइन।
केही सिप नलागेर घर धनीले सूचना दिएको एक महिन पछि बुध्दनगरमै अर्को घरमा डेरा सरे। तर मलाई कौतुहलता लागेको थियो, किन ती घर धनीले यसरी हामीलाई हटाए आफ्नो घरबाट। मैले वा आकृतिले त्यस्तो कुनै काम गरेका थिएनौ। जम्मा हामी दुइ जना थियौ उसको घरमा बस्ने। पछि थाहा भयो आकृति सुत्केरी हुने भएकोले त्यस्तो अवस्थाको महिलाले घर धनीकी पत्नी( सुत्केरी हुने अवस्थाकी) लाई हेर्न वा छुन हुँदो रहेनछ। छोएमा नराम्रो हुने उनीहरुको विश्वास थियो। जे होस, जस्तो सुकै डेरामा बस्दा पनि, अर्को डेरामा सर्दा पनि त्यो घटनालाई जीवनलिलाको सामान्य अंश मानेर आकृतिले कहिले पनि यस्तो उस्तो भनिन। बरु रमाएको जस्तो देखिन, जहिले पनि। प्राय आकृतिले दार्शनिक किसिमले भन्ने गर्थिन - कस्तो घरमा बसिएको छ भन्ने कुरा ठूलो होइन त्यो घरमा कति सन्तुष्टिका साथ मिलेर बसिएको छ त्यो ठूलो कुरा हो। घरका सदस्यहरु मिलेर रमाएर बस्नु ठूलो कुरा हो। तर म आकृतिसँग सहमत हुन्थिन। मेरो सपना -काठमाडौमा एउटा सुबिधासम्पन्न घर हुनु पर्छ भन्ने तर्कको अगाडि उनको केही लाग्थेन।

२०६३ सालमा आकृतिले मेरो निर्देशन अनुसार बुद्धनगरमा जग्गा खरिद गरिन। घर बनाउन पनि आरम्भ गरिन। २०६५ सालमा घर बनेर तयार भयो। घर सम्पन्न हुँदा सम्ममा करीब एक करोड जति खर्च भयो। आफूसँग भएको बचतले नपुगेर केही रकम साथीहरुसँग पनि लिए। तैपनि पुगेन, बैंकसँग ऋण लिएँ। तर जे होस, भने जस्तो, मैले सपना देखे जस्तो घर तयार भयो। दुइ तल्ले घरमा तल्लो तल्ला भाडामा थियो। माथि आकृति बस्थिन। एउटा काम गर्ने सहयोगी थियो उनको साथमा। पहिलो सन्तान जन्मेको एक वर्ष पनि बाँच्न सकेन। दस महिनामा नै बित्यो। अर्को सन्तान भएन त्यस पछि। दोस्रो पटक सुत्केरी हुने भएकी थिन आकृति तर गर्भ रहेको छ महिनामा नै बच्चा गयो। सन्तानको रुपमा आएको पहिलो बच्चा छोरो थियो भने छ महिना पनि पुरा नरहेको गर्भमा छोरी थिई रे।
२०६६ सालको साउन महिनामा म नेपाल फर्के, कतार सँधैका लागि छाड्ने गरी। कतारबाट हिँडने बेलामा पुरा अठोटका साथ फर्केको थिए, अब सँधै नेपालमा बस्ने भनेर। दोहामा साथीहरुले रोकेका थिए, फेरि नफर्किने गरी नजाउ भनेर। मेरा घनिष्ट मित्रहरुले भनेका थिए -देशको स्थिति त्यस्तो छ, फर्केर तिमीलाई फ्रस्टेसन बाहेक केही पनि हुँदैन। बरु एक महिनाको बिदा लिएर जाउ। तर मैले उनीहरुलाई भने- होइन, मैले अब जाने निधो गरिसकेको छु।

जब म काठमाडौ फर्के, घर देखेर दङ्ग परे। मैले जस्तो नक्सा कोरेर पठाएको थिएँ, ठिक त्यस्तै घर बनेको रहेछ। घरको संरचना त मैले चाहे अनुसारको थियो थियो नै, त्यो घरको भित्री सजावट ‍पनि मेरो योजना अनुसारको थियो। मैले मेरो कल्पना साकार भएकोमा आकृतिलाई निकै धन्यवबाद दिएँ। प्रशंगवस वा विना प्रशंग पनि म मेरो घरको तारीफ गर्थ्ये। मान्छेको अगाडि घरको प्रशंसा गर्दा आकृतिको पनि उत्तिकै प्रशंसा गर्थे। र मान्छेहरुलाई भन्थे – मेरो दायित्व त पैसा पठाउनु मात्र थियो। यो घर बनाउने त खासमा आकृति हुन। यसको श्रेयता आकृतिलाई जान्छ। तर अचम्म, यी सब कुराहरु सुनेर आकृतिको मुहारमा खुसीको चमक भने देखिन्थेन। मैले उनको योगदानको प्रशंसा गर्दा उनी केही प्रतिक्रिया दर्शान्थिन। उनको मुहारमा भाव शून्यता हुन्थ्यो।

दोहाबाट फर्केपछि मैल आकृतिको व्यवहारमा निकै ठूलो अन्तर पाएँ। सानो सानो कुरामा पनि उनी रिसाउँथिन। उनीबाट कुनै कुरा विस्तारमा जान्न खोज्यो भने मैले उनीमाथि संका गरेको भन्ठान्थिन। म दिन भरि जसो घरकै अनेक काममा व्यस्त रहन्थे। र त्यस्तो गर्दा मलाई रमाइलो लाग्थ्यो पनि। घरका सजाबटका धेरै सामानहरु किन्न बाँकी थियो। रङ्ग रोगन गर्न पनि बाँकि थियो। म चाहन्थे आकृति पनि म सँगै हिँडुन त्यस्ता सामानहरु किन्न। तर मसँग बजार जान आकृति पटक्कै रुचाउँथिनन्। बजार जानु पर्छ भन्यो कि उनी भन्थिन -म यो घर बनाउँदा बनाउँदा थाकि सकें। तपाई आइ हाल्नु भयो अब बनाउनुस बसेर। तपाइललाई यस्तो कार्य गर्न रमाइलो लाग्छ पनि र फुर्सत छ पनि। के गर्ने, म एक्लै जान्थे बजारतिर। प्राय बजारबाट म घर फर्किँदा आकृति घरमा हुन्थिनन्। साँझमा आउँथिन। साँझ हुँदासम्म बाहिर किन बसेको, किन ढिला आएको भनि सोध्दा झर्केर जबाफ दिन्थिन। एक दिन झमक्क साझ परे पछि बाहिरबाट आइन। किन ढिलो गरि आएको, कस कहाँ गएको भनी सोध्दा उल्टो रिसाएर भनिन म कहाँ गए कसलाई भेटे सबै कुराको हिसाब किताब बुझाउनु पर्छ। एक दिन त राति दस बजे आइन। किन ढिलो आएको भनी मैले सोधे। आकृतिले राम्रो जबाफ दिनुको साटो झगडा पो गर्न थालिन। हामी बीच निकै बेर झगडा पनि भयो। त्यो रातिको घटना पछि आकृति जति ढिलो गरी आए पनि मैले कहाँ गएको किन ढिलो गरी आएको भनि सोध्न लगभग बन्द नै गरे। दिउँसो कतै जाँदा पनि मैले कहाँ जान थालेको कुनबेला आउने हो भनि सोध्न बन्द गरे। आकृति घरमै हुँदा पनि हामी बिच केवल औपचारिक कुराहरु मात्र हुन्थे। पति पत्नी बीच हुने किसिमको कुराकानीको क्रम लगभग बन्द नै भइसकेको थियो।

दोहाबाट म फर्केको दुइ महिना भइसकेको थियो। यो दुइ महिनामा हामी बीच सम्बन्ध राम्रो हुनुको साटो झन झन बिग्रिदै गएको थियो। एक दिनको कुरा हो मैले हाम्रो सुत्ने कोठामा टेबुलमाथि पुरुषले लगाउने सन ग्लास फेला पारे। त्यो सन ग्लास राम्रो गरी निरिक्षण गरे। मेरो सन ग्लास थिएन त्यो। भाइले भैसेपाटीमा घर बनाएर बसेको थियो, उसलाई नबुझिने गरि, कुनै खास किसिमको प्रसँगमा मिलाएर त्यो सन ग्लास बारे सोधे। त्यो सन ग्लास उसको रहेनछ भनी उसले प्रष्ट पार्यो। त्यो सन ग्लासले मेरो संकाको सीमानालाई झनै बिस्तारित पारेको थियो।

अर्को दिन यसै गरी म हाम्रो बेड रुममा सजावटका सामानहरु मिलाउँदै थिए, मेरो आँखा दराजको तल रहेको एक जोर मोजामा पुग्यो। त्यो मोजा हेर्दा प्रष्ट रुपमा थाहा हुन्थ्यो, कुनै पुरुषले लगाउने हो भनेर। मोजा नया थिएन। लगाएको मोजा थियो त्यो।

यसै गरी एक दिन म बेडरुममा रहेका फर्निचरहरु मिलाउँदै थिए, मेरो पढ्ने टेबलमा मैले एउटा पुस्तक देखे। त्यो टेबल मेरो विद्यार्थी जिबनदेखिको रहेकोले बडो हिफाजतसाथ त्यसलाई राखेको थिए र त्यो कुरा आकृतिलाई पनि थाहा थियो। कवितै कविता भएको पुस्तक थियो त्यो। त्यो पुस्तक मेरो थिएन। मलाई साहित्य त्येति मन पर्दैन पनि। आकृतिको पनि साहित्यमा पटक्कै रुचि थिएन। त्यो किताब आयो कहाँबाट? यो प्रश्नले पनि मलाई निकै पिरोल्यो। आजसम्म पनि त्यो प्रश्नको उत्तर पाउन सकेको छैन मैल।

म संकाको दलदलमा झनै भास्सिन थाले। तर पनि मैल आकृतिलाई न त्यो सन ग्लासको, नत त्यो मोजाको बारेमा सोधे। न त त्यो किताबको बारेमा नै।

आकृतिको रुखो व्यवहारमा कुनै पनि किसिमको सकारात्मक परिवर्तनको लक्षण देखा परिरहेको थिएन। म पनि अलि बढी नै संकालु हुन थालेको थिएँ कि, म बुझ्न सकिरहेको थिन। एउटै छाना मुनी हामी भएता पनि बडो अचम्मको मनोवैज्ञानिक स्थितिमा थियौ हामी।

मंसिर महिनाको अन्ततिरको कुरा हो, बडो डरलाग्दो दुख:द घटना भयो। आकृतिले विष सेवन गरिन। राति एक दुइ बजेतिर उनले विष खाएकी थिन, त्यस्तो लग्थ्यो। त्यो रात म बैठकमा सुतेको थिएँ। राति ढिलोसम्म फिल्म हेरेको हुनाले बैठक बसेको थिएँ म । कुन बेला निद्रा पर्यो थाहा भएन। फिल्म हेर्दा हेर्दै सोफामा म निदाउन पुगेको थिएँ। टि भि पनि अफ गर्न सकेको थिन। विहान तिन बजेतिर आकृति कराएको आबाज सुत्ने कोठाबाट आएको हुनाले डराएर दौडिदै म त्यो कोठातिर गए। आकृति रोइरहेकी थिन। उनले रुँदै भनिन -मैले प्वाइजन खाएको छु, ज्यादै हेभी डोज। त्यसैले मलाइ बचाउने कोशिस नगर्नु होला। र मलाई बाँच्ने इच्छा छैन पनि।

हतारिँदै भाइलाइ फोन गरे। साथीहरुलाई पनि फोन गरे। छिमेकीहरुको सहयोगमा आकृतिलाई अस्पताल पुर्याए। अस्पताल पुर्याएको तीन चार घण्टा पछि डाक्टरहरुले उनलाई मृत घोषणा गरे।

आकृति बितेको एक महिना भयो। यो एक महिनामा कसरी बित्यो, कस्ता कस्ता डरलाग्दा बिचारहरु मेरो दिमागमा आए त्यसको कुनै लेखाजोखा छैन।

कस्तो अचम्म, जुन बेला मसँग घर छ, यो घर भएको अवस्थालाई मैले घर मान्न सकिरहेको छैन। आकृति छैनन् मेरो साथमा, घरको अनुभूति छैन। इट, ढुङ्गा, सिमेन्ट, फलामको घर हुँदो रहेनछ। जति बेला मेरो आफ्नो घर थिएन, म डेरामा बस्थे, त्यो नै घर थियो किनभने अहिले जस्तो म नितान्त एक्लो थिइन, त्यहाँ। जति सुकै वर्ष म डेराहरुमा बसेता पनि ती डेराका बसाइहरु नै मेरो लागि घर थिए किनभने साथमा मेरो परिवार थियो त्यहाँ, आकृतिको साथ थियो, त्यहाँ। घर बनाउने सपनाको पछि लागेर महँगो घर त बनाए तर त्यो घर बन्दा बन्दै, म मेरो घरदेखि धेरै टाढा पुगेछु।
यो समय बिन्दुमा म सोँचदै छु, गल्ति मेरो नै हो। मैले घर त दिएँ आकृतिलाई, समय दिन सकिन।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 कार्तिक, 2068

लेखकका अन्य रचनाहरु