कुलतको जाल

- हरिप्रसाद भण्डारी

आफन्तहरूको दिनदिनैको कचकच सुनेपछि उसले रक्सी नपिउने निधो ग¥यो ।

“भोलिदेखि खाइन्न क्यारे, ले माइली अझै एउटा थप ।” लरबरिएको स्वरमा भन्यो र रित्तो गिलास उठाएर एकपटक टेबुलमा ठोक्यो ।

“यी पाजी नेताहरूले माक्र्सवाद बुझेकै छैनन्, काँग्रेसीहरू पनि वी.पी.को अपमान गर्दै हिडिरहेका छन् ........।” अस्पष्ट शब्दमा गुनगुनायो र एकैछिन रोकिएर थप्यो— “मलाई यिनले चिनेकै छैनन् । मेरा हातमा यो देशको बागडोर आउने हो भने मैले यो देशलाई स्वर्ग बनाइदिन्थेँ, तर के गर्नु अघि बढ्नै दिदैनन्, सालेहरू....।” यसो भन्दै यसो टाउको उठायो र पुनः माइलीलाई हका¥यो— “ऐ माइली ! अब तैले पनि टेर्न छोडिस् होइन । पख साला........।”

“के को नटेर्ने हो ?” माइली झर्की र अगाडि थपी— “ऊ के त अगाडि, आँखा पनि बन्द भइसके हैन ?” उसले भर्खरको भाव बदलेर एकपटक खितित्त हाँसी ।

उसले हातले छाम्यो, आफ्नो अगाडि भरिबोतल देखेपछि घुटुक्क थुक निल्यो र माइलीलाई धन्यवाद दिँदै गिलासमा हालेर पिउन थाल्यो ।

अर्कोदिन अबेर उठ्यो । टाउको दुखिरहेको थियो, तैपनि पछुतो मानेन । रक्सी पिउन छोडेको सम्झेपछि सन्तोषको लामो सास फेर्दै नित्यकर्ममा लाग्यो ।

बिहानैदेखि गन्हाउन सुरु गर्ने मान्छे नुहाइधुवाइ गरी घाममा बसेर रामायणको किताब पढ्न लागेको देख्दा स्वास्नी दङ्ग परी । ‘के अचम्म भयो यस्तो ?’ मनमनै गमी र पूर्ववत आफ्नो धन्दामा लागिरही ।

दिउस श्रीमती प्रशन्न भएको समयमा उसले श्रीमतीतिर फर्केर मायालु स्वरमा भन्यो— “सन्तु, आजदेखि मैले रक्सी खान छोडँे क्यारे । यसो भएपछि त माया गरौली नि होइन ?”

“साँच्ची !” स्वास्नी दङ्ग परी । एकैछिन विचार गरी र भनी— “खोइ...., बाह्रमासे जड्याहाको कसरी विश्वास गर्नु र ?”

“त्यसो नभन न सन्तु, कहिलेकाहीँ त विश्वास पनि गर्नुपर्छ । साथीभाइको करबलले मात्र यति बिग्रिएको हुँ, अब त कसैका कुरा सुन्दिन र कसैका बहकाउमा पनि पर्दिन ।” उसले स्वास्नीलाई विश्वास दिलाउन सक्दो प्रयास ग¥यो ।

“छोड्यौ भने विश्वास गरूँला नि, कुरा मात्रै गरेका भरमा कसरी पत्याऊँ खै ?”

“स्वास्नीका शब्दमा रूखोपन थियो, तैपनि ऊ फिसिक्क हाँस्यो । ‘मैले छोडँे भने दङ्ग पर्लिस् नि मोरी’ मनमनै भन्दै, पुनः किताब पढ्न लाग्यो ।

सधैँ बिहानैदेखि भट्टी चहार्ने मान्छे आज दिनभरि घरैमा बसेर दुई÷तीन अध्याय रामायण पनि पढी सिध्यायो । आफ्नो बानी सुधार्न खोजेकोमा ऊ आफै प्रशन्न थियो । आखिर कोसिस गरे के हुँदैन भन्ने भावना पनि जागेको थियो मनमा । दिउस आँगनमा गुन्द्री राखेर एकनिद निदायो पनि ।

स्वास्नीले अचम्म मानेकी थिई । साच्चै लोग्नेले रक्सी खान छोडे कति जाति हुँदो हो भन्ने आशा पनि जागिरहेको थियो मनमा । उसले मनमनै कुरो खेलाई— ‘कोही बिरामी परेर ओखती खोज्यो भने सदरमुकाम पुग्नुपर्छ तर रक्सी खोज्यो भने जहाँ पनि पाइन्छ । यस्तै भएर पनि भाँडिएको होला यो समाज ।’

मनमा कुरा खेलाउँदै दिउसको खाजा बनाई । खुसीले फुरुक्क परेकी थिई । लोग्ने उठ्दासाथ खाजा टकारी ।

आफूले रक्सी खान छोडेको समाचार अरूलाई सुनाउन आतुर थियो, त्यसैले खाजा खाइसकेपछि एकैछिन घुमेर आउने विचारले घरबाट हिँड्यो । ऊ सरासर तल बजारमा गयो र सधैँ आफूले रक्सी खाने गरेका भट्टीहरूमा गएर आफूले रक्सी खान छोडेको समाचार सुनायो । उसको कुरा सुनेपछि कतिपय साहुनीहरू व्यङ्ग्यात्मक हाँसो हाँसे र कतिपयले ओंठ लेप्राए । तैपनि उसले हिम्मत हारेन, मन विगारेन र एक एक भट्टी पार गर्दै अगाडि बढ्यो । जतिवटा भट्टी पार गथ्र्यो उति नै उसको मन खुसीले हल्का हुन्थ्यो ।

माइलीका भट्टीमा उसका साथीहरू जमिसकेका रहेछन् । बरबराउँदै सानेले बोलायो । उसले सुनेको नसुन्यै गरी अगाडि बढ्दै थियो, माइलीले के कुरा सुनाई कुन्नि जगते स्वाठ्ठ उठ्यो र उसका नजिक आएर बेस्सरी समाई उसलाई भट्टीसम्म पु¥यायो ।

ऊ त्यहाँबाट भाग्न खोज्दै थियो तर साथीहरूले उठ्न दिएनन् ।

“तँ आफू नखाए पनि तैले रक्सी खान छोडेको खुसीयालीमा हामीलाई त खुवा ।” पाखुरामा समाएर झट्कार्दै सानेले भन्यो । सानेको कुरालाई जगते र घनश्यामले पनि समर्थन गरे । केही बेर वादविबाद चल्यो । त्यहाँको पूरा माहोल उसको विपक्षमा थियो । उसले निकै प्रयास गर्दा पनि फुत्कन नसकेपछि बाध्य भएर माइलीलाई दुई बोतल भर्न आदेश दियो ।

टेवुलमाथि रक्सी आएपछि लामो छलफल भयो । बधाइ र धन्यबादका आदान प्रदान भए । अन्तमा रक्सी खान छोडेको खुशीयालीमा एक पेग खानका लागि उसलाई पनि आग्रह गरियो । उसले मान्दै मानेन, सक्दो प्रतिकार ग¥यो, तर सकेन ।

अन्तमा उसले साथीहरूको आग्रहलाई लत्याउन सकेन । रक्सी खान छोडेको उपलक्ष्यमा खुसी मनाउँदै एकै सासमा एक गिलास रक्सी घुटुक्क निल्यो अनि गिलास भुईमा राख्दै लामो सास फे¥यो ।

उता श्रीमान्ले रक्सी खान छोडेको खुसीयालीमा श्रीमतीले घरमा मीठा मीठा परिकार बनाएर उसको आगमनलाई पर्खेर बसिरहेकी थिइन् ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 कार्तिक, 2068

लेखकका अन्य रचनाहरु