ढीँचूँ ढीचूँ अथवा गर्दभ राग

- जगदीश घिमिरे

भलबाढी आयो । यो भलबाढी अर्कै प्रकृतिको थियो । कतिका लागि यो अत्यन्त अप्रत्याशित र अस्वाभाविक थियो भने कतिका लागि यो प्रत्याशित र स्वाभाविक ।

प्रतिकृयामा मन्त्रीहरुले ढीँ .... चूँ ... ढी ... चूँ ...गरे । ढीँ ... चूँ ... ढी ... चूँ ... गर्ने मन्त्रीहरुको आदत हुन्छ । यो मन्त्रीहरूको सातसालदेखिको साश्वत संस्कृति हो । यो आदत यस कालखण्डमा बितेको आधा शताब्दी देखि सबै नेता र मन्त्रीहरुमा एड्स जस्तै लागेको थियो, फैलिएको थियो, झांगिएको थियो । ढीँ ... चूँ ... ढी ... चूँ ... उनिहरुका मूल मन्त्र, तन्त्र, यन्त्र थिए । धर्म, कर्म, मर्म थिए ।

बाढी घटेन ।

मन्त्रीले फेरि ढीँ ... चूँ ... ढी ... चूँ ... गरे र भने “हामी यस देशको सरकार हौँ । यो जाबो नदीको यो जाबो भेलले आफलाई के ठानेको छ ?’

भेल झन् बढ्यो ।

बर्षहरु बित्दै गए ।

भेल बढ्दै गयो ।

थरीथरीका चुनाव आए । गए ।

भेल बढ्दै गयो ।

मन्त्रीहरु ढीँ ... चूँ ... ढी ... चूँ ... गर्दै रहे ।

हजारौंको ज्यान गयो । लाखौं शरणार्थी भए । करोडौं–अर्बौंको सम्पति नाश भयो । नदीको भेलबढ्दै गयो । मन्त्रीहरु ढीँ ... चूँ ... ढी ... चूँ ... गर्दै रहे ।

भेल अन्यायका विरुध्द थियो । अनाचार र अत्याचारका विरुध्द थियो । भोक–शोक–रोगका विरुध्द थियो । यी सबै कुरा बढ्दै थिए । अतः भेल पनि बढ्दै गयो । बढ्दै गयो ।

देशका सम्पूर्ण मन्त्रीले ढीँ ... चूँ ... ढी ... चूँ ... गरे – केही लागेन । सम्पूर्ण नेताले ढीँ ... चूँ ... ढी ... चूँ ... गरे – केही लागेन । सम्पूर्ण पत्रकारहरुले छापे – मन्त्री र नेताले “यसो ढीँ ... चूँ ... ढी ... चूँ ... गर्नु भयो”, “उसो ढीँ ... चूँ ... ढी ... चूँ ... गर्नु भयो” । तर केही अर्थ भएन ।

मन्त्रीहरु विक्षिप्त भएर झन् चर्को स्वरमा ढीँ ... चूँ ... ढी ... चूँ ... गर्न लागे – “हामी सरकार हौं, हामी नदीलाई गोली ठोक्छौं” भने । र भेलबाढीमा गोलीका पर्रा छाडे । केही लागेन । भेल बढ्दै गयो । रोपेका खेतका गरा भत्किदै गए । खेत र श्रम दुबै बग्यो । सम्बन्धित मान्छे पनि बगे । मर्ने मरे । बाँच्ने शरणार्थी भए । बाढी बढ्दै गयो ।

मन्त्रीहरुले ढीँ ... चूँ ... ढी ... चूँ ... गरेर रेडियोको जाली फोरे । टेलिभिजनको पर्दा च्याते । अखवारका पाना छेडे । जल–थल–आकाश ढाके । चर्पीको उद्घाटन बिसर्जनमा पनि त्यही ढीँ ... चूँ ... ढी ... चूँ । कर्मचारीको उद्घाटन बिसर्जनमा पनि त्यही ढीँ ... चूँ ... ढी ... चूँ ... । जात जातिका उद्घाटन बिसर्जनमा पनि त्यही ढीँ ... चूँ ... ढी ... चूँ ... । जन्तमा पनि त्यही ढीँ ... चूँ ... ढी ... चूँ ... । मलामीमा पनि त्यही ढीँ ... चूँ ... ढी ... चूँ ... । कपाल काट्ने स्यालूनको उद्घाटन बिसर्जनमा त्यही ढीँ ... चूँ ... ढी ... चूँ ... ।

थाकेर मान्त्रीले ढीँ ... चूँ ... ढी ... चूँ ...ग¥यो – “भेलबाढीले हामीसंग वार्ता गर्नु पर्छ । हामी भनेको सरकार हौं ।”

बर्षौं बिते ।

हजारौं थप मरे । लाखौ थप शरणार्थी भए । करोडौं–अर्वौंको थप सम्पति नाश भयो । बाढी बढ्दै गयो । मन्त्रीहरु ढीँ ... चूँ ... ढी ... चूँ ... गर्दै गए ।

अन्तत भेलले वार्ताको कुरा स्वीकार ग¥यो । दोहोरो वार्ता टोली बने ।

वार्ताको मुख–मुखमा सबभन्दा मूल मन्त्रीले ढीँ ... चूँ ... ढी ... चूँ ... ग¥यो – “ए भलबाढी पनि छ ?” “पैरो पनि छ ?” “वार्ता पनि छ ?” “वार्ताको एजेण्डा पनि छ ?” के के छ एजेण्डेमा मलाई त थाहै छैन” “ढीँ ... चूँ ... ढी ... चूँ ... ढीँ ... चूँ ... ।”

दोहोरो संवाद भयो । हात्ती आयो हात्ती आयो फुस्सा । कुनै समाधान भएन । समाधान हुनै कुरै थिएन । किनभने दुवैलाई चाहिएको उही एउटै कुरा थियो ।

भेल बढिरह्यो । गोली चलीरह्यो । नागरिक घाइते भइरहे । मर्ने मरिरहे । विस्थापित हुने भैरहे ।

भेलउर्लीरह्यो । गोली चलिरह्यो । अनाचार, अत्याचार र भ्रष्टाचार बढिरह्यो । कोलाहल भैरह्यो । मर्ने मरि रहे । बाँच्ने बाँची रहे । घाइते हुने भैरहे । विस्थापित हुने भै रहे । चुनाव आइरह्यो । संसद चलिरह्यो । योजना बनिरह्यो । ढीँ ... चूँ ... ढी ... चूँ ... बढी रह्यो ।

भेल बढिरह्यो । ढीँ ... चूँ ... ढी ... चूँ ...चली रह्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 कार्तिक, 2068

लेखकका अन्य रचनाहरु