नूरी–४

- वर्षात् दर्लामी

आखिर ऊ फेरि आई हाम्रा सामु ।

मैले त सोँचेको थिएँ– ऊ सँग अब कहिल्यै भेट नहोला । किनकि मेरो परदेशमा बस्ने अवधि छोटिँदै गइरहेथ्यो । तर भेट भयो ऊ सँग । हृदयमा एउटा गहिरो छाप छाडेर हराएकी थिई ऊ धेरै महिना । जीवनले बेला–बेलामा उसको सम्झना गराइ दिन्थ्यो–

“भाउजु त साह्रै निष्ठूरी है वासु ?”

म भन्थें–

“मेरो जुँगा देखेर डराइछ, भागी ।”

जीवन मेरो अनुहारमा हेरेर हाँस्थ्यो तर हाँसे तापनि उसको अनुहारको भावमा मैले म प्रति सहानुभूति देख्थें ।

तर ऊ फेरि आई । यसपटक उसको अनुहारमा हाँसो झनै प्रबल बने झैँ लाग्यो मलाई । एक–दुई दिन हामी बोलेनौं । तर एकदिन खाना खाने एक घण्टाको छाेंटो समयमा म उसको नजिक गएँ । हिँजो–अस्तिदेखि मनमा खेलाइरहेको वाक्य नै बोलें म–

“कता हराउनु भयो यतिका महिना ?”

ऊ त्यस्तै हाँसो हाँस्दै मेरो झन् नजिक आई र भनी–

“बर्मा गा’की थें’ बाबासँग ।”

मैले ठट्टावश भनें–

“ए, त्यसैले पो अरुलाई घाइते बनाएर जानुभएछ ।” मैले आफैलाई भन्न नसकेर अरुलाई भनिदिएँ ।

“किन ? बर्मा जानेहरुले अरुलाई घाइते बनाउँछन् र ?” उसले पनि त्यही भावमा सोधी । मैले भनें–

“अरुलाई त कुन्नि तर आफन्तहरुलाई चाहीँ पक्कै ।”

बोलिसकेपछि बल्ल झसँग भएँ । उसले अचानक सोधी भने –

“मेरो कुन चाहीँ आफन्त त्यस्तो घाइते भयो र ?” मैले के जवाफ दिने ? तर उसले त्यस्तो सोधिन । बरु अलि भावुक हुँदै भनी–

“म आफै घाइते छु । त्यही बेहोशीमा कसैलाई घाइते बनाएँ हुँला । तर जानीबुझी हैन है ?”

कुराको अन्त्यमा ऊ फेरि त्यस्तै खुला मनसँग हाँसी ।
तर मलाई लाग्यो– बाहिर ऊ त्यसरी हाँसे पनि भित्र चाहीँ उसको मन कता–कता रोइरहेछ ।

त्यो छोंटो भेटमा हामीले चाहेर पनि धेरै कुराकानी गर्न सकेनौं । उसका र मेरा साथीहरुका आँखा संगीनझैँ हामीतिर सोझिएका थिए त्यसैले । तर हामीले आ–आफ्ना फोननम्बरहरु भने साटासाट गर्न भ्यायौं ।

ड्यूटीअफ भएपछि राति अबेला होस्टेलमा फर्कन्छु म । कपडा फेरीसकेको हुँदिनँ । उसको फोन आउँछ । नहेरिकन जान्दछु म– उसले गरेकी हो फोन भनेर । उसको नम्बरमा विशेष ‘कलरटोन’ राखेको थिएँ मैले ।

रिसिभ गर्छु फोन । उताबाट आवाज आउँछ–
“नमस्ते ।”

मलाई अचम्म लाग्छ । किनकि ऊ अहिले नेपालीमा बोल्दैथिई । मेरो मथिंगलभरि हजारौँ ह्याम्मरहरुले एक साथ हिर्काउँछन् । उसको अनुहार झल्झली देखापर्छ आँखा अगाडि । ऊ नेपालीकी छोरी हो भन्ने थाहा पाएको भए दिउँसो ऊ सँग मले भाषामा अड्की–अड्की किन बोल्थें ?

“....अँ......अँ........साया ......अँ....सायामिया रुमा नेपाल ....। आ....साया.....नेपाल ओराङ...।” मेरो कुरामा ऊ झन् कसरी हाँसेकी थिई र भनेकी थिई–

“कलाउ आवा ताबोले चेकप मलायु चेकप इंगलिश ला । साया बोले पाहम ।”

अर्थात्

“मले भाषा राम्ररी आउँदैन भने अंग्रेजीमा बोल्नुस् न । म बुझ्छु ।” तर मलाई अँगे्रजी पनि राम्रो आउँदैनथ्यो । तै पनि भाँच्चिएका शब्दहरुले ऊ सँग कुरा गरेको थिएँ– आधा अँग्रेजी र आधी मलायुमा ।

र यतिखेर मेरो कानभरि, मनभरि, हृदयभरि उसको आवाज झङ्कृत भइरहेछ–
“नमस्ते ....,.....।”

एकछिन पछि मात्र बोल्न सकें म–

“तपाई नेपाली ?”

“बुकान ।” उताबाट आवाज आयो– ‘साया पाहम सिकीजा । तपी....।”

अर्थात्
(हैन । अलि–अलि बुझ्छु तर .... ।)
म मनमनै पूरा गर्छु उसले भन्न खोजेको कुरा– ‘तर बोल्न जान्दिनँ ।’

फेरि दिउँसो जस्तै । म सके जति मलायुमा, नसकेका शब्दहरु अँगे्रजी मिसावट गरेर बोल्छु ऊ सँग । उसले कुनै दिन समय निकालेर भेटौं भन्छे । कसरी खुल्न सकेकी हो एकैछिनमा यसरी ? मलाई अचम्म लाग्छ ।
अन्तिममा उसले नाम सोध्छे मेरो । मैले आफ्नो नाम बताएर उसको सोध्छु ।

यसपटक पनि म झण्डै मूर्छा पर्दिनँ उसको उत्तर पाएर । ऊ भर्खर बोल्न सिकेको बालकझैँ एक–एक शब्द उच्चारण गरेर बोल्छे–

“मेरो नाम माया हो ।”

अनि हाम्रो फोन सम्वाद टुंगिन्छ त्यस दिनलाई । तर म एउटा रहस्यको जालभित्र आफूलाई अल्झिरहेको भेट्याउँछु–

“को होली त्यो केटी ?”

भोलिपल्ट ।

त्यो दिन पनि आफ्नो पार्टटाइम नोकरीमा आउँछे ऊ । सदा भन्दा झन् हँसिली देख्छु म उसलाई । मेरो हेराइ फरक भएको त अवश्यै हैन होला ।
........ ...... ....... .... ............... ..............

कहिले प्रत्यक्ष भेटमा, कहिले फोनमा हामी कुराकानी गरिरहन्छौं । हामी परदेशी बनेको पनि छब्बीस महिना पूरा भइसक्छ । हामी भनेको जीवन र म । घर फर्कन अब दस महिना बाँकी रहन्छ । यतिञ्जेलसम्म मैले यहाँको भाषा राम्रै बुझ्थें । बोल्न पनि सक्थें ।

एकदिन मायाले एउटा पुस्तक उपहार दिई मलाई । होस्टेलमा आएर खोलें । राम्रो कलेवरमा प्रकाशित एउटा उपन्यास । शीर्षक छ–

‘ओराङ जाहु’

अर्थात्

‘टाढाको मान्छे’ अर्थात् एउटै शब्दमा लेख्ने हो भने– ‘परदेशी’ ।

अँगे्रजी लिपिमा लेखिएको उपन्यास (मले भाषाको आफ्नै लिपि छैन) पढ्न त गाह्रो हुँदैन तर बुझ्न भने सकसै हुन्छ । तै पनि पढेर भ्याउँछु करिब दुई महिनामा । आधा भन्दा बढी त बुझिनँ तर जति बुझेँ कथाको सारांश स्पष्ट भयो । समुन्द्रपारिको मलेसिया अर्थात् सारावाक राज्यबाट कामको खोजीमा यहाँ अर्थात् समुन्द्रवारिको मलेसियामा आइपुगेको एउटा मान्छेको कथा थियो त्यहाँ । त्यो उपन्यास पढुञ्जेल त्यसको नायक मै आफू भएको कल्पना गरिरहें मैले ।

एक साँझ माया आफ्नो कारभित्र बसिरहेकी थिई । एउटा दुब्लो पातलो केटो पुरानो मोटरसाइकल हाँक्दै उसको नजिक आयो । सीसा खोलेर मायाले केहीबेर ऊ सँग कुरा गरिरही । मेरा साथीहरु आफ्नो काम गर्न छाडेर हल्ला गर्दैथिए–

“हेर त त्यति राम्री केटीलाई त्यस्तो केटा मिल्छ मलेसियामा ।”

“कुखुरा चोर जस्तो हैन त ?”

त्यसपछि जीवनलाई छाडेर सबैजनाको हाँसो एक साथ ......हा..हा...हाहा । जीवनले मतिर हेर्दैथियो मलिन आँखाले । मैले आफ्नो नजर झुकाएँ ।

“साँच्चै भन्ने हो भने मलेसियाका केटीहरु अभागी नै हुन् ।”

“राम्रो केटा पाउँदैनन् ।”

तर म चुपचाप बसिरहें । साथीभाइका कुरामा कुनै प्रतिकृया जनाइनँ । मैले उनीहरु हाँस्दा हाँस्नुपथ्र्यो कि ! हाँसिनँ ।

अनि त्यो दिन आउँछ । मायाले मलाई आफ्नो घरमा लिएर जान्छे । ऊ र म मात्र हुन्छौं कारभित्र । ऊ कार चलाउँछे, एउटा वर्षांै अनुभवी ड्राइवरले जस्तो । क्वालालम्पुरको व्यस्त सडकलाई छिचोलेर हामी सुँगाइबुलोको डाँडातिर चढ्छौं । कारको रफ्तार मायाले घट्न दिएकी छैन । म सँग बोल्न पनि छाडेकी छैन । हामी एक सुनसान बस्तीमा आइपुग्छौं । त्यहीँ एउटा सानो घरको अगाडि रोकिन्छ कार ।

म तिर हेर्दै भन्छे उसले–
“यै’ हो हाम्रो घर ।”

मैले उसको पछि–पछि हिँडेर त्यो घरको सङ्घार नाघें । घर बाहिरबाट हेर्दा सानो तर फराकिला कोठाहरु देख्छु भित्र । बैठक–कक्षमा सोफामाथि मलाई सजिलो सँग बस्न भन्दै ऊ कराउँदै जान्छे–
“ड्याडी !....मम्मी...!......फाइरुज ? ....माना पिगि यू ? .....आनोक....! .....”

एकछिनपछि घरका सबैजना मेरो वरिपरि हुन्छन् । उसका बाबा–आमा अनि भाइ र बहिनी ।

मेरो आश्चर्यले सीमा नाघ्छ, जब सुन्छु उसको बाबा टुटे–फुटेको नेपाली शब्द निकालेर बोल्न थाल्छन् । तर मेरो आश्चर्य उनैले समाप्त गरिदिन्छन्–

“मेरो बुवा ब्रिटिशको सेनामा थिए । घर पूर्वी नेपालमा थियो रे । कहाँ हो भन्न सक्दिनँ । बर्मामा लडेका । पछि घर जान बिर्सिएछन् । त्यहीँ विवाह गरेछन् । तीनभाइ छोराहरु, दुईबहिनी छोरीहरु जन्मिए त्यहीँ । म चाहीँ माइलो छोरा । म पनि सानैमा परदेश लागें । थाइल्याण्ड हुँदै मलेसिया आइपुगें । घर जाने बाटो बिर्सिएँ । हिन्दुहरुले छोरी दिएनन् । बाध्य भएर मुसलमानको छोरी बिहा गर्नुप¥यो । ....अस्ति भर्खर मात्रै यै’ ठूली छोरीको करले, बल्ल–तल्ल बर्मा पुगें तर मेरा चिनारुहरु धेरैले अर्को–अर्को ठाउँमा बसाई सरेछन् । भेट हुन सकिएन.....। यो छोरीको खास नाम नूरिशाम हो । मुसलमानहरुले राखिदिएका तर मैले स्नेहले माया भनेर बोलाउँछु । ....”

मलाई कस्तो कस्तो लाग्यो । भावुक पनि भएँ । बिवशताले मान्छेलाई कहाँ देखि कहाँ पु¥याउँछ ! के बाट के बनाउँछ ! के चीज रहेछ यो बिवशता भन्ने पनि ?

खानपिन गरेपछि पनि हामी सबैजना त्यही ठाउँमा बसेर कुराकानी गरिरह्यौं । एक्कासी मायाको बाबाले भन्छन्–

“हाम्री छोरीले तिम्लाई मन परा’की छे । तिम्ले चाहीँ के भन्छौ ?”

म झसँग हुन्छु । कता–कता लाज लागेर आउँछ । मायाले मेरो बारेमा सबैकुरा भनेकी रहिछ घरमा । लजाइ–लजाइ भएपनि म स्वीकार गर्छु र भन्छु –

“म पनि मायालाई मन पराउँछु ।”

यतिञ्जेलसम्म धेरै नबोलेर बसिरहेकी मायाकी आमाको स्वर अहिले कडा सुनिन्छ । उनको अडान अझ चट्टान झैँ तेर्सिन्छ मेरो अगाडि । उनी भन्छिन्–

“नूरिशामसँग विवाह गर्न चाहन्छौ भने पहिला तिमी मुस्लिम बन्नुपर्छ । इस्लाम धर्म अप्नाउनुपर्छ ।”

उनको अरु भन्नु यो थियो–

“तिमी चाहे मस्जिद नजाऊ । चाहे इस्लाम धर्मका नियम–कानून नमान । नमाज नपढ । तर हाम्रो समाजलाई थाहा दिनका लागि तिमीले खतनाको विधि पूरा गर्नैपर्छ । नत्र हाम्रो यहाँ उठिबास हुन्छ । ....कति जनाको विरोधको सामना गर्न सकौंला हाम्ले ?”

थपमा उनको शर्त अझै कठोर थियो–

“तिमी आफ्नो देश फर्कनेछैनौ । त्याग्नुपर्छ तिमीले नेपाललाई ।”

मेरो मुटु कमजोर हुँदै गएको थाहा पाउँछु । आखिर दुई टुक्रा भइजान्छ मन–

कसरी छाड्न सक्छु अब मायालाई ? कसरी पूरा गर्न सक्छु उसकी आमाको शर्त ? ............

त्यो दिन, अर्को दिन पनि म मायाको घरमा बसें । दिउँसो ऊ कलेज गई । काममा गईन ऊ आज । छुट्टी लिएकी छु भन्दैथिई । साँझपख मैले उसलाई भनें–

“माया, ... नेपाल हेर्न चाहन्छ्यौ हैन ?”

“हो, तर ......?” ऊ जिज्ञासु भई ।

“आऊ म सँग ।”

हामी हिँड्दै नजिकको साइबरक्याफेभित्र छि¥यौं । इन्टरनेटमा मैले नेपाली वेभसाइटहरु खोलेर उसलाई देखाएँ । सगरमाथा देखेर, माछापुच्छ«े र फेवाताल देखेर माया भावुक भई । आँखाभरि आँसु भरेर मतिर फर्केर सुस्तरी भनी–

“मेरो पुर्खाहरु हिँडेको ठाउँ .....। मेरो बाजेले आफ्नोे पैतालाको डोब छाडेको ठाउँ.....। म तिमीसँगै जान्छु वासु.....। लैजान्नौ भने मलाई मारेर जानू तिमी ।.............”

हामीले एकअर्कालाई कति बेलादेखि ‘आवा’ अर्थात् तपाई भन्न छाडेछौं । अब ‘यु’ अर्थात् ‘तिमी’मा झरेछ हाम्रो सम्बोधन ।


मायाको त्यो आँसुसहितको कामना उसकी आमाको फैसलाका अगाडि निरिह बनिरहेको मैले देखें । नरमाइलो लाग्यो । घरतिर फर्कंदै गर्दा रात परिसकेको थियो । ऊ म सँग टाँस्सिएर हिँडिरहेकी थिई । उसको हात मेरो हातमा थियो । मैले भावुकतामा सोँचिरहेथें–

‘मायाको मुटुमा नेपाल धड्किरहेछ । उसको रगतमा नेपाल छ । ऊ आफै नेपालको माटोले बनेकी छे ।’

तर मायाकी मम्मीको कठोर शर्तले मेरो मुटु छिया–छिया बनाइरहेथ्यो । हामी उसको घरमा पुग्दा महिनौँ पहिले देखेको त्यो केटोलाई बैठक–कोठामा बसिरहेको मैले देखें । उसले एकपटक मतिर रिसाएको आँखाले हे¥यो, त्यसपछि मायालाई । केहीबेर बसेर, हुने–नहुने गफ गरेर ऊ गयो । सम्झना छ, सोधेको थियो त्यसले मलाई–

“तलब कति छ ?”

“चार सय एकासी । ओभरटाइम काम गरेर अलि बढी हुन्छ । ”

उसले भनेको थियो–

“कहाँ पुग्छ त्यति पैसाले ? खान पनि पुग्दैन । मर्छौ तिमी । मैले त यस्ता काम कति गरें, कति छाडें । .....”

ऊ गएपछि प्रसङ्गवश उसको कुरा उठ्यो । मायाले भनी–
“डिया सायापुयाँ सौडेरा ।” अर्थात् ९ऊ मेरो काका पर्नेको छोरो हो ।०

“के गर्छ ?” मैले सोधें ।

“के गरोस् । यता हल्लियो, उता हल्लियो । आमाबुवालाई रुवायो । त्यही त हो उसको काम । पढ्न पनि सकेन, न त नोकरी नै गर्न । लफंगा छ । काम नलाग्ने ।”

“तर तिमीलाई माया गर्छ नि हैन ?” मेरो प्रश्न ।

उसको जवाफ–

“माया ? खोई, त्यो त थाहा छैन, तर ऊ मसँग विवाह गर्न चाहन्छ ।”

मेरो मुख खुल्छ मात्र, केही आवाज निस्कन सक्दैन । मेरो आश्चर्यको कुनै सीमा थिएन त्यतिखेर । माया अझै भन्दैथिई–
“मलाई विवाह गर्ने दावेदारहरु मध्ये ऊ सबैभन्दा नजिकको हो । उसले सम्बन्ध अस्वीकार ग¥यो भने मात्र म अरुको हुन पाउँछु ।”

म कहाँ छु ? केहीबेरसम्म म आफैलाई हराइरहेको थिएँ । संसारमा कस्ता–कस्ता नियमहरु छन्, बन्धनहरु छन् । मान्छेले आफ्नो स्वार्थ पूरा गर्नका लागि बनाएको । थुक्न मन लाग्यो मान्छेका परम्परा र रीतिहरुलाई ।

अर्को दिन बिहानै म आफ्नो होस्टेलमा फर्किएँ । दिनभरि दिमाग शून्य भइरह्यो । मायाको त्यो आग्रह र आँसुसितको अनुहार, उसको बाबाको तटस्थ अनुहार अनि आमाको त्यो कत्र्तव्य र कठोरताले भरिएको अनुहार एकसाथ मस्तिष्कमा भरिन आए । उकुस–मुकुस भइरहें । तनावले हो कि सायद, टाउको दुखिरह्यो । कोही कसैको गल्ती छैन यहाँ तर पनि पिल्सिनुपरेको छ माया र मलाई किन ? किन दुःखी हुनुपरेको छ हामीलाई यसरी ?

दिनभरि पंखामुनि सुतेको थिएँ । त्यसैले होला, साँझपख ब्यूँझदा मेरो अनुहार पूरै सुन्निएको थियो । राति ड्यूटीबाट फर्केको जीवनले थाहा पाएछ, सोध्यो–

“के भयो तेरो अनुहार ? आँखा पनि सुुन्निया छ ! रोइस् कि क्या हो ?”

“म किन रुने ?”

“किन रुने !....... भाउजुसँग मलेसिया पूरै घुमिस् होला हैन ?”

स्वदेश फर्केका गाउँलेहरुले माया र मेरो सम्बन्धको कुरा घरमा सुनाइदिएछन् । बाबाको गम्भीर बोली फोनमा सुन्छु–
“जान्ने बुझ्ने तँ आफै छस् । जे गर्दा ठीक हुन्छ त्यही गर् ।”

त्यसैगरि आमाको प्रफुल्ल आवाज सुन्छु–

“केटी त नेपालीकै छोरी होे रे नि ? राम्री छे अरे हो ? ल–ल लिएर आइज । तँलाई बिहे नगरी बूढो भएको देख्नु भन्दा टाढाकै भएपनि बुहारी भए पुग्यो मलाई ।”
भाइहरुले भाउजुको फोटो पठाइदिनू भनेको पचासचोटि भइसक्यो । उनीहरुलाई के थाहा हाम्रो बिवशता यहाँ कस्तो छ ?

आखिर बिवशताको अगाडि मैले घुँडा टेकें । कति काँतर म ? कति लाछी ? बहादुर बन्न कहिले पो सकें र ! जिन्दगीमा सधैँ हार्दै आएको मान्छे म, फेरि एकपटक हारिदिएँ यसरी–

एकरात ड्यूटीअफ हुने बेलामा म आफूले काम गर्ने कम्पनीको ठूलो कम्पाउण्डको एक कुनामा सरसफाइ गर्दै थिएँ । हातमा एउटा कुचो र नजिकै फोहोर फ्याँक्ने भाँडो थियो । एक्लै थिएँ । साथीहरु पर–पर यसरी नै फोहोर बढारिरहेका थिए । म कल्पनामा डुबेको थिएँ चुर्लुम्म । हाम्रा पुर्खाहरुले यसै ठाउँमा थ्री नट थ्री उचालेर विश्वयुद्ध लडेका थिए । तिनका सन्तान हामीहरु अहिले त्यही ठाउँमा फोहोर बढारिरहेछौं ‘सापु’ समातेर । विश्वयुद्ध लडेकाहरुका छोराहरु हामी गरीबीसँग लडिरहेछांै । विडम्बना भन्ने यस्तै हुन्छ होला ।

त्यही समय माया आई आफ्नो कार चढेर । ओल्र्ही र मलाई आग्रह गरी– ऊ सँग जान । मैले जान नसक्ने आफ्नो कुरा भनें । मेरो निरस बोली सुनेर उसको अनुहार केही शङ्कालु भयो । त्यही भावमा सोधी–

“किन के भयो तिमीलाई ? मेरो घरमा जाने, अन्त हो र ?!”

“तर म जान सक्दिनँ माया ।” मेरो नजर झुकेको थियो त्यतिबेला ।

ऊ अँध्यारो भई । सम्भवतः उसका ती नयनहरुमा आँसु भरिएको थियो त्यस समय । अलि–अलि अँध्यारो भएकोले देखिनँ । थर्थराइरहेको थियो उसको बोली–

“मेरो मम्मीको कुरामा यति बढी चिन्ता गर्नुपर्दैन । हामीले एउटा लडाई शुरु गरिसक्यौं वासु । त्यो युद्ध हामीले जित्छौं हामीले । म तिमीसँग चिहानको यात्रा गर्नुपरे पनि तयार छु । ......”

“यो तिम्रो भावना हो माया, केवल भावना !”

मेरो आवाजमा कठोरताको मात्रा झन्–झन् बढ्दैगयो– “तर हामीले यथार्थको धरातलमा उभिन सिक्नुपर्छ, भावना र कल्पनाको आकाशेसंसारमा हैन । ....मलाई अब बिर्सिदिनू माया..... ।” मैले आफ्नो मुटुमा ढुङ्गा राखें ।

ऊ कराई– “त्यसो भए हाम्रो माया, हाम्रो प्रेम, हाम्रा ती वाचाहरु सबै–सबै भावना थिए ? कल्पना थिए ? यथार्थको एक अंश पनि थिएन त्यसमा ? हँ ? ....हँ ? भन त ! किन चुप हुन्छौ तिमी ? ..... म मर्न तयार छु तर आफ्नो प्रेमको विरुद्ध, संसारको कुनै शक्तिका अगाडि सम्झौता गर्दिनँ ।”

“हारेको सिपाहीसँग बहादुरीको, वीरताको कुरा गरेर समय खर्च नगर माया । मैले आत्मसमर्पण गरिसकें ।”

“को सँग ग¥यौ आत्मसमर्पण ?”

म केही बोलिनँ । एकपटक आँखा उचालेर आकाशतिर हेरें । आफूलाई स्वभाविक अवस्थामा फर्काउने मेरो प्रयास थियो तर भएन ।
माया मेरो झन् नजिक आएर भन्दैथिई–

“म भागेर तिमीसँग जान्छु वासु ! ......मलाई मन पर्ने यो ठाउँमा केही छैन । तिमीले मेरो हृदय बुझेकै रै’नछौ वासु । .... यो देशले मेरो मनमा कत्रो ठूलो चोट दिएको छ, त्यो वर्णन गरेर सम्भव छैन । जब बाबालाई मुस्लिम समुदायकै मान्छेहरुले अर्को नजरले हेर्छन्– जन्मजात मुस्लिम नभएको कारणले, तब मलाई विद्रोह गर्न मन लाग्छ । ...... मेरो हजुरबा हिन्दु हुुनुहुन्थ्यो, हजुरआमा बौद्धमार्गी । त्यो भन्दा अलग्गै कसरी म मुस्लिम भएर जन्मिएँ ? .... यो प्रश्नले मेरो मानसमा हिर्काइरहन्छ सधैँ । .... अहिले रमदानको महिना चलिरहेछ । यो उपवासको नियम कुन अर्थमा, केका लागि पालन गरिरहेछु म ? मेरो मनले स्वीकार गर्नै मान्दैन यी नियम कानूनहरु । .....”

म अवाक् भएर उसलाई सुनिरहें । अन्तमा उसले आफ्नो फैसला सुनाई–

“म तिमीसँगै नेपाल जान्छु । म भागेर हिँडिदिन्छु । कसले सक्छ मलाई रोक्न ?”

एकछिन हामी दुवैजना चुप लाग्यौं । तर ऊ सुँक्क–सुँक्क गर्दै रुन लागेकी थिई अब । मलाई लाग्यो– मेरो जीवनको सबैभन्दा नरमाइलो रात सायद यही हो । मैले गम्भीर भएर भनें–

“सक्छ माया, रोक्न सक्छ तिमीलाई केही कुराले । आफू जन्मिएको देशलाई छाडेर हिँड्न सजिलो छैन माया । ....”

यति बोल्दा–बोल्दै म आफूलाई सम्झन्छु– स्वदेश छाड्दाको त्यो दिन कस्तो नरमाइलो लागेको थियो ।

“मलाई मतलब छैन यो देशसँग ।” बीचैमा उसले प्रतिवाद गरी ।

मैले भनें– “ठीक छ । स्वदेश छाड्न तिमीलाई गाह्रो नहोला, त्यो मैले बुझें । तर तिमीलाई जन्म दिने ती बुवा–आमा, जसले तिमीलाई जन्माए, हुर्काए, प्रेमले आफ्नो छातीमा टाँसे, तिनलाई छाडेर तिमी म सँग जान सक्छ्यौ ? .... सम्झ एकछिन, ती तिम्रा भाइ र बहिनी जसलाई तिमीले हरेक क्षण माया गरेको मैले देखेको छु – ती फूल जस्ता फाइरुज र आनोकलाई तड्पाएर तिमी म सँग जान सक्छ्यौ ? त्यो पनि भागेर .....?” मेरो बोली झन्–झन् ठूलो बनिरहेथ्यो । आफैलाई नियन्त्रण गर्न नसकेको बिवश मान्छे थिएँ म त्यतिखेर ।

मैले अझै भनें–“तिमी म सँग भागेर जाने कुरा गछ्र्यौ । त्यो तिम्रो भावना हो माया । ... तर यथार्थ अर्कै छ । सोँचेकीछ्यौ त्यतातिर ? सम्झेकीछ्यौ कहिल्यै ? तिमीले केवल मलाई सम्झ्यौ, मलाई मात्र सम्झ्यौ । त्यसो हुनाले तिमीले आफ्नो कत्र्तब्य बिस्र्यौ ......।”

म चुप लागें यति बोलेर, तर मेरो अन्तर्मन चिच्याइरह्यो, चिच्याइ रह्यो–

“तैंले चाहीँ मायालाई नसम्झेको कुनै दिन थियो ? कुनै क्षण, कुनै पल थियो ?....................??”

माया
हतप्रभ भएर मेरो अगाडि उभिइरही । उसका ती कोमल आँखाले मतिर हेरे । बिवश आँखाहरु ती । एउटा नराम्रो सपनाबाट ब्यूँझेको भाव उसको अनुहारभरि थियो । चुपचाप थिई ऊ । मैले रुन्चे स्वरमा सुस्तरी भनें–

“हामीले प्रेम गरेका हौं माया, कुनै अपराध हैन । ... प्रेमको अर्को रुप नै बलिदान हो । प्रेमले सधैँ अरुलाई दिन सिकाउँछ । यो संसारमा धेरै थिए त्यस्ता प्रेम गर्नेहरु, जसले प्रेममा आफ्नो जीवन नै उत्सर्ग गरेका छन् । ....हामीले यति सानो त्याग गर्न सक्दैनौं र आफ्नो प्रेमको नाउँमा ?”

मेरो कुराले माया धर्धरी रुन लागी । मेरा पनि आँखाहरु रसाइसकेका थिए त्यतिञ्जेल सम्म । आँसु पुछेर म अझै बोल्दैथिएँ–
“माया,................... तिमीलाई सधैँ सम्झिरहने छु, जहाँ गएपनि, जहाँ भएपनि ।”

माया मेरो अँगालोमा बाँधिएर झन्–झन् रुन लागी । त्यो रात धेरै रोई ऊ । अनि त्यही आँसुमय वातावरणमा उसको आवाज मेरो कानमा प¥यो । धेरै बोलिन ऊ, यति मात्रै–

“मिन्ता माफ ।”
गर्दै नगरेको, हुँदै नभएको गल्तीको लागि म सँग क्षमा मागेर ऊ त्यहाँबाट गई ।

होस्टेलमा फर्केर पनि म हाँस्न सकिनँ । जीवनले थाहा पाएछ र खोतल्न थाल्छ मलाई । मैले सबैकुरा उसका अगाडि राखिदिन्छु, एक–एक गरेर । मेरो मनको झोलामा हाम्रो विछोडको कथा भेट्याउँछ उसले । ऊ पनि मलिन हुन्छ । अरु त उसले के गर्न सक्थ्यो र ?
म उसलाई भन्छु–

“जीवन, .........एकदिन तैँले भनेको कुरा मलाई अझै याद छ । ...तैँले ठीकै भनेको रै’छस् । ......माया नेपालकै लालीगुँरास हो । नियतिले उसलाई यहाँ ल्याइपु¥याएको छ । .....अब उसलाई सकी–नसकी यहीँ फुल्नुपर्नेछ । यहाँको घामपानीमा अभ्यस्त हुनुपर्नेछ उसले ।”

म त्यो रात एक झिमिक् निँदाउन सकिनँ । भोलिपल्ट ड्यूटीमा नगइ होस्टेलमै बसें । अरुको कथा त लेखेको थिएँ– अहिले आफ्नो कथा लेख्ने विचार गर्न पनि मलाई गाह्रो भइरहेथ्यो । तै पनि मनमनै अठोट गरें त्यो दिन– माया र मेरो बिवशताको कथालाई अक्षरमा कुद्नेछु अवश्य ।

समय बित्दै गयो । मायाले त्यो फर्निचर शो–रुमको नोकरी छाडीदिई । त्यसपछिका दिनहरुमा ऊ सँग भेट हुन पनि गाह्रो छ । फोनमा भेट्छांै हामी । तर अब प्रेमका ती भावुक कुराहरु, गफहरु हुन छाडेका छन् हामी बीच । बरु त्यो ठाउँमा कत्र्तब्यले आफ्नो अधिकार जमाइसकेको छ । फोनमा ऊ भन्छे–

“नेपाल फर्केपछि तिमीले मलाई भुल्छौ होला, हैन ?”

कहिले भन्छे–

“बिवाह गरेपछि दुईजनाको फोटो पठाइदिनू ल ।”

कहिले कुरा गर्दागर्दै उसले हिँक्का छाडेर रोएको सुन्नुपर्छ मैले । म हतास हुन्छु । सम्झाउने प्रयास गर्छु उसलाई । रुँदै–रुँदै भन्छे ऊ–

“तिमीसँग बिताएका दिनहरुको सम्झनाले यो मुटुमा काँडाले झैँ बिझाउँछ वासु ! कहाँ गएर बिर्सुं तिमीलाई ? ....”

म बिवश प्रेमी, र अझ स्पष्ट भनौं– कायर प्रेमी, आफ्नो हृदयको धड्कन टाढा–टाढा गइरहेको हेरिरहेछु आँखाले । चेतना पनि सचेतै छ तर म केही गर्न असमर्थ छु । बिवश छु । कायर छु । बिवशताले मलाई कायर बनायो कि कायरताले मलाई बिवश बनायो ?

बुझ्न खोजेर पनि त्यसको कुनै अर्थ छैन, महत्व छैन अब ।

अर्घाखाँची

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 22 आश्वीन, 2068

लेखकका अन्य रचनाहरु