एउटा अनौठो भेट

- विश्वराज अधिकारी

मैले उनको दुवै हात समाते। मेरो त्यस्तो व्यवहारबाट उनले असजिलो नमानेकोले ती दुवै हातलाई मैले मेरो गालासम्म पुर्याए। फेरि कुनै विरोध भएन। म अलि बढी नै उत्साहित भए। मैले मेरो दाहिने हात उनको कांधमा राखे। उनको काँधमाथि राखेको मेरो हातलाई उनले विस्तारै आफ्नो दाहिने हातले समातिन्। मैले विस्तारै भने - म आज डराउदिन। म आज मनमा के लागेको छ पूर्णरुपमा व्यक्त गर्न चाहन्छु। उनले केही पनि बोलिनन्। मैले उनको हात समातेर विस्तारै टेबुलतिर ल्याए। हामी दुवै मेचमा बसौं।

उनले अर्थात शुष्माले विस्तारै भनिन् ‘कहिले आउनु भयो’?

मैले छोटो उत्तर दिए – एक हप्ता भयो।

शुष्माले फेरि सोधिन ‘अलि दिन बस्नु हुन्छ होला?’

मैले भने - बस्छु। अझै अलि प्रष्ट पारे – म एउटा युनिभर्सिटीमा पढाउँछु। युनिभर्सिटी अहिले बन्द छ, क्लास हुँदैन। एक महिना जति बस्छु होला।

शुष्माले सोधिन ‘परिवार पनि ल्याउनु भएको छ’?

म एक्लै आएको छु। आउन त्यस्तो कुनै जरुरी पनि थिएन। तर किन हो मन एकदमै व्यग्र भयो। एकचोटी काठमाडौ जाउ जाउ जस्तो लाग्यो। त्यसैले आएँ। तर आएकोमा एकदम सन्तुष्ट छु म, मेरो यो भनाइ सक्याए पछि मैले शुष्मातिर पुलुक्क हेरे। उनी मतिर हेर्दै थिइन। मैले पनि उनको आँखामा आँखा राख्दै हेरे। एक छिनसम्म हामीले एक अर्कालाई हेर्यो।

मैले भने – ती दिनहरु कति रमाइला थिए, जब हामी बीरगंजमा थियौ, है। मेरो डेरा र तिम्रो घर आमने सामने थियो। दिनमा दसौ पटक हाम्रो भेटघाट हुन्थ्यो। अहिले सम्झिंदा पनि मन सिमलको भुआ जस्तो उडन थाल्छ अतितको आकाशमा। तिमीलाई मेरो कोठामा आउन कुनै प्रतिबन्ध थिएन तिम्रो परिवारबाट। म एक त तिम्रो परिवारको टाढाको नातेदार दोस्रो तिमीले मसँग ट्युसन पढ्ने बाहाना। कति पटक हामी संगै घुम्न निस्केका थियौ। विर्ताबाट हिंडेर हामी ठाकुर राम क्याम्पससम्म पुग्ने गर्थौ। सम्झ त ती दिनहरु।

यति भनेर म एक छिन चुप लागे। शुष्मा मेरो कुरा सुनेर हांस्दै थिइन। मैले फेरि भने ‘ शुष्मा तिमीलाई याद छ एक चोटी साँझमा घुम्ने क्रममा हामी माईस्थान मन्दिर, गीता मन्दिर, महावीर स्थान, अलखियामठ घुम्दा धेरै ढिलो भएको थियो। झमक्क साँझ नै परेको थियो। तीमी निकै हडबडाएकी थियो घर पुग्न। माईस्थान मन्दिरबाट बिर्ता जान रिक्सा नपाएर कति गार्हो भएको थियो, याद छ तिमीलाई?

मेरो कुरा सुनेर शुष्मा हाँसिन। मतिर हेर्दै भनिन ‘अहिले त्यो दिनको घटना सम्झिंदा घरमा गएर गाली खानु पर्ने हुन्थ्यो भन्ने डर भन्दा पनि त्यो रोमान्चक समय याद आउँछ। मन पुल्कित हुन्छ’।

शुष्माले रेष्टुरेन्टको झ्यालतिर हेर्दै भनिन ‘एक दिन तपाँइको कोठामा म निकै बेर बसेको बिर्सिनु भयो नि?’

मैले भने – के को बिर्सिनु। तिमीले त्यो दिन भनेको ‘हेर्नुस, हामी केवल दुइ जना मात्र, त्यो पनि ढोका बन्द गरेर, यसरी बसेको कसैले देखे भने के भन्लान, मलाई त डर र रोमान्चक दुबै लागिरहेछ’ अहिले पनि याद छ। मैले पनि त भनेको थिएँ नि भन्नेले भन्दै गर्छन। भन्नेहरुको परवाह गरेर पनि साद्दे चल्छ र?

शुष्माले प्रशंग परिवर्तन गर्दै भनिन ‘आजभोलि कहाँ बस्नु हुन्छ नि? नेपालमा त हुनु हुन्न भन्ने सुनेको थिएँ। तर कहाँ बस्नु हुन्छ भन्ने चाँहि थाहा छैन’।

मैले जबाफ दिएँ ‘युरोपको एउटा युनिभर्सिटीमा पढाउँछु। नेपाल छाडेको त निकै भयो।

मैले फेरि भने- ठाकुर राम क्याम्पसबाट बि कम गरे पछि म काठमाडौ गए। यस्तै २०३७ साल तिर हुनु पर्छ। त्यस पछि काठमाडौमा बसेर, ४१ हो या ४२ सालमा, त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स गरे। ४५ सालमा म थाइलैण्डको राजधानी बैकक गए, मास्टर्स गर्न। २०५० सालमा मास्टर सक्याएर नेपाल फर्के। नेपालमा यस्तै एक वर्ष जति बसेको हुँला म, फेरि यु यस ए गए पि यच डि गर्न। २०५५ सालमा पि यच डि सक्याए। चार वर्ष जति यु यस ए को एउटा युनिभर्सिटीमा पढाए, अहिले भने युरोपमा छु। फ्रान्सको पेरिसमा।

मेरो लामो भनाईलाई टुङ्ग्याउँदै मैले सोधे- अनि तिमी के गर्दै छेउ नि शुष्शमा? यति भनेर मैले उनको मुहारमा केहि बेर घोरिएर हेरे पनि। शुष्माले पनि मेरो मुहारमा केही बेर हेरि रहिन।

एकै छिन घोरिएर हेरे पछि उनले भनिन ‘ मैले पनि ठाकुरराम क्याम्पसबाट, २०४२ साल तिर हुनु पर्छ, बि ए सक्याए। ४३ सालमा काठमाडौ आएँ। एम ए पढ्न। ४८ सालतिर मैले एम ए सक्याए, त्रिभुवन विश्वविद्यालयबाट। एक दुइ वर्ष यता उता अल मल भयो। ५० साल देखि एउटा प्राइभेट क्याम्पसमा पढाउँदै छु, काठमाडौमा नै। भैसेपाटीमा एउटा सानो घर पनि छ’।

शुष्मा केहि क्षण चुप लागिन। मतिर पुलुक्क हेरिन। म एकटकले उनको मुहार तिर नै हेर्दै थिए। उनले मेरो आँखामा आँखा राख्दै भनिन ‘ बीरगंजबाट काठमाडौ पढ्न आए पछि त तपाँइले चटक्क नै बिर्सिनु भयो नि। एक चोटी पनि मेरो बारेमा कुनै जानकारी लिनु भएन। न त बीरगंजमा नै मलाई भेट्ने कोशिस गर्नु भयो न त काठमाडौमा नै म कहाँ छु भनी पत्ता लगाउनु भयो। बल्ल अहिले आएर भेट हुँदैछ, सँगै हिंडेको, सँगै पढेको उन्नतिस, तिस वर्ष पछि। तिन दशक सम्म हाम्रो भेट हुन सकेन’।

म चुपचाप शुष्माको कुरा सुनिरहेको थिएँ। उनले बोलेको मलाई अति नै रमाइलो लागिरहेको थियो। शुष्माको कुरा सन्दै गर्दा म स्मृतिको गंगामा डुबेर पुगेको थिएँ आफ्नो त्यो विद्यार्थी जीवनमा जहाँबाट शुष्मा र मेरो भेटघाटको शिलसिला शुरु भएको थियो। शुष्मालाई मैले पहिलो चोटी बीरगंजको माईस्थान मन्दिरमा अष्टमीको मेलामा साँझको समयमा देखेको थिए। त्यति खेर मेरो डेरा रानीघाटमा थियो। पछि डेरा सर्ने क्रममा संयोग नै भन्नु पर्छ शुष्माको घर छेउमै पुगें म। यो घटना २०३२ सालतिर को हो। शुष्मासँग मेरो परिचय औपचारिक किसिमले भने २०३२ सालमा भएको थियो, जब म उनको घरको नजीकको घरमा डेरा लिन पुगेको थिए। औपचारिक परिचय हुने माध्यम थियो ट्युसन। यस यल सि को परीक्षा दिन पर्ने थियो शुष्माले। उनको गणित कमजोर भएकोले ट्युसन पढ्नु पर्ने उनको बाध्यता थियो। उनको बुआलाई मेरो गणित निकै राम्रो छ भन्ने थाहा भएकोले मैले उनीलाई ट्युसन पढाउने काम जुरेको थियो। उनीलाई ट्युसन पढाउने क्रममा नै हाम्रो परिचर सामान्यबाट अलि असामान्य हुन पुगेको थियो।

शुष्मा चुप लागिन। मतिर हेर्दै भनिन ‘साँच्चै किन एक चोटी पनि भेट्ने कोशिस गर्नु भएन, हँ?’

शुष्मातिर हेर्दै मैले मधुर आबाजमा भने- त्यति खेर ममा पढ्ने धुन यति बढी सवार भएको थियो कि यता उता केही हेर्न भ्याइन। जहिले पनि मेरो अगाडि कसरी राम्रो विश्वविद्यालबाट डिग्री लिन सकिन्छ भन्ने उद्देश्य नै तेर्छिरह्यो। मैले त विहे पनि अलि ढिलो गर्नखोजेको थिएँ तर मैले न गरे भाइको पनि विहे रोकिने भएको हुनाले ४४ सालमा बिहे गरे। मेरो त नाति नातिना पनि भइसके। मेरो एउटी छोरी र एउटा छोरा छन उनीहरु पनि उतै बस्छन।

बोल्दा बोल्दै म एक्कासी रोकिए। केही सम्झे झै गरी भने- अनि शुष्मा तिम्रो विहे ……………?’ मेरो भनाइ पुरा पनि हुन पाएको थिएन बिचमै रोक्दै शुष्माले भनिन ‘यो उमेरसम्ममा पनि कहीँ बिहे नभएर रहला त कोइ? मेरो विहे पनि २०४६ सालमा भयो। काठमाडौमा बिहे भयो मेरो। वहाँको नाम रमेश हो। एरेन्ज मैरिज भएको हो हाम्रो। वहाँको बुआ र मेरो बुआको पूर्व परिचय थियो। मेरो पनि एउटा छोरा छ। त्यो पनि अठार उन्नाइस वर्षको लाडे जवान भइ सक्यो।

शुष्माको भनाई सकिए पछि फेरि हामी दुइले एक अर्कालाई हेर्यौ। एक अर्कालाई हेरिनै रहेर निकै बेरसम्म हाँस्यौ पनि। हामी जोड जोडले हाँसेको देखेर रेष्टुरेन्टमा भएकाहरु हामीलाइ अनौठो किसिमले हेर्दै थिए। हाम्रो हाँसो तिर एकै छिन ध्यान दिए पछि उनीहरु आफ्नै धुनमा लागे। त्यो रेष्टुरेन्टमा मेरो आग्रहमा नै शुष्मा मलाई भेट्न एक्लै आएकी थिइन। उनले त आफ्नै घरमा भेट्न आउन जोड गरेकी थिइन तर उनको घरमा खुलेर कुरा गर्न नसकिने हुनाले नै मैले त्यो रेष्टुरेन्टमा आउन आग्रह गरेको थिएं। उनको घरको फोन नम्बर बल्ल बल्ल पत्ता लागेको थियो। झन्डै तिन चार दिनको प्रयास पछि। मैले फोनमा कुरा गर्दा शुरुमा मलाई चिन्न शुष्मालाई निकै गार्हो भएको थियो। आफ्नो बारेमा छोटकरीमा बताए पछि मात्र उनीले मलाई चिनिन। तर फोनमा कुराकानी भइरहँदा उनी निकै आश्र्चर्यमा पनि परिरहेकी थिन। उनले पटक पटक भनेकी थिइन ‘धेरै दिन पछि सम्झिनु भयो नि। मलाई त तपाँइले…….. मलाई बिर्सि सक्नु भयो जस्तो लागेको थियो’।

लामो समय पछि शुष्मालाई भेट्दा मलाई अति नै रोमान्चक लागिरहेको थियो। कुराको सिलसिला जति अगाडि बढ्दै थियो म त्यति नै उनीसँग बिताएका बिगतलाई सम्झिरहेको थिए।

कुराकानीको क्रम एकै छिन रोकियो। तर हामी एक अर्कालाई नै हेरिरहेका थियौ। हामीले एक अर्कालाई हेरिरहेको क्रममा नै शुष्माले आफ्नो मुहारमा जिज्ञासा भाव झल्काउँदै भनिन ‘अँ साँच्यै, तपाँईले अघि भन्नु भयो को थियो नि, म आज मनमा के लागेको छ पूर्णरुपमा व्यक्त गर्न चाहन्छु, भन्नुस न त तपाँइको मनमा के लागेको छ’।

शुष्मातिर घोरिएर हेर्दे मैले भने – मेरो कुरामा माइन्ड त गर्दिनौ शुष्मा? तर आज तिमीले माइन्ड गरे पनि म भनेर छाड्छु त्यो कुरा बाँकी राख्दिन। र सकिरहेको छैन मनमा त्यो शूल पाल्न। र अब उप्रान्त शक्तिन पनि पाल्न। अति भयो। आफूले आफैलाई धिक्कार भन्दै छु, वर्षौदेखि। आज …………………..’।

मेरो भनाइ पुरा नै भएको थिएन, बीचमै शुष्माले प्रश्न गरिन ‘के हो त्यस्तो शूल तपाँइको मनमा गाडिएको?

शुष्माको प्रश्नको उत्तरको रुपमा मेरो मुखबाट झ्वाट निस्क्यो – शुष्मा म तिमीलाई प्रेम गर्छु। गर्थ्ये, गर्छु र गरिनै रहने छु। रियली आइ लभ यु शुष्मा। यस आई डु।

मेरो उत्तर सुनेर उत्तेजित हुँदै शुष्माले भनिन ‘एक तिस, बत्तिस वर्ष पहिले किन भन्नु भएन यो कुरा। अहिले भनेर के फाइदा। त्यो बेला भनेको भए हुन्थ्यो नि, जनु बेला …………….। एक चोटी बगेको खोलाको पानी फेरि फर्किएको छ, कहिले? देख्नु भएको छ कहिँ कहिले त्यस्तो?’

शुष्माको कुरामा मैले कुनै प्रतिक्रिमा व्यक्त गरिन। म शान्त बसे। मेरो मनले निकै ठूलो बोझ हल्का भएको महसुस गरिरहेको थियो। मेरो छाती माथि रहेको जाँतो कसैले झिकिदिएको जस्तो लागिहरेको थियो मलाई। तिस बत्तिस वर्ष पहिले त्यो कुरा भन्न नसकेकोमा म आफै हिनताबोध ले ग्रसित थिएँ। त्यो एउटा सम्वाद – शुष्मा म तिमीलाई प्रेम गर्छु भन्न न पाएकोमा मैले आफैले मेरो नाम हुत्तिहारा, लाछि, कायर के के राखेको थिएँ, के के। तर त्यो सम्वाद बोले पछि भने म मा त्यसै त्यसै अनौठो किसिमको आत्मविश्वास जागृत भएको थियो। मेरो मनले मलाई आत्म सम्मान दिइरहेको थियो। म प्रशन्न थिए, पुल्कित थिए। म कायर होइन, म लाछि होइन, म हुत्तिहारा पनि होइन भन्ने मेरो मान्यता निर्वलताबाट सबलतातिर उन्मुख हुँदै थियो। रेष्टुरेन्टमा बजिरहेको संगित मेरो लागि कर्ण प्रिय हुन पुगेको थियो त्यो समय बिन्दुमा। त्यो संगित बजिसके पछि एउटा गित एक कलाकारले गाउन थाले। मलाइ पहिले त्यो गित पट्कै मन पर्थेन। तर त्यति खेर किन हो मलाई त्यो गीत अति मन पर्यो। मनमा उमंगका छालहरु आइरहे। म आनन्दको सागरमा डुबिरहेको थिए। डुबिरहेको थिए। शुष्माले मलाई हेरिरहेकी थिइन। तर उनको मुहारमा कुनै प्रशन्नता झल्किरहेको थिएन। म भने अति प्रशन्न थिए। म कुनै बेला स्टेजमा प्रस्तुत भइरहेको गित र नृत्य हेरिरहेको थिए भने कुनै बेला शुष्मातिर। म चुपचाप थिए। शान्त थिए। सन्तुष्ट थिएँ। भन्ने हो भने एक किसिमले त्यो एउटा सम्वाद बोल्न भनेर नै म युरोपबाट काठमडौ झरेको थिए र शुष्मालाई भेट्न पुगेको थिए।

एकाएक मेरो मनमा के आयो, मैल शुष्मालाई प्रश्न गरे - शुष्मा तिमीले पनि त कहिले त्यस्तो …………………मलाइ भनिनौ नि?

मेरो प्रश्न सुन्ने बितिक्कै शुष्माले भनिन ‘मलाई के थाहा तपाई मलाई कुन दृष्टिले हेर्नु हुन्थ्यो, त्यो बेला, केवल एक छात्राको रुपमा, एक परिचितको रुपमा, या केवल एक मित्रको रुपमा। मैले थाहा नै पाउन सकिन। तपाँइले मलाइ कुन दृष्टिले हेर्नु हुन्छ भन्ने कुराको म केवल अनुमान मात्र लगाउँथे, प्रष्ट हुन भने सक्थिन। तपाँइले पनि त भन्नु भएन न नि तपाँइको मनमा के छ भन्ने कुरा। तपाँइको म प्रतिको दृष्टिकोण बल्ल अहिले तिस ,बत्तिस वर्ष पछि थाहा पाउँदै छु’।

रातको झन्डै नौ बज्न थालेको थियो। हामी उठ्यौ। हामी हिड्न मात्र के आंटेका थियौ, एक दम्पत्ति हाम्रो अगाडि देखा परे। हाम्रो नजिक आएको ती दम्पतितिर हेर्दै शुष्माले मलाई भनिन ‘ मेरो साथी रिता र उनको श्रीमान निरज। यति भने पछि उनले मतिर हेर्दै ती दम्पतिलाई भनिन ‘वहाँ …………………मदन……………………अँ अँ अँ मदन शर्मा। मलाइ के भनेर सम्वोधन गर्ने भनी शुष्मालाई निकै अलमल भएको मलाई लाग्यो। एकै छिनको कुराकानी पछि हामी चारै जना सडकतिर लाग्यौ। मलाई भने तिस बत्तिस वर्ष पहिले वीरगंजको सडकमा शुष्मासंग हिंडेको भान भइरहेको थियो। मेरो मनमाथिको जाँतो पूर्ण रुमपा हटिसकेको थियो, त्यसको अवशेषसम्म पनि बाँकी थिएन।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 8 आश्वीन, 2068

लेखकका अन्य रचनाहरु