डायस्पोरा फेसन

- महेश पौड्याल

केही वर्ष अगाडि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले होटेल सोल्टी क्राउन प्लाजामा एउटा कार्यक्रम राख्यो, र त्यसमा डायस्पोरासम्बन्धी कार्यपत्र प्रस्तुत गरियो । कार्यपत्रले नेपाल बाहिर बसेर लेख्ने नेपालीलाई डायस्पोराको प्रमाणपत्र त दियो नै, होमनाथ सुबेदीको नेतृत्वमा अमेरिकामा भइरहेका प्रयासहरूलाई नेर्तत्वदायी तुल्याइदियो । २००९ मा अमेरिकाको न्यूयोर्कमा भएको प्रथम अन्तर्राष्ट्रीय नेपाली साहित्य सम्मेलनका सन्दर्भमा ११ अगस्त २००९ मा नेपालन्यूज डटकमले उनै होमनाथ सुबेदीसँगको एउटा अन्तरवार्ता प्रकाशित ग¥यो, जसको भूमिकामै भनियो, नेपाली डायस्पोरा साहित्यको “क्रिएसन” अर्थात निर्माण पछाडिको उर्जा भनेकै उपन्यासकार, कवि र समाजसेवी होमनाथ सुवेदी हुन् । केही वर्षपछि सुनियो, को डायस्पोरा हो र को होइन भन्नेबारेमा त्रिभूवन विश्वविद्यालयमा ठूलै बहस भयो रे, कुन्नि कुन मार्गबाट कसकसका उपन्यास पठ्यक्रममा परे रे, र विवाद पनि भयो रे ।

गुगल डटकममा नेपाली डायस्पोरा लेखनका बारेमा “सर्च” गर्दा धेरै साइटहरू भेटिन्छन् । खोलेर हे¥यो कुनै पनि आधिकारिक, प्राज्ञिकरुपले प्रमाणित, सोध–अनुसंधानमा आधारित र विधिवत पञ्जीक्रित अध्ययन केन्द्रले प्रकाशित गरेका विश्वसनीय सामग्री पाइँदैनन् । जुन खेल्यो, आत्मजर्गनका स्वरहरू । उही खसीको सातपत्रेजस्तो, जता पल्टाए पनि गोबरै ।

नेपाली डायस्पोरा सशरीर छन्, विवाद छैन । नेपाली डायस्पोरा साहित्य पनि छ, मान्नुपर्छ । तर अहिले नेपाली डायस्पोरा साहित्यको स्वयंभू बिल्ला भिरेर हिँड्नेहरू डायस्पोराको सैद्धान्तिक कसीमा खरा उत्रन सक्छन् कि सक्दैनन्, शङ्काको विषय हो । विश्वसाहित्यमा डायस्पोरा राइटिङ् एक प्रकारको फेसन बनेको छ, विशेष गरी उत्तरऔपनिवेशिक कालखण्डमा । धेरैलाई डायस्पोरिक लेखन भनेको उत्तरऔपनिवेशिक साहित्यको एक पाटो हो भन्ने भ्रम पनि छँदै छ । सिद्धान्ततः को हुन डायस्पोरा, के हो डायस्पोरा लेखन, र के नेपाली डायस्पोराको बिल्ला लाउने स्वयंभूनाथहरू वास्तविक डायस्पोरा लेखक हुन् कि हैनन् भन्ने केही सैद्धान्तिक प्रश्नमा छलफल गर्नु यस लेखको उद्देश्य हो ।

विश्वसाहित्यले “डायस्पोरा” भन्ने शब्द ग्रीक भाषाबाट सापट ल्याएको हो । यसको मूल अर्थ हुन्छ, बारीमा बिउ छरिएजस्तै छरिनु । उहिले सम्राट सिकन्दरकै पालादेखि यहुदीहरू पश्चिम एसियाबाट युरोप हुँदै ग्रीस पुग्थे र उतै बस्ने गर्थे । ती अनागरिकहरू उताका बासिन्दा बन्थे, र माया उनीहरूको जन्मभूमिलाई गर्थे । चाखलाग्दो विषय यो छ, विश्वमानचित्रमा यहुदीहरूकै लागि भनेर बनाइएको राष्ट्र इज्राइलको जन्मभन्दा दुई सहश्राब्दी अघि नै यहुदी डायस्पोराको जन्म भएको थियो । डायस्पोरा हुनका लागि पितृभूमि हुनु, र त्यो छोडिनु सिद्धान्ततः कति आवश्वयक छ भन्ने प्रश्नलाई यस यथार्थले एकपल्ट जटिल बनाइदिएको छ । तै पनि, डायस्पोरिक पहिचानको सैद्धान्तिक चर्चाका लागि पितृभूमिको आवश्यक्तालाई जायज मान्नुपर्छ ।

आफ्नो पितृभूमि छोडेर पराया मुलुकमा बसोबास गर्नेहरू आप्रवासी हुन, या प्रवासी हुन् । सबै प्रवासी डायस्पोरा हुँदैनन् । को डायस्पोरा हो र को हैन भन्नेबारेमा जानकारहरूमाझ बहस भएको भएकै छ । डायस्पोराका सम्बन्धमा प्राज्ञिकरुपले मान्य केही अवधारणाहरूको चर्चा गर्नु यहाँनिर आवश्यक ठान्छु ।

डायस्पोरा साहित्यका विख्यात सिद्धान्तकार विलियम सफ्रानले बनाएका मान्यताहरूलाई विश्वव्यापीरुपमै मानक भनिएको छ । उनका अनुसार डायस्परा स्वयं या तिनका पुर्खा आफ्नो पितृभूमिबाट कम्तीमा दुई अन्य मुलुकका मूलधारको सामाजिक, सांस्कृति जीवनभन्दा बाहिरको भूगोलमा पलायन भएका, फगत एक सामूहिक स्मृितमा पितृभूमि, यसको सपना र मिथकहरूलाई सुरक्षित राखेका, नयाँ गन्तव्य राष्ट्रको मूलधारमा प्रवेश पाउन सकिँदैन भन्ने मनोविज्ञानले ग्रसित भएकै कारण निशेधित र अवहेलित भएको अनुभव सँगालेका, इतिहासको कुनैनकुनै कालखण्डमा एकमात्र साँचो भूगोल उनीहरूको पितृभमि फर्कन्छौं भन्ने अठोट पालेका, पितृभूमि फर्कने आफ्नो नैसर्गिक अधिकारको बोध भएका र त्यसका लागि संगठित रुपले संघर्षरत रहेका, र अन्तमा पितृभूमिसँग कुनैनकुनै रुपको सांस्कृतिक सम्बन्धलाई अक्षुण्ण राखेका । सफ्रानका यी अवधारणाहरूमा फ्रेडेरिक बार्थले १९७६ मा थपे, “छरिएका डायस्पोराहरूले शताब्दीऔंदेखि एउटा अलग, र असंगठित समाज बनाएर बसेका हुन्छन् ।” रोगर्स ब्रुबाकरले २००५ मा थपे, “डायस्पोराहरू सधैँ प्रवासमा एकप्रकारको दूरी स्थापित गरेरै बस्न चाहान्छन् र यो प्रक्रिया लामो समयसम्म निरन्तर रुपमा चल्छ र डायस्पोराहरूका एक पुस्ताबाट अन्य पुस्ताहरूमा सर्ने गर्दछ । अर्थात, यो दूरीको मापन दोस्रो, तेस्रो र पछिका अन्य पुस्ताहरूमा गर्न सम्भव हुन्छ ।”

यी सैद्धान्तिक तर्कहरूको निचोडमा भन्न सकिन्छ, डायस्पोरा दशकौंदेखि विदेशिएका, न यताका रहेका न उताका भएका, सम्झनाका पटलमा देश, भाषा र संस्कृतिलाई सामूहिक रुपमा सजाएर राखेका, देश फर्कने सपना पालेका तर सम्भावना न रहेका, पितृभूमिसँग फगत एक प्रकारको संस्मरणात्मक, सांस्कृतिक सम्बन्ध राखेकाहरू असली डायस्पोरा हुन् । अझ असली डायस्पोरा ती हुन जो आफू गएका नभएर तिनका पुर्खा गए विदेश, र उतैका भए ।

जहाँसम्म नेपाली डायस्पोराको प्रश्न छ, एउटा स्पष्टीकरणबाट सुरु गर्छु । डायस्पोरा भन्नाले दूरदेश अर्थात युरोप, अमेरिका, जापान या कोरिया गएकाहरूलाई मात्रै बुझ्ने परम्पराबाट मुक्ति लिनुपर्ने हुन्छ । इतिहसको रापले पोलेर, साशन सत्ता र जातीय हिंसाको चपेटमा परेका, बाढीपहिरोले धपाएर भागेका, मजदूरीकालागि भूटान र भारत पसेर उतै बसेका नेपालीहरू असली डायस्पोरा हुन् । उसो भए डायस्पोरासम्बन्धी विमार्शमा यिनीहरूको नाम किन आउँदैन र सधैँ अमेरिका, रसिया या बेलायतमा बस्नेहरूको मात्रै किन आउँछ? राष्ट्रीय राजनीतिमा पहुँचवालाहरूको नाम आएजस्तै हो । राजनीतिमा सबैले एकै भोट हालेपनि निमुखाहरूको नाम आउँदैन । कुरा उस्तै–उस्तै हो ।

सबैभन्दा धेरै र सैद्धान्तिक दृष्टिले पनि साँचा नेपाली डायस्पोरा भारतमा छन् । १९१६ को सुगौली सन्धीपश्चात भारतमा पर्न गएका सिक्किम, दाजीलिङ्, सिमला, नैनीताल, कुमाउँ र गडवालका नेपालीहरू रैथाने हुन् तर डायस्पोरा हाइनन्, यद्यपि उनीहरूको उसताकको विशुद्ध नेपाली सस्कृतिमा केही परिवर्तन आएको हुनसक्छ । तर भारतका अन्य राज्यका नेपालीहरू डायास्पोरा हुन् । सन्धीपूर्वको नेपाल र अङ्ग्रेज शासित भारतबीचको युद्ध हारे पनि नेपालीहरूले देखाएको साहसबाट प्रभावित अङ्ग्रेजले उडिसाको कटकमा नेपाली युवाहरूमात्र संलग्न एउटा छुट्टै गोरखा पल्टन बनायो । सन १९१९ मा बर्माले भारतको असममा आक्रमण गर्दा भारतको कटकमा अवस्थित गोरखा पल्टनका जवानहरूलाई परिचालित गरियो, र त्यो युद्ध जितियो । त्यसपछि ती सैनिकहरूका सन्तानलाई पनि भारतीय सेनामै भर्ना गर्न पाइयोस् भनेरा घरभिट्टा दिई आसाममा बसाइयो । १९५० तिर असमको ब्रह्मपुत्र नदीको वरिपरि भीषण बाडी आउँदा केही नेपाली भागेर मेघालय, अरुणाचलप्रदेश र मणिपुर पसे, र तीमध्ये कति देशै काटेर बर्मा पुगे । मणिपुरका राजा चुराचान्द सिँहले नेपाली राजकुमारी इश्वरी देवीलाई बिहे गरेर लाँदा उनको दइजो र मालमत्ता बोक्न र बाटोमा सुरक्षा सुनिश्चित गर्न खटाइएका नेपालीहरू फर्केनन्, उनीहरू उतैका भए । जहाँसम्म भुटानको प्रश्न छ, १६२० मा भूटान नरेश साबद्रुङ् गावाङ् नाम्ग्याले उनका पिताको अस्ती राख्नका लागि चाँदीको स्तुप बनाउन नेपाली कालिगडलाई काठमाडौँबाटै झिकाए । पछि १६३४ मा भूटनको एकीकरणपश्चात ल्होत्साम्पा अर्थात दक्षिणबासीहरू भनेर नेपाल र भारतबाट कामदारहरू भित्र्याइए । १८८० तिर आउँदा यी धेरैजसो नेपाली कामदारका परिवारलाई भुटान सरकारकै पहलमा बासोबासको मेसो मिलाइयो । यो बसाइको ठीक सयवर्ष पछि, अर्थात १९८० मा आइपुग्दा भुटानको कुल जनसङ्ख्याको २८ प्रतिशत नेपाली थिए ।

इतिहासकै कारण बिदेसिएका नेपालीहरू हङ्कङ् र बेलायतमा पनि छन् । दुवै विश्वयुद्धमा, र त्यसपछि पनि बेलायती सेनामा कार्यरत गोर्खाहरूलाई सेवापश्चात होङ्कङ्मा, र १९९७ सम्ममा अवकास लिएका सैनिक र तिनको परिवारलाई पनि आधिकारिक रुपमै बेलायतमा बसाउने व्यवस्था गरियो । यसरी हेर्दा हङ्कङ्का नेपालीहरूको इतिहास लामो छ । बेलायती सेनाकै माध्यमबाट सिङ्गापुर र ब्रुनेइमा बस्न पुगेका अल्पसङख्यक नेपालहरू डायस्पोरा हुन् ।

हिजोआज पढ्नका लागि जापान, बेलायत, नोर्वे, फिनलेण्ड, अस्ट्रेलिया, अमेरिका लगायतका देशमा जाने फेसनै चलेको छ । केही कामका लागि कोरिया, मलेसिया, भारत र खाडी देशहरूमा जाने चलन छँदैछ । यिनीहरू सिद्धान्ततः डायस्पोरा हैनन् । पढन र काम गर्न विश्वको कुनै कुनो त के, सकिन्छ भने चन्द्रमा गए पनि हुन्छ । अर्का थरी मान्छे छन् जो डिभी परेर होस, या अन्य कारणले नेपाली नागरिकता त्यागेर अन्य देशका भएका छन् । उनीहरू नेपालसँग स्मृति र विस्मृतिको दोसाँधमा बाँच्दैनन् । बार्थले भनेजस्तो उनीहरूसँग सतकौँको दूरी छैन पितृभूमिसँगको । दुख्दो हो देश, लाग्दो हो आमाको माया, तर उनीहरू डायस्पोरा हैनन् । उनीहरूका सन्तान डायस्पोरा हुनेछन् ।

जहाँसम्म नेपाली डायस्पोरिक साहित्यको प्रश्न छ, अनुसन्धानले नछोएका, चर्चामा नआएका, नाम नचलेका, प्रकाशित हुन नभ्याएका या नसकेका, पहुँच नभएका असङ्ख्य आप्रवासी नेपालीका आलेखका खेस्राहरू संकलन गर्नुपर्छ । भूटानको स्थिति फेरिएको छ अहिले, नेपालीहरू इतिहासको क्रूर नियतिको चपेटमा छिन्नभिन्न बने । १९८० तिर बेदनिधि उपाध्यायले लेखेको काव्यको अध्ययन हुनुपर्छ, र आकलन गरिनुपर्छ कति दुखेको छ देश । मेघराज अधिकारी, श्याम राई र लेकनाथ प्रधानका काव्यहरूलाई ब्यूँझाउनुपर्छ । डायस्पोराको सूचीमा नाम लेखाउनैका लागि डायस्पोरा लेख्ने आजभोलिका छद्म डायस्पोराभन्द पृथक अवचेतनबाटै अभिव्यक्त भएर आउने डायस्पोरिक गन्ध छ ती कवितामा । कहिल्यै नसुनिएको नाम हुन सक्छ मणिपुरका पदमबहादुर राइको । कतिले बिर्र्सिए चन्द्रेश्वर दुबेलाई । अनुसन्धान गर्नेहरूले भेटे भेटेनन् आलोक गौतमको नाउँ । लिलबहादुर क्षेत्रीको ब्रह्मपुत्रको छेउछाउको नाम आउँछ आउँदैन डायस्पोराको कार्यपत्रमा? सिलङ्का बिक्रमबीर थापासँग औषधी किन्ने पौसा अहिले पनि छैन सायद । बेचेर भन्दा पनि बाँडेर सके उनले आफ्नो उपन्यास “विगतको परिवेशभित्र” । उतैतिर भासिए नब सापकोटा । त्यसै मरेर गाइन आशारानी राई । कसले टिप्न भ्यायो तुलाचन आलेको नाम, जसले विदेशी भूमिमा पहिलो सबाइ लेखे । कहाँ छन रामसिँह ठकुरी, जसले नेपाली सङ्गीतले विदेशी भूमिमा नेपालको आत्मा गाए? उता बर्मामा बर्मेलीहरूले नै पाइरहेका छैनन् अभिव्यक्तिको अधिकार, कसरी बाहिर आओस पाण्डुलिपिमै मर्न अभिषप्त दुखको गाथा? उनीहरू भजन गाउँछन्, अनि भजनमा नेपाल गाउँछन् । नेपालमा राजतन्त्र हटोस कि नहटोस्, उनीहरू दशैंमा दैलोमाथि अझै पनि राजालाई टिको लाउँछन्, जानी नजानी देउसी भट्याउँछन्, भैलो खेल्छन् । उनीहरू असली नेपाली डायस्पोराका हकदार ।

भुटान, भारत र बर्माका नेपालीहरूको यथार्थ अन्यत्रका सुविधासम्पन्न नेपालहरूको भन्दा फरक छ । अन्यत्रका नेपालीहरू चाहेर बिदेसिएका हुन्, चाहेर स्वदेशिन सक्छन् । धेरै विकल्प छन् उनीहरूसँग । देशसँग भौगोलिक रुपमा मात्रै विछिन्न छन्, अरु कुनै पनि हिसाबले छैनन् । उनीहरू हुरुरुरु उडेर श्राद्ध खान नेपालै आइपुग्छन्, यतै आएर इन्द्रेणी कम्प्लेक्स र सोल्टी क्राउन प्लाजामा पुरस्कार दिन्छन र थाप्छन्, किताब बिमोचन गर्छन गराउँछन । उतै बसे पनि संसारकै सस्तो फोन शुल्क भएका मुलुकहरूबाट फोन गर्छन, इन्टरनेटमा च्याट गर्छन्, भिडियो कन्फेरेन्सिङ् गर्छन । दरबार हत्यकाण्डको खबर काडमाडौंका एकजना मित्रले अमेरिकाबाट आएको फोनबाट थाह पाएका भन्ने पनि नसुनिएको हैन । खोई त रोजर्स ब्रुबाकरले भनेजस्तो बिस्मृति, साँस्कृतिक र सामाजिक दूरी र ? रे उनीहरू विभिन्न ठाउँमा काममै व्यस्त हुनेहुनाले सफ्रानले भनेजस्ता “समाज” बनाएर बस्दैनन् । छुट्टिमा यदाकदा रिजोर्टमा मिटिङ् या सम्मेलन गरेर तयार पारिएको साहित्य डायस्पोरिक साहित्य हुनसक्दैन ।

तर भुटान, भारत र बर्माका नेपालीहरूसँग यो सुविधा छैन । भुटानको प्रश्न अहिले आएर यहाँनिर त्यति सान्दर्भिक नहोला, तर नेपाल या अमेरिकैमा भए पनि उनीहरू डायस्पोरा नै हुन् । भारत र बर्माका नेपालीहरू कागजी रुपमा उताका भए, तर सधैं अपहेलित । नेपालका राजालाई अझै पनि टिको लगाइरहेका छन्, नेपाल लेखिरहेका छन्, गाइरहेका छन् । संगठित छन्, समाजमा बस्छन्, संस्कृति बचाएका छन्, थोरै हाँसेका छन्, धेरै रोएका छन् । उनीहरूको साहित्यको खोजी गरिनुपर्छ, अनुसन्धान हुनुपर्छ, अनि असली नेपाली डायस्पोरा साहित्यको इतिहास र अभिलेख तयार हुन्छ । साहित्यकै लागि बनेका सरकारी निकाय, विश्वविद्यालयका साहित्यसम्वन्धी अनुसन्धान शाखा र लेखक र समालोचकहरूको ध्यान यतातिर जानु आवश्यक छ । नत्र आउँदैगरेको पुस्तालाई हामीले गलत कुरा सिकाइरहेका हुनेछौं जसबाट कालान्तरमा हामी पश्चातापका भागी हुनेछौं ।
(लेखक अङ्ग्रेजी विभाग, त्रिवि, कीर्तिपुरमा पढाउँछन्)
साभारः नागरिक दैनिक

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 20 भाद्र, 2068

लेखकका अन्य रचनाहरु