अफ्रिकाको मेरो भ्रमण

- नगेन्द्र न्यौपाने

विद्यालयमा अध्ययन गर्दादेखिनै मलाई अफ्रिका महादेशको चासो निकै थियो । बाक्लो जङ्गल, विशाल भूक्षेत्र अनि अधिकांश तेस्रो दर्जाका गरिब मुलुकहरू । त्यति मात्र होइन, साहारा मरुभूमि, बाङ्गोटिङ्गो कङ्गो नदी, अनगिन्ती जङ्गली जनावर अनि इथियोपियाको भोकमरी ।

समय क्रमले २०६८ सालको सुरुतिर नै त्यो महादेशका भ्रमण गर्ने मौका मिल्यो । आपूmलाई लागेको जिज्ञासाहरू सबै हटाउन नसके पनि र सबै ठाउँहरू घुम्न नसके पनि नागबेली परेको कङ्गो नदी तर्ने मौका मिल्यो भने इथियोपिया भन्नेबित्तिकै हाम्रो दिमागमा आइहाल्ने दुईवटा तस्बिर, भोकमरी र खडेरीसँग साक्षात्कार गर्ने मौका पाएँ । इथियोपियाको भ्रमण गरेपछि मात्र थाहा भयो, विश्वले लगाएको अनिकालको कालो टिको इथियोपियाबाट हटिसकेको छ । अझ कङ्गो देशको भित्रतिर घुम्दै जाँदा बुरुण्डी, रुवाण्डा, उगाण्डाजस्ता देशमा भएका नरसंहार, हुटु र टुट्सी (Hutu and Tutsi) बीचको जातीय दङ्गा, हत्या, आगजनी, रुवाबासीसँग मेरो प्रत्यक्ष सम्बन्ध रह्यो ।

करिब एक महिनाको बसाइमा कुनै पनि दिन बिजुली बत्ती नजानु, चौबिसै घण्टा पानी आउनेजस्ता शहरिया सुविधा उपयोग गरेर मात्र होइन । चौडा सडक, विशाल–विशाल सुपर मार्केट र नयाँ निर्माण भएको जातीय सद्भावना अनि इथियोपियामा भएको राजसंस्थाको अन्त्यपछिको अवस्थाबाट नेपालीले सिक्नुपर्ने थुप्रै पाठहरू छन् भने उनीहरूलाई सिकाउनुपर्ने पनि थुप्रै छन् । सुरुमा जब मेरो अफ्रिका देशको भ्रमणको कुरो आउँथ्यो तब साथीहरू तथा आफन्तहरू आँखा कोप्रा पार्दै लामो प्रश्नसूचक चिह्न तेस्र्याउँथे, “अफ्रिका ??” वास्तवमा उनीहरूको आँखा तराही सही थियो । मजस्तो भारत वर्षिय व्यक्तिको भ्रमण काला जातिको देशमा त्यति सुविधाजनक थिएन । तर म यात्रा गरेर आएँ ।

यात्राको लेखनी कहाँबाट सुरु गरौँ ? धेरै दिन भयो प्रश्नले घोचिरह्यो । यसको खोजी गर्न थालेँ तर धेरैपछि थाहा भयो, यात्रको आकार घुमाउने हुन्छ र यसको अन्त्य पनि सुरु गरेकै ठाउँमा हुन्छ । त्यसैले यात्राको थालनी जहाँबाट गरे पनि टुङ्गिन करै लाग्छ । यो यात्राको सुरु गरेँ, अमेरिकाको राजधानी शहर वासिङ्टन डिसीको अन्तर्राष्ट्रिय विमानस्थलबाट । इथियोपियन एयरलाइन्सबाट नै मेरो सम्पूर्ण यात्रा तय गर्ने भएकाले म इथियोपियन एयरलाइन्सको ढोका खोज्दै थिएँ । एयरलाइन्सको ढोकामा पुग्नासाथ पङ्क्तिमा उभिएका यात्रुहरूलाई देख्नासाथ मलाई अफ्रिका महादेशमा नै पुगेको अनुभव भयो । कडा–श्यामल वर्णको अनुहार, घुम्रिएको कपाल अनि पातलो जिउडाल । म तिनै पङ्क्तिमा उभिएँ । बिहानको १२ बजे उडेको हवाईजहाजले करिब १२ घण्टाको अनवरत आकाश उडाएपछि इथियोपियाको राजधानी शहर अदिस–अवावा उत्रियौँ । त्यतिबेला बिहानको ८ बजेको थियो । तर त्यो मेरो गन्तव्य स्थान थिएन । म जानुपर्ने देश थियो, दक्षिण पश्चिमी देश कङ्गो । ३ घण्टाको एयरपोर्टको बसाइपछि म कङ्गोको लागि उडेँ । त्यो जहाज सिधै कङ्गो नगई अर्को कङ्गो गयो ।

अफ्रिकामा दुईवटा कङ्गो नाम गरेका देशहरू छन् । एउटा प्रजातान्त्रिक–गणतन्त्र कङ्गो र अर्को गणतन्त्र कङ्गो । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको राजधानी किन्सासा (Kinshasa) हो भने गणतन्त्र कङ्गोको राजधानी ब्राजभिल । त्यो जहाजले पहिला गणतन्त्र कङ्गोको ब्राजभिलमा यात्रुहरू उतार्ने र चढाउने काम गरेपछि प्रजातान्त्रिक गणतन्त्र कङ्गोको राजधानी किन्सासातिर उड्यो । बीचको बगेको कङ्गो नदीले दुईवटा कङ्गो छुट्ट्याएको छ भने त्यी दुईवटा शहरहरू निकै नजिकै छन । शहरहरू निकै नजिक भएकाले जहाजले त्यति उचाइ लिएन । जहाजबाट हेर्दा तल मैदानमा घरहरू प्रस्ट देखिन्थे भने कङ्गो नदीको विभिन्न हाँगाहरू नजिकै देखिन्थ्यो । त्यपितबेला मैले काठमाडौँबाट छुटेको बसले हेटौँडामा यात्रुहरू झारेपछि वीरगन्जतिर लागेको अनुभव गरेँ, करिब आधा घण्टाको उडानपछि बल्ल मेरो गन्तव्य स्थान कङ्गोको राजधानी शहर किन्सासा आइपुग्यो ।

पासपोर्टको काम सकिएपछि म सुट्केसको लागि अर्को कोठामा गएँ । यात्रुहरूभन्दा दलालहरूको ठेलमठेल भीड, झोलाहरू तानातान त्यहाँको वातावरण त्यति सहज थिएन । ढोकैपिच्छे, मान्छेपिच्छे सानो कामको लागि पनि दुःख दिने कर्मचारीसित म हैरान भएँ । तर सानो रकम गोजीमा हालिदिना साथ काम तुरुन्तै भइहाल्ने, घुष र भ्रष्टाचारको लागि कर्मचारी होस् वा दलाल निकै परिपक्क थिए ।

बडो कष्टका साथ अध्यागमन विभागको काम सकेर एयरपोर्टबाट बाहिर आएपछि बल्ल मलाई ढुक्क भयो । अझ ढोकैमा मेरो नाम लेखेको नामप्लेट छातिमा टाँसेर बसेका व्यक्ति भेटपछि अर्को जिन्दगी पाएको अनुभव गरेँ । ती व्यक्तिको नाम थियो, डिडिइ । उनीसँग न मेरो फोनमा कुरा भएको थियो न इमेलमा । तेस्रो व्यक्तिले हाम्रा मध्यस्थता गरेका थिए । मध्यस्थकर्ताले सूचना अदलबदल ग¥यो कि भन्ने मलाई निकै चिन्ता थियो तर ऊ त्यहाँ उभिएको देख्दा निकै रमाइलो लाग्यो । डिडिइले ट्याक्सीको पहिलै व्यवस्था गरेका रहेछन् । केहीबेरको परिचयपछि त्यही ट्याक्सीमा हामीहरू शहर पस्यौँ ।

कङ्गो पुग्नासाथ मेरो पहिलो रहर थियो कङ्गो नदी तर्ने । आफ्नो व्यक्तिगत काम सकेपछि भोलिपल्ट नै दिउँसोतिर डिडिइ र म भएर ट्याक्सीमा कङ्गो नदी किनार गयौँ । नदीमा फेरिहरू वारिपारि गरिरहेका थिए तर नदीमा तैरेका फेरिलाई देख्दा मेरो सातो गयो । बडेमानको फेरि देखेर मेरो सातो गएको थिएन, फेरि पहिले पनि देखेको थिएँ फेरि भित्रको व्यवस्थापनले म डराएको थिएँ । मालसामानले र मानिसले फेरि पूरै भरिएको थियो । अझ कुखुरा, गाइ–बाख«ाको किचाघानमा पाइला राख्ने ठाउँ थिएन । तर केही बढी पैसा तिरेपछि अलि सजिलो र सुविधाजनक डुङ्गा पनि पाइँदोरहेछ । हामीले त्यस्तै एउटा हल्का खालको डुङ्गा बढी तिरेर पारि गयौँ । योजनाअनुसार त्यो रात पारिपट्टिको कङ्गो देशको राजधानी शहर ब्राजभिलमा नै बस्यौँ र भोलिपल्ट किन्सासा फर्कियौँ ।

किन्सासामा होस् वा अन्य साना ठूलो शहरमा UN लेखेका गाडीहरू प्रशस्त भेटिए । तर त्यति गतिलो काम गरेको देखिएन । एकजना स्थानीय कर्मचारीका अनुसार शान्ति सुरक्षामा केही राहात मिले पनि पैसा खन्याएअनुसार केही कार्य भएको छैन— यी कर्मचारीलाई युएनले दिएको तलब स्थानीय कङ्गोलीलाई दिने हो भने १० जनाको काम लिन सकिन्छ । के कङ्गोलीसँग जनशक्ति छैन र ?

केही दिनको बसाइमा यस्तो चाखलाग्दो व्यक्तिसँग मेरो भेट भयो कि तिनको व्यक्तिगत विवरण अति गजबको थियो । उनको जन्म युगाण्डामा भएको रहेछ । बसोबास रुवाण्डामा तर जातिय दङ्गा सुरु भएपछि उनी बुरुण्डी आए । फेरि बुरुण्डीमा पनि त्यो दङ्गा सल्कन थाल्यो र कङ्गो पसे । अहिले कङ्गोमा सानो पसल खोलेर बसेका छन् तर त्यो पसल चलाउन उनलाई गा¥हो छ । पल्याकपुलुक हेर्दै मलाई सुनाए, “म हुटु जातको हुँ मौका परे टुट्सी पनि बन्छु, के गर्नु बाँच्नलाई जे पनि गर्न परेन ।”

हुटु र टुट्सी छुट्याउने कुनै मापदण्ड नै छैन, रुप, रङ, भाषा, बोली सबै एउटै छ । तर पनि हुटु र टुट्सको जातिय दङ्गामा ठूलो मात्रामा नरसंहार भएको थियो । उनी कसरी कसरी भाग्दै त्यहाँसम्म आए । धेरै वर्षपछि एउटा छोरासँग उनको भेट हुन सफल भए । श्रीमती र बाँकी छोराछोरीको अहिलेसम्म अत्तोपत्तो छैन । भेट होला भन्ने आशा पनि छैन । यस्तो कथा हुटुको होस वा टुट्सी सबैको एउटै हो । केबल यति मात्र फरक छ कसैले श्रीमती गुमाए भने कसैले श्रीमान् । कसैले पूरै परिवार नै । उनी मलाई सुनाउँदै, “हे भगवान् ! योभन्दा गरिब हुनु परोस् तर त्यस्तो नरसंहार फेरि नदोहोरियोस् ।”

एक दिन मलाई मेरो पथप्रदर्शकले निकै कर गरेर कङ्गोको राजधानी शहर किन्सासाको चिडियाखाना अवलोकन गर्न लगे । मलाई त्यति जान मन थिएन, झन् भिडियाखाना पुगेपछि अति उराठ लागेर आयो । उनीचाहिँ “यो विश्वमा नै नपाइने दुर्लभ बाँदर हो ! .... यो जातको चिम्पान्जी सबैभन्दा कङ्गोमा नै पाइएको हो आदि । तर उनको हौसलामा म उत्साहित हुन सकिन । ...... गरिब देशका जनताहरू गरिब हुन्छन्, त्यो सबैलाई थाहा भएको कुरो हो तर गरिब देशका जनावरहरू पनि गरिब नै हुँदा रहेछन् । मलाई खिन्न लाग्यो । खान नपाएको मरन्च्याँसे स्याल, पेट सुकेको चितुवा, दुब्लो चिम्पान्जी, जताततै हिलो, फोहोर चौर । म रमाउन सकिन । मेरो मनोविज्ञान बुझ्ेःपछि पथप्रदर्शक पनि अघि बढेनन् । हामीहरू केहीबेर पछि नै कोठामा फर्कियौँ ।

कङ्गोको भ्रमणपछि म इथियोपिया आएँ । इथियोपियाको नाम सुन्नासाथ विश्वको दिमागमा आइहाल्छ, भोकले लम्पट भएको बालक शक्तिहीन भएर आफ्नो अनुहारमा आएको झिँगा समेत धपाउन सक्दैन । उसको आमाको दूध आउन छोडेको धेरै भइसक्यो । ....... यस्तै दुःखदायी आकृति धेरै छन् । तर इथियोपियाको एयरपोर्टमा उत्रेपछि मलाई ज्ञान भयो त्यो कहालीलाग्दो आकृति विश्वले मेटाउन पर्छ । आधुनिक प्रविधिले सम्पन्न एयरपोर्ट र त्यहाँका कर्मचारीहरूको भरिलो अनुहारले मात्र होइन । विमानस्थलबाट भित्री शहरमा पसिसकेपछि मेरो नजरमा आएको चौडाचौडा सडक, अग्लाअग्ला भवन अनि शान्त वातावरणबाट पनि हो ।

इथियोपियाको राजधानी शहर अदिस–अवावा हो । यी शहरको बीचमा रहेको सङ्ग्राहलय र पुराना राजदरबार निकै हेर्नलायक छन् । विश्वको सबैभन्दा पुरानो मानव अवशेष (अस्तिपञ्जर) यही सङ्ग्रहालयमा छ । इथियोपियामा पनि आजभन्दा करिब ३६ वर्ष पहिले नेपालको जस्तै राजतन्त्रात्मक राज्यव्यवस्था थियो । तर राजतन्त्र हटेपछि राजपरिवारले प्रयोग गरेका सबै चिजहरू सङ्ग्रहालयमा सुरक्षित छन् भने राजदरबार सरकारीकरण गरिएको छ ।

पहिल्यैदेखि चिनजान भएका इण्डियन मित्रको सहयोगमा इथियोपियाको भित्र शहर मात्र होइन अदिस–अवावाबाट एक दिनको मोटरसम्म घुम्ने मौका पाइयो भने इथियोपियाको सिमानामा रहेको जिवुटी देशभित्र घुम्न अवसर नमिले पनि सिमानासम्मको यात्रा भयो । ती इण्यिान मित्र अदिस–अवावा विश्वविद्यालयमा पढाउने प्रोफेसर भएको र नेपालसँग समेत पारिवारिक नाता जोडिएकोले थप सजिलो भयो ।

तुलनात्मक रूपमा मैले के पाएँ भने मध्य पश्चिमी मुलुकहरू बुरुण्डी, युगाण्डा र कङ्गोका निवासीहरू बढी रिसाहा, आक्रामक तथा विदेशीप्रति नकारात्मक देखिए भने इथियोपिया, जिवुटी तथा इरिट्रेका बासिन्दाहरू शान्त, सोझा तथा विदेशीसँग नजिक हुन खोज्ने । कङ्गोलीसँग विदेशीप्रति रिस जम्मा भएको रहेछ । त्यसैले कङ्गोमा विदेशी भेट गर्नु निकै गा¥हो थियो भने इथियोपिायामा जताततै विदेशी भेटिन्थे ।

अफ्रिकी देशको बसाइ त्यति लामो भएन तर घुमाइ र अध्ययन निकै गहिरोसँग भयो । स्थानीय मानिसहरूसँग निकै घुलमिल हुन पाउनुमा स्थानीय भाषा जान्ने तथा स्थानीय बासिन्दासँग साथ लागेर हिँडेकाले पनि हुन सक्छ ।

कङ्गो नदीको किनारमा धेरै रातिसम्म बसेर ठूला–ठूला फेरि हरेको दृश्य, युएन अफिसका नेपाली साथीहरूसँग पाएको अनुभवु, इथियोपियाको तातोपानीको छहरामा नुहाएका दिन, अनि अदिस–अवावाको चक्रपथ (रिङरोड) मा चक्कर लगाएको अनुभव तथा कङ्गोको राष्ट्रपतिको भवनको वरिपरि घुमेको अनुभव एउटा लेखमा राख्न सक्ने सम्भव अवश्य छैन त्यसैले समयले साथ दियो भने एउटा किताबै तयार पार्ने विचारका साथ यो अनुभव यत्तिकैमा समाप्त गर्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 भाद्र, 2068

लेखकका अन्य रचनाहरु