फेरि उही सपना

- सञ्जु बजगाईं

याहू मेसेन्जरमा साइन ईन गरी निलिमाले । मनले त भन्छ आफ्नै स्वार्थ हेरूँ । हजुरआमाले माने पो ! छोराछोरीलाई माया गर्ने ढङ्गहरू परिवर्तन भएको के थाहा ? उनलाई उही पुरातनवादी पाराको मरिहत्ते छ ।

“निलिमा, शकुन्तला आउने बित्तिकै बोलाऊ है ! तरकारी पाकिसक्न लाग्यो ।” हजुरआमा भान्सैबाट चिच्याइन् ।

उनकै खातिर वेभ क्याम सेट गरिदिई । कुर्सीको पोजिसन पनि मिलाइदिई ।

हरेक आईतबार साँझ हजुरआमा हतारिँदै खाना पकाइसक्छिन् र तम्तैयार भै बस्छिन् छोरीसँग बोल्न । परदेशी छोरीकी आमा, उनको कोखले कहाँ बिर्सियो र दश महिने नाता ! सन्तानको माया तिनको छातीभरि खहरे भएर उर्लिरहन्छ बाह्रैमास । कहिले देखेको नराम्रो सपनालाई छाँद हालेर रुन्छिन् । कहिले राम्रो सपनाको उत्सव मनाउँछिन् । दश वर्ष कटिसके नियतिमा ।

बल्ल त भनेकी छ शकुन्तलाले फर्किंदैछु ! पर्खाईको समय समुद्र जस्तै भयावह देख्थिन् केही दिनअघिसम्म । निराशै त होइन, आशा पनि उति सारो बलियो थिएन । तर अचानक शकुन्तलाले आउँछु भनेकी छ । उनलाई आतेस छ छोरी भेट्ने । आज पनि निक्यौल गर्नुपर्ने हुँदो हो, साँच्चै फर्किने हो कि होइन भनेर !

शकुन्तलाले भनेकै टाइममा भ्वाईस च्याटमा घण्टी बजाई ।

“हजुरआमा, तपाईंकी छोरीको सवारी भो है ।” निलिमाले खबर गरी ।

रिङ्ग बजिरह्यो । जवाफमा निलिमाले आवाज नदिएर अक्षर लेखी– एकैछिन है, हजुरआमा आउनै लाग्नुभो ।”

“लौन कता हो ?, हजुरआमा हतारिँदै साडीको सप्को मिलाउँदै आइन् र भनिन्– खै त्यो कानमा लगाइदेऊ न ।”

आमाछोरीको कुरो सुरु भो ।

“भाग्येमानी हुनु ।” हजुरआमाले आशिर्वाद बोलिन् ।

“उसलाई पनि सञ्चै छ । अनि निलिमातिर मुन्टो फर्काउँदै भनिन्– यहीं मेरो छेवैमा बसेर पढिरहेकी छ ।”

माइक्रोफोन टपक्क जोडेकोले शकुन्तलाले के भन्थी निलिमालाई अन्दाज मात्र लागे पनि हजुरआमाको जवाफबाट शकुन्तला निलिमाको खबर सोधिरहेकी थिई भन्ने बुझिन्थ्यो ।

“के खायौ त बा ?” हजुरआमाले शकुन्तलालाई भोकतिर्खाको कुरो सोधिन् ।

“उसका खाना तपाईं के बुझ्नुहोला र ! निलिमाले हजुरआमालाई गिज्याउँदै भनी– मैले बुझेअनुसार विदेशीले त मेडिटेरियन सलाद, बिफस्टेक, फ्रेन्च फ्राई, एक पेग वाइन अनि टिरामिसुको डेजर्ट खाने गर्छन् ।”

निलिमाले ठिकै भनी । उनलाई के थाहा मेडिटेरियन सलाद । उनी त सलाद भनेको काँक्रो, मूला हदै भए मूलाका कलिला पात भन्ने जान्दछिन् ।

“झोलिलो–मोलिलो खाना खानुपर्छ नि बा, नत्र आँत त्यसै मर्छ है !” हजुरआमा शकुन्तलालाई अह्राउँछिन् ।

“गाईको बाछोको ह्याकुलो खान्छे ऊ ।” हजुरआमाको कानैमा साउती मारेर रिस ओकल्दै निलिमाले भनी– “झोलिलो–मोलिलो त तपाईं र म जस्ता जङ्गलीले खाने हो !”

“कस्तो अपशब्द बोलेकी, राम... राम ।” निलिमालाई धारेहात लगाएर पनि उनको मन शान्त भएन । यो उमेरमा गाईखाने कुरा कसरी सुन्न सक्थिन् ?

“के बा, निलिमासँग बोल्ने ?” हजुरआमाको कुरो अनुसार शकुन्तला आफ्नी छोरीसँग बोल्न चाहिरहेकी हुँदी हो ।

“मलाई कसैसँग बोल्नु छैन ।” उसकी आमाको आग्रहलाई पूर्णबिराम लगाउँदै निलिमाले भनी– “एउटै कुरा सधैं केका लागि दोहो¥याएको ?”

यो पहिलो पटक होइन । कुरा खुट्याउन थाल्ने भएदेखिबाटै निलिमा बोल्न चाहेकी छैन शकुन्तलासँग । आफूलाई जन्मदिने आमाले साँझ छिप्पिँदै गएपछि टेबलमा उभ्याएको कम्प्युटरलाई माध्यम बनाएर अर्कै महादेशबाट उसलाई स्पर्श गरिरहेको भान पारेको पटक्कै मन पर्दैन । यो कृतिम हो, प्राकृतिक होइन । निलिमाको बुझाइमा शेयर बजारमा चल्ने नाफा नोक्सानको हानाथापभन्दा फरक छैन रगतको सम्बन्ध ।

पीडा दिने कुरासँग नजिकिनुभन्दा आफ्नै किताब पढ्नु बेस् । निलिमाले कम्प्युटरछेउ राखेको किताब च्यापी । बुकमार्कर खसेछ कतै । तिसौं पृष्ठतिर थिई क्यारे । डेभिड अलमण्डको ‘माई ड्याड्स अ बर्डम्यान’ नामको किताब क्लास टिचरले जुटाइदिएका उसलाई । कस्तो फेन्टासी ! त्यसमाथि एलिजाबेथको बाबु ! चरा भएर उड्न लागिपरेको छ । भर्खरै कीरा सर्लक्क निल्यो । ओ... ! एलिजाबेथ आफ्नो बाबुले कीरा निलेको हेर्न नसकेरै पनि हेर्छे । हो नि, ज्युँदो कीरा कसरी निल्नु ? कीराको प्रसङ्गमा निलिमाले पनि मुख बिगारी ।

हजुरआमा र शकुन्तलाको वार्तालापभन्दा कता हो कता मजाको छ किताब । डोरेन आन्टी, ल्याक्रोटको आवाज, चराको चुच्चो, एलिजाबेथ र उसको बाबुले मिलेर बनाएको चराको गुँड, स्कुल टिचरको मौन समर्थन, अझ एलिजाबेथ र उसको बाबुको आत्मीय सम्बन्ध ! एकैछिनका लागि निलिमा आफूलाई एलिजाबेथ ठान्छे र मौनतामा आफ्नो बाबुको काखमा लुट्पुटिन्छे । कस्तो न्यानो काख ! खुब चाख लागिराखेको छ निलिमालाई ।

ध्यान किताबमै भए पनि बेलाबेला हजुरआमाले बोलेको निलिमाको कानैसम्म ठोक्किन आइपुग्छ ।

“शर्माका खालहरू कसैको खबर छैन ।” हजुरआमा साउती मारेर भन्छिन्– “हत्ते हालेर पर्खिबसेका छन् ।”

शकुन्तलाले जे त्यागी त्यसैको ब्याख्या हजुरआमा गरिरहेकी छन्, साउती मारेर । तर उनले लुकाएको सत्य निलिमा आफैं खोतल्न सक्ने भैसकेकी छ । भौतिक स्वार्थमा बाँच्न खोज्ने मान्छेले सम्बन्ध र नाता केही नदेख्नु स्वाभाविक हो भन्ने बुझ्न सक्ने भैसकेकी छ । समय शकुन्तलाले बाँधेर राख्न सक्ने थैलीभित्रको सिक्का जस्तो होइन । तरल समयलाई नजर अन्दाज गरेर आफूलाई सर्वमान्य ठान्नु भ्रम भैसक्यो ।

शकुन्तलासँग हजुरआमाको लामै कुरा भो ।

“उसोभए अब दुईहप्ता मात्रै बाँकी भो हैन त ?” हजुरआमाले कुरा सक्नुअघि पुनः पक्कापक्की गरिन् ।

आँखा छड्क्याएर हजुरआमालाई हेर्छे । रात र दिनलाई घडीको सूई जसरी घुमाउन पाए हुन्थ्यो भनी सोच्दै गरेजस्ती देखिन्छिन् उनी ।

“छोरी आउने कुराले खाना पनि नरुच्ने भो निन्द्रा नपर्ने भो हगि ?” निलिमाले भनी ।

“त्यस्तै छाँट छ । दशवर्ष भो नदेखेको.... ।” हजुरआमाको आवाज अरूबेलाको जस्तो खरो सुनिएन ।

“तेरी आमा आउने भई ।” हजुरआमा बोल्दै लागिन् भान्सातिर ।

एउटा सग्लो खुशीको खबर, तर यसले निलिमाको दैनिकीमा कुनै महत्व राख्दैन ।

००००

तीन वर्ष पुग्न लागेकी थिई निलिमा । शकुन्तलाले शंकरको पसलबाट लड्डु किनेर ल्याउँछु भनेर झुक्याएर निस्किएकी । निलिमाको बाल मस्तिष्कले निकै वर्षसम्म आमा लड्डु लिएर आइपुग्नै लागिन भन्ने ठानिरह्यो । बिहान भएबाट छिनछिन बिराउँदै निलिमाका आँखाहरू शंकरको दोकान जाने बाटोमा ठोक्किन्थेँ । अनि निराश साँझ पथ्र्यो । फेरि उसरी नै बिहान, त्यसपछि साँझ....।


उसको माझीऔँला चुलेसीले काटेको गन्ने हो भने आज नौ बर्ष भो । हजुरआमाले तरकारी काटेर झुण्ड्याउन बिर्सिछन् । पानी पिउने गिलास झिक्दा नदेखेर माझीऔँला चर्लप्प काट्यो । भलभली रगत बग्यो । असाध्यै दुख्यो । हजुरआमाले कुदाएर ‘सागरसौरभ’ क्लिनिक पु¥याइन् । आलो घाउ जति दुख्यो त्योभन्दा बढी आफ्नी आमाको काखको तातोपन र मायालु स्पर्श नपाएको उसको कलिलो मन दुख्यो । त्यो बेला उसले आकाश नियालेकी थिई, चराको पारामा उड्ने जहाजमा चढेर पो कतै आमा आउँदैछन् कि भनेर ।

उसकी आमा बल्ल आज सुनाउँदैछ फर्किने खबर !

“हजुरआमा मलाई एउटा कुरा भन्नुहोेस् न !” निलिमा हजुरआमा भएतिरै पुगी ।

“पानीको रङ्ग हुँदैन । वायुले हामीमा प्राण भर्छ । चामल पकाएपछि भात हुन्छ....., एउटा मात्रै किन एक दर्जनै भनुँला न मेरी प्यारी नातिनी !” पानी जस्तै रङ्ग बिनाको जवाफ दिएर पन्छिन चाहन्थिन् उनी ।

हजुरआमाले जीवनका हरेक प्रसङ्ग र परिस्थितिलाई सरलीकरण गर्दै ल्याइन् आजसम्म । उनले भोगेका तितामिठा अनुभूतिहरूलाई निचोरेर, केलाएर, छानेर, छिमलेर अत्यावश्यक पाटाहरूलाईमात्र भविष्यका लागि मार्गदर्शक मानिन् । घरव्यवहार, सन्तान, सम्बन्ध जहाँकहीँ आँधी आए पनि उनी शान्त भैरहिन् । छातीभित्र भरिएको स्नेहको घडालाई कहिले छोरा, कहिले छोरी, कहिले दुःखी, कहिले अभागीका लागि रित्याएर बाँचिन् । यो अन्तिम समयमा छोरी र नातिनीबीचको सम्बन्धमा देखिएको धमिलोपनमा खरानी किन फाल्थिन् ।

“निलिमा तेरी आमा तँलाई भेट्न आउँदैछ ।” हजुरआमाका लागि शकुन्तला फर्किने कुरो नै महत्वको भो ।

“अनि मेरी आमाको लोग्ने, त्यो स्टेफान ?” निलिमा भन्छे ।

“त्यो उसको जीवनको पाटो.... म के भनुँ ?” हजुरआमाले भर्सिएको भातको भाँडो उठाउँदै भनिन्– “मलाई उसको पोल्टोमा तँलाई सकुशल जिम्मा लगाउन हतारो छ ।”

“हजुरआमा ! अनि त्यो पाँचधारेको चोकतिर अर्धपागल भएर हिँड्नेलाई चाहिँ के को पाटो भनौ त ?”

“कुरा नगिजोल है । एकजुग भो अब । के थियो ? के रहेन ? म जान्दिन । तेरै आमासँग सोध्नु ।” हजुरआमाको मस्तिष्कले मल्हमपट्टीका तानाबाना कति बुनून् ? शकुन्तला आउने भईसकी । बाँकी उसैको जिम्मामा !

“स्कुलकी चौकिदार्नीले मलाई सबै भनेकी छ ।” निलिमाले चौकिदार्नीलाई प्रसङ्गभित्र छिराई ।

“त्यो थाल तान् , खाना खाने बेला भो ।” हजुरआमाले भाडाँकुडाँको खन्द्रयाङ्ग–खुन्द्रुङ्गमा नसुने झैँ गरिन् ।

“हजुरआमा, नरे दाइको होटेलमा भात खाएर कहिलेकाहीँ पाँचधारेको चोकतिर एक्लै बर्बराउँदै हिँड्ने मेरो साख्खै बुबा हो रे ।” दालको बटुकामा चोरऔँला घुमाउँदै बोली निलिमा । आफ्नो बाबुको अज्ञात अस्तित्व स्कुलकी चौकिदार्नीले बाहेक अरूले उसलाई भन्न चाहेनन् या बिर्साउन खोजे ? जवाफ शकुन्तलासँग होला ।

“त्यो पिपलपाते चौकीदार्नीको काम केही छैन स्कुलमा र नानाभाँतीका कुरा चोथालेर बस्छे ?” हजुरआमाले थालमा खाना थप्न लागेको पन्यूँ हातैमा बोकिरहिन् । उनको रित्तिएको थालमा अलिकति अरू थप्ने बिचार पनि चौकिदार्नीको चोथाले उपस्थितिमा हराएर गयो ।

हरेक प्रश्नको जवाफ माग्छन् आजभोलिका तन्नेरीहरू । कतिपय प्रश्नहरूका मौखिक जवाफ हुँदैनन् भन्ने मान्दैनन् । बिना कारण यो संसारको अस्तित्व असंभव देख्छन् । हजुरआमाले बाँचेको जमाना रहेन ! जे भो भगवान्ले गर्नु भो, जे बिग्रियो पिशाच पसेर वा ग्रह बिग्रिएर भो भनी आफ्नै कर्मलाई दोष दिएर चित्त बुझाउन छोडे आजका सन्तानले ।

“त्यसले अरू के–के सुनाई त ?” हजुरआमाले थाहा पाउने बिचार गरिन् ।

“के के सुनाइन चाहिँ भन्नुहोस् न ।” कुरो साँच्चै बढेकै थियो ।

शकुन्तला फर्किने समयसम्म यो कुरो नबिथोलिनु पथ्र्यो । जसले भत्काएर गएकी थिई उही आएर सम्हाल्ने थिई । हजुरआमाले अरूले गरेको निर्णयको ब्याख्या गर्ने कष्ट उठाउनै पर्ने थिएन । तर उनले सोचे जस्तो केही भएन ।

“मेरी आमाको कस्तो सौख औँलाहरूमा फ्रेन्च म्यानिक्यूर गरेर बाह्रैमास टल्काउने !” निलिमा उसका टोलाएका आँखाका आँखीभौँ उचाल्दै भन्छे– “यो कुरा पनि मलाई चौकिदार्नीले भनेकी ।”

“उसका हातहरू सलक्क परेका राम्रा थिए ।” हजुरआमा संझिन्छिन् ।

“उसोभए तपाईं पनि चाहनुहुन्थ्यो मेनिक्योर गरेका उसका हात हेर्न ।” आरोप लगाउँछे निलिमा ।

“सुख पाओस् भन्ने मात्र चाहन्थँे ।”

“मेरो बाबुले नदिएको सुख त्यो स्टेफान भन्नेले दियो होला त ?” निलिमाको आशङ्कामा हजुरआमा के बोलुन् ? शकुन्तलाका रङ्गीबिरङ्गी फेटोमा देखिएको चम्किलो अनुहार, खालखालका लुगा, अग्ला हिल गरेका जुत्ता, टल्किने गाडी, हात्तीकाने कालो चश्मा, त्यो बिचित्रको लाग्ने शहर ! सुख यस्तै हुँदो होला । हजुरआमा के जानुन् ? उनले बुझेको र भोगेको सुख फेसन आउट भैसकेको कपडा जस्तै न हो आजकालका तन्नेरीका लागि !

हजुरआमा र नातिनीका कुराहरूले छेउका जुठा भाँडाहरू भरिन्छन् ।

“मेरी आमाको स्वार्थी ढाँचाले आखिर हाम्रो परिवार नै रहेन, भरिएको मन आँखामा टल्पलाउँदै निलिमाले भनी– “अब यी असरल्ल पोखिएका भातका सिताले जुठो बनाएको ठाउँ चोख्याए झैँ चोख्याउनु तपाईंकी छोरी पनि ।”

हजुरआमा अलमल पर्छिन् । निलिमा कोठामा फर्किएर फेरि उही किताब च्याप्छे । एलिजाबेथ र उसको बाबु आफूहरूले बडो मेहनत गरेर बनाएको गुँडभित्र घुस्रिन लागिपरेका छन् । कस्तो आनन्द ! किताबका पानाभरि आफ्नो बाबु देख्छे निलिमा । कलिलो उसको मनमा वर्षौ नदेखेकी आमा भन्दा चोक गल्लीमा बर्बराइरहने अर्धपागल बाबुको माया बढेर आउँछ । समयले एक्ल्याएकी निरीह ऊ बाबुछोरीको आत्मियतालाई मिठो मानेर पढ्दा–पढ्दै निदाउँछे । निन्द्राभरि उसको अर्धपागल बाबु सपना भएर आइरहन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 श्रावण, 2068

लेखकका अन्य रचनाहरु