चुपचाप

- नारायण तिवारी

“थाहा पाउनुभयो, पल्लो गाउँको त्यो तल्लाघरे रामे क्या, एरिया कमान्डर भएछ नि ! गजब त के भने नि तासजुवा खेलिरहेका तल्ला घरका जेठा, माइला सबैलाई भाटा लगायो रे हौ उल्ले !”
“ए हो र...!”
“बाबै नि त्यस्तो मान्छे कसरी...?”
साइँला बाजे मच्चीमच्ची गफ चुट्दै थिए । वरिपरि थिए जनता–जनार्दन । मानौँ साइँला बाजे यतिखेर आतेपाते गर्ने बाजे नभएर भाषण गर्ने नेता भए
हुन् ।
“क्या न नहुनु नि ! नहुने कुरा के नै पो बाँकी रान् र अब यहाँ... !” भन्न त भने उनले तर अकस्मात् ‘सटक’ बने । मानौँ बोलिसक्नासाथ आभास भयो उनलाई, आफ्नो भित्री हृदय पनि बाहिर ल्याउन थाले उनले र झस्किए हुन् । आफ्नो हृदयलाई त कसैका अगि पनि पोख्नै हुन्न । के थाहा नबिराई पनि कुन बेला कस्तो परिबन्दमा परिने हो । कसले ‘सुराकी’ भनेर घाँटी रेट्ने हो र कसले ‘माओवादी’ भनेर ‘मुठभेड’ मा वा ‘भाग्दाभाग्दै’ लीला अन्त्य गरिदिने हो— कसलाई के थाहा ! त्यसैले नहुने कुरा हुन जेजति बाँकी भए पनि बाहिर भन्न हुन्न । बाहिर बोल्न हुन्न ! त्यसैले चुप्प लागे साइँला बाजे र लुसुक्क घरतर्फ लागे ।
भेला भएका मान्छेहरूले वाक्स्वन्त्रता हरण भएको साइँला बाजेको ‘बोलती बन्द’ बाट ज्ञान पाए । टाठाबाठा गाउँका बाजे त ‘चुप्प’ भने भेला भएका बिचरा गाउँलेहरू एकापसमा खुलून् कसरी...? सबै लागे लाखापाखा...!
साइँला बाजे आफ्नै घरको पिँढीमा बसेर मकै छोडाइरहेका थिए । त्यति बेलै ग¥यापग¥याप, ठकठक... आवाज आयो । नजर उठाएर हेरे— टाढा बाटोमा एउटा फौजी लस्कर आइरहेछ । उनको हंसले ठाउँ छाड्यो । भित्रैदेखि थरथर भए उनी । कसको लस्कर हो यो ? कठिन भयो उनलाई छुट्ट्याउन । जति नै डराए पनि घर छाडेर भागून् त कहाँ भागून् । जति नै पटक फौज, बन्दुक, गोली, मृत्यु देखे पनि, अभ्यस्त भए पनि नडराउनु त कसरी नडराउनु । गोलीको आँखा भए पो नडराउनु । बिगार गर्नेलाई मात्र गोलीले चिने पो नडराउनु ! बिगार नगर्ने पनि मरिरहेछन्— कसरी नडराउनु... ! एकछिन डराए उनी आपैmँमा । त्यतिन्जेलमा लस्कर नजिकै आइपुग्यो ।
“तपाईंं यस गाउँको पुरेत होइन ?”
अप्रत्याशित र अलिकति शिष्ट पनि थियो यो आवाज । अलिकति डर घट्यो । लरबरिँदै बोले— “हो हजुर, म पुरेत हो !”
“यहाँ कुनै सन्दिग्ध क्रियाकलाप देख्नुभयो तपाईंंले... ?”
“के हजुर ? छैन हजुर !” मानौँ उनले ‘तपाईंं को हो ?’ जान्न चाहे तर “कोचाहिँ सन्दिग्ध ?” लाई खोजिएको हो ऊचाहिँ छैन हजुर भनेर छुटकारा पाउन चाहे साइँला बाजेले ।
अगाडिको मान्छे हाँस्यो— “हा... हा... हा...!”
त्यसपछि पछाडिका सबै हाँसे— “हा... हा... हा... !”
“तपाईंले मलाई चिन्नुभएन बाजे ?” एउटा अगुवाजस्तो देखिने फौजी ऊनजिकै आएर उभियो । फौजी लिवासमा त सबै थिए, उसले मोटो कालो चस्मा भिरेकाले अनुहारको केही भाग छोपिएको थियो । साइँला बाजेलाई स्वर चिरपरिचित लाग्यो । अचानक झस्किए— यो त उही... ! बोलूँ कि नबोलूँ... भनूँ कि नभनूँ... । उनले त्यो फौजीलाई चिने । भन्नु हुन्छ कि हुन्न ? बोल्नु हुन्छ कि हुन्न ? असमन्जसमा परे उनी ।
फेरि उही परिचित आवाज आयो, “म क्या उही तल्लाघरे रामे... !” त्यसो भन्दै हालको एरिया कमान्डर रामेले लगाइराखेको मोटो कालो चस्मा हटायो आँखाबाट... !
साइँला बाजे झसङ्ग भए— बाङ्गोबाङ्गो पाराले उनलाई चाबुक हानेको त होइन रामेले । केही दिनअघि उनले गाउँलेलाई प्रसारण गरेका सूचनाको रिपोर्ट उसले जस्ताको त्यस्तै गरी प्राप्त गरेर पहिले शब्दबाणले कारबाही, त्यसपछि भाटा कारबाही वा मृत्युदण्डको जनकारबाही त हुन लागेको होइन उनलाई ।
“तपाईंं नझस्किनुस् न बाजे ! म पहिलाको रामे होइन त, अब त एरिया कमान्डर ‘क्रान्ति’ पो हो त... !”
‘पहिलाको रामे भए त केको डर हुनु नि, त्यही नभएर त डर ! रामेले त आपैmँलाई माथ्र्यो अब तिम्ले हामीलाई पो मार्ने हौ कि भन्ने पो त डर... !’ साइँला बाजेभित्र तर्कनाहरू उठे । बाहिर प्रकट भएनन् । बाहिर त सातोपुत्लो हराएझैँ स्थिर बनिरहे बाजे !
“अँ ! हामी भात खान्छौँ यहाँ । बजै ! भात पकाउनुस् है हामीलाई... ! बाजे तपाईं कतै नजानुस् । चिन्ता, फिक्री केही नलिनुस्, बसिरहनुस् । ओ केटाहो ! खाल जमाउने होइन ? फिट पत्ता... ! हा... हा... हा... हा... !”
साइँला बाजेलाई ‘क्रान्ति’ हाँसेजस्तो लागेन । उही तल्लाघरे रामे हाँसेजस्तो लाग्यो ।
“केटाकेटीहरू देख्दिनँ नि, स्कुल गा’छन् ? अब कति दिन जालान् ? लौ निस्फिक्री बन्नुस्... ! हा... हा... हा... !” फेरि हाँस्यो रामे । यसपल्ट त झन् साइँला बाजेलाई रावण हाँसेजस्तो लाग्यो ।
साइँला बाजे निश्चल बसिरहेछन् । अब त मकै पनि छोडाइरहेका छैनन् उनी । बजैलाई आपूmले आदेश दिनै परेन— कमान्डरले आदेश दिइसके । थरथर गर्दै घरभित्र र बाहिर गर्दै भात पकाउन जुटिसकेकी छिन् बजै । साइँला बाजे चुपचाप हेरिरहेछन् । आँगनमा तासको खाल जमिरहेको छ । बन्दुकेहरूका बन्दुक पिँढीमा थान्को लागेका छन् । ओछ्याउने–बिछ्याउने जो चाहिने आपैmँ घरभित्र र बाहिरबाट जुटाउँदै छन् फौजीहरू । फौजी पहिरन पनि कसैले आधा खोलेका, कसैले पूरा खोलेका छन् । कोही तासमा जुटेका छन् । कोही आँगनमा उत्तानो पल्टिएका छन् । साइँला बाजेले देखे— कोही गहिरो निद्रामा घुर्न पनि थालिसकेका छन् । उनलाई निदाएको फौजीदेखि दया पनि लाग्यो— बिचरा राम्ररी सुत्न पनि नपाएको कति दिन भएको होला... ? तर तास खेल्नेहरूप्रति उनलाई श्रद्धा लागेन । यो तल्लाघरे रामे तासजुवाले घरखेत सकेपछि माओवादीमा लाग्यो । यी हेर न अझै तासको लत छुटेको छैन ।
साइँला बाजे बाहिर पो बोल्न डराउँछन्; भित्र त बुझ्छन् नि कुरा ! भित्र त आपैmँसित जति बात मारे पनि केको डर...? बाहिर पो भन्न हुन्न कसैलाई मनका कुरा...! यस्तै सोच्दछन् साइँला बाजे ।
क्रान्ति मन पर्छ उनलाई तर मान्छे मरेको चाहिँ पटक्कै मन पर्दैन । जो मरे पनि, जताका मरे पनि साइँला बाजे मन दुखाउँछन् । प्रहरीका श्रीमतीले आफ्नो श्रीमान्को हत्यामा लडीबुडी गरी रुँदा उनले पनि तुरुक्क आँसु चुहाएका थिए । सहरमा गएका बेला साहूको टिभीबाट उनले त्यो हृदयविदारक दृश्य प्रत्यक्ष हेरेका थिए ।
प्रहरीको के गल्ती, ऊ त जागिर खाँदै थियो नि ! भोलि उनीहरू नै सत्तामा आएमा पनि त प्रहरीले जागिरकै बफादारी निर्वाह गर्नुपर्छ नि !
एकपल्ट गाउँकै एउटा माओवादी युवक मुठभेडमा मारिएको खबर आयो । उसका बाआमा छाती पिटीपिटी रोए । बालबच्चाहरू अनाथ भए ! अब यिनको लालनपालन कसले गर्ने हो ? त्यस बेला पनि साइँला बाजेका आँखा रसाए ।
निरपराध मान्छेहरू पनि कहिले जङ्गलमा घाँस–दाउरा गर्न जाँदा, कहिले घरमा सुतिरहँदा परिबन्दमा परेका छन्— मरेका छन् । त्यस बेला पनि छाती फाट्थ्यो साइँला बाजेको, खबरले ।
तासको खाल जमिरहेकै छ । भात पाकिरहेको छ र साइँला बाजे हल न चल सोचिरहेका छन् ।
त्यसै बेला आकाशमा एउटा कुनाबाट आवाज आयो ।
“केको आवाज हो यो ?” कमान्डर ‘क्रान्ति’ चिच्च्यायो । सबै ज¥याकजुरुक उठे । कोही हस्याङफस्याङ गर्दै बन्दुक लिन दौडे । कसैले पोजिसन लिए तर ढिलो भइसकेको थियो ।
निमेषमै आँखैमाथि हेलिकोप्टर आइपुगेर अन्धाधुन्ध बम पड्कायो, गोली दाग्यो ।
निमेषमै साइँला बाजेको घर खरानीमा परिणत भयो । कोही उम्किन पाएनन् । कसैका टाउका उछिट्टिए, कसैका खुट्टा थिएनन् । सबैसबै समाप्त । सबै जीवन खरानी... !
साइँला बाजे र बजैको के अपराध थियो— उनीहरूको निरपराध जीवनसमेत निमेषमै समाप्त भयो ।
हावा बहिरहेको थियो । घाम लागिरहेको थियो तर जीवनको उपस्थिति अब त्यहाँ थिएन ।
हेलिकोप्टर बिनाप्रतिरोध आकाशमाथि पखेटा घुमाउँदै रह्यो र शनैःशनैः बिलायो ।
गाउँलेहरू भेला भए । शोक मनाए, आँसु झारे तर हेलिकोप्टरमा को थियो— गाउँलेहरूले अझै थाहा पाउन सकेनन् ।
स्कुल गएका साइँला बाजेका केटाकेटी मसानघाटमा परिणत आफ्नै घरको छेउमा उभिएर आँसु झार्दै थिए— बा... बा... आमा... आमा... !

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 श्रावण, 2068

लेखकका अन्य रचनाहरु