व्यूटिफूल

- जगदीश घिमिरे

दुईतिर हजारौं लाखौं बर्षदेखि उभिइरहेका नरमाइला नाङ्गा डाँडाहरु । उत्तरपट्टिडाँडाको कातकतै बगिरहेको तामाकोशी, जसको अस्तित्व अलि तल्तिर सूनकोशीमा सेलाउँछ । यो मन्थली घाट हो ।

एक जुवा दिन बाँकी छ । पारी जानेलाई कोशी तर्न हतार, वारी आउनेलाई त्यस्तै । मुर्कुट्टाजस्तै बगरको ढूंगामा मान्छे टव्रmयाक दूव्रmूक बसेका छन् । उराठलाग्दो साँझ । मन नलागी–नलागी छरिएको मन बटुलेर धुवाँसँग उडाएकोले होला सगरैभरि तुँवालो लागेको छ । घटवारेहरु बाहान पु¥याउन चाहन्छन् । यताबाट जाने मान्छे त पुगे, आउनेहरुको प्रतीक्षा छ ।

“ए कान्छा । उठ्” चतूरेले बोलायो । आजकाल डूङ्गा तार्ने पालो उसको र कान्छाको छ । यिनीहरुले पैसा कमाउन पाउने, खेलाउन पाउने एकमात्र मौका ।

यौटा अजंग सिमलको रुख खोपेर बनाइएको डूँडजस्तो डूङ्गामा पारी पुग्न हतारिएको लाम बसेको छ । हातमा बहना, टाउकोमा थोत्रो टोपीको घेरा र जीउमा कौपिनमात्रको गहनाले सिंगारिएका यी साँच्चै प्रकृतिका छोरा देखिन्छन् । मान्छे मान्छेको अगाडि हात फैलाएर चतूरे माग्दैछ – “खै खाजा दिनुप¥यो । खै खेवा दिनुप¥यो ।” फलामका हात पनि पैसाको लागि फैलिन्छन् । ... आत्मविश्वासको कमी छ, कुनै घटवारे तोक्न सक्दैन – “यत्ति पैसा ।”

टाउकैमा बसेकी बुढी थपेनीले सातपत्रै थैलीबाट बल्लतल्ल केही पैसा झिक्छे र चतूरेको हातमा राखिदिंदै भन्छे – “ओखती गराउन जान लाग्या, निको हुन्छ कि हुँदैन कोनी । खाँडा देवीले वाण हानेर आधा अंग नचल्ने बनाइदिएकी छन् ।” उसको इशारा डोकोमा बसेको अहिले कि भरे मर्लाजस्तो बुढोपट्टिहुन्छ । यो मर्लाजस्तो बुढो यसको चौथो पोइ हो । अघि बैंशमा ऊ निकै चल्तापुर्जा थिइ रे । त्यसैले चोथाले भन्छन् । ऐले यो पक्षवातले मर्न लागेको रोगीलाई बोकेर ओखती गराउन जाँदैछ । नेपाल हो कि मधेश, तर धेरै परचाहिं अवश्य ... ।

यौटा लाहुरे पैसा गन्दैछ, चतूरेको हातमा केही पैसा राखिदिन्छ । र यसरी हेर्छ मानौं चतूरे मलायाको कुनै सस्तो भट्टिको केटो हो र दुई पैसाको साटो यौटा लामु सलाम ठोक्छ । तर चतूरे उसलाई सलाम ठोक्दैन । असभ्य न हो आखिर ब्रिटिश गोर्खा आर्मीको हवल्दारलाई सलाम नगर्ने ।

तर चतूरेलाई त्यस लाहुरेप्रति धेरै चाख लिइरहने फुर्सद छैन । लाहुरसँग त्यस्तो प्रेम पनि छैन । उ पनि अघि हात पाखुरा आडिला छँदा एक पटक भागेर लाहुर पुगेको थियो । तर कस्तो दुःख छि– कति त भोकै बस्नुप¥यो ... गन्हाउने ठाउँमा कति त भोकै सुत्नुप¥यो ... जाडोमा असाध्यै जाडो, गर्मीमा पनि खपिनसक्नु । के रे ... के पो भन्थे रे नाउँ ... कलकत्ता, हो कलकत्ता । कति गर्दा पनि राम्रो ठाउँमा लाग्न पाइएन ... भाग्यै त हो, सधैं भाँडा माज्नुप¥यो ... नत्र आज उ पनि यो लाहुरेभन्दा कम्ती हुने थिएन । ... संझदै उसका पाइताला अघि बढे ।

यौटी कलीली बाहुनी बज्यैले निन्याउरो मुख लाएर साटनको थैलीको मुख फुकाएर केही पैसा झिकिन् र चतूरेको हातमा राखी दिइन् । उनलाई चाहिं आफ्नू घर पुग्न हतार छैन । उनका बाबु शशिधर उपाध्याले आनामासि ब्याज असूल गरेर कमाएको धर्म थोरै भएकाले आप्mनी प्रिय पूत्रीलाई गर्भै समेत बहत्तर मैन्हामा “कन्यादान” गरेका थिए । कन्यादान, सबै दानहरुमा ठूलो । बिहा भएको धेरैपछि चार दिनको लागि उनी माइत गएकी थिइन् । बल्ल्तल्ल सासू बज्यैले बिदा दिएकी थिइन् र पो । आज फर्कदै छिन् । आप्mनो घर टाढै देखिन् । देख्दै शरीर गलेर आयो ... खुइय ... । लामू सास फेरिन् । तेन्जिङले एकपटक हिमाल चढ्यो ... तर यिनले दिनदिनै चढ्नु पर्छ ... भोलि बिहानै भालेको डाकसँग ब्युँझनु पर्छ ... पानी भर ... भात पकाऊ ... चूल्हो जुठो गर ... भाँडा माज ... बनपात जाऊ ... बेलुका उही भात भान्सा ... अनि सासू बज्यैको गोडा मिच ... अनि पो सूत्न पाइन्छ जम्मा पाँच सात घडी, त्यै पनि चीसो ओछ्यानमा । वाँ (पोई) जागीरमा नेपाल जान“भा”छ ... उनको मनमा भोलि घूम्यो ।

... अनि यस थासे आइमाईले नकच्चरो हाँसो हाँस्दै चतूरेको हातमा पैसा राखिदिई र सोधी – “सँचै छ चतूरे जेठा ?”

“सँचै छ सुबिदार्नी आमै ?” उसले सँचोका लागि सँचै छ भन्दियो ।

द्धितीय विश्व युद्धमा मानबहादुर माझीले त्यो “नरमाइलो अर्काको ठाउँ” (उसको भनाइअनुसार) बाट फर्किदा आफूसँग यौटी तरुनी पत्नी लिएर आयो जो “हिन्दुस्थाना”मा रैछे । घर फर्केको खुशियालीमा भोज पनि गरियो । मेशिनगनका गोली पचाएर आएको मानबहादुर सुविदार भोजका राँगाको चौटा पचाउन नसकेर म¥यो । दुई पैसाको ओखतीको सट्टा ज्यान फाल्नु पर्ने ठाउँ पनि मान्छे जिन्दगीभरि विर्सन सक्दैन – जन्मेको थलो । सुबिदार्नी यही बसिन् । सूविधाअनूसार बर्षको दूईचार चोटि माइत जान्छिन् । यिनको माइत कुत्रि कुन लाहुरमा पर्छ थाहा छैन । जाँदा यिनीसँग एक दुईटी तरुनी अवश्य हुन्छिन् कि त वालविधवा कि त परित्यक्ता । तर घर फर्कदा सधैं एक्ली हुन्छिन् । सबैसँग हाँस्ने लेख्ने ठट्टा गर्ने मिजासिली फरासिली छिन् । उनको घरमा सधैं तरुना तत्रेरीको घूइँचो हून्छ ... ।

यतिन्जेल सबैसँग पसारिएका हात यहाँ आएर रोकिन्छन् । चतूरे यस मान्छेसँग सोध्छ – “कता भाटु (भिनाजु) ।”

कुत्रि किन यता कसैलाई पनि साइनु नलगाई बोलाउन मान्छे हिच्किचाउँछन् ।

“नेपालसम्म । साहुको भारी लिन ।” – त्यस भरियाले जवाफ दिन्छ ।

साहू । साँच्चैका साहू हो । धान दिएर रिन लाओस्, चाहे कपडा या नून । वर्षभरिकोकाम त ब्याज बापत नै जान्छ अनि साउँ उधैं उित्तको उत्ति ।

यससँग चतूरेले पैसा माग्दैन । माझीले माझीसँग डूङ्गा तार्दा पैसा लिंदैन ।

चतूरे टाउकोपट्टि उभियो । कान्छो पूच्छरमा बस्यो । डूङ्गा एक एक झड्कामा हुत्तियो । माझी ख्याउन थाले डूङ्गा पारोपट्टि लाग्यो ...

वारी पट्टि–

घाटको झूप्रो । जाँड बेच्ने दुईटी तरुनी । वरिपरि जाँड खानेका भीड । त्यसभन्दा बढ्ता मुख हेर्ने घुइँचो । डबखा (जाँड खाने ठूलो बटुको) को जाँडको सप्रयाक–सूप्रूक, साइँली माइलीको कटाक्ष सीतन । उत्ताउलो ठट्टा । कामुक कार्यकलाप । यौटा जाँडले मातेको माझी साँइलीको नारीमा समाउँछ । हातपात गरौलाजस्तो गर्छ । उधारो जाँड माग्दैछ । उ दित्र । वरिपरिका रमितेहरु बीच बीचमा हाँस्छन् । बिरालोले मूसा खेलाएको मनोहर दृष्य । यी दुवैका पोइहरू लाहुर गएका छन् । देख्नेगरी जाँड बेच्छन् ।

एक बथान मान्छे बोकेर थाकेको भरियाजस्तो डूङ्गा फक्र्यो । सबैका आँखा उतै तानियो । नौले नौला मान्छे भरिएको डूङ्गा ... चिनारु पो आउँछन् कि । क्यै लाहुरे पो घर फकर्याछन् कि ।

ठिहि¥याउने पानीमा चतूरे कम्मरसम्म डुबेको छ । भर्खर हिमाल पग्लेर आएको पानी असाध्यै चीसो छ । यसको जीउभरि काँढा उम्रेका छन् । यात्रु बटोहीहरु व्रmमशः उत्रँदैछन् । यौटा मान्छे ओर्लियो । हातमा एकजोर स्थानीय सार्कीले बनाएको काने जूत्ता । काँधमा झोला र कठालोमा छाता झूण्डाएको छ । जूत्ता लगाएर सरासर लम्कन्छ । रामेछाप अझै तीन कोश पर पर्छ । ... उसलाई आज नपुगीभा छैन । मूद्दाको तारीख छ । साक्खै आप्mनै बाबुसँगको लेनदेन मूद्दाको ।

चतूरेले बराह सकेसम्म बेसरी तानेर डूङ्गा अँचेटेकै छ ।

यौटा खुट्टैदेखि काटिएको लाहुरे दूईटा चोके लठ्ठीको भरले हिंड्दै चतूरेसम्म आइपुग्यो । चतूरेले त्यसलाई आप्mनै पिठ्यूँमा बोकेर वरसम्म ल्यायो र सबैको आँखा त्यसैमा केन्द्रित भए । यो यै गाउंको माझी हो । केही बर्षअघि यसका दुईटै खुट्टा सद्दे थिए । ... अब ती दिन फर्कदैनन् ।

यतिखेर उ उसको रमाइलो गाउँका तमामा मान्छेहरुको घेरामा घेरिएको थियो । उसबाट लाहूरको लडाईको वर्णय सूत्र सबै उत्सुक थिए । क्यै उसको टाँग काटिएकोमा चूक्चूकाउन थाले । क्यै ज्यान जोगिएकोमा खुशी भए । यसको ठीक अगाडि माहिली पनि उभिएकी थिई । माहिलीका प्रतीक्षारत दुईवटा आँखा देख्नेििबत्तकै उसको मुटुले ठाउँ छोड्यो ... ।

... भारत र पाकिस्तानको सीमानाको आकाश । बम बोकेर कुदिरहेका हवाई जहाजहरु । भूइँमा खाल्डा बनाएर बसेका तमाम सिपाहीहरु ... गोली चल्छ ... गोला चल्छ ... लंगडो लाहुरेले संझ्यो उसकै लामका तमाम साथीहरु जसको छातीमा पग्लेको शीशा रोपिइसकेको थियो ... दोर्जे भोटे ... पूलामी मगर ... त्यो सर्दार फेटावाल ... छ्या त्यसको नाउँ पनि आउँदैन ... अनि यै माहिलीको पोई पनि । हो यै माहिली जसको अगाडि उ उभिएको छ । लाहुरेले कोटको खल्ती छाम्यो – त्यहाँ माहिलीको पोइले मरेपछि तक्मा पाएको खबर भएको चिठी थियो । त्यो चिठी खेलाउँदै उसले सोच्यो – यै हो माहिलीको पोइको मरेपछिको कमाइ ?

“हो” अर्को मनले जवाफ दियो ।

“यसैलाई हो माहिलीले पर्खेर बसेकी ?”

“हो ।”

“दिउँ त उसको पोइको कमाइ ?”

दे । ... अहँ न दे । ... आखिर त दिनै पर्छ । ... द्यूँ त ? ... नाई ... उसको मनले उचित उत्तर दिन सकेन ।

तर साइँली रामे खत्रीसँग निस्कदैछ । हुन त यसको पोइ पनि बिदेशिएको छ, तर यो चाहिं त्यै खत्रीसँग सल्केकी छ भन्छन् । पोहोर पेट बोकेकी थिई रे ... तुहाई रे ... उ लाहुर गएको पोइको उस्तो वास्ता गर्दिन । “... आ, ई लाहुर गएका कैले फर्कन्छन् कैले । भरे हाम्रो गाउंतिर आउने हैन –” साँच्चै उसले रामे खत्रीलाई निम्त्याई ।

अन्त्यमा दुईजना विदेशीहरू पनि ओर्लिए । कालो चश्मा लगाएका उनीहरू गटर–पटर बोल्छन । जिरी जान हिंडेका रे, त्यतैबाट सोलुखुम्बु अनि दार्जीलिङ निस्कने योजना छ रे ... ।

... डूङ्गाबाट ओर्लदै फोटो खिच्ने तरखर गर्दै दोभाषेसँग भन्छन् – “व्यूटिफूल ... व्यूटिफूल ...”



प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 13 श्रावण, 2068

लेखकका अन्य रचनाहरु