जय !!! वीरभूमी गोर्खा

- कमला रिसाल "ज्योति"

भनिन्छ – जीवन नै एउटा नटुङिगने यात्रा हो । हरेक मानिसले चाहेर पनि नचाहेर पनि अनगिन्ति यात्राहरू पार गर्नुपर्ने रहेछ । जीवनको यो लामो यात्रामा विभिन्न घुम्तीहरू पार गर्नु पर्ने रहेछ । मेरो नियमित यात्रा सातामा एक दिन हुन्छ, काठमाडौंबाट धुलिखेल अनि धुलिखेलबाट काठमाडौं । यसैमा पनि आपूmलाई भाग्यमानी ठानेको छु किनकि “कुवाको भ्यागुतो” भन्ने उपाधि त पाएकी छैन । विद्यालय र विश्वविद्यालयमा अध्ययनरत रहँदा पनि अनगिन्ति स–साना घुम्तीहरू पार गरियो । तर पनि गोर्खा यात्रा उपयोगी र महत्वपूर्ण यात्रा । मेरो जीवनकै एक अविस्मरणीय यात्रा ।

ज्योति साहित्य प्रतिष्ठान, काठमाडौंले एउटा कविता यात्रा गोर्खामा गएर सम्पन्न गर्ने निर्णय ग¥यो । जुन मेरालागि “पशुपतिको जात्रा सिद्राको व्यापार” भनेझैं भयो । एक त नेपालकै वरिष्ठ साहित्यकारहरूसित गोर्खामा गएर काव्य गोष्ठिमा भाग लिन पाइने अर्को त गोर्खा जस्तो ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक विविधताले धनी स्थलको भ्रमण गर्न पाइने । साँच्चै मेरालागि त “के खोज्छस् कानो आँखो ?” भनेझैँ हुनु स्वभाविकै थियो । ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको संयोजकत्वमा र संस्थाकै सदस्य राजनविक्रम थापाको नेतृत्वमा गोर्खा कविता यात्रा गर्ने निधो गरिएको थियो । यस यात्रामा नेपाली साहित्यका, वरिष्ठ आख्यानकार (आख्यानपुरूष) डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ साहित्यकार तथा समालोचक डा. तुलसी भट्टराई लगायत चन्द्रकला नेवार, भिष्म उप्रेती, तुलसीहरि कोइराला, हरिप्रसाद पाण्डेय, लक्ष्मी उप्रेती, दिनेशविक्रम थापा, मणिराज सिंह, राजनविक्रम थापा, गीता रेग्मी, निरूपा प्रसून, कौशला लामिछाने र म कमला रिसाल ‘ज्योति’ को पनि संलग्नता थियो ।

हाम्रो यात्राको श्री गणेश २०६६ साल बैशाख १७ गते विहान ५ बजेबाट भएको थियो । यात्राको सुरूवात विन्दु काठमाडौं स्थित नयाँ बसपार्क बालाजु थियो । म भाले नवास्तै उठेर नित्यकर्म गरी धोवीखोला पुल नजिक पुगेर गाडीको प्रतिक्षा गर्न थालेँ । मलाई गाडी पर्खन भनेपछि ज्यादै पट्यार लाग्थ्यो । हुन त जीवनमा हरेक कुराको प्राप्ति जति सहज छ, प्रतिक्षा उत्तिनै जटिल छ । तर आजको पखाई विशेष पर्खाइ, एक–डेढ घण्टा वितेको पत्तै भएन् । गाडीको कानै खाने हर्नले म झस्केँ, त्यतिबेलासम्म म बसको प्रतिक्षा गर्दै भावनाको गंगामा डुबुल्की मार्दै रहेछु । मेरै अगाडि आएर गाडी टक्क रोकियो । राजविक्रम थापा लगायत अन्य साहित्यकारज्यूहरूलाई शुभ प्रभात चढाउँदै म पनि गाडी चढेँ, प्रभातकालीन समय भएकोले जाममा फस्नु पर्ने सम्भावना कम थियो । त्यसमा पनि सार्वजनिक विदाको दिन । हाम्रो यात्रा चावहिल, गौशाला तीनकुने हुँदै नयाँ बानेश्वर चोकमा रोकियो र हाम्रा अतिथि साहित्यकारज्यूहरू पनि गाडी चढ्नु भयो । पुनः हाम्रो यात्राले निरन्तरा पायो , कलङ्की, थानकोट हुँदै गाडी नागढुङ्गाबाट ओरालोतिर मोडियो । मेरा यी तिर्खाएका आँखा प्राकृतिक सौन्दर्य पान गर्न आतुर थिए । बैशाख महिना वसन्त ऋतु । धर्ती त सिङ्गारिएकी नयाँ बेहेलीझैँ थिइन् । प्राकृतिक सौन्दर्य पान गर्दा गर्दै आपूm धादिङको मलेखु पुगिसकेको पत्तै पाइनँ । त्रिशुलीको किनारामा पुगेर पनि भावनाकै गंगामा नुहाउँदै रहेछु । गाडी त्रिशुली नदीको किनारमा अवस्थित ‘हिल टप रेष्टुरेन्ट’ मा गएर रोकिएको रहेछ । म मात्र कहाँ हो र । हाम्रा विशिष्ट पाहुनाहरू पनि भोक, प्यास,थकाई सबै भुलेर भावनाको दुनियाँमा हराउनु भएको मैले पाएँ । त्यहाँ अडर बमोजिम खाना तयार थियो । हामी सबै भोजन कक्षतिर प्रवेश ग¥यौँ । त्यो ठाउँ जति सुन्दर शान्त र रमणीय थियो खाना पनि त्यस्तै स्वादिष्ट रहेछ । झन दही त भक्तपुरको जुजु धौलाई नै जित्ने खालको । हामी मध्ये केही शाकाहारी थियौ त केही सर्वहारी । केही समयपछि हाम्रो यात्राले फेरि निरन्तरता लियो । थोरै समय गाडी चढ्दा पनि पट्यार लाग्थ्यो मलाई । तर आजको घण्टौंको यात्रा पनि क्षणिक जस्तो भान भएको छ । हुन पनि यो संसार नै अनौठो छ । दुःखमा त्यही समय कति लामो, सुखमा लामो समय पनि कति छोटो, घण्टौ पनि मिनेट जस्तो ।

गोर्खाको जिविस हलको छेवैमा पुगेर गाडी रोकिएपछि म त झल्यास भए, मस्त निन्द्राबाट भर्खरै ब्यूँझिएजस्तो । म त कल्पनाकी देवीसँग त्यँहीको भिर, पहरा, छहरा, छाँगा, नदीनाला, वनपाखामा चाहार्दै रहेछु । यो मनचरीले नेपाल खाल्डाको मरूभूमिबाट केही समयका लागि भए पनि छुट्कार पाएको थियो, प्रकृतिको सुन्दर काखमा विचरण गर्न । करिब १ बजेतिर हामी गोर्खास्थित जिविस हलमा पुगेका रहेछौँ । त्यहाँ कार्यक्रमको तयारी हुँदै गरेको कुरा साहित्य संगम गोर्खाका साथीहरूले बताउनु भयो । हाम्रा केही साथीहरू पनि उक्त कार्यक्रमको चाँजोपाँजो मिलाउन भनी त्यही ओर्लनुभयो । म लगायत केही साथीहरू गोर्खाकै प्रसिद्ध सत्यम् होटेलमा आरामका लागि प्रस्थान ग¥यौँ । बैशाख महिनाको उखर्मौलो घाम केही गर्मीको अनुभूत हुनु पनि त स्वभाविकै हो । हामीले काठमाडौंबाटै रियल जुस लगेका थियौँ । हामी छहराको पानी पिएर मात्र प्यास मेटाउने नेपालीहरूका लागि यो रियल जुस त घाँटीसम्म भिजाउने साधन नै त हो । तर मेरा लागि अविस्मरणीय घटना के भयो भने त्यहाँ, यता जिविस हलमा कार्यक्रमको व्यवस्था मिलाउन भनेर बसेका साथीहरूका लागि छुट्याएको जुस त एकै छिनमा गायव भएछ । हुन त हाम्रो देशमा कत्राकत्रा हात्ती जत्रा कुरा छिनमै गायव हुन्छन् यो त भुसुना भन्दा पनि सानो कुरा । “जात फाल्नु गहतको झोलमा” भनेझैँ केही समय होटलमा आराम गरेपछि कार्यक्रमको तयारी सकिएर सुरू गर्ने तरखरमा पुगेको जानकारी पायौँ र त्यस्ैतिर प्रस्थान ग¥यौँ । कार्यक्रम निर्धारित समयमै सुरू भयो । गोर्खाको विभिन्न स्थानबाट साहित्यकारहरूको जमघट भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकारदेखि सर्वसाधारणको उपस्थिति थियो । विभिन्न कविहरूले रचना सुनाउने क्रममा गोर्खाका एकजना कविले ‘साला काठमाण्डु’ शीर्षकको कविता सुनाउँदा सबैको ध्यान त्यतैतिर मोडिएको थियो । नौलो शीर्षक भएकोले निकै चाखलाग्दो थियो । कार्यक्रममा विशिष्ट स्रष्टाहरूले पनि मन्तब्यसहित आफ्नो कविता पनि वाचन गरेका थिए । उक्त कार्यक्रम लगभग ५÷६ बजेतिर सम्पन्न भयो । त्यसपछि सामुहिक फोटो खिच्ने कार्यक्रम भयो ।

जिविस भवनमा सम्पन्न भएको उक्त कार्यक्रमको समाचार गोर्खा एफ.एम. तथा विभिन्न सञ्चारमाध्यमहरूले प्रसारण गरे । तत् पश्चात सबैजना आ–आफ्ना गन्तब्यतिर प्रस्थान गर्ने कार्यक्रम थियो । हामी काठमाडौंबाट जाने साहित्यकारहरूको त्यो दिनको गन्तब्य स्थल सत्यम् होटल नै थियो । बेलुकाको भोजनपछि सबैजना आ–आफ्ना खोपीतर्फ लाग्यौं । एउटा कोठामा म, निरूपा र कौशलाको त्रिवेणी थियो । हामी तीनजना बल्लबल्ल तीन दिशाबाट भेला भएका साथीहरू । कहिले पालैपालो रचना सुनाउथ्यौं त केहिले सामूहिक रूपमा गीत गुनगुनाउथ्यौं । हाम्रा आँखाहरू ढकनी बन्द गर्ने पक्षमा थिएनन् । कारण के हो भने हामी सूर्योदयको अर्थात् भोलिको प्रतिक्षामा थियौँ । हाम्रो यात्राको दुईओटा प्रमुख उद्देश्यमध्ये एउटा ज्योति साहित्य प्रतिष्ठान र साहित्य संगम गोर्खाको सहयोगमा साहित्य गोष्ठि सम्पन्न गर्नु र अर्को ऐतिहासिक र सांस्कृतिक विविधताले भरिपूर्ण गोर्खाजस्तो पवित्र भूमिको अध्ययन अवलोकन गर्नु । पहिलो उद्देश्य त पूरा भइसकेको थियो । हामी तीनैजना दोस्रो उद्देश्य प्राप्तिको पर्खाइमा थियौँ ।

केही पल बन्द रहेको परेलीका ढोका विहान कुखुरा बास्न नपाउँदै खुले । साथीहरू (कौशला र निरूपा) लाई उठाउँदै म आफ्नो नित्यकर्मतिर लागेँ । चन्द्रकला आन्टी र लक्ष्मी दिदी त झनै पहिले उठिसक्नु भएको रहेछ । २०६६ साल बैशाख १८ गतेको शरदीय घडीको प्रभातकालिन समय थियो यो । म भने सत्यम् होटेलको बार्दलीमा बसेर गोर्खाको प्राकृतिक सौन्दर्य पिइरहेकी थिएँ । सूर्यको सुनौलो किरण आएर मेरो शिरदेखि पाउसम्म स्पर्श गर्दै सुम्सुम्यायो, हिम परीहरू हरियो पहिरनमा सजिएर मुस्कुराउँदै थिए । हत्केलामा लाली गुराँस र सुनगाभा लिएर मेरै स्वागत गर्न तम्तयार भएझैँ देखिन्थे । मयूरको नृत्यसँगै कोइलीको कुहूकुहू गाइरहेको थियो । स्वागत गर्ने बहानामा मलाई प्रकृतिले समेत गिज्याएझैँ लाग्यो, कोइलीले तिमी को हौ ? मेरो पवित्र भूमिमा पाइला टेक्ने ? तिमी काठमाडौंबासीहरूलाई नेपाल (काठमाडौ उपत्यका) नै ठीक, तिमी कुवाका भ्यागुता भएर बस, फर्क, फर्क जाओ ।। भनेझैँ लाग्यो । म पनि केही बोल्न खोजिरहेको थिएँ । म नेपाली, मेरो देश नेपाल, म गोर्खाली वीर गोर्खाली, हामी विश्वमै परिचित छौँ ..........। तर मेरा अधरहरू कामिरहेका थिए । गला अवरूद्ध थियो । त्यसैले म कानमा तेल हालेर बसेझैँ चुपचाप बसेँ । सुने पनि नसुन्नेझैँ गरेँ, बोल्न सकिन । मेरो शिर गर्वले ठाडो छ, मलाई नेपाल र नेपाली भन्दा पनि गोर्खा र गोर्खाली हुनुमा गौरव छ । यस्तै यस्तै भन्न चाहन्थे म ।

यसरी म भने कल्पनाको सागरमा डुबुल्की मार्दै थिएँ । एकछिन मेरो ध्यानलाई यथार्थतिर केन्द्रित गर्न खोजेँ । डा. ध्रुवचन्द्र गौतमको नेतृत्वमा भिष्म उप्रेती, मणिराज सिंह, तुलसीहरि कोइराला आदिले राती कोठामा ड्रिङ्कस पनि गर्नु भएको रहेछ, त्यो रहस्य भोलिपल्ट विहानै खुलिसकेछ । हामी पैदल यात्राको लागि सत्यम् होटेलबाट बाहिरिन थाल्यौ । डा. ध्रुवचन्द्र गौतम, चन्द्रकला नेवार स्वास्थ्य तथा बुढ्यौलीपनका कारण यात्रामा सामेल हुनु भएन् । उहाँहरू त्यही बसेर गोर्खा एफ.एममा अन्तर्वाता दिने निधो गर्नु भएछ । हाम्रा विशिष्ट अतिथि डा. तुलसी भट्टराई पनि आफ्नो कूलदेवीको दर्शन गर्न भनी तल्लो बाटो हुँदै खोलातिर लाग्नु भयो ।

हाम्रो यात्रा गोर्खा बसपार्क हुँदै उत्तरतिर बढ्दै थियो । बाटोमा एउटा तलाउ भेटियो । त्यसको वरिपरि भगवान विष्णु, गणेश, कृष्ण आदिका स–साना मूर्तिहरू निकै आकर्षक थिए । त्यहाँ अवस्थित नेवारी शैलीको दरबारलाई तल्लो दरबार भनिदो रहेछ, जहाँ गोर्खा सङ्ग्रहालय पनि रहेको छ । त्यो दरबारबाट माथिल्लो दरबार अर्थात् मूख्य दरबार पुग्न एक घण्टाको पैदल यात्रा गर्नुपर्ने रहेछ । ढुङ्गाको सिँडी भएपनि नाकको डाँडी ठोकिने उकालो रहेछ । गोर्खा दरबार पुग्न हतारिएकी हुनाले त्यो उकालो कठीन जस्तो देखिए पनि मेरा लागि सहज बन्यो ।

नेपालमा राष्ट्रनिर्माता, एकिकरणकर्ता तथा संस्थापक पृथ्वीनारायण शाहको जन्मथलो हो–गोर्खा दरबार, जुन समुन्द्र सतहदेखि ११३५ मिटरको उचाईमा अवस्थित छ । त्यो मुख्य दरबारलाई धुनीपाटी पनि भनिदो रहेछ । पृथ्वीनारायण शाहको जन्म पनि त्यसै दरबारमा भएको हो । त्यहाँ बल्ने आगोको ज्वाला पृथ्वीनारायण शाहको शासनकालदेखि निरन्तर रूपमा बलिरहेको मानिन्छ । दरबारभित्र छालाको जुत्ता, पेटी आदि सामान लान निषेध गरिएकाले हामी खाली पाउ दरबार क्षेत्रमा प्रवेश ग¥यौं । यसको पश्चिमपट्टि कालिका मन्दिर अवस्थित रहेछ । त्यो मन्दिरमा बाहुन पुजारी राखिने परम्परा रहेछ । त्यहाँ राजाहरूले मात्र प्रवेश पाउने रहेछ । सर्वसाधारणको लागि भने यो मन्दिर सदाको लागि बन्द रहेछ । मैले कालिका भगवतीको दर्शन बाहिरैबाट गरे र एउटा फोटो खिचाएँ । त्यो फोटो मात्र पनि भविष्यमा इतिहास बन्न सक्छ । संस्कृति बन्न सब्छ भन्ने कुरामा मलाई पूर्ण विश्वास थियो । त्यो मन्दिर दशैंमा मात्र खुल्ने र काठमाडौंको दशैं घरमा त्यहीबाट फुलपाती ल्याएर भित्राउने चलन छ ।

गोर्र्खा शब्दको उत्पति गुरू गोरखनाथको नामबाट भएको मानिन्छ । गोरखनाथ काठमाडौंबाट गएर गोर्खा दरबार क्षेत्रमा रहेको गुफामा बस्न थालेको किम्वदन्ती छ । गुरू गोरखनाथले नै द्रव्य शालाई तिम्रो एघारौं पुस्ता नेपालको राजा हुनेछ भनेका थिए रे । पृथ्वीनारायण शाहले नेपाल राज्यको एकिकरण गरी काठमाडौंका राजा बनेकोले त्यो भनाई सत्य सावित भयो । दरबारभित्र पसेर पृथ्वीनारायण शाहको शैनकक्ष, पूजाकोठा आदि अवलोकन गरियो । दरबारको माथिल्ला तलाहरू जान भने निषेध गरिएको रहेछ । रानीहरू सुत्केरी हुँदा बस्ने घर भने अलितल छुट्टै रहेछ । दरबारको तल्लो भागमा हनुमानथान रहेछ । हनुमानलाई नारीहरूले छुन हुन्न भनिएकोले मैले परैबाट दर्शन गरेँ र फोटो पनि खिचेँ ।

सैनिकहरूको मुख्य स्थल गोर्खा, गोर्खासैििनक इमान्दारिता र बहादुरीका लागि विश्व प्रसिद्ध छ । जसरी आज हामी नेपाल र नेपाली भएकोमा गर्व गर्छौं । त्यसैगरी तत्कालिन समयमा गोर्खा र गोर्खाली भएकोमा गर्व गरिन्थ्यो । किल्लाको रूपमा रहेको गोर्खा दरबार केन्द्रविन्दुमा अवस्थित रहेछ । केही भवनहरू रामशाहको पालादेखिको मानिन्छ । नेपाली कलाको अनुपम नमुनाका रूपमा गोर्खा दरबारलाई लिइने भएकोले यो ठाउँ आन्तरिक र वाह्य पर्यटनको लागि महत्वपूर्ण देखिन्छ । दरबारको विविध पक्षको अध्ययनपछि पुनः गन्तव्यतर्फ लाग्यौं ।

गोर्खा दरबारबाट फकिएपछि केही राम शाहको चौतारीमा पुग्यौँ । त्यहाँ ऐतिहासिक राजा रामशाहले जनताहरूको न्याय निशाफ गर्थे रे । उनकै पालादेखि “शिक्षा हराए काशी जानु, न्याय हराए गोर्खा जानु” भन्ने उखान चलेको मानिन्छ । त्यो ठाउँ चारैतिर पर्खालले घेरिएको रहेछ । त्यहाँबाट गोर्खा जिल्लाकै प्रसिद्ध हिमालहरू मनास्लु, गणेश, हिमालचुली, बौद्ध हिमाल आदिको दृश्य अवलोकन गर्न सकिने रहेछ ।

गोर्खा जिल्लाका प्रसिद्ध मन्दिरहरू गुरू गोरखनाथ, गोरखकाली, मनकामना लखनथापा गुफा, बक्रेश्वर महादेव, श्रीनाथ कोटाकाली, अजीरकोट काली आदि हुन् । जसमध्ये मनकामनाको पनि छुट्टै गरिमा छ । मनको इच्छा पूरा गर्ने देवीका रूपमा विश्वभर प्रसिद्ध मन्दिर हो मनकामना । यो मन्दिर गोर्खा जिल्लाकै प्रसिद्ध मन्दिरमा पर्छ । मनकामना राजा रामशाहकी रानी हुन् । उनमा दैवी शक्ति रहेको कुरा उनका भक्त लेखन थापालाई मात्र जानकारी थियो रे । एकदिन राम शाहले पनि सो कुरा प्रत्यक्ष रूपमा थाहा पाएछन् । यो मन्दिर त्रिशुली र मस्र्याङदीको वीचमा रहेको १३०२ मिटर अग्लो डाँडामा छ । मनकामना केबुलकारको निर्माणले गर्दा श्रद्धालु भक्तजनहरूलाई घण्टौं पैदल हिड्नु पर्ने झन्झटबाट मुक्ति मिलेको छ । हाल मन्दिरसम्म आवत जावत गर्न निकै सजिलो भएको छ ।

त्रिशुली, म¥र्याङ्दी, बुुढी गण्डकी, चेपे, दरौंदी आदि नदीहरूको काखमा अवस्थित गोर्खाको भ्रमण धार्मिक, ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक आदि जुनसुकै कोणबाट पनि महत्वपूर्ण भएकाले आन्तरिक र बाह्य दुवै पर्यटनको लागि महत्वपूर्ण छ । सबैलाई थाहा भएकै कुरा हो । नेपाल प्राकृतिक तथा ऐतिहासिक रूपमा मात्र विश्व प्रसिद्ध नभएर परापूर्वककालदेखि धार्मिक तपोवनका रूपमा प्रसिद्ध छ । थोरै मात्र प्रयास गरे पनि धार्मिक पर्यटनबाट अरबौं विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना टड्कारो देखिन्छ ।

कस्तुरीले आफ्नै वासना खोजेझैँ हामी नेपाली पनि आफ्नै देवथलोलाई छाडेर मुुक्तिका लागि विदेशी भूमिमा भौंतारिनु कति सरम लाग्दो कुरा हो । योजनाबद्ध प्रयास गर्ने हो भने गोर्खाजस्तो ऐतिहासिक र साँस्कृतिक विविधताले भरिपूर्ण भूमिलाई विदेशी मुद्रा आर्जन गर्ने स्रोत बनाउन सकिन्छ । यसको लागि सरकारको मात्र मुख नताकी हामी सबै नेपाली मिलेर, हातमा हात काँधमा काँध मिलाएर अघि बढ्ने हो भने नेपाल पर्यटन वर्ष २०११ पूर्ण सफल हुने कुरामा कसैले द्विविधा मान्नु पर्दैन ।

हाम्रो यात्रा क्रमशः गन्तव्यतिर बढ्दै थियो । यसै क्रममा गोर्खा यात्राका नेतृत्वकर्ता राजनविक्रम थापाको पुख्र्यौली घरमा पुगेर चिया, नास्ता ग¥र्यौ ।

डा. तुलसी भट्टराई पनि कुलदेविको दर्शन गरी फर्किसक्नु भएको रहेछ । सत्यम् होटेलमा पुगेपछि साहित्य संगम गोर्खाका साथीहरूले हाम्रा विशिष्ट अतिथिज्यूहरूलाई केही उपहारहरू “मायाको चिनो” प्रदान गर्नुभयो । त्यसपछि त्यो पुण्यभूमि, त्यो स्वर्गीयभूमि गोर्खालाई मन, मष्तिष्क र आँखाभरि सजाएर मरूभूमि अर्थात हिजोका काव्यगोष्ठिका कविले भनेझैँ ‘साला काठमाण्डू’ तिर फक्यौं । खाना भने आँबुखैरेनीमा आएर थकाली होटेलमा खाइयो । त्यसपछि पुनः हाम्रो यात्राले निरन्तरता पायो । गाडीमा फर्कदा पनि निकै रमाइलो भएको थियो । हाम्रा कवि, आशुकविहरूले तुरून्तै कविता लेखेर सुनाउँदै हुनुहुन्थ्यो । कवि मणिराज सिंहको ‘गोर्खा एक वृत्तचित्र’ कविता सुन्दा वासस्थान नै गोर्खालाई बनाएर आफ्नो इहलीला गोर्खाकै पवित्र भूमिमा समाप्त गरूँझै लाग्यो मलाई । कविताका केही पंक्तिहरू हेरौं ः

आफैँमा लर्बरिएर

कहिले गाली गर्छ

कहिले माया गर्र्छ

श्रद्धा पनि गर्छ

र आफ्नै सिमित साधनमा मुर्मुरिएर पनि

सडक छेउमा उभिएकी सुन्दरीझैँ

मुस्कुराउँदैै मस्किन्छ गोर्खा

रामशाहको चौतारीमा उभिएर

न्याय निसाफको बखान गर्छ

शिरमाथि दरबारभरि पोखिन्छ

पृथ्वीको वीरताको उद्घोष गर्छ ।

(राजधानी छिरेपछि, पृ. २२)

हाम्रो दुई दिने यात्रा त समाप्त भयो तर मेरो मनभरि, आँखाभरि, मुटुको धड्कनभरि गोर्खा सल्बलाई रह्यो । शिरमा सगरमाथा राखी गोर्खाली हुन पाएकोमा मलाई गर्व लाग्यो र मनको इच्छा पूरा गर्ने मनकामना माईसँग मेरो शिर निलगिरिझैँ उच्च राख्न सयौं जुनीसम्म पनि मलाई वीर गोर्खाली बनाइदिनुस् भनी कामना गरेँ । जय १ ज्योति साहित्य प्रतिष्ठान, जय ११ साहित्य संगम गोर्खा, जय १११ वीरभूमि गोर्खा ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 11 श्रावण, 2068

लेखकका अन्य रचनाहरु