सर्प उद्योग

- पूर्ण मुनंकर्मी

एक जना सपेरा गाउँमा चटक देखाउन आएको थियो । उसले बिभिन्न जातका थरिथरिका सर्पहरुलाइ नचाउँदै गाउँलेहरुलाइ मनोरन्जन गराइरहेको थियो । सर्पमध्ये सवै भन्दा राम्रो देखिने गोमनको महत्व र आर्थिक तथा औषधिय गुण बारे पनि जानकारी दिएको थियो ।

‘गोमन हाम्रो सत्रु होइन मित्र हो’ सपेराले चटक हेरिरहेका सवैलाइ विश्वास दिलायो । एउटै गोमनको मूल्य लाखौं पर्ने र गोमनको खेति अरु सवै खेति वा ब्यवसाय भन्दा आर्थिक दृष्टिले उच्च रहेका पनि जानकारी दिए । मनोरजन र आर्थिक दुबै दृष्टिले दर्शकहरु नजािनंदो रुपमा गोमन प्रति आकर्षित हुन पुग्यो । सपेराले गोमनलाइ आफ्नो हात, घाँटी र जीउमा बेर्ने चलाउने आदि पनि गरी दर्शकको भरपूर मनोरन्जन गराइरहेको थियो । दर्शक मध्ये केहि साहसीहरुलाइ पनि गोमन जीउमा बेर्न प्रोत्साहित गरे र एक दुइ जनाले आफ्नो जीउमा लगाए पनि ।

गोमनलाइ जीउमा बेर्ने युवा त्यस गाउँमा ‘नामी’ भए, ‘वहादुर’ कहलाइए र गाउँका ‘अगुवा’ भए ।

सर्पले डस्न सक्छ भन्नेहरु पनि निस्किए, दर्शकमा । तर ती वहादूर अगुवाहरुबाट ‘कायर’मा गनिए, सपेराले पनि तिनिहरुलाइ ‘डरपोक’को संज्ञा भिडाए । उनिहरु धपाइए ।

गाउँमा सर्प प्रति राम्रो धारणा बन्यो र गोमन जीउमा बेर्ने युवा अगुवाको नेतृत्वमा सर्प उद्योग गरी गाउँलाइ सम्पन्न बनाउने योजना बन्यो । छिट्टै नै गाउँलाइ धन र नाम दुबैबाट प्रख्याती बनाउने संकल्प गरियो । सर्पदेखि डराउने ‘डरपोक’हरुलाइ गाउँलेहरुबाट बहिस्कार गरायो । र उनिहरु विस्थापित भए ।

सर्पको बानी ब्यहोरा खानपान तथा वातावरण थाहा भएका सपेरालाइ नै सर्प उद्योगको सल्लाहकारमा नियुक्त भए । केहि सर्प सल्लाहकारबाट पनि अनुदानमा प्राप्त भयो । बिदेशी पाहुना समेतलाइ निम्त्याएर भब्यताका साथ सर्प उद्योग संचालन भयो ।

सर्पको संख्या बढ्दै गयो । सपेरा र ‘वहादुर’ ‘अगुवा’हरुको पनि आय तथा मान दुवै बढ्दै गयो । गाउँका मानिसलाइ सर्पसंग परिचित गराए । गाउँमा सर्पहरुको ब्यापक जनसंख्या बृद्धि भयो । सर्प उद्योगमा गाउँलेहरुले आफ्नो लगानी बृद्धि गर्दै गए ।

सर्पलाइ गाउँलेहरुले अव ‘मित्र’ भन्ने निर्णय भयो । नागपंचमीमा जस्तै सर्पलाइ हरेक दिन दूध ख्वाउने गर्न थाले ।

सर्पले पनि गाउँलेलाइ गुण तिरे । अन्न खाएर दुःख दिने सबै मुसा सर्पको शिकार भए । गाउँलेहरु दङ्ग भए । मुसा विहीन गाउँको घोषणा भयो । सर्प उद्योगको नेतृत्व लिने सपेरा र ‘अगुवा’हरुको भब्य सम्मान भयो, धेरै खादा बुने र फूलको धेरै माला गांसे ।

सर्पको जनसंख्या बृद्धिले गर्दा गाउँमा मुसा मात्र होइन अन्य साना पशुपंक्षी सवै शिकार भए । गाउँमा कुनै कुखरा र चराचुरुंगि रहेनन् । विराला र साना पशुहरु पनि सर्पको खानामा परिणत भयो । विस्तारै विस्तारै ठूला घरपालुवा पशुका पाडाहरु पनि सर्पको शिकार भए । गाउँका सवै पशुपंक्षीको बंश लोप भयो ।

गाउँलेको प्रमुख आय आर्जन खेती किसानीमा यसले निकै ठूलो नोक्सानी भयो । चराचुरुंगि नहुंदा किरा फट्यांग्रा र ढुसीको प्रकोप बढ्यो । खेतमा लगाइएका सवै बाली रोगले सखाप भए । गाउँमा भोकमरी भयो । खाने कुनै जनावर पंक्षी नभए पछि सर्पले मानिसलाइ पनि डस्न थाल्यो । सर्पको डरले गाउँलेहरु गाउँ छोडी अन्यत्र पलायन भयो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 9 श्रावण, 2068

लेखकका अन्य रचनाहरु