सानुमायाँ र पुरुष छाया

- जे. बी. शेर्पा

नमस्ते सर !
मुसुक्क हाँस्दै नरे सरासर भित्र आउँछ र दुवै हातमा बोकेको थाललाई गाउँमै बनाईएको काठको बांगोटिङ्गो टेबुलमाथि राख्छ र तरकारी लिएर आउंछुहै सर भन्दै हुईकीएर लगतै बाहिर निस्कन्छ ! तात्तातो वाफ उडिरहेको ताजा परिकार उनीहरुको अगाडी हुन्छ ! तरकारी लिएर नरे पुन: प्रकट हुँदै भन्न थाल्छ खानुस सर मेरो दिदीले पठाउनु भएको , चंचल , वालशुलभ नरे फेरी बाहिरिन्छ !

एकाएक दुवैजना ढल्किरहेको ओछ्यान छाडी ढिँडो नजिकै बस्न आई पुग्छन र रमाइलो सुरमा मुखामुख गर्न थाल्छन, पुर्वजानकारीविना आइ पुगेको त्यो ढिँडोले दुवै लाई अलमल्ल र चकित पारिरहेकोछ ! अनभिज्ञ र कौतुहलयुक्त ति दुईजना कस्ता देखिन्छन भने मानौ बाघको डमरुहरुले पहिलो पटक शिकारको अनुभव गरिरहेको होस् र शिकार संग नजानेर खेल्न खोजिरहेकोहोस ! कसको आग्रहमा आज यो ढिँडो यहाँ आई पुग्यो ? किन पठायो ? एक अर्कालाई प्रश्नोत्तर गरि रहन्छन अनि नयाँ ठाउँमा त्यसरी एक्कासि आई पुगेको ढिँडो र नरेको दिदी प्रति केहि शंकाको पातलो धुवाँ नउढेको पनि हैन तर त्यस्तो ठानीहाल्न कुनै उचित कारण चाहिन्थ्यो जुन थिएन ! उनुहरुमा छाएको एक प्रकारको कौतुहलता , उत्सुकता र चंचलपन दुवैको छटपटी र हाउ भाउ बाट प्रस्टै देखिन्छ ! प्रश्नहरु अनुत्तरित रहँदा रहँदै ढिँडोको आकार सानो र झन् सानो हुन थालीसकेको थियो ! राजधानी शहरमा जन्मेहुर्केको नेवारको छोरो श्यामले ढिँडो धेरै खान सकेन , किरण भने थाल्नै खाउँलाझैं गरि चरम स्वादमा ढिँडो निली रहेथ्यो ! निलिएका प्रत्येक ढिँडोका डल्लाहरु शतप्रतिशत गाउँको महक , स्वाद र ताजापनले भरिएको थियो , तर प्रत्येक ढिँडोको गाँस संगै वारम्बार उही अनुत्तरित प्रश्नहरु पटक पटक दोहोरीईरहेको थियो ! किरणले ढिँडोको मिठो स्वाद संगसंगै कताकता मनमा चिसो पसेको अनुभव पनि निलीरहेको थियो ! प्रशंगवस् उसले अस्ति भर्खरै गाउँलेहरु सित ढिँडो खान अति मनपर्छ भन्ने कुरो सुनाएको थियो ! झट्ट दिमागमा त्यहि कुरा नाच्नथाल्यो र त्यसले उसको मथिंगलमा झन्न झन्न करेन्ट हान्यो ! आजको यो तात्तातो स्वादिलो ढिँडो उनीहरुको अगाडी बिना पुर्वसूचना आइपुग्नु पक्कै पनि त्यसैको परिणाम हुनु पर्छ , तर यो कुरा उसले श्यामसंग खुलाउन चाहेन ! उता श्यामलाई भने कौतुहलता बढी रहेको भानहुन्छ , बाहिर आँगनमा नरे लाई बोलाउँछ र ढिँडो मात्र नभएर गाउँघरको खानाहरुजति सवै मनपर्ने , स्वादिलोर पोषिलो हुने बताउँदै उसको दिदीको वरिपरी कुरो पुरयाउन अझ अन्य कुराहरु कोट्याउन थाल्दछ र .....जवाफमा नरे भने बालशुलभ चंचल्तामा छोटो उत्तर हो र होइन , छ र छैन अनि खै थाहाछैन भन्ने शब्दहरु मात्र जवाफ दीईरहन्छ ....! बालसुलभ नरेको अनुहारमा निश्छलता र बोलीमा सत्यता भन्दा बाहेक केहि पाउँदैन श्यामले !
"नाम त सानुमायाँनै रहेछ नि !" सानुमायाँको विगत र वर्तमान वारे अर्को दिन श्यामले निकै जानकारी बटुलिसकेको हुन्छ र भित्र गढ़न लागेका आँखा र रुन्चे लाग्ने अनुहारमा विशेष चमक देखाउँदै एउटा नव प्रेमीको भावमा त्यस साँझ किरणलाई फुर्तिसाथ सुनाइरहेको हुन्छ मानौं उसले कुनै बाजी जितिरहेकोछ ! करिब ३५ वर्षे उमेर , मझौलो कदकाठीको श्याम यस गाउँमा संचालित एक सानो योजनाको निमित्त खटिएर आएको ओभरशियर हुन्छ भने त्यस योजनाको ठेकदार किरण हुन्छ ! करिव उस्तै कदकाठी उमेर र शहरिया र पढालेखा अनि एकै कामका लागि आएकाले हुनसक्छ एक दुई हफ्तामै दुवै घनिष्ठ साथी जस्तै हुन्छन ! दुवै गाउँकै एक घरमा बसेका हुन्छन ! कामका लागि बाहिरबाट ल्याएका कुल्लीहरू भने वरपरका घरमा बाँडिएर बसेकाहुन्छन ! सवैको कामगर्नुपर्ने साईट भने अलि तल चिसो र सिरेटो युक्त खोलामा हुन्छ ! ठाउँ , परिवेश , संस्कृति , मानिस सवै नयाँ छन् , दुवैमा उत्सुक्ताछ , लगावछ ! त्यस निरस ठाउँमा आजकाल निकै चहल पहल बढेको छ रौनकता छाएकोछ ! बर्सातको भेल आउनु अघिनै त्यो खोलाको काम सकी सक्नुपर्ने भएकोले कामको चहल पहल बढेकोछ , नत्र अधुरो काम र वरपरका सर-सामानहरु सवै बगाएर नामो निशानानै मेटाई दिन्छ !

अचेल केहिदिनयता किरण अलिक सम्हालिएको हुन्छ , विशेष गरि सानुमायाँ बाट ! नुहाई धुवाई इत्यादि गर्नु पर्दा धारा वरिपरी सानुमायाँको अनुपस्थिथि को अवस्थामा मात्र गर्न खोज्छ यात खोलामै त्यो काम भ्याएर आउँछ , तर सानुमायाँको मनमा उस्को व्यक्तित्व वारे नकारात्मक सोचाइ नरहोस भन्ने पनी चाही रहेको हुन्छ र ! यस विपरित ओभरशियर श्याम भने निकै छरितो फुर्तिलो र प्राय गित गुनगुनाई रहने गायकनै बनेकोछ र प्राय सानुमायाँको धारोमा आउने जाने समय लाई विशेष निगरानी गर्छ अनि आफ्नो धारो जाने समयलाई जुधाई दिन्छ ! यस विच किरण अनुभव गर्छ कि ठेकदार र ओभरशियर बिच अथवा भनौं एकै घरमा वस्नेहरु विच हुनु पर्ने विभिन्न विषय उपरका सामान्य र व्यावहारिक कुराकानीहरु भने कमहुन् थालेकोछ ! यस प्रति किरणको खासै दुखेसो र गुनासो र चासो छैन यद्धपी मनमा कतै एउटा अज्ञात भय र आशंकाले ठाउँ जमाउन थालिसकेको हुन्छ !

सुडौल,गोरो र सुन्दर रुपरंगकि धनी सानुमायाँ त्यस निरस उराठ प्रकृतीमाझ फुलझैं प्रतित हुन्छ , लाग्छ उ त्यहाँ नभएर अन्तै कतै सुन्दर स्वप्निल दुनियाँमा हुनुपर्ने हो ! ओभरशियर श्याम सानुमायाँको त्यस सुन्दरतामा यति विध्न मोहित छ कि हरेक साँझ उनकै वारेमा मात्र बिभिन्न कुराहरु गरिरहन्छ , सपना बुन्छ , टोलाएर बस्छ ! किरणको निमित्त त्यो कार्य अनैतिक हो , एउटा कुकर्महो र यस ठाउँमा एउटा जघन्य अपराध घट्न गइ रहेछ , किरणले यहि बुझिरहेकोछ , तर श्याम लाई सम्झाउन नसकिरहेको अवस्थामा लाग्छ त्यो पनि ढिलो भैसकेकोछ ! फेरी सानुमायाँ लाई पनित सम्झाई बुझाइ गर्नु पर्ने हुन्छ जसको लागि उ नायक बनेर श्याम लाई खलनायक बनाउनु पर्ने हुन्छ यात समय लाई दोष दिने अवस्था सिर्जना गर्नुपर्ने हुन्छ , जो उ गर्न सक्दैन !

मायालु मन्दमुस्कान , अनुरोधयुक्त र समर्पित झैं लाग्ने सानुमायाँको हेराई आजकाल पहिले जस्तो छैन यद्धपि किरणको उनि प्रतिको अप्रकट स्रद्धा भने सधैं उस्तै रहीरहेकोछ , यस अर्थमा सानुमायाँ लाई श्यामले आफ्नो स्वार्थ अनुरुप पन्जामा पारिसकेको हुनसक्छ , जसलाई उसको पागलपन बाहेक कुनै प्रेमको नाम दिन सकिंदैन ! उसलाई जबर्जस्ति र करकाप गर्नलाई समेत उ गलत समय र गलत परिस्थितिको परिबन्दमा श्याम संगै बाँधीएकोछ ! श्याम विरुद्ध प्रकट हुने कुनैपनी असहमति र असहयोगको परिणाम कस्तो हुनसक्छ त्यो ठेकदारी पेशाको छोटो अनुभवले पनि उसलाई राम्ररी सिकाइसकेकोछ अझ त्यो पनी मायाँप्रेमको मामिला, तैपनि बेलाबखत आफुलाई एउटा राम्रो साथीको रुपमा उभ्याउँदै उसलाई सम्झाउने हिम्मत नगरेको भने हैन ! धेरै प्रयासको वाबजुद पनी अब उसलाई लाग्छकि यो सम्बन्ध झनै बढ्दै झाँगिदै गैरहेछ , रोक्न सकिंदैन ! सम्झंदै चिन्तित हुन्छ , कथंकदाचित यसले काम बिगारेहाल्यो भने त सवै चौपट हुन्छ , नत तोकिएको समयमै काम सकिन्छ नत उता श्यामको घरपरिवारमा शान्ती नै रहनेछ , अनि सानुमायाँले पाउने सम्भावित दुक्ख:को सुरुवात , त्यसले गाउँलेहरुसंगको सम्बन्धमा पर्न सक्ने असर र त्यसको परिणाम ! अरु भन्दा पनि उ अधुरो कामलाई वर्खाको भेलले सबै बगाउँदै भत्काउँदै लगेको , गाउँले सवै मिलेर थप समस्या खडा गरेको अनि आफु त्यहाँ बाट रातारात भाग्नु परेको जस्ता छोटाछोटा चिसा दुर्घटनाका छालहरु मनमस्तिस्कमा ठोक्कीई रहँदा कहिले काहीं कतै क्विक् स्याण्डमा फस्दै गईरहेको झैं अत्यासलाग्दो अनुभव गर्छ !

श्यामले नैतिकताको सिमा नाघी सकेकोछ ! कहाँ सम्म भने , "" अब अर्को हफ्ता देखि सानुमायाँलाई पनि एउटा देखाउनको लागि काम दिनु परयो किरणजी त्यसो भए पछी गाउँलेहरुले पनी शंका गर्दैनन् मलाई पनी सजिलो "" लाजै पचाएर ङयाच्च दाँत देखाउँदै श्यामको विनम्र आदेश आउँछ ! अब श्याम नियमित त्यस चिसो खोलाको काममा अन्य कुल्लीहरुकै समय तालिका अनुसार जाने आउने गर्छ र प्राय सानुमयाँकै अघि पछी उ मडारिईरहेको देखिन्छ , खानाखाने समयमा प्राय दुवै कतै हराई रहेका हुन्छन ! किरणलाई खोंच अनि बोट बुट्यान पछाडी सानुमायाँलाई नाना भाँती सपना देखाउंदै छिल्लिई रहेको श्यामको घिन लाग्दो अनुहारको कल्पना आउनु सामान्य दिनचर्या जस्तै बनी सकेकोछ , उसले चाहेर वा नचाहेर त्यो सम्बन्ध रोक्न सक्ने होइन , कहिले काहीं आफैं लाई लाचार र हिम्मत हरुवा अनुभव गर्छ ! हरेक हफ्ता मेशको सामानहरु मगाउने लिस्टमा अब दुईचार वटा सामान सानुमायाँको लागि पनि थपिन थालेकोछ ,नयाँ मोडेलको काँईयो ,ऐना , अत्तर , घडी , चप्पल , बुढी आमाको लागि चप्पल र विस्कुट !

धागोको डल्लो झैं गुजुल्टिएको परिस्थिति र समस्यामा केहि फेरबदल भै हाल्लाकी भन्ने आशमा किरणले एक साँझ फेरी कुरा कोट्याउने आँट गर्छ ;

-- अचेल निकै झ्याम्मिनु भएकोछ कस्तो हुँदैछ प्रगति श्याम सर ? श्यामलाई सानुमायाँवारे यसरिनै छिल्लिएको भावमा कुरा गरेको मन पर्छ !

-- केटि एकदम सहिछ किरणजी , मोहनिनै लगायो मलाईत , मत यसलाई कहाँ छाड्छुर !

-- अनि तपाईं दुईटा स्वास्नी संग जीवन विताउनु हुन्छ ? कसरि खुशी राख्न सक्नु हुन्छ दुवैलाई अनि तपाईं कसरि खुशी रहनु हुन्छ ?

--- घरको स्वास्नी लाईत कहाँ थाहा दिने होत ? यसलाई कोठा लिई दिन्छु बाहिरै राख्छु , मैले पाल्न नसक्ने हैन क्यारे ? पछी थाहा पाएपनि विस्तारै कुरा मिलि हाल्छ्नी आइमाई त हो ! मेरो खुशी त अब यहिहो !

-- त्यसरी राम्रो हुँदैन सर , तपाइँहरु तिनैजनाको जीवनमा कुनैपनि खुशी बाँकी रहनेछैन जसले नानीहरुको जीवनमा समेत पछी नराम्रो असर पर्ने निश्चित हुन्छ !

-- हैन मैले यो सित बिहे गरेर अर्को घरजम नगरे पनि यसलाई सहयोग गर्न त मिल्छ्नी ? अर्काले पेट बोकाएर छाडेको अनि समाजमा हेयको पात्र बनिसकेकी केटि लाई मैले यत्रो सहयोग गर्न खोज्नु त मेरो उदारपन हो अनि यिनीहरुको भाग्य हो !

-- मानवीय आधारमा सहयोग गर्न त मिल्छ सर किन नमिल्ने ? तर तपाइँ उ बाट मोहित पनि हुनुहुन्छ , लगेर संगै राख्छु पनि भन्नु हुन्छ अनि सहयोग गर्ने पनि भन्नु हुन्छ ?

-- हेर्नुस ! बरु आफ्नो काम राम्ररी र बेलैमा सकाउने पट्टि लाग्नुस् , सानु मायाँ को चिन्ता नलिनुस बरु मलाई सल्लाह र सहयोग गर्नुस केगर्ने कसो गर्ने भनेर !

-- हैन सर गाउले हरुले यो सम्बन्ध नरुचाएको बुझी सकेको छु मैले , यो अवस्थामा कित तपाइले उसलाई बिहेनै गर्छु भनेर भन्न सक्नु पर्छ र उनीहरुलाई मनाई स्थानीय रित पुर्याई बिहे गरि लैजानु पर्छ , यदि मानवीय सहयोग मात्रै गर्नेहो भने लुकीछिपी बोट बुट्यान पछाडी दिन काटेको कसले निको मान्छ ? तपाइको चाहना त पुराहोला तर मत यहाँ बाट उम्किन पाउँदिन ! किरण आफ्नो जटिल अवस्थालाई विवश र निर्दोष कैदीले झैं वयान गर्छ अस्ति तपाईं काठमाडौँ जानु भएको बेला राती एकहुल गाउँले ठिटा हरु घोचा र भाटा लिएर आएका थिए मातेको झोंकमा , मलाई समेत एकैघानमा मुछेका छन् यिनीहरुले ! सरकारी कर्मचारी लाई कुटपिट गर्यौ भने तिमीहरुको गाउँमा कुनै पनि विकाशको योजना पनि आउँदैन , बेरोजगारी झनै थपिनेछ अनि कुटपिट र धाक धम्कि गर्ने लाई पुलिसले छाड्ने पनि छैन , म सवै मिलाउँछु , सम्झाउँछु किन वित्थामा कुरो नबुझी झगडा गर्ने भनि आश्वासन , डर र मायाँ देखाउँदै बल्लबल्ल फर्काएँ ! त्यस पछी भोलि पल्ट गा.वि.स. अध्यक्ष ले पनि धेरै कुरा सम्झाए मलाई ! पहिलो योजनामा आएको मान्छेले फोस्रा मायाँ र सपनाको महल बनाएर सानुमायाँको निश्छल प्रेममा खेलबाड गर्दै उसलाई बदनाम र दुखी:भएर बाँच्न छाडीदिएछ , अब पनि फेरी त्यस्तै कथा दोहोरिनेछ , यी शहरियाहरु सवै त्यस्तै हुन भनेर यिनीहरुले सोचीसकेका छन् , जस्तै वदनाम भएपनि उ समाजकै छोरीचेलीहो त्यसैले रिस सवैलाई उठ्छ , बेलैमा होस् पुर्याउनुसहै तपाईंहरु भनेका थिए !

.. .. होर ? यिनीहरुले मलाई खोज्न आए रे ? धत्तेरी.. नडराउनुस त्यस्तो नराम्रो केहि पनि हुँदैन .... तपाईको काममा पनि बाधा पर्दैन म सवै मिलाउँछु !

त्यो गन्थन लम्बिएर आधिरात कटी सकेको थियो , बल्ल उता श्याम घुर्न थाल्यो निस्फिक्री ! चकमन्न रात , अब किरणको कानमा तल बगिरहेको खोलाको एकोहोरो स्वाँ स्वाँ र श्यामको घुर्र..... घुर्र... झनै नराम्रो लागि रहेको थियो , उ अझ निदाउन सकिरहेको छैन !

करिव बिस पच्चिसवटा छरिएररहेका घरहरुको एउटा सानो गाउँ हो यो , जसलाई एउटा अग्लो थुम्कोले लुकाएर , छेकेर राखेको झैं देखिन्छ वारि पट्टि बाट हेर्दा ! हुनपनि यदाकदा बाहेक प्राय ढिलो र सुस्त छ यस गाउँको समयको रफ्तार ! वेरोजगारी , गरिबी र वेचैनी संगसंगै अन्य धेरै समस्या हरुले छोपेर राखेको झैं देखिन्छ यस गाउँ लाई ! गाउँ नजिकैको डाँडा बाट देखिन्छ अलिक तल बाट बगिरहेको ठाडो खोला एकनाशे सुसाइमा , त्यसमाथि झनै विरक्तता थपिदिन्छ सल्लाघारीको सुंइँ सुंइँ सुसाइले मानौं असिम विरहमा उ रोइरहेछ ! खोला पारि आकाश छोला झैं चुलिएर गएको खैरो फुस्रो जीवन विहिन लाग्ने विशाल ढुंगे पहरा उत्तरदक्षिण हुँदै फैलिएकोछ ! एउटा सामान्य र औशत खुश मानिसलाई पनि अकारण विचलित तुल्याउछकि भन्ने भन पर्दछ यहाँको यो वातावरणले ! किरण यहीँ पाखामा बसिरहेछ आज, निकैवेर सम्म एक्लै , प्रकृतिसंग एकछिन एकाकार भएर रमाउने र तनाव कम गराउने उसको धेय्य फेरी विथोलिएकोछ् ! तल गाउँको सानुमायाँ को घर आँगनतिर एकोहोरो हेरिरहेको हुन्छ उ माथि बाट , आँगनमा उसकी बुढी आमै मात्र देख्छ , अनि कुदिरहेका कुखुरा र कुखुराका चल्लाहरु , कहाँ के गरिरहेको होला सानुमायाँ यतिखेर ! उ काममा नदेखिएको एक हप्ता बढिनै भैसकेकोछ , सानुमायाँकि बुढी आमा भन्छिन "" ओभरशियर साबले त्यसलाई तालिम दिन भनेर पोखरातिरलगेर राखेकोछ बाबु "" ! त्यस पछी सोधेको पनि छैन कसैलाई यसबारे ! पहिले भए अघि सरेर निहुँ खोज्नआउने केटाहरु पनि आफ्नै तालमा मस्त देखिन्छन , तर श्यामको क्रियाकलाप र भावभंगीमाहरुभने कताकता अस्वाभाविक , रहश्यात्मक र कुटिल प्रतित हुन्छ ! पहिले जस्तो मिलनसार र खुलेर बोल्ने रहेन उ , भित्र गढ़न लागेका आँखा , निरस र रुन्चे लाग्ने अनुहार संग अब बल्ल उसको स्वभाव मेल खाएको अनुमान गर्छ उ ! काम करिब सकिनै सकेकोले उ छिटोछिटो आफ्नो कागजी कामहरु मिलाएर जाने हतारोमा छ , कुनै कुनै सक्न बाँकि काम पनी उसले सकिसकेको भनेर चढाई सकेकोछ !

केहिदिन अघिसम्म निरन्तर हल्लाखल्ला ले व्यस्त रहेको त्यो खोला हिजो आज बाट सुन्सानछ र नजाने कहिले सम्म यस्तै रहनेहो ? अनि यो गाउँ ? जेठको मध्यान्ह , आज दिन सफा छ , चिसो पानी संगैसंगै चिसो सिरेटो बग्ने सानो खोलाको धेरै माथि सिरान तिर ठुलो ढुंगा माथि बसेर किरण एक्लै भ्याएसम्म तलतिर हेरिरहेको हुन्छ एकोहोरो ! तैयार भएको विशेष खाले नयाँ बाँधबाट चम्किने पानी रमाइलो गरि चिप्लेर बगी रहेकोछ ! नजिकै सानो छाँगो दहमा निरन्तर खसी रहेको र फिँझहरु , फोकाहरु निस्कंदै फैलिँदै कुनै कुनै फुट्दै बग्दै तल खस्दै जाने र तलबाट फेरी बगेर जाने अनि फेरी खस्ने क्रम अनवरत चलेको उ हेरीरहेछ ! उसले देख्छ खोलाको पानीको सतह दिनदिनै बढीरहेकोछ , धन्न वर्खा लाग्नु अगावै काम सकियो जसोतसो , एउटा लामो सास फेर्दै उ निश्चिन्त हुनखोज्छ , केहि खुशि साथ् हलुका उ अनुभव गर्छ तर सानुमायाँको अवस्था वारे फेरी अनाहकमा चिन्तित अनुभव गर्छ , पानीमा उ सानुमायाँको उही निश्चल निर्दोष मुस्कान युक्त छायाँ देख्छ ! त्यो श्यामले उसलाई पोखरा तिर लगेर राखेकोछु र छिटै कुनै सानोतिनो तालिम तिर लगाइदिन्छु भेनेकोत थियो तर त्यो शत्प्रतिशत भरपर्दो छैन ! उ कहाँछ के गरि रहेछ ? श्यामले उनलाई कतिन्जेल साथ देला ? अनि श्यामको सुन्दर बनिबनाउ घर ? सुन्दर श्रीमती र उसलाई दिएको वाचाहरुको के होला ? हुर्कन लागेका छोराछोरीहरुको सुन्दर भविष्य र उनीहरुले गुमाइरहेको बाउको न्यानो मायाँ अहिले कुन रुपमा होला ? मान्छे,सृष्टिको सुन्दर रचना तर किन सुन्दर छैन उ ? यी सवै प्रश्नहरुको उत्तर बगिरहेको पानीको फोकाहरु संगै फुट्दै खसेर झन्झन् तलतिर गैरहेकोछ भने सानुमायाँको पानीछायाँलाई पछाडी बाट एउटा पुरुष छायाँले कुटिलमुस्कानमा अंकमाल गर्दै कसीरहेछ ! किरण जुरुक्क उठेर लगातार ढुंगाहरु टिप्दै त्यस पानीछायाँ तिर जोडजोडले फालेर त्यस दृश्यलाई बिथोल्न र मेटाउन खोज्छ तर ......उस्ले त्यस पानीछायाँलाई समेत बिथोल्न सकिरहेको हुँदैन !

बेल्जियम

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 19 आसाढ, 2068

लेखकका अन्य रचनाहरु