ठप्पदायक बन्द

- शिखण्डी

अहिले सडक त्यती तातेको छैन । कुन दिन तात्ने हो, ठेगान भने छैन । जेठ चौध त विती गो, अब भदौ चौध आउनै लागेकोछ । तर जे होस, नेपालका सारा सडकहरु बेलाबेलामा तात्दै आएको छ । एक पटक पांच सात दिन सम्मै सडक तात्यो, एकिकृत माओवादीको आन्दोलनले गर्दा । माओवादीले बेलाबेलामा यस्ता सडक गर्माउने खालका आन्दोलनहरु गर्दै आएको छ । बेलाबखत यस्ता सडक आन्दोलन अरु दलहरुले पनि गर्दै आएका नै हुन । कहिले कांग्रेसले त कहिले एमालेले । बीचमा एक पटक राजावादी पार्टी राप्रपा नेपालले पनि बन्द गरेर सडकलाई सुनसान बनाउंदै आएको थियो । अर्थात हरेक पार्टिहरुले सडकलाई सुनसान बनाएर आफ्नो उपस्थिति जनाउंदै आएको छ । मधेशवादी पार्टीहरुले तराईका विभिन्न ठाउंहरुमा आन्दोलन गर्दै जनजीवन ठप्प पार्ने गरेकाछन ।

केही समय अगाडि खस क्षेत्री समाजका रैथाने बाहुन क्षेत्रीहरुले पनि आन्दोलन चर्काए । एक दिन त नेपाल बन्दै पनि गरे । केही दिन अगाडि विराटनगरका पत्रकारलाई कुटनेले नै बन्द गरे, कति आनन्द ।

यसरी समय समयमा बन्द हुनुले कस्लाई फाइदा पुग्छ ? यस किसिमका आन्दोलनहरुले आम जनतालाई दुःख दिनु बाहेक अरु के नै गर्न सकेको छ र ? यस्ता ठप्पदायक बन्द, आन्दोलनले आम जनसमूदायलाई तनाव दिनु वाहेक के नै दिन सकेको छ र ? यस्ता सवालहरु पत्रकारहरुले मात्रै होइन सबैले सोध्ने गरेको पाइन्छ । हो सोधेको देखिनेमा पत्रकार बढी पर्छन, अरु आफ् आफ्नो झुण्डमा सोध्छन यस्ता सवाललाई र त्यही बीच बाट जवाफ खोज्छन । जवाफ जे जस्तो आओस, मौनम स्वीकृति लक्षणम् भन्दै चुपचाप बस्छन ।

यस किसिमका आन्दोलनहरुका सन्दर्भमा राजनैनिक विश्लेषकहरुले आ आफ्नै धारणा राख्दै आएका हुन्छन । कसैले आन्दोलनलाई अनावश्यक भन्ने गरेका हुन्छन । आम जनताहरुले आन्दोलन र बन्दमा दुःख बाहेक अरु केही नपाउने भएकोले पनि यसकिसिमका भावहरु आउने गरेको हो । कतिले यस्ता आन्दोलन र बन्दलाई दुवै तर्फबाट विश्लेषण गरिरहेका हुन्छन, दुवै तर्फ अर्थात ठीक होइन पनि ठीक हो पनि ।

तर यस किसिमको आन्दोलनहरुले भने एउटा क्षेत्रका लागि धेरै महत्वपूर्ण योगदान दिर्दै आएको तथ्यलाई स्वीकार भने गर्नै पर्छ । अब खै, नेताहरुले त्यो पाटोलाई गहनता पूर्वक हेर्ने गरीरहेका छन वा छैनन ? तर एउटा पाटो छ जस्ले आन्दोलन अथवा बन्दको कारण आफ्नो क्षमता विस्तार र विकासमा योगदान दिइरहेको छ । यो धतुरेले धेरै बन्दहरुमा आन्दोलनहरुमा महसुस गरेको सन्दर्भ हो यो । चाहे जुनसुकै मौसम वा ऋतुमा यसकिसिमका ठप्पे आन्दोलन होस, गाडि नचले पनि , पसलहरु नखुले पनि, पैदल हिेंडेर लामो बाटो तय गर्नेले भक्कु गाली गरे पनि, त्यस्ता बन्दहरुमा खेलकूदको अभ्यास निर्वाध रुपमा हुने गरेको पाइएको छ । कसैले केही भनोस, तर खेलकूदप्रति अगाध प्रेम र रुची राख्ने युवा युवती हुन् वा बालबालिका अथवा वृद्ध वृद्धा, कोही क्रिकेटको अभ्यासमा व्यस्त रहेको भेटिन्छन त कोही भलिबल, फुटवल, ब्याडमिन्टन, डण्डीवियोको अभ्यासमा ब्यस्त । नेपालको राष्ट्रिय खेलका रुपमा रहेको डण्डिवियोलाई यस्तै मौकामा आमनेपालीहरुले हेर्न भएपनि पाइरहेकाछन । यो पनि आम नेपालीका लागि खुसीको नै कुरो हो । र बन्दमा खेलिएको फुटबल भलिबलले घरका सिसाहरु फुटदा आन्दोलनकारीहरुलाई पनि थोरै भएपनि नैतिक बल पुग्ने ।

बन्द गरेर खेलकुदको विकास र उत्थानका लागि भरमगदुर सहयोग गर्ने राजनैतिक दलहरुलाई गाली गर्ने कुरो आउर्दैन । बन्दका कारणले धेरै राष्ट्रिय र अन्तरराष्ट्रिय खेलाडीहुनसक्ने प्रतिभालाई खेलसडक उपलब्ध भएको छ । खेलकूदको जिम्मा लिएको परिषदले सबैलाई खेलस्थल उपलब्ध गराउन सक्दैन । त्यसैले पनि राजनैतिक दलहरुले गरेको आन्दोलन र बन्दलाई सकारात्मक रुपमा हरेक नेपालीले लिनु पर्छ ।

तपाईंहरुलाई यस्ले पाँंडेकुरा गरेको जस्तो लाग्ला । तर यो पाँडे वा अरु गलतअर्थ लाग्ने कुरो पक्कै होइन । यो सर्वस्वीकार्य कुरो हो । यस्ले राजनैतिक दल र खेलप्रमी सबैलाई फाइदा पुगेको छ । राजनैतिक दललाई मात्रै फाइदा पुगेको भए विरोध गर्ने कुरो आउँथ्यो, तर फाइदा खेल खेल्नेले पनि त लिइनै रहेकाछन ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 18 आसाढ, 2068

लेखकका अन्य रचनाहरु