लौरा– थरी थरीका

- नरेन्द्रराज पौडेल

उहिलेको काठमाण्डू । त्यसमाथि मीन पचास अर्थात् माछालाईसुद्ध जाडो हुने पुस– माघका पचास दिन । बगेको ढुङ्गे धारो बिहानी ठिहीमा ट्याक्कै जम्थ्यो रे । जमेको धारो लौरो बन्थ्यो रे । त्यही लौरो टक्टक् टेकेर फट््फट् हिँड्थे रे मान्छे उहिले । कहिलेकहिँ त पुलिसले दङ्गाफसादी उपर लाठीचार्ज गर्दा पनि यस्तै लौराहरू प्रयोग गर्थे अरे । माष्टरले विद्यार्थी तह लगाउँदा, गोठालाले गाईभैंसी धपाउँदा र घोडा गधालाई कोर्रा लगाउँदा समेत यस्तै लौराहरू अथाह खपत हुन्थे अरे । तर पदयात्राको बेला भने एकछिन् टेक्तै हिँडेपछि लौरो पग्लदै गएर पानी बन्थ्यो अनि टेक्ने मान्छे बेसहारा हुन्थ्यो रे । यी त भए उहिले – उहिलेका पाइन्दार पुर्खाहरूको पालामा शहर, बजार, गाउँ, टोलहुँदी जतासुकै भएका तर अहिले मात्र सुनेका कुरा ।

हिजो आज तुसारो पर्न छाड्यो । ढुङ्गे धारा सुके । दुबै थरीको अवसानले हामीले धारो जम्ने हविगत व्यहोर्नु परेन । तर यता आएर त्यही पानीको लौरो विर्साउने मान्छे पो जन्मिन थालेछन् यो नेपाल नाउँको धराधाममा । पानी लौरे भनिँदो रहेछ तिनीहरूलाई चाहिँ । देख्ता कृष्टल, टेक्ता दरो तर एकै छिन्मा पटपटी भाँच्चिएर साटसुट्टै पानीपानी । देख्ता कडा शमीको काठ, छाम्दा पतिङ्गरको खरानी, उडेरै कता कता जाने जाने । बटुल्छु भन्नेलाई बेहिसाव हैरानी । हुन त पानी उपसर्ग लागेका थुप्रै उन्नत जाते रागेपाटे पगरीधारी प्राणीहरूको कमी छैन नेपाली समाजमा । पानीलाटो, पानीआन्द्रे, पानीपाँडे, पानीपादे, पानीमरुवा, आदि इत्यादि थुप्रै विशेषणहरूले सुशोभित बहादूर वृन्दलाई जन्माएको छ नेपलको ठण्डा पानीले । यिनै विशेषणले सिँगार पटार गरिएका खल नायकले चलाएको घिर्लिङमा बसेर अभाव, अन्धकार र विपन्नताको वैतरणी पार गर्छु भन्ने रट लगाउँदै रहेछौं हामी चाहिँ । न लगाउँ पनि किन ? आत्म रक्षाका लागी एक एक थरी लौरा लिने चलन उहिले देउताकै पालादेखि थियो रे । शिवजीको त्रिशूल, भगवतीको खुँडा, रामको धनु, परशुरामको तरबार, भीमसेनको गदा जस्ता घातक लौराहरू आईलाग्ने बैरीमाथि तत्कालै जाइलाग्नमा प्रयोग गरिन्थे रे । तीभन्दा फरक कृष्णको मुरली, सरस्वतीको वीणा जस्ता सङ्गीतकलाका साधन पनि एक प्रकारले लौरा नै मानिन्थे भन्दा खास विषयान्तर न होला । एकताका गणेशमानजीको लौराले काठमाण्डूमा तहल्का मच्चाएथ्यो । त्यति बेर लौरो मान्छे बनेर बिउँतिएको कथा अन्तरनिहित थियो । काफ्काको कथापात्र मान्छे बेलुकी सारसउँधो सुतेको थियो रे । भोलिपल्ट बिहान विउँझदा उही मान्छे कीरो बनेको घटनाले हाम्रो देशका विकासे सरदारहरूसंग मीत लगाउँनेको कमी छैन भन्दो रहेछ । सारसउँधा, पाइन्दार, हकी, पौरखी पुर्खाले बनाइदिएको घरलाई धमिराको अवतारको जुनिमा जन्म लिएका हुतिहारा कपूतहरूले भताभुङ्ग बनाउन के बेर ? अहिलेको राजनीतिक परिदृश्यले यस्तै अशङ्कालाई पुष्टि गर्ने तमासा देख्न पाइएको छ, होइन र ? लौरो मान्छे मान्छे लौरो जस्तो देखिएको पाण्डालमा सबै मान्छे पक्कै लौरा बनिसकेका हुन त ? त्यही पनि पानीका । के मान्छे नामक प्राणीको साँच्चै खडेरी परेकै हो त यो देशलाई समालेर बाटो देखाउने ?

हुन त लौराहरूको इतिहास खोतल्दै जाँदा पानी लौरो नै सबछाडी अब्बल ठहरिने रहेछ । त्यही कुशल सक्षम पानी लौरे नेतृत्वमा नेपाल नाउँको देशभित्र अपूर्व ढङ्गले विकासयात्रा चलेको छ । वन फाँडिएको छ । चुरे माडिएको छ । दशगजा बाँडिएको छ । जङ्गे पिलर रातारात सारिएको छ । योग्य व्यूरोक्य्राटहरूले अति योग्य सरकारी नायवका हट सीनको ग्ल्यामरस अभिनय दिनदिनै र छिन्छिन्ै देख्न पाएका छन् । पाइरियायुक्त गीजा प्रदेशमा हरियो लेउमाझ लहरै ठडिएका रागेपाटे दन्तपंक्तिको प्रदर्शनसहितका अतिसारपूर्ण अर्ती उपदेशले कान टट्टाएकै छन् । छिन्छिन्ै जसो गाली ध्वाँस र घुर्कीका अमृत वचन आकण्ठ पान गरेकै छन् । नामर्द पामरको अवतार भन्न सुहाउँने कागजी बाघको झम्टाइबाट दिनदिनै मनोभञ्जन प्राप्त गरेकै छन् । हरर फिल्म हेर्ने धोको पुरा गरेकै छन् । यति मात्रै कहाँ हो र ? अर्का पानी आन्द्रे प्रमुखले उच्च शिक्षाको डाडुपन्युँ हात पारेकाले विद्यार्थी जगत कतै लावारिस त कतै बङ्कप्रिय बन्न पुगेको छ । त्यस्तै शिक्षण संस्थाका भौतिक सामग्रीहरूले बेलाबखत अग्निदहनको भरपूर अवसर पनि पाएकै छन् । त्यति मात्र होइन, पानीलौरे नेतृत्वमा विदेशीहरूबाट प्रशंसा, उपदेश र सद्व्यवहार पनि पर्याप्त मात्रामा पाइने रहेछ । देशभित्र तत्कालै भैंचालो जाने हल्ला सुनेर जिउँदै स्वर्ग लोक डुल्न पाइने, बैकुण्ठ धामकोे यात्रा गरेको सपना देख्न आगलागी हुने, भाइभाइमा मारकाटका कोतपर्वहरू दिनदिनै चल्ने, क ख सिकाउन विदेशी आएर कान मल्नु पर्ने र दायाँबायाँ हेर्ने धृष्टता गरे काँधमाथि घोडा चढेर चाबुक हान्नु पर्ने , न हाने वित्यास पर्ने जस्ता अरिँगाल लामखुट्टेका भविष्यवणी पनि जति बेलै सुन्न पाइने रहेछ । बन –बुट्यान मासेर, घाटमसानमा समेत घर ठड्याएर, खोला नाली पिएर, ढु्ङ्गा बालुवा चपाएर अघोरीको जुनीमा पुग्दा पनि आफ्नै बुताबर्कतमा खुट्टा टेक्न न सक्ने भएपछि अरुले भन्यो भनेर मात्रै पो के चित्त दुखाउने र ? पुर्खाले कमाइदिएको जग, जमीन, जायदात पोली खाने, इज्जत हुर्मत भुटेर चपाउँने बहादुर सन्तानले अरुले जेजे भन्छ त्यही त्यसै न गरेर अरु गरोस् पो के विचरा ? सधैँ पृथ्वी ,बलभद अमरसिंह हरू मात्रै जन्मिनु भन्ने छ र ? इतिहासको कुनै कालखण्डमा नामर्दहरूले मर्द माताको काखमा फोहोर गरेका कथाव्यथा भविष्यले भोग्न, पढ्न किन नपाउने ? शायद त्यही आवश्यकता पूर्ति गर्न जन्मिएको नायव मण्डलीले बाहिरिया मालिकहरूको बाहुली समातेर जसो जसो बाजे उसै उसै उसै स्वाहा भन्यो त भन्यो अव । के विस्मात के आश्चर्य मान्नु ? कुनै दिन अहिले रहे भएका कुडाकर्कट, फोहोरका रासलाई तह लगाउने र विषाक्त ढलनालीहरूको सफाइ गरेर स्वच्छ राष्ट्रिय जीवन –प्रवाहको निर्माण गर्ने आधुनिक भगीरथ अवश्य आउनेछ भन्नेमा विश्वस्त हुनै पर्छ, होइन र ?

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 18 आसाढ, 2068

लेखकका अन्य रचनाहरु