बुर्का

- योगेन्द्र उपाध्याय "पुष्प"

फ्रान्समा भर्खरै यौटा नियम बनाइयो तर त्यो सोँचेअनुरुप सफल हुन सकेन, हुनसक्छ फ्रान्सले त्यो नियम आफ्नो क्रीष्टियानीटि मुस्लीज्म माथि लाद्न चाहेको हो या हुनसक्छ आफ्ना देशका आधा नारीलाई स्वतन्त्रताको श्वाँस लिन अनुरोध गरेको हो, या यो पनि हुनसक्छ उसले आफ्नो देशको सुरक्षाको लागि प्रत्येक मानिसलाइ उसको अनुहारबाट उसलाई चिन्न चाहेको हो तर जे सुकै भएपनि फ्रान्समा जुन बस्तु हटाउन खोजीएको थियो त्यो हट्न सकेन त्यो टाँसीएर बसेको बस्तु हो “बुर्का” ।

स्वतन्त्रता ! कहिले काँहि परतन्त्रता झैँ पनि लाग्ने गर्दछ या भनौँ कतिपय अवस्थामा परतन्त्रता, स्वतन्त्रताभन्दा प्रीय लाग्दछ । यस सन्दर्भमा फ्रान्सकै अर्को ऐतिहासिक घटना याद आउँछ, फ्रान्सको साम्राज्यवाद विरुद्ध एकपटक ठूलो युद्ध भयो र स्वतन्त्रताका पक्षधरहरु विजयी भए । स्वतन्त्रता सँग्राम एक पुस्ताको देनले सफल भएको थिएन त्यस युद्धमा कैयौँ पुस्ता होमीएका थिए । नयाँ पुस्ताले स्वतन्त्रता पाउँदा लाखौँ पुराना पुस्ताहरु यस्ता पनि थिए जुन कुनै दुर दराजको एक जेलमा २० वर्ष, ३० वर्ष, ४० वर्ष देखी सुर्यको किरणबाट पनि वञ्चित रहि, जञ्जिरमैँ जीवन विताइरहेका थिए । तिनलाइ पनि स्वतन्त्रताको स्वाद चखाउन स्वतन्त्र फ्रान्सेलीहरु जेलमा गए र कैदीका जञ्जिरहरु टुटाउन थाले तर आशा विपरीत कैदीहरु खुशी हुनको साटो रुन थाले, कराउन थाले, बाहिरको सप्तिरङ्गी संसार हेर्नलाइ अस्वीकार गर्न थाले, उनीहरुमा यो पनि डर व्याप्त भयो कतै बाहिर सुर्यको कीरणले उनीहरुलाइ जलाउने त होइन ? जञ्जीर तोडिँदा उनीहरुलाई यो पनि डर लाग्यो कि कतै जञ्जिरले जकडिएको उनीहरुको प्राण जञ्जिर खोलिँदा फुत्कने त होइन ? कारण उनीहरु कैयौँ वर्षदेखि उनीहरु नेलमैँ अभ्यस्त भैसकेका थिए, नेल र जेल देखि बाहेक उनीहरु अरु केहि सोँच्न पनि सक्दैनथे । उनीमा जीवन ब्लाक एण्ड ह्वाइट नै छ भन्ने भ्रम एकदम मजबुत भैसकेको थियो । उनीहरुलाइ नेल आफ्नो शरीर झैँ लाग्दथ्यो जुन तोडिदा उनीहरुलाइ असह्य भयो । उनीहरुलाइ जबर्जस्ती जेलबाट निकालेर सुर्यको कीरण देखाइयो र उनीहरु पनि स्वतन्त्र भएको त्यो दिन फ्रान्समा ठूलो उत्सव मनाइयो तर साँझ पर्दा नपर्दै सबै कैदीहरु एकाएक हराएको सुचना प्राप्त भयो र तिनलाइ खोज्न देशका सबै नाकरीकहरु सक्रिय भएर लागे तर कतै कहिँ भेटिएनन् उनीहरु, अन्त्यमा पत्ता लाग्यो उनीहरु त्यहि जेलमा पुगेका थिए जहाँबाट उनीहरुलाइ निकालीएको थियो, यसकारण मलाइ लाग्छ, कसैलाइ यदि परतन्त्रता जब स्वतन्त्रताको पर्यायवाची लाग्छ तब अरुले स्वतन्त्र हुने पाठ पढाउँदैमा कोहि स्वतन्त्र हुन सक्दैन ।

मानवमा मात्र होइन यो जनावरमा पनि देख्न सकिन्छ । यसै सन्दर्भमा म बुटवल बस्दाको एक घटना वर्णन गर्न चाहन्छु । म बुटवलको गोलपार्कमा बस्ने गर्दथेँ । बुटवलदेखी माथिको डाँडामा होटल बनाउनको लागि सामान ओसार्न म बस्ने कोठाभन्दा केहि पर मेरो साथीले खच्चरहरु राखेको थियो । एकपटक डाँडामा सामान पुर्याएर फर्कने क्रममा रात परेछ र दुर्भाग्यवस उसको खच्चर रातको समयमा कहिँ कतै हराएछ । भोलीपल्ट उसले हामीलाइ उसले खच्चर खोज्न डाँडामा जाउँ भनेर अनुरोध गर्यो र हामी सात जना साथीहरु मिलेर डाँडा चढ्यौ दिनभरी खोज्यौँ तर कतै कहिँ भेटाएनौ निराश भएर घर फक्र्यौं तर हाम्रो आशा विपरीत उनकी श्रीमतिले हामीलाइ सुनाइन खच्चर त हामीभन्दा पहिला नै घर फर्कीसकेको रहेछ । यदि कोहि स्वतन्त्रताको अवसर पाएर पनि परतन्त्र हुन चाहन्छ भने हजारौँ अवसर मिलुन उ त्यसको सदुपयोग गर्न सक्दैन । यस्तै प्रकारको घटना मरुभूमीमा पनि घट्ने गर्दछ । उँटलाइ मरुभूमीको मालवाहक सवारी साधन मानिन्छ कैयौँ दिनसम्म एकठाउँबाट अर्को ठाउँमा यात्रा गर्दा मरुभूमी मै रात विताउने पनि वाध्यता आइपर्छ । त्यससमयमा उँटधनीले उँट बाँधिदिएकोे डोरी पर लगेर हथौडाले ठोके झैँ गर्छ र उँटलाइ यो भ्रम पर्छ कि म कुनै खुँटोमा बेसरी बाँधिएको छु । उ त्यत्तिकै बसी नै रहन्छ, केहि चलमल नगरीकनै । उ भाग्न पनि चाहन्न भाग्ने चेष्टा पनि गर्दैन । त्यसैले म भन्न चाहन्छु यदि कोहि स्वतन्त्र बन्ने प्रयास नै गर्दैन भने उ स्वतन्त्र बन्न पनि सक्दैन ।

नेपाल एक स्वतन्त्र देश हो । यो परापूर्वकाल देखी नै स्वतन्त्र थियो र आजसम्म पनि स्वतन्त्र नै छ । यहाँ मान्छे यति स्वतन्त्र छन् कि कसैलाइ मार्नु पनि मार्नेको स्वतन्त्रता अन्तर्गत पर्दछ, तर यति धेरै स्वतन्त्रताको वावजुद पनि के हामी स्वतन्त्र छौँ त ? राणाकाल र राजाकालमा बोल्न पाउनुलाइ स्वतन्त्रता मानिन्थ्यो आज जे मन लाग्यो त्यहि बोल्न पाउँछौ तर यती धेरै बोल्न पाउँदाको वाजजुद पनि हामी यस कुरामा विश्वस्त हुन सक्छौँ त हामी स्वतन्त्र छौँ ? स्वतन्त्रता एक वस्तुको बन्धनबाट अर्को वस्तुको बन्धनमा बाँधिनुको नाम होइन । हामी राणाबाट स्वतन्त्र भयौँ र राजाबाट स्वतन्त्र भयौँ तर दुइ रस्सीहरु तोडेका हामी हज्जारौ झण्डामा बाँधिन पुग्यौँ । हामीलाइ त्यस समयमा उम्कन सजिलो थियो जब हामी यो सोँच्दथ्यौँ हामी परतन्त्र छौँ जब मनमा यो निश्चय हुन्छ कि हामी परतन्त्र छौ तब स्वतन्त्रता पाउनु कुनै दुसाध्य कुरा होइन तर यसको विपरीत हामी परतन्त्रता नै स्वतन्त्रता हो भन्ने ठान्छौ लाखौँ वर्ष वितुन् हामी स्वतन्त्र हुन सक्दैनौ । हामी झण्डाको छाँया परीवर्तन गर्न सक्छौ, हामी पार्टि परीवर्तन गर्न स्वतन्त्र छौँ, तर परीवर्तन गर्नमात्र स्वतन्त्र छौँ यौटाबाट मन मरे अर्कोमा जान सक्छौँ तर फलामको जञ्जिरबाट आफुलाइ मुक्त गरेर सुनको जज्जिर लगाउनु स्वतन्त्रता होइन । मलाइ लाग्छ हामी त्यस समयमा मात्र स्वतन्त्र बन्न सक्छौँ जब हामी आफैले आफ्नो भाग्य निर्धारण गर्ने क्षमता आफूमा विकसीत गर्न सक्छौँ ।

नेतृत्वलाइ केहि दोष दिन्न म किनकि नेतृत्वमा पुर्याउने हामी नै हौँ । आज हाम्रो देशमा कसैले नेतृत्व पाउँछ भने पार्टीको भरमा पाउँछ, जब हामीले नेतृत्वमा पार्टिलाइ होइन व्यक्तिलाइ पुर्याउनु पर्छ भन्ने सोँच विकसीत गर्न सक्छौँ तत्क्षण देश देश बन्नेछ । पार्टि चयन गर्दा हामीलाइ १००० अप्सन प्राप्त होला तर व्यक्ति चुज गर्दा दुइ करोड अप्सन । पुँजीवाद र साम्रज्यवादले नक्सामा विकास गर्लान तर धर्तीमा विकास गर्न व्यक्ति नै चाहिन्छ । जब हामी आफु पनि नेतृत्वको एक अप्सन बन्न पुग्छौँ मलाइ लाग्छ देश त्यहि समय नै परिवर्तनको सँघारमा खडा हुनेछ ।

जातियता पनि हाम्रो एक समस्या हो तर जातियता मेटाउन तल्लो जातिलाइ निषेधित मन्दिरमा प्रवेश गर्नु या पानी पधेराहरुमा माथिल्ला जातिले भरेर राखेका गाग्राहरु छोइदिनु र उनीहरुलाइ त्यो छोइएको पानी पीउन दवाव दिनु पनि जनजातीको स्वतन्त्रता होइन । कसैले हजुरको हातवाट छोइएको वस्तु खाँदैन भने नखानदिनुस, जबर्जस्ती खुवाउन जरुरत छैन, हजुरकै सामानको वचत भयो धन्दा मान्न पर्दैन । हजुरले छोएको जल्ले खान्छ उसलाई खुवाउनुहोस् तर हजुरले छोेएको वस्तु अरुलाइ जबर्जस्ती खुवाउनुहुन्छ भने पहिला त उसले हजुलाई अछुत मान्दथ्यो अब हजुरले आफुलाइ नै अछुत सावित गर्दै हुनुहुन्छ । हजुर अरुको नजरमा अछुत हुनु त्यति घातक होइन जति हजुर आफ्नो नजरमा अछुत हुँदा घातक हुने गर्दछ । हजुर स्वतन्त्र हुन मन्दिरमा प्रवेश नगर्नुस् मन्दिर मै यदि भगवानको वास हुन्छ भने भगवान यस संसार मैँ छैन । यदि मन्दिरमा मात्र भगवान हुन्छ भने भगवान कै वहिस्कार गर्नुस् तर भगवान पाउनको लागि मन्दिरमा जबर्जस्ति प्रवेश नगर्नुस । यदि मन्दिरमा प्रवेश गरिहाल्नुभयो भने हजुरको मनमा यो भ्रम पैदा हुनेछ कि म स्वतन्त्र छु । हजुर अछुततामा बाँच्नुस तर भ्रममा नबाँच्नुस् । हजुर त्यस समयसम्म अछुत हो जबसम्म हजुर छुतहरुको बराबर बन्ने प्रयास गर्नुहुन्छ । मलाइ लाग्छ जब हजुरहरु लाइ कसैले छुन्छ या छुँदैन भन्ने भावना भन्दा पर जानुहुन्छ र आफु छुतहरु भन्दा सक्षम हुनुहुन्छ तब मात्र हजुरहरु स्वतन्त्र हुन सक्नुहुन्छ ।

नारी ! यौटा शक्ति भैकन पनि समाजको समस्याका रुपमा चित्रित हुन पुगेका छन् हजारौँ वर्षबाट दोश्रो दर्जाका नागरिक मानिएका नारीहरु अझै पनि दोश्रा नै छन् । नारीलाइ कानुनका पानामा स्वतन्त्रता दिनु र नारी स्वतन्त्र हुनु यो नितान्त भिन्न कुरा हो । नारी इभन कानुनका पानामा पुरुषभन्दा बढी अधिकार सम्पन्न किन नहोउन तर जबतक उनीहरु आफु समृद्ध हुँदैनन् तबसम्म उनीहरु स्वतन्त्र हुन सक्दैनन् । मेरी यौटी साथि छिन् स्मृति, उनी एजुकेटेड छिन् अहिले उनी मास्टर्स डिग्रीमा पढ्दै पनि छिन् । मैले विदेशमैँ रहँदा उनको विहे भएको कुरा थाहा पाएँ र उनीलाइ फोन गरेँ । मैले उनको श्रीमानको बारेमा सोध्न नपाउँदै उनीबाट जवाफ आयो म खुशी छु उहाँसँग, उहाँ सर हो, दुइवटा कलेजमा र यौटा माविमा पढाउनुहुन्छ, तिनवटा विषयमा डिग्री गर्नुभाको छ, म विश्वस्त छु उहाँले मेरो पुरा खयाल राख्नुहुन्छ । मैले यस्तै यस्तै तारीफहरु सुने दशसम्म र दश मिनेट पश्चात् फोन काटेँ र एस्सो सोँचे स्मृति आफ्नो भन्दा अरुको भरमा बाँच्न चाहन्छे, उसले यी सब कुरा गर्दा आफ्नो एजुकेशनल ग्रोथको बारेमा केहि भनिन, आफुले गरेका प्रगतिहरु केहि भनिन, विवाह भएको ६ महिना भैसकेको रहेछ उसको तर उसको आश्रितता छ महिनामै जीवनभरको हुने दिशामा लम्किसकेको थियो । मैले विचमा एकपटक सोधेको थिए स्मृति तिमी के गछ्र्यौ नि उसले सहज, सुखद र भरिपूर्ण झै गरी भनेकि थिइ म त घरमैँ बस्छु केहि काम छैन सिरीयल हेर्न देखि बाहेक । म अचम्म परेँ उ के भन्न खोज्दैछे मसँग ? पक्कै पनि उ यहि भन्न चाहन्थी मलाइ मेरो आश्रय मिलेको छ, मलाइ रुखको छाँया मिलेको छ तर खै त उ रुख बनेको ? रुख बन्नु परै जाओस् उसलाइ अँकुरण हुनु पनि जरुरी लागेन । उ धनी छे, तर उ अत्यन्त गरीब छे । दया लाग्छ मलाइ नारीहरुको त्यो पनि शिक्षिता नारीको यो अवस्था प्रति ।

समाजको सुरुवात हुँदा नारी र पुरुषमा केहि भिन्नता थिएन यो सबैले स्वीकार्नै पर्ने कुरा हो । यदि यो कुरा स्वीकारिन्छ भने यो पनि स्वीकार्न पर्छ कि नारी पछाडी पर्नुमा कमजोरी नारीको नै थियो । चाहे त्यो शारीरीक कमजोरी होस् या मानसिक, सहज रुपमा भन्ने हो भने पहिला नारीहरु शारीरीक रुपले कमजोर हुनाले पछाडी परे भने अहिले मानसिक । उनीहरु जबसम्म यो स्वीकार्दैनन् कि हामीहरु कमजोर छौ तबसम्म परिवर्तन सम्भव छैन । उनीहरुले आफ्नो कमजोरी पत्ता लगाउनै पर्छ अनि मात्र त्यो कमजोरीको निराकण गर्न सकिन्छ तर नारी ओभर कफिडेन्समा बाँचिरहेका छन् । ओभर कन्फिडेन्सका शिकार भएका नारीहरु अझै र नजाने अझै कति वर्ष पराश्रित भएर रहनुपर्ने छ । म आफ्नो बैदेशिक अनुभवको आधारमा भन्दैछु भले हि पश्चिमी मुलुकमा नारी र पुरुष यौनको मामलामा समान होउन् तर सामाजिक रुपमा महिला हाम्रो देशमा झैँ नै छन् । नारीप्रति हेरीने दृष्टिकोण कहिँ कतै रत्तिभर पनि भिन्नता छैन । प्रत्येक पुरुषहरु इभन मेरो क्लास मेट पनि हमेशा भन्दथ्यो एभ्री लेडीज आर क्रेजी इभन माइ मम । सो म विन्ती गर्न चाहन्छु नारीहरुलाइ प्लिज आफु कमजोर छु भन्नुहोस् र आफ्नो कमजोरी पत्ता लगाउनुहोस् नत्र स्वतन्त्रता कापीका पानामा मात्र हुनेछ हजुरहरुको ।

बुर्का यौटा प्रतीक मात्र हो, यस्ता लाखौँ बुर्काहरु हामी सबैले पहिरेका छौँ र फालेका पनि छौँ । कहिँ बुर्का बाध्यात्मक हुन्छ कहि जानी जानी बुर्का पहिरिन्छ । जहाँ बुर्का बाध्यात्मक हुन्छ त्यहाँ बुर्का फाल्नुलाइ स्वतन्त्रता मानिन्छ, जहाँ बुर्का स्वीकारत्मक हुन्छ त्यहाँ बुर्का पहिर्न पाउनु स्वतन्त्रता हुन्छ तर यथार्थमा बुर्का पहिर्नु पनि स्वतन्त्रता होइन र नपहिर्नु पनि स्वतन्त्रता होइन तबसम्म जबसम्म हामी बुर्का पहिर्नु र नपहिर्नुमा भिन्नता पत्ता लगाउन सक्दैनौ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 14 आसाढ, 2068

लेखकका अन्य रचनाहरु