थोत्रो सादा टिभी

- गोपाल झापाली

सानी छोरीले कार्टुन हेर्ने नयाँ टिभि ल्याई दिनु भनेर कर–कर गरेको निक्कै दिन भयो । अहिलेको जमानामा पनि थोत्रो सादा टिभि हेर्नु त आँफैमा आत्मग्लानीको पहाड थियो, सहकर्मीका तुलानामा तर विवसताको यथार्थ धरातल भुल्न सक्ने सम्भावनाको त्यान्द्रो कतै थिएन ।

साँझ प¥योकि, छोरीलाई कार्टुन हेर्नु पर्ने । पानीले भोक मेटेर बचेको पैसाले नीजी स्कुल पढाए पनि ‘होमवर्क’ गरेर आउ भन्दा सधै म नाजवाफ बन्थेँ–‘ ए, अग्गि सकेको भन्ने तोते उत्तरले ।’

५ वर्षे छोरीकी आमालाई त्यहि बेला आत्तुरी पथ्र्यो, रोना–धोनाका सिरियल हेर्न, जुन बेलामा केहि मगजहिन अनुहारले बन्दि बनाएको देशको अनुहार हेर्न चाहन्थे, समाचारका नाँउमा । रहर नभएको होईन छोरीलाई कार्टुन हेर्ने अलग्गै, सिरियल हेर्ने आमालाई छुट्टै बडेमानमा रङ्गदार आकृती देखाउने टिभि ल्याईदिने । तर एउटा अर्को त्रास थियो, यस धर्तीमा आउन साँझ–बिहानको बाटो पर्खिरहेको अर्का दुई आँखाका रहर कस्ता हुने हुन् भन्ने । आखिर यो त बाहाना त थियो, यथार्थताको भौडीबाट उम्कने ।

घरमा नयाँ आकृतीको प्रवेशसँग बहकिएको मन आज नयाँ टिभि ल्याएरै छोड्े अठोटले ऋण काडेर बजार निस्कियो । सयकडा चार महिनाको ऋणले तन्काएको कोटको जेव वारम्वार छाम्दै घिस्रिएका पाईला उत्तिनै दोधारे बिचार ल्याँथे । आखिर यो दुनिया र मेरो घरको थोत्रो सादा टिभिमा केहि फरकनै पाउँदिन थिँए भने किन खर्च गर्नु परेवाको झोल ख्वाउन छोडेर जाबो आँखाको रमिताका लागि ? दुनिया यस्तो देँखे–‘विवेक आँउदा समय नआउने, समय आँउदा विवेक नआउने । ठ्याक्कै मेरो घरको १५ वर्ष पुरानो थोत्रो टिभि जस्तो–आकृती आउँदा आवाज नआउने, आवाज आउँदा आकृती नआउने ।

लखनपुर, झापा

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 12 आसाढ, 2068

लेखकका अन्य रचनाहरु