अर्को मोड

- सन्जु बजगाईं

माथि चढ्ने लिफ्ट ब्यस्त थियो । किनमेल गरेर भरिएका केही सपिङ्ग ब्यागहरूलाई हातमा झुण्ड्याएरै पर्खिरहेँ । सात, छ, पाँच, चार लिफ्ट क्रमशः तलतिर झर्न थाल्यो ।

“हाई... !” लिफ्टको ढोकाबाट निस्कँदा उसले हातका औँलाहरू हल्लाउँदै मतिर हेरेर मुसुक्क मुस्काई ।

“हेल्लो... !” मैले केवल औपचारिकता मात्र दर्शाएँ ।

यो दोस्रो दिन थियो । अघिल्लो दिन पनि यसरी नै लिफ्ट चढ्ने र उत्रने सिलसिलामा हाम्रो भेट भएको थियो । म माथि चढ्ने र ऊ तल झर्ने ।

त्यो कसैकी पाहुना थिई या नयाँ छिमेकी थिई भन्ने मलाई स्पष्ट थाहा थिएन । जे होस् उसको शारीरिक व्यक्तित्व भने एक झलक परेपछि बिर्सिहाल्ने खालको थिएन । धोक्रे जिन्समाथिको चेग्वेभाराको तस्वीर छापिएको सेतो टीसर्ट, कानमा एकातिर ताला र अर्कोतिर चाबी आकारका मुन्द्री झुण्ड्याएकी थिई । टाउकोभरिको कपाल छोटो भए पनि दुवै कन्सिरी छेउमा भने लामो त्यान्द्रे चुल्ठो देखिन्थ्यो । मेरो हेराइमा ऊ नारीभन्दा पुरुष बढी देखिन्थी । पुरुष शैलीमा देखिएकी त्यही केटीमाथि अस्पष्ट धारणा बोकेर लिफ्ट चढेँ म ।

म आफ्नो फ्लाटमा छिर्दा रोहित आइसकेको थाहा भो । लिभिङ्गमा छिर्दा टि.भी.को रिमोट सोफामाथि लडिरहेको थियो । स्न्याक्सका प्याकेटहरू असरल्ल टेबलमा छरिएका थिए । कोकाकोलाको ग्लासमा आईसका टुक्राहरू अझै पग्लिन बाँकी थिए । हुनसक्छ ऊ भर्खरै निस्किएको होस् । श्रीमती भए पनि ऊ कुनबेला निस्कन्छ र कुनबेला भित्रन्छ भन्ने कुरामा उसले मलाई दुविधामै राख्छ ।

रोहितको छारस्ट एकैछिन त्यसै छोडेर मैले किनमेलका सामानहरू सबै थन्क्याएँ । मभित्रको पूर्णतावादी चरित्रले गन्जागोल भएको केही पचाउन सक्दैन । घरभित्र खाना खान भनेर तोकिएको ठाउँमै खानुपर्छ भन्छ । प्रयोग गरेका हरेक सामानहरू जुन ठाउँबाट झिकेको हो त्यहीँ राख्नुपर्छ । बस्ने, उठ्ने, बोल्ने जस्ता इत्यादि कुराहरूमा मभित्रको पूर्णतावादी चरित्र हाबी हुने गर्छ । रोहित यो सबै संभव देख्दैन । तसर्थ हाम्रो ठाकठुक नियमित हुनेगर्छ ।

टेबलमाथिको मेरो सेलफोन बज्यो । रोहितको कल थियो ।

“हे.. रकी र हामी रोटरडार्म जान लागेको ।” हल्ला भरिएको कुनै ठाउँबाट बोलिरहेको थियो ऊ । मैले मुस्किलले बुझेँ । ऊ ट्रेन स्टेसनमाझ उभिएको हुनुपर्छ भन्ने अन्दाज गरेँ ।

“कुन, हाम्रै नेपाली रकी या हल्याण्डवाला ?” एउटै बिल्डिङ्गमा दुईटा रकी भएकाले ठम्याउनै चाहेँ ।

“कति ईन्क्वेरी गरेको ?” ऊ झर्कियो ।

“तिमीले बास्तवमा ब्याचलर नै बस्नुपथ्र्यो, तिमीलाई श्रीमतीको अर्थ नै थाहा छैन ।” मैले नचाहेरै भनेँ ।

“श्रीमतीको अर्थ थाहा भएरै युरोपको यो सभ्य शहरसम्म लिएर आएको । नत्र मधेशको खेती र पहाडको घरभित्र गुन्यूचोलोमा दङ्ग पर्दै हुन्थ्यौ ।” उसले पुरुषार्थ देखाउँदै भन्यो ।

रोहितले आफ्नो दौरा सुरवाल, ढाका टोपी बिर्सियो । कुटो–कोदालो, हलो–जुवा पनि बिर्सियो । विश्वमान चित्रमा चिहाउँदा भेटिने गरिब देशको गरिब तर ईमान्दार ठिटो भन्नेसम्म बिर्सिएर उसले फेरि मेरो ‘डोमिनेट’ ग¥यो । तर मलाई यी सब आदत भैसकेकाले टेबलमाथिको गन्जागोल सम्हाल्न थालेँ ।

फ्लाटमा म हुन्छु र मेरो एक्लोपन हुन्छ । पल्लोपट्टिकी छिमेकीले पिँजडामा पालेका चराहरू केही छिनका लागि चिरबिराउँछन् र शान्त हुन्छन् । चारो पाईसके होलान् । मैले पनि साँझको चारो खानुपर्ने छ । ती पिँजडाका चराहरूलाई जसरी चारो दिन मलाई कोही आउने छैन । म आफ्नो चारो आफै हाल्छु । तर चारो सिध्याई सकेपछि पनि चराको शैलीमा म शान्त हुन सक्दिन । जीवन चारोसम्मका लागि मात्र सीमित भएन आजभोलि ।

“तल लबीमा झर्न चरो किन हुनुप¥यो र ?, मेरो एकोहोरिएको मन भन्छ– मिनी क्याफेमा मध्यरातसम्म मोनिका सर्भिस दिइरहेकै हुन्छे, खुत्रुक्क झरे भैहाल्यो नि !”

आजसम्म रात परेपछि क्याफेमा छिरेकी छैन । के जाने... ? रहर कहिल्यै पलाएन । मेरोभन्दा माथिल्लो फ्लाटकी ओलिभिया बेलुकी हुन नपाउँदै पुगिसक्छे रे । सुलोचना भाउजू भन्थिन्– “मैयाँ, हाम्रो बिल्डिङ्गको क्याफे खुब रमाइलो छ । एक साँझ बसौँं है हामी पनि ।” अहिले त भाउजू पनि छुट्टी मनाउन नेपाल पुगेकी छिन् ।

मेरो कोठाभित्रको सन्नाटा छाम्छु । भित्ताको घडीले बेलुकीको आठ बजाउन लागेको छ । भोलिको शनिबार ! रोहित फर्किनेवाला छैन । फर्किगए मेरो उही प्रश्न तेर्सिन्छ– किन पिएको आधारातसम्म ? उसको जवाफ त्यही हुनेछ– मेरो मर्जी । अनि ढोका ढप्क्याई, टेबुल ठोकाई एउटै हुनेछ । आखिर क्यासिनोको जागिरे न प¥यो मेरो लोग्ने !

मैले झ्यालको पर्दा तानेँ । बाहिर बत्तीको रमझम । मान्छेहरू मानौँ बत्तीको चमक बराबर रमाएका छन् । ईफेल टावरलाई चियाएँ । विकासको चरमोत्कर्षको शंखनाद आकाशतिर फर्किएर गरिरहेको थियो । झिलीमिली सिँगारिएको सभ्य शहरभित्र म किन अँध्यारो मन गरूँ ? लबीमा झर्ने नै निधो गरेँ ।

“ल तिमी पनि भन्या... !” म मिनी क्याफे छिर्न नपाउँदै ढोकै छेउको टेबलमा बब भेटियो ।

“अनि के त ?” बोल्दै मैले उसको छेउको कुर्सी तानेँ । बर्बरी नाम रे उसको तर सबै बब भनेर जान्दछन् । रमाइलो छ बुढो । हरेक भेटमा मलाई एउटै कुरो भनिरहन्छ– “एभरेस्ट चढ्ने ठूलो धोको छ तर घुँडाले साथ देला जस्तो छैन ।”

“एभरेस्ट कहिले चढ्ने नि ?” मैले जिस्क्याएँ ।

“यो ग्लास रित्याएपछि ।” ऊ ठट्टा गर्छ ।

मैले कफी मगाएँ । मोनिकाले मलाई देखेर परैबाट हात हल्लाई । काउन्टरको भीडमा ब्यस्त थिई ऊ । टेबल खाली हुने र भरिने क्रम बराबर थियो । मेरो पहिलो अनुभव, रात्री क्याफेको । चारैतिर आँखा डुलाउँदा कुनाको टेबलमा उही पुरुष शैलीकी केटी देखिई ।

“बब, ऊ त्यो कुनाको टेवलकी केटी हाम्रै बिल्डिङ्गमा बस्छे कि कसैकी गेस्ट ?” प्राय सबैको जानकारी राख्ने भएकाले मैले उसलाई सोधेँ ।

“कुन ? त्यान्द्रे चुल्ठीवाला ?

बुढोले कुर्सी घुमाउँदै भन्यो– ए त्यो मारिया त हो नि ! ओलिभियाकोभन्दा माथिको फ्लाटमा बस्छे । नयाँ हो ।” नयाँ भए पनि बुढाले निकै नै बतायो ।

“तिमीसँग चिनजान गरेकी छैन ?” उसले सोध्यो ।

“लिफ्टमा हाई–हेलो भयो ।” मैले भनेँ ।

“हे...मारिया !” बबले मेरो कुरो बुझ्नै नभ्याई टेबल शेयर गर्न बोलाई हाल्यो । बुढोको बानी नै ‘स्ट्रेट फरवार्ड’ खालको छ । मन लागेपछि गरिहाल्ने । दायाँबायाँ केही हेर्दैन । त्यो पनि बुढोले बोलाई नसक्दै हामीतिर आउन लागी ।

“मान्छे मिलनसार छ, खुल्ला दिलकी ! बबले मेरो कानैमा साउती मार्दै भन्यो– तर अर्कै हिसाबकी भन्छन् सबैले ।”

मैले खासै कुरो बुझिन । उसै पनि त्यस केटीको पुरुषशैलीले मनमा नकारात्मक धारणा खिपाइदिएको छ । एउटै बिल्डिङ्गमा बस्ने हुनाले जो कोही राम्रै जीवनशैलीको भए हुन्थ्यो भन्ने लाग्छ । यो केटी चाहिँ अलि हिप्पी पाराकै हो कि भन्नेमा छु म ।

“हाई, म मारिया ।” उसले चिनजानको औपचारिकता पूरा गर्दै भनी– तपाईंहरूकै छिमेकी, सातौँ तलामा बस्छु ।”

दिउँसो लिफ्टमा भेट्दा जति हँसिली देखिन्थी अहिले अँध्यारो भैसक्दा पनि उस्तै हँसिली देखिएकी छे ।

“हे बब, तिमी यत्तिका बेरसम्म यहीँ छौ ? निन्द्रा छैन ? उमेरले बुढो भए पनि ‘योङ्ग’ छौ हगि ?” त्यसले बुढोलाई जिस्काई ।

उसको बोलीमा पर्सनालिटी थियो । कसैले बुढो भयौ भनेको सुन्न नचाहने बब दङ्ग परेर सुनिरहेको थियो ।

“यो तिम्रो लागि ।” मारियाले बोकेको छड्के झोलाबाट सिगार झिकेर बबलाई दिँदै भनी– “सेमिनारमा क्यूबा जाँदा ल्याएकी थिएँ, तिम्रै लागि ।”

मेरो नजरमा ऊ थेत्तरी ठहरिई । त्यो बुढोलाई चिनेको हप्तादिन भएको छैन सिगार थमाउँछे । लाग्यो– कस्तो क्लास नभएकी रहिछ ।

“तिम्रो लागि पनि ।” उसले त झोला खोतलेर एउटा की रिङ्ग झिकी र मेरो हातैमा पो थमाइदिई ।

सिल्भरको सिक्कामा गाँजाको पातको आकृति मज्जाले खिपिएको थियो । मैले नाईं भनिनँ किन कि त्यो आकर्षक थियो । व्यक्तिप्रति नकारात्मक धारणा बोकेर उसले दिएको बस्तुप्रति लोभिनु कहाँसम्मको न्याय थियो ? मैले छिचोल्न चाहिनँ ।

“ओहो कस्तो राम्रो !” आजकल प्राय मान्छे बस्तुपरक नै भेटिन्छन् भन्ने सोचेर मैले सहज हुँदै भनेँ– “धन्यबाद मारिया ।”

रातको दश बज्न लाग्यो । बब उठ्ने तरखरमा थियो । सिगार उपहारमा भेटेपछि के चाहियो र उसलाई ? फ्लाटभित्रको एक्लोपनलाई लबीको क्याफेबाट यत्तिकाबेरदेखि च्यालेन्ज गर्न पाएर म भने रोमान्चित थिएँ । मलाई उठ्ने हतारो थिएन । बब थियो, मोनिका थिई, मारिया पनि आफ्नै भैसकेकी थिई । बिशेषतः रमाइलो माहौल थियो ।

“तिमीहरू कुरा गर । म चाहिँ लागेँ ।” बबले कुर्सीबाट उठ्न लाठीको सहारा लियो र निस्कियो ।

“कफी ?” उसले सोधी ।

मेरो पहिलो कप रित्तो भैसकेको थियो ।

“मेरो तर्फबाट ।” उसले मलाई कि रिङ्ग दिइसकेपछि कफीको अफर गर्ने पालो मेरै थियो ।

“अल राईट ।” उसले कुम उचालेर सहमति जनाई र मुस्काउँदै सोधी– “तिमी एक्लै हो ?”

“होईन, कपल... ।” मैले भनेँ ।

“अनि तिमी ?” मैले सोधेँ ।

“बिगत छ महिनादेखि एक्लै छु ।” उसले भन्दै गई– “रिलेसन ? कम्प्लिकेटेड हुँदो रहेछ । निभाउनै नसकिने त्यसैले आजकाल म पुरुषहरूलाई घृणा गर्छु ।”

“अँ...।” एकै भेटमा आत्मियता बाँडिहाल्न आँट गरिरहेकी थिइनँ म ।

तर आत्मियता साट्न चन्द्रमा नै उदाउनु पर्ने रहेछ र ? उसले उपहार दिइसकी । मेरो हातमै छ । उपहारले जोड्ने आत्मियताभन्दा ठूलो अर्को के हुन्छ ? के थाहा ? उसले पनि जीवन मेरै जस्तो भोगेकी होस् । मनले भन्छ– गुम्सिएर रहेका सबै कुराहरू एकै श्वासमा खोतलिदिउँ । तर आँट पुगेन ।

“तिमी स्पेनिस मूलकी हौ ?” उसको बोलाईमा भेटिएका केही थेगो सुनेर मैले कुरा बढाएँ ।

“बार्सिलोनाकी हुँ ।” त्यसले मुस्काउँदै भनी ।

“तिमी नि ?” मलाई पनि सोधी ।

“नेपालकी ।” मैले भनेँ ।

“त्यसैले त तिमी यस्ती सुन्दर रहिछौ ।” उसले मेरो प्रशंसा गर्दै भनी– “तिम्रो देशको लालीगुराँस जस्तै !”

म दङ्ग परेँ । उसलाई मेरो देशको लालीगुराँसको सुन्दरता थाहा रहेछ ।

कफीको घुट्कोसँगै उसले चुरोट सल्काई । चुरोट जल्दै गयो, त्यसकै अनुपातमा उसका निजी कुराहरू पनि मसँग खोल्दै गई । उसले एकै भेटमा मसँग आत्मियता जोडेर मन किन खोली ? प्रश्न पनि उठ्यो मेरो मनमा । हिपोक्रिटहरूको बजार बढेको बेला अचानक ठोक्किन आइपुगेको मारियाको दिल मैले कम आँक्न सकिन ।

मोनिकाले क्याफे बन्द गर्ने बेला भएको सङ्केत दिई । मारिया र म सँगै निस्कियौँ । आखिर हामी माथि चढ्ने लिफ्ट पनि एउटै थियो ।

“साँझको छ बजे पछाडिको समय म फुर्सद हुन्छु ।” छुट्नुभन्दा अगाडि त्यसले मेरो गालामाथि लिप्टिएका कपालका केस्राहरूलाई पन्छाएर कुममा अपनत्व झल्किने स्पर्श गर्दै भनी– “तिमीले चाहेमा हामी भेट्न सक्छौँ ।”

उसको उदारता मेरो लागि ढुङ्गा खोज्दा देवता मिले जत्तिकै थियो ।

छुट्टिएर कोठामा आएँ तर मारियाको सद्भावले मलाई पछ्याइरह्यो । एक कप कफी रित्याईको समयभर नै किन नहोस्, उसले मलाई सुनी । मेरो उपस्थितिलाई आदर गरी, समकक्षी सम्झिएर कुराकानी गरी । मेरो प्रशंसा गरी । लामो समयदेखि मैले यो अवसर कहाँ भेटेकी थिएँ र ! मारियासँगको भेटघाटलाई निरन्तरता दिने निधो ग¥यो मनले ।

००००००

समय बित्दै जाँदा हाम्रो मित्रता पनि बढ्यो । घुमघाम, खानपिन, किनमेल सँगै गर्न थाल्यौँ । रोहित घर नफर्किएका कयौँ रातहरू हामी दुई एकैसाथ भएर बितायौँ । ऊ मेरा आँखाका कुरा गर्थी । मेरो हेराइको तारिफ गर्थी । मेरो बौद्धिकताको ब्याख्या गर्थी । काम सकेर फर्किदा कहिलेकाहीँ फूलका गुच्छा मेरो लागि बोकेर फर्किन्थी । मेरो खुब ख्याल गर्थी । हाम्रो लामो वैवाहिक जीवनमा यति त रोहितले पनि कहिले गरेन ।

रोहित भने मारियासँगको पहिलो चिनजानमै भड्किएको थियो । उसले पनि बिट मारेरै भनिदिएकी थिई– स्वास्नीको आत्मसम्मानको थोरै पनि ख्याल नगर्ने घिनलाग्दो पुरुष रहेछौ भनेर । क्षणिक तानाबानाहरूमा रँगालिएको उसले मारियाकै अगाडि ममाथि जाई नलागेको भए भैहालेको थियो । ग्लासकै झटारो हान्नुपर्ने जरुरी के नै थियो र ? अझ ‘स्पेनिसहरूको राष्ट्रिय खेलमा छोड्ने साँढे जस्तो रिसाहा’ भनेको रोहितले राम्ररी सुनेको भए आजसम्म मारियालाई एउटै बिल्डिङ्गमा बस्न दिने थियो होला र ! धन्न भेउ पाएन ।

जे होस्, ऊ मारियासँगको मेरो घनिष्ठतालाई छोट्याउन लागिपरेको थियो । म भने मारियाको आत्मियतासँग टाढिन अत्यन्त मुश्किल देख्न थालेकी थिएँ । उसले मलाई बदल्दै लगेकी थिई । म नजानिदोसँग बदलिरहेकी थिएँ । यही बदलाइमा एक दिन मैले ठहर गरेँ– जिन्दगी खुशीसाथ बिताउन लोग्नेमान्छे नै चाहिन्छ भन्ने छैन ।

अन्ततः मैले सबथोक बिर्सिएर संसारिक संरचनाको नियमित बाटो बदलेर वैकल्पिक बाटो हिँड्ने निर्णय गरेँ । मारिया बार्सिलोनामा अपार्टमेन्ट लिन गइसकेकी थिई । अपार्टमेन्टको कन्र्फमेसन बाँकी थियो । म त्यसैको पर्खाईमा थिएँ ।

मारियाले अपार्टमेन्ट कन्फर्म भयो भनी फोन गरी । बाँधिराखेको सुट्केस लिएर लबीमा झरेँ । बब मारियाले दिएको सिगार तान्दै सेन्ट्रल पार्किङ्गपट्टिको ढोकैमा उभिएको थियो । मैले उसलाई हात हल्लाएँ ।

“ए ! नयाँ कुरा सुनाउनु छ ।” बुढो परैबाट कराउँदै मेरो छेवैमा आएर साउती मार्न लाग्यो– “त्यो माथि बस्ने मारियाले त केटीसँग पो बिहा गर्ने भइछे । अनि बस्ने रे, बार्सिलोनामै !”

ऊ के जानोस् त्यो केटी म नै हो भनेर ......!

ब्रसेल्स, बेल्जियम

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 8 आसाढ, 2068

लेखकका अन्य रचनाहरु