सुरक्षा जाँच

- रुद्र ज्ञवाली

उसले सडक किनाराको टहरामा बसेर यात्रुहरुको झिटी-झ्याम्टा खोतल-खातल गर्न थालेका वर्षौं नाघिसक्यो । जागिरको सुरु-सुरुका दिनमा त उसले यात्रुहरुका झोला-झ्याटा यसरी खोतल्थ्यो- मानौं देशबाट बेपत्ता भएको सम्पूर्ण शान्ति-सुरक्षा त्यतै कतै लुकाइएको छ । अथबा उसलाई यस्तो पनि लाग्थ्यो मुलुकमा झ्याँङ्गिएको द्वन्दको जरो यात्रुका झेलाको चेनभित्र कतै पुगेको छ । त्यसैले ऊ झोलाभित्रका सबै सामान बडो सतर्कताका साथ ओल्टाइ-पल्टाइ गर्दथ्यो ।

तर आजभोलि यात्रुहरुका झोला-झ्याम्टा खोतल-खातल गर्न उसलाई उस्तो जाँगर लाग्दैन । यतिबेला ऊ आफैं विस्मयमा छ । यात्रुका झोला-तुम्बा खोतलेर शान्तिको खोजी गर्न थालेको यत्तिका वर्ष भइसक्दा पनि न त कतै मुलुकबाट हराएको शान्तिे सुरक्षा नै भेटियो न त मुलुकमा मौलाएको द्वन्द र अराजकताको छेउ टुप्पो नै फेला पर्यो । सुरक्षा जाँचका क्रममा झोलाभित्र उसले फेला पार् यो त- पुराना लुगाफाटा टुथपेष्ट टुथब्रश पैन्टी ब्रा पेटीकोट चप्पल र तौलिया आदि इत्यादि मात्र ।  

 भैरहवा

 

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 17 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु