हड्ताल उद्योग

- कृष्ण बजगाईं

देशमा हड्ताल उद्योग फस्टाएको देखेर केही भुसतिघ्रे, कुण्डलेमुण्डलेहरुलाई यसले आकर्षित गर्यो । लगानि बिना एकैपटकमा लाखौंमात्र होइन करोडौं कमाउन सकिने, शत्रुसँग रिस साँध्न पाइने भएपछि उनीहरुले हड्ताल उद्योग स्थापना गरे ।

स्थापना लगत्तै त्यसले काम सुरु गर्यो ।

उद्योगी, ब्यापारीबाट राम्रै चन्दा संकलन हुँदै थियो । हडतालको पूर्व सन्ध्यामा चन्दा संकलन गर्दै गर्दा हड्ताल उद्योगका केही कर्मचारीहरु पक्राउ परे । भोलिपल्टको चक्का जाम र बन्दलाई राम्रो उर्जा मिल्यो उनीहरुलाई ।

आफ्ना कर्मचारीहरु पक्रेको भन्दै उत्तेजित र आक्रोशित हुँदे तोडफोड सहितको फेरि अर्को बन्द र चक्काजाम गरे । त्यसको केही घण्टामै प्रहरीले हडताल उद्योगका बाँकी कर्मचारीहरुलाई मात्र होइन मालिकलाई पनि पक्रियो ।

प्रहरी पनि त्यस उद्योगमा पार्टनर रहने मौखिक सम्झौतामा केही दिनपछि ती सबै रिहा भए ।

रिहा लगत्तै उनीहरुको आकस्मिक बैठक बस्यो । चन्दा संकलन, बन्द तथा चक्काजाममा आंशिक सफलता प्राप्त भएकोमा सन्तुष्टि ब्यक्त गरे सबैले । तर आगामी दिनमा पनि यसरी नै फेरी बिफल हुने र प्रहरीसँगको पार्टनरसिप पनि भरपर्दो र सुरक्षित नहुने भएकोले के गर्ने भनि सबै चिन्तित भए । लामो समयको छलफलपछि एउटा ठूलो टाउको भएको भुसतिघ्रे बिचार राख्यो– “हाम्रो उद्योगलाई सुचारु रुपले संचालन गर्न यसलाई राजनीतिक पार्टीको आवरणमा बाहिर ल्याउनु पर्दछ ।” यस कुरामा सबै सहमत भए ।

त्यसपछि त्यो उद्योग निर्वाधरुपमा संचालन भयो र बेस्सरी पैसा कमाउन थाल्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 आसाढ, 2068

लेखकका अन्य रचनाहरु