बैरीको पोथ्रो

- जगदीश घिमिरे

बैरीको पोथ्राले पिटाइ खान्छ ।

अचम्म होइन । संसारका आधाले भोक खानु, भाटभटेनीहरू अर्थात् न माथिका न तलका – ले गुन्द्रुक भात खानु र देशसेवाका ठेकेदारहरूले ककटेल खानुजत्तिकै स्वाभाविक भैसकेको छ बैरीको पोथ्राले पिटाइ खानु – उसकी आमा बैदार्नीको हातबाट ।

गाउँ छोडिन् तर गाउँले छोडिनन् बैदार्नीले । पहाडको घरबार छोडेर मधेश झरिन् तर पहाडकै एक परिवारको घरमा बस्न लागिन् । घरभाडा जोगाउन । कसैलाई पनि मन पर्दैन उनको यो बसाई – यस घरमा । पैलेहुँदो उनको बह सुन्दिनुमा नै घरभेटीको कर्तव्य टुँगिन्थ्यो । अचेल नचाहिंदो दायित्व बढ्दै छ । साहू काढेको पैसा सिध्याइसकिन् । अब कसरी भान्सा चलाउने हुन् ? (उनको भान्सा बेग्लै छ) भूतपूर्व पोइसंग काटोछिनु छ । काखमा यौटा छोरो छ । बैदार्नी खुशी भएको बेला छोराको नाउँ पनि राम्रो हुन्छ – “कान्छो” “सानु” “बाबा” “मेरो प्राणु” “मलाई पोल्ने पाल्ने” ... यी सबैथोक मेटिएर पिटाइ खाने बेला उ “बैरीको पोथ्रो” हुन्छ । उसको बाबू बैदार्नीको बैरी रे । अतः त्यस बैरीको छोरो अर्थात् उ बैरीको पोथ्रो – पछि झाङ्गिने !

बैरीको पोथ्रो पिटाइ खाँदैछ । बैरीको पोथ्रा अल्लेर रुन थाल्छ । आजको विराम नौलो छ । उसलाई टाक्सिएको छातीमा टाँस्दै बैदार्नी फुल्याउन थाल्छिन् – “मेरा राजा, बित्थैँ पिटाइ खायौ मेरो प्राण । ... अनि किन त लुगै नफुकाली न्वाएको त ? दाजुहरु पर छन् परदेशमा था छैन ।”

के थाहा पाओस् बरा बैरीको पोथ्राले यस तोते बोली बोल्ने उमेरमा कि मान्छे मरेको बेला मात्रै लुगैसमेत न्वाउँछन् भनेर । पहाडबाट भर्खरै आएको – तराईको गर्मी असह्य भएर उसले लुगा लाएको लायै थाप्लामाथि लोटाभरिको पानी खन्याएको थियो ।

तर बैदार्नीलाई के डर भने छ कतै परदेश बसेका ठूला छोराहरुको नराम्रो खवर सुत्रु नपरोस् । बैदारको मृत्युसँग उनलाई डर छैन । ‘मेरो लागि त्यो बाँचेको र मरेका के फरक भो र अब ।’ उनी भन्छिन् ।

बैदार बैदार्नीका छ सन्तान छन् । दुईटी छोरीको बिहा भैसकेको छ । दुईटा छोरा लाहुर हिंडिसकेका छन् । साथमा अझै यौटी छोरी छे र काखमा यौटा छोरो । छोरीको बिहा गर्ने बेला भैसकेको छ – सात पुगेर आठ लागी । छोरो सानै छ, तापनि पाँच–छ वर्षभित्र कसो लाहुरको बाटो नसमाउला – बहादुर हुन !

बैदार पनि यसै शहरमा छन् । सोह्र बर्षको उमेरमा सिपाहीमा भर्ना भएका, अहिले अठ्चालिसको उमेरमा बैदारसिवाय कति हुनु ? ठट्टा हो । दुई प्रमोशन पाउनु ! बैदारले प्रत्येक हाकिमहरू रिझाएर नै यति चाँडै बैदार भएका हुन । हाकिम रिझाउन नजात्रे स्वाँठहरु कतिजना उनीभन्दा पैलेदेखिका पनि सिपाहीको सिपाही मै छन् । ...

जागीरमा जुग बिताउन नपाउँदै बैदारले यौटा छ हलको मेलो पाखो पनि जोडका हुन् । घर पनि सिंगारेका हुन् । गारामा सुकीलो सतरंजी ओछयाएर हुक्का पनि तात्र थालेका हुन् । पहाडमा, कैलेकाहीं बिदामा यी रमाइलो लिएर आउँथे । यिनै ताक बैदार्नी बसर्यूनी व्याउन थालिसकेकी थिइन् । कति जन्मे के लेखा । अहिले बाँचेको पो यति ।

घर पहाडमा, जागीर मधेशमा । बैदार्नीलाई घर खेती धात्र पहाडै वस्नुपर्ने । सुतिथाती बेसै थियो ।

पह्रार बैदार्नीलाई मधेश हेर्न मन लागेछ । बद्री जाने बथान सँगसँगै बैदार्नी पनि झरिन् पोइको जागीरमा हिउँद बिताउने सुरले । अर्कै बैदार्नीसँग पो जम्काभेट भएछ ।

“फूँडी ।” बैदार्नी आफ्नी सौतालाई फूँडी भन्छिन् – “म पो पन्चै बाजा ठोकेर ल्याएकी ब्याइते । ... त्यो फूँडी जस्ती पोईल आएकी हुँ र ? म जस्ती हो त्यो ? मेरा त छारा छन्, छोरी छन्, पोइ छन् । पोइ त मेरो पो हो त्यो बाहुन, तेसको त नाठो हो । अलच्छिनी बेस्से । आफ्नू पोइ नटोकेकी भए मेरो पोइलाई किन मुहुनी लाउनुपथ्र्यो ? बोक्सी ।”

बैदार्नी पोइलाई पनि बाँकी राख्दिनन् ? “बैरी ।” उनी पोइलाई धेरैजसो बैरी मात्र भनेर संतोक गर्छिन् । खपिनसक्नु हुँदामात्र उनी भन्छिन् – “मोरो बैरी मोरो । त्यो फूँडी र म एकै रे उसका लागि । सँगै मिलजुल गरेर बस्नु रे मैले त्यस फूँडीसँग । मर्दको जात एकचोटि विरायो, भैगो । म आएपछि तेल्लाई निकालेर मसँग बस्नुपर्ने हो कि होइन त्यस असतीले । ... कसरी बिर्सन सकेको चटक्क एस्ता कल्कलाउंदा छोराछोरी ... बैरी मुर्धा पुनसको साहू ...’ बैदार्नी आँसु पुछ्न थाल्छिन् । भक्कानु फुटेपछि उनी गफ गर्न छोड्छिन् ।

गाउँले कुरा काट्छन् । कोही भन्छन् – बैदार त मान्छे धर्मराज हो गाँठे । स्वास्नी नै उस्ती । कोही भन्छन् – स्वास्नी के उस्ती हुन्थी । लोग्नेमान्छे मोराको जातै उस्तै । कोही भन्छन् – हुन्छन् त मर्दका सातओटी । यौटी कान्छी ल्याएर के बिरायो बैदारले । जेठीलाई मारेका छैन । पहाडको जम्मै सम्पति जेठीलाई नै दिइहाल्यो त ।

पाईले आपूmमाथि सौता हालेको थाहा पाउना साथ बैदार्नीले रडाको मचाइन् । गाउँले गुहारिन् । माइती बोलाईन् । ज्वाइँहरु उचालिन् । क्यै लागेन । बैदारले कान्छी छाडेन । कसरी छाड्न सक्छ बैदार कान्छी । कान्छीमात्रै हो र ? कान्छी सँगसँगै उसले कान्छीको दाईजो एक बिघा खेत पनि छाडनु पर्छ । कान्छीको दाईजो, कुनै जोगीले (महन्तले) दिएको ।

कान्छी बैदार्नीको घर पनि पहाडैतिर हो – कुत्रि कता दुई नम्बर वा तीन नम्वर पूर्व । बाल विधवा भएपछि मधेश झरिन् । मन्दिरको शरणमा, महन्तको शरणमा । यहाँ मरण हुँदैन कुनै पनि बालविधवाको अथाव परित्यक्ताको । यो याज्ञवल्कको स्थान । उनको पनि मरण भएन । कुनै मठमा प्रवेश गरिन्, प्रवेश गरेका वर्षदिनभित्रै उनका सारा अंग फस्टाए । आखिर ब्रमहाचारीहरूको शरणमा न थिइन् । चोला साना भए । लुगा बढ्ता लाग्न थाल्यो ... एक दिन साँझमा बैदारको पछि लागिन् । मठाधीशज्यूले अघिल्लो दिन अड्डासम्म पु¥याएर खेत पाको गर्दिनुभो । यो कुरा कसैलाई थाहा छैन ... बैदार भाग्यमानी थिए ल्याएको चार मैनाभित्र धुतुमुने छोरो पाइदिइहालिन् कान्छीले । उनलाई जेठी किन चाहियो अब ? मठाधीशको बैदारमा धेरै अनुग्रह रहन्छ ... आउनु जानु उत्तिकै छ । ...

अतः कुरो मिलेन । बैदार कान्छी छाड्न नसक्ने । जेठी कान्छीसँग नबस्ने । बैदार कान्छीका एकलौटी भए । पहाडको घर खेत जेठीको । यसपालि दुई वर्षभयो, अनिकाल प¥यो, बैदार्नीले पहाडको जग्गा बेचेर खाई सकिन् । बैदार्नी छोरा छोरीसंग कुरा गर्छिन् – “मासु भात खाएर, मोज मारेर सिध्याको होइन त । के गर्छौ तिमीहरुको भाग्य यस्तो । अनिकाल प¥यो । बैरी मोराले फर्केर हेरेन । भोकै मर्न सकिएन । खानै प¥यो । साहू काढ्यो । तिनैँ प¥यो – सकियो ।”

छोराछोरी – टुहुरा छाउरा – टुलूटुलू हेरी बस्छन् ।

बैदार्नीसँग मरेपछिको पनि कार्यव्रmम छ – “यस लोकमा जति ओटी फूँडी बटुले पनि अर्को लोकमा त बिहा गरेर ल्याएकी स्वास्नीमात्रै हुन्छे रे साथमा । फूँडीहरूलाई लैजान्छन् जिमका दूतहरूले नर्कतिर रे ... ऊ अर्काको पोइसँग जानेहरूलाई । अनि बैरी मोरो मसँगै बस्ला त ।”

परलोकमा भेट भएन भने बैदार्नीलाई अर्को जुनीको भर छ – अर्को जुनीमा आफू लोग्ने हुने बैदारलाई स्वास्नी बनाउने र फूँडीलाई कमारी बनाएर दुख दिने यस जन्मको साटो ।

बैदार्नीले यौटा राम्रो ठाउँ पाइन, जसको प्रतीक्षामा उनी पहाड छोडेर यहाँ (बास ?) बसेकी थिइन् । छ कोश पर रामपुर । कुम्लो कुटुरो बोकर उनी तत्कालै हिंडिहालिन् जेठका लूमा । खान लाउन दिने, दरमाहा पनि मैनाको पचास रुपियाँ के खोज्नु ?

“आक क ... गए बीत्या राँडा–राँडीहरु । मलाईमात्र खान लाउन दिने रे । मेरा बालख छोराछोरीलाई भोकै मार्ने रे । एक्लै भैदिएको भए तिनका भतुवा लाग्नुपथ्र्यो र ? भीर थिएन हाम्फाल्न?” बैदार्नी भन्छिन् । उनी रामपुरमा टिक्न सकिनन् । पर्सिपल्टै फर्किन् । यसैगरी वर्षदिनभित्र उनी दश बाह्र ठाउँ लागिन्, छोडिन्, तर छोराछोरीको कारणले । को सक्छ तिनका गलगाँड पाल्न सित्तै ।

“हैन मलाई काम लगाएर मेरा छोराछोरीलाई देखीनसक्ने, भोकै मार्न खोज्ने कस्ता मान्छे यस मध्ये कलिका त ।” कुनै ठाउँमा पनि टिक्न नसक्नाको कारण उनी बताउँदथिन् ।

बैदार्नी आफूसँग बसेकी सानी छोरीलाई जेठी–छोरी ज्वाइँका घरमा भतुवा लाग्छ पठाइदिन्छन् – “जा कान्छी जा, ठूल्दिदीको बाख्रा चराइदिनु, ज्वाइँले पठाइदिनु भत्रुभा छ ... भोकै त मर्दिनस् ...”

विदा गर्दा बैदार्नी एकपटक रुन्छिन् ।

अब उनीसँग बैरीको पोथ्रा मात्रै छ । प्रतीक्षामा छिन् क्यै दाता निस्कन्छन् कि उनलाई भात पकाउने र भाँडा माझ्ने काम दिएर नोकर्नी राख्ने ।

जेठी छोरीकहाँबाट खबर आउँछ – कान्छीले गर्दा घरभरि रडाको मच्चिएको छ रे । सासू बुहारीको बाझाबाझ, लोग्ने स्वास्नी (छोरी–ज्वाई) को ठट्याङ–ठटुङ आमा छोरोको ठास्स ठुस्स ... सबैथोकको यौटै कारण – बैदार्नीको कान्छी छोरी त्यहाँको साँघुरो भान्सामा थपिनु । ...

“राच्छेसनी सम्धिनी मेरी ।” बैदार्नी विलौना गर्छिन् – “मेरा कारणले ठूलीलाई पनि पछिसम्म नराम्रो हुनेभो । ... के सही हुन्छ र लोग्नेमान्छेका जातको ... ठूलीसँग रिसाएर ज्वाईले पनि यौटी फूँडी भित्र्यााए भने । ...”

कान्छी छोरीलाई झिकाउनु कतै नोकरी पाउने आशालाई कोशीमा बगाई दिनु हो, थाहा छ बैदार्नीलाई । तैपनि बैदार्नी चिठ्ठी लेखि माग्छिन् – “हामी सुविस्तासाथ छौं । कान्छीलाई आमा संझेर नियास्रो लाग्दो होला । आउने मान्छे साथ लगाई यहीं पठाइदिनु । आमाको शुभाशीष ।”

बैदार्नीले अचेल एकतमासेजस्ती छन् ।

बैरीको पोथ्रामा क्यै फरक छैन । घरका अरु बालखसरह बिहानै खाजा खान खोज्छ । उसैगरि स्कूल पढ्न जान खोज्छ । उस्तै भोक लाग्दा कल गर्छ । उस्तै राती ओसारामा होइन कोठामा सुत्छु भन्छ । उसैगरि, दशैंमा नयाँ लुगा खोज्छ ... सबैथोक मान्छको बच्चाले खोज्ने जस्तै खोज्छ ... साँच्चै, बैरीको पोथ्रा मान्छे हुन खोज्छ ।

र, प्रत्येक प्रस्तावमा बैरीको पोथ्राले बैदार्नीका थप्पड खान थालेका छ । थप्पड खाँदै कल झगडा गर्दै गरिरहने उसको बानी बसेको छ । व्रmमशः विर्सन्छ भर्खर पिटाइ खाएर रुन थालेको कुरा । उ खेल्न लाग्छ । तर बैदार्नी रुन संझन्छिन् । बैदार्नी सुँक्क सुँक्क रुन थाल्छिन् । बैरीको पोथ्राले रुन लागेकी आमालाई हेरेर टक्क अडिन्छ । कुद्धै आएर आमालाई अँगालो हाल्छ ।

आमा छोरा यौटै पोको परेर रुन थाल्छन् ... ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 2 आसाढ, 2068

लेखकका अन्य रचनाहरु