पृथ्वी र मान्छे

- श्री सुब्बा

एक कोषीय

आदिम प्राणीको प्रारुप पछि

व्यतीत कालक्रम र कालखण्डहरुको

आरोह अवरोहसँगै

विकासवादको भट्टीमा

खारिएको प्राणी न हो मान्छे

अनि

जिजीविषा

विजीगिषा

र जुगुप्साको

त्रिवेणीस्वरुप न हो मान्छे

मान्छेको त्यो अनन्त स्वभावसँग

परिचित पृथ्वीले

अनिच्छापूर्वक आफ्नै वक्षस्थलमािथ

मान्छेकै पक्षमा

निसर्त भोगचलनको लािग

ल्याप्चे सही ठोकेकी न हो

तब सधैं बाँचिरहने लालसा बोकेको यो मान्छे

विजित हुनै नचाहने मान्छे

निन्दा ठ्याम्मै नसहने मान्छे

कसरी कतिन्जेल

आफ्नो विशिष्टतालाई बचाउँदोरहेछ

यस्तै यस्तै

सोचेर नै भरथेग गरिरहेको हुनुपर्छ

ममतामयी पृथ्वीले

यो मापाको प्राणी मान्छेलाई ।

धरान-१८

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 17 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु