सेतीको पानी जस्तै घाचोकका सेता मनहरू

- तुलसी प्रवास

माछापुछ्रे फेदैनेर एउटा सानो गाउँ रैछ
स्वर्गलाई नै बिर्साउने घाचोक त्यसको नाउँ रैछ
जसले जे—जे भनेपनि भन्नलाई स्वतन्त्र छ
म त भन्छु हरेक मानिस बुद्घ बन्ने ठाउँ रैछ ।।

धेरै भएको थियो साहित्यिक कार्यक्रमहरूमा सहभागी नभएको । सधैँभरि बिहान र बेलुकाको छाक जुटाउन तँछाडमछाड गर्दै लाग्नुपर्ने जिन्दगी बाँचेका हामीलाई साहित्यिक कार्यक्रम र साहित्यिक यात्राहरूमा निस्कने फूर्सद कहाँबाट मिलोस् ? यस्तैमा एउटा फूर्सद निस्क्यो २०६८ जेष्ठ २१ गतेको दिन । पोखरामा क्रियाशील साहित्यिक संस्थाहरू ‘गजल सन्ध्या’ र ‘नवनीत साहित्य सागर’को आयोजनामा सञ्चालित ‘अक्षरयात्रा’ को ६९औँ श्रृङ्खला अन्तर्गत कास्कीको घाचोकमा मलाई पनि सहभागी हुने अवसर मिल्यो ।

पोखरा नेपालकै सुन्दर सहर । हरेक देशी—विदेशी मानिसको एउटा गन्तव्य पोखरा हुने गर्छ । पोखरामा बस्न थालेको पनि चार वर्ष पूरा भएछ । पोखराबाट यस वरिपरिका सुन्दर र रमणीय स्थलहरूको भ्रमण गर्ने अवसर मिलिरहेको थिएन । यसैक्रममा अक्षरयात्राले त्यो अवसर जुराइदियो । यसैको बहानामा मैले पोखराको छेउमै रहेर पनि म अहिलेसम्म पुग्न नसकेको सुन्दर गाउँ घाचोकमा आपूmलाई उभ्याउन सकेँ त्यो पनि कविता, गीत, गजल,मुक्तक र हाइकुको साथमा ।

२१ गते शनिबारको दिन । बिहानै कमल पौडेल ‘अथक’लाई फोन गरेँ । उनी मेरा पुराना मित्र । पत्रकारिता उनको पेशा । एउटा सुन्दर परिवेशको भ्रमणमा मन मिल्ने साथी भएन भने त्यो यात्रा त्यति रमाइलो बन्न सक्तैन भन्ने ठानेर अथकलाई सोधेँ । उनले हुन्छ नि जाउँला भनेपछि मेरो मन पनि फुरुङ्ग भयो । ९ः३० बजे अथक र म मोटरसाइकलमा हानियौँ घाचोकतर्फ । अन्य ३५ जना साथीहरू बसको यात्रामा थिए ।

बगरबाट लामाचौर हुँदै एउटा साँघुरो पक्की बाटो भुर्जुङखोलातर्फ लाग्दो रहेछ । एकोहोरो गाडीमात्र छिर्ने त्यस बाटोमा हामी दुईजना अगाडि बढ्दै गयौँ । पातीचौर भन्ने स्थानमा पुगेपछि घाचोकको लागि कच्ची बाटो सुरु भयो । निरन्तरको झरीले गर्दा बाटामा ठूला—ठूला खाल्डाहरू थिए । तैपनि पछाडि बसेका अथकजी जाऊँ—जाऊँ भन्देै मलाई हौस्याउँथे । केही तल पुगेपछि मैले हाँसो गर्दै भनेँ —“अथक तिमी झर, केही भैहाल्यो भने समाचार लेख्ने मानिस पनि त चाहियो नि ?” उनी हाँस्दै झरे । मैले कहिले मोटरसाइकल डो¥याउँदै त कहिले बिस्तारै चलाउँदै तल सेती खोलाको किनारमा झारेँ । कपडा,जुत्ता पूरै हिलै हिलो भए । जिन्दगीको एउटा अविष्मरणीय यात्रा सम्झेर सबै कुरालाई रमाइलो मान्दै हामी अगाडि बढिरह्यौँ । सेतीको किनारमा लटरम्म चुत्रो पाकेको देखेर अथक झ्याङ्गतिर लागिहाले । म पनि के कम थिएँ र ! बाल्यकालमा चुत्रो घारीमा रमाएका दिनहरू सम्झदै मुखै कालो हुने गरी पेटभरी चुत्रो खाइयो । त्यहाँका बूढा पाकाहरू हामीलाई सञ्चो नहोला भनी सचेत गराउँथे । हामी भने धेरै समय पछि खान पाएको प्राकृतिक फल धोको फेरेर खायौँ । सेतीमाथिको झोलुङ्गे पुलबाट पारी तरेर घुमाउरो कच्ची बाटो हुँदै हामी १२ः०० बजेतिर घाचोक पुग्यौँ ।

माछापुच्छ्रे र अन्नपूर्णको फेद त्यहीँबाट सुसाउँदै बगेको सेती खोला तरेर एउटा सुन्दर र रमणीय गाउँ पुगेपछि मलाई स्वर्गको अनुभूति भयो । हरियाली उपत्यका जस्तो गाउँ रहेछ । भित्र —भित्र सम्म खुलेका मोटर बाटाहरु । हामी दुईजना रमाउँदै बाल कल्याण प्रा.वि. मा पुगियो । त्यहाँ सिर्जना साहित्य सदन, घाचोकका अध्यक्ष महेश्वर पोख्ररेल हामै्र प्रतिक्षामा बसिरहनुभएको रहेछ । छेउकै घरमा हामै्र लागि भनेर खाना बनाइँदै रहेछ । हामी पोखराबाट चिया मात्र पिएर हिडेका थियौँ । त्यहाँ पुगेपछि भोकले साह्रै सताएकोले १—१ पोका चाउचाउ किनेर चपाउन थाल्यौँ । महेश्वर सरसँग कुराकानी गर्दै हामी बसबाट आउने अन्य साथीहरुको प्रतीक्षामा रह्यौँ । अथकजी पत्रकार, केही समाचार बनाउनु प¥यो भनेर दुग्ध संकलन केन्द्रतर्फ लाग्नुभयो । म पनि उहँसँग हो मा हो मिलाउँदै बसिरहेँ ।

करिब १ बजेतिर सबै साथीहरू आइपुगे । पोखराबाट जानेहरूमा साहित्यकार ईश्वरमणि अधिकारी, लक्ष्मण थापा, रुपिन्द्र प्रभावी ‘कट’ु, कपिल शर्मा ‘सन्जोग’, सरला लामिछाने, विर्सना बस्नेत, टापेन्द्र रिजाल, अर्जुन अधिकारी लगायत ३५ जना थिए भने स्थानीय कविहरूमा महेश्वर पोखरेल, कुलबहादुर श्रेष्ठ, एकदत्त लम्साल लगायत थिए । एउटा रमाइलो जमघट त्यहाँ भयो । घाचोकको पहिलो स्वागत स्थानीय उत्पादन काक्रोबाट भयो । हामी सबैले मन लागेजति काक्रो खाएर हाँस्दे रमाउँदै त्यहाँको प्राकृतिक सौन्दर्यको स्वाद लिन थाल्यौँ ।

अक्षरयात्रामा म पहिलो यात्री थिएँ । सबैजना अब लेख्नतिर लागौँ भन्दै कोही मकैबारीतिर, कोही खरबारी, पाखा, छेउछाउतर्फ एकान्त खोज्न लागे । जुन ठाउँमा पुगियो त्यहीँ तत्काल उठेका भावहरूलाई कविता, गजल मुक्तक आदि मार्फत अभिव्यक्त गर्ने एउटा रमाइलो परम्परा अक्षरयात्राले सुरु गरेको रहेछ । म पनि खरबारीको छेउमा रहेको खनियाको रुखमा बसेर के लेखौ भन्दै सोच्न लागेँ । काँचा खनिया चपाउँदै केही मुक्तक, हाइकु गजल र एउटा सानो कविता लेखेर साथीहरू खोज्न लागेँ । अलि पर खोल्सामा अथक गजल गुन्गुनाउँदै रहेछन् । एकैछिनमा रुपिन्द्र देखा परे, मेरा पुराना साथी टापेन्द्र पनि गजल फलाक्दै मनेर आइपुगे । यताउता जताततै घाचोकका पाखा—पाखा एकछिन साहित्यमय भयो । साँच्चै धेरै साथीहरूको समुहमा अलग्गै उर्जा उत्पन्न भएको महसुस गरैँ मैले पनि ।

अब कार्यक्रम सुरु भयो । उद्घोषक सरला लामिछानेले सबैलाई पालैपालो रचना वाचनका लागि बोलाइन् । सबैका रचनामा घाचोकको परिवेश चित्रण, देश दुखेका अभिव्यक्ति, प्रेम, वासना जस्ता विशेषताहरू पाइन्थे । समयको पावन्दीलाई ध्यानमा राखेर मैले पनि एउटा मुक्तक र एउटा सानो कविता सुनाएँ । करिब ३ बजेतिर माछापुच्छ«ेको पाखा नै ढाकिने गरी पानी परेको दृश्य देखियो । पानी परेपछि मोटरसाइकल पोखरा निकाल्न गाह्रो थियो । त्यसैले साथीहरूलाई त्यहीँ छाडी हाम्रा लागि बनाइएको तातो तातो खिर र अचार खाएर अथक र म हेमजाको बाटो हुँदै पोखरा आइपुग्यौँ । घाचोकको अर्को आकर्षण महत्वपूर्ण गिद्घ रेष्टुरेन्ट अवलोकन गर्न समय नमिलेकोमा दुःख लागेपनि पोखरा आएपछि त्यहाँको रमाइलो यात्रा, त्यो सुन्दर गाउँ, अनि तल सेतीको सुसाउँदो पानीजस्तै सेता मनहरू झलझली याद आइरहे :

म अक्षरहरूको बुई चढेर
दूर अक्षरयात्रामा जान चाहन्छु
ए प्रिय मन !
मलाई नरोक
दूर देशका दूर कवितामा
म आफूलाई हराउन चाहन्छु ।
...................
...................

म दूर देशमा एउटा
बुद्घ जन्माउन चाहन्छु ।
.................
चहराइरहेका मनहरूमा
अक्षरकै मलम लगाउन चाहन्छु ।।

पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 29 जेठ, 2068

लेखकका अन्य रचनाहरु