इन्साफ

- जगदीश घिमिरे

म मरेछु । बाँचेको कैले पो थिएँ र ? सबै साहित्यिकहरूलाई जस्तै मेरो लागि पनि नर्कको सीट सुरक्षित रहेछ ।

लेखकको रूपमा केही परिचित भएकोले अर्थात् अपयश कमाएकोले (यश साहित्यिकहरूले कमाउँदा रहेनछन् । तिनको उच्चता तिनले गरेको कुकर्महरूले नापिंदो रहेछ, सुकर्म तिनले गर्न जान्दै जान्दा रहेनछन्) । स्वयं यमराज म पट्टि तानिए ।

भीषण अपराधहरूमा मैले चोरी, बेइमानी, ठगी, रहजनी, हत्या, बलात्कार, नेतागिरी, रक्सीबाजी, अवसरबाजी, रन्डीबाजी, प्रेमबाजी, जागिरी, पत्रकारी, साहित्यकारी, मन्त्रीगिरी, भाषणी, घूसखोरी, कालोबजारी, अफिसरी, जूवा, चोरी, तस्करी निकासी–पैठारी, लगायत बाँच्नेहरूले गर्ने सबै सद्कायँ गरेका साबिती बयान दिएँ ।

उनले फैसला सुनाए – आगे फलानाको छोरा फलानाको नाति फलाना ठाउँबाट अकाल मृत्यू मरी ल्याएको फलानालाई पाँच वर्ष तातो तेलमा भुट्नु, पाँच वर्ष आराले चिर्नु, पाँच वर्ष गुहुमा डुबाउनु, पाँच वर्ष सर्प–बिच्छी–अरिंगाल आदिलाई डसाउनु, पाँच वर्ष हजार सूर्यको रापमा सुकुटी गराउनु । यसरी नीजले पच्चीस वर्षसम्म पृथ्वीमा गरेका अपराधहरूको प्रायश्चितको निमित्त पच्चीस वर्षसम्म रौरव कुम्भिमाक आदि सबै नर्कमा यातना दिइनेछ । साथै कुनै पनि पाप नढांटीकन कबुल गरेकोमा सबै दण्ड भुक्तान भएपछि सप्रने मौकाको निमित्त एक पटक भुलोकमा जन्म लिन पठाइने छ ।

मेरो अन्तिम इच्छा सोधिन्छ ।

म बिन्ती गर्छु प्रभू मेरो पूनर्जन्म भूलोकमध्ये नेपाल भत्रे मूलुकमा होस् ।

यमराजबाट आज्ञा हुन्छ – तथास्तु । नेपालमा सबैले ती सबै यातनाहरु नमरिकनै पाउन्याछन् । अतः नेपाल जाने भए तेरा सबै दण्डहरू पनि माफ गरिन्छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 29 जेठ, 2068

लेखकका अन्य रचनाहरु