दलित दिवस

- हरिप्रसाद भण्डारी

जङ्गल जान लागेको धनबहादुरलाई सबैले रोके र पहिलेदेखि तयार पारिराखेको मञ्चमा लगेर बसाले ।

धनबहादरले हतारमा नाम्लो थन्काउन र खुर्पेटो फुकाल्न पनि भ्याएन । अफ्ठ्यारो मानीमानी नाम्लो र खुर्पेटोसँगै आयोजकहरूले बसालेको कुर्सीमा बस्यो ।

वरिपरि ठूलाबडा मान्छे थिए । हिजो अस्तिसम्म आफूलाई तल्लो जात भनेर घृणा गर्ने बिष्टहरूले आज यसरी सभाको बीचमा राखेको देख्दा उसले अचम्म मानिरहेको थियो । उसलाई त्यहाँ बस्न अफ्ठ्यारो लागिरहेको थियो । एक÷दुईचोटि त त्यहाँबाट भाग्न खोजेको पनि थियो तर आयोजकहरूले फकाई फकाई राखे । असजिलो मानीमानी बसिरह्यो ।

केही बेरपछि भाषण सुरु भयो ।

‘हाम्रा गाउँका अति गरिब, जसको खाने गास र बस्ने बासको समेत कुनै ठेगान छैन, दश नङ्ग्रा नजोती साँझको जाउलो जुट्दैन र जो शिक्षा, स्वास्थ्य र रोजगारीको उज्यालो घाम पाउनबाट समेत पूर्णतः वञ्चित छन् । जसलाई हिजोसम्म यो समाजले दलित भनेर घृणा गथ्र्यो, उसले छोएको खान मान्दैनथ्यो र जसलाई छुनसमेत घिन मान्थ्यो, आज दलित दिवसको यस महान दिनमा हामी तिनै व्यक्तिलाई सम्मान गर्न गइरहेका छौँ । यो समाजमा अब हामी जातपात छुवाछूत अन्त्य गर्दै मानिस मानिस एकै हौँ भन्ने सन्देश छर्न चाहन्छौँ .......।’ यस्तै थिए, सबैका भाषणका सार ।

केही बेरपछि सबै मिलेर धनबहादरलाई अबिर र माला लगाइदिए र एक टुक्रा मिठाई दिए । मिठाई पाउँदासाथ उसले झट्ट सानी छोरीलाई सम्झियो र कसैले थाहा नपाउने गरी पटुकामा घुसा¥यो ।

बेलुकीपख कार्यक्रम सकियो । सबैजना आ–आफ्ना घरतिर लागे । दिन ढल्किसकेको हुँदा वन जाने समय पनि थिएन, त्यसैले धनबहादुर पनि निधारभरि टीका र घाँटीभरि माला लिएर भोको पेट र रित्तो हात घर फर्कियो ।

त्यो दिन निमेक गर्न नपाएकोमा भोकै सुत्नुबाहेक उसको जीवनमा अरू खासै परिवर्तन आएको महसुस गरेन उसले ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 जेठ, 2068

लेखकका अन्य रचनाहरु