सूचना टुक्रा र मान्छेका सपनाहरू

- डा. ऋषिराज बराल

अरूलाई कस्तो हुन्छ थाहा छैन, सबै लेखन्तेहरूको एउटै स्वभाव, शैली, बानी र उत्प्रेरणाका आधारहरू समान हुन्छन् भन्न सकिँदैन र भन्न मिल्दैन पनि । आफू वरिपरिको परिवेश, व्यक्तिको स्वभाव आदि-इत्यादिको पनि महत्त्वपूर्ण भूमिका रहने गर्दछ । लेखन्तेहरूका आ-आफ्नैपन हुने गर्दछन् । मलाई पीडाले बढी छुन्छ । व्यङ्ग्य, त्यो पनि देवकोटाले भोगेजस्तो व्यङ्ग्यले बढी छुन्छ । जब सत्यतथ्यलाई असत्य, अशिव र कुरूपले गाँजेको देख्छु, मलाई घतलाग्दो व्यङ्ग्यले छुन्छ । सिङ्गो परिवेश व्यङ्ग्यात्मक बनिदिन्छ । मेरो ठहर छ, देवकोटाले सबैभन्दा बढी व्यङ्ग्य देखे र व्यङ्ग्य लेखे । मैले कुनै ठाउँमा लेखेँको थिएँ/छु देवकोटाको कविता 'गरिब' घतलाग्दो व्यङ्ग्य हो । मैले त्यहाँ साह्रै घतलाग्दो व्यङ्ग्य देखेँ/भेटेँ र म भन्छु - 'पागल' विश्वमै सबैभन्दा उत्कृष्ट, श्रेष्ठ व्यङ्ग कविता हो । जहिले पनि नयाँ, ताजा र जहिले पनि उत्तिकै सान्दर्भिक छ यो कविता । मानवजीवन छउन्जेल कहिल्यै पनि पुरानो नहुने कविता हो यो । यो त सुख्खा मौसममा हरेक बिहान देखिने शीतको थोपाजस्तै लाग्छ मलाई - सुन्दर, शान्त र मायालु । अनि धेरै अर्थपूर्ण पनि ।

त्यो पीडा र आक्रोसबाट जन्मेको व्यङ्ग्य हो । दुष्ट समाज, अमानुषता, ठालुपन, सत्ताखेल र कुटिलताबाट जन्मेकोे व्यङ्ग्य हो त्यो । पर्दाले ढाकेको यथार्थप्रति व्यङ्ग्य हो त्यो कविता । एउटा सामान्य मान्छे, जसलाई हामी आममान्छे भन्ने गर्छौं ले दिएको चुनौती हो- बेथितिलाई नै थिति मान्नेहरूविरुद्ध । यति घतलाग्दो, यति ठूलो बौद्धिक व्यङ्ग्य सायदै अरू कुनै कवितामा भेटिएला । सुन्दरलाई कुरूप र कुरूपलाई सुन्दर भनेर दुनियाँलाई ठग्ने जाली र राजनीतिक जुवाडेहरूको खाल-खेलप्रति साँच्चिकै चोटिलो व्यङ्ग्य प्रहार छ त्यसमा । राजनीतिक क्षेत्रमा देखिने भैरवनाच-उन्मत्तताको ताण्डव नृत्य-लाग्छ हिजो होइन, देवकोटा अहिले बोल्दैछन् ।

हावर्ड फास्टले भनेका थिए/रहेछन् । व्यङ्ग्य यथार्थसम्म पुग्ने सबैभन्दा छोटो बाटो हो । हामी आजभोलि असाध्यै कालो व्यङ्ग्य भोगिरहेका छौँ तर कालो व्यङ्ग्यभन्दा पनि खतरनाक हुने रहेछ रातो व्यङ्ग्य । हेर्‍यो वरिपरि भीरपहरामा पुगेर कतै अड्किएजस्तो । न माथि जाने ठाउँ छ, न वरपर, तल त हेरिनसक्नु छ, कहालिलाग्दो छ । कहाँ जाँदैछौँ

हामी ? हिँडाइ नै गन्तव्यविहीनजस्तो भएको छ । दिनदिनै खुम्चिएका छन् सीमाहरू । बजारिएका छन् बुटहरू छातीमा । अइया Û भन्न पनि डराउँछौँ हामी पगरी खोसिने पो हो कि भनेर । लाजै नमानी कुर्लिन्छौँ हामी 'मित्रराष्ट्र दक्षिणको हामीलाई ठूलो सहयोग छ' भनेर । कति घतलाग्दो व्यङ्ग्य । हनुमानचालिसा वाचकहरूको भीड लागेको छ भित्र-बाहिर जताततै ।

रगत, हो रगतमै टेकेर यहाँसम्म आइपुगेका हौँ हामी । फर्केर हेर्‍यो, ओहो, महागाथा Û कति सुन्दर इतिहास छ । मान्छे कसरी होमिँदो रहेछ सम्पूर्णरूपमा आफूलाई खुलाएर । भित्रैबाट नखुली मान्छे कहाँ त्यसरी होमिन सक्छ तर अहिले गाउँखाने कथासित साटिएको छ इतिहास । बनियाँहरूको सब्जीमण्डीमा बन्धक छ इतिहास । पर कतै धुनी जगाएर एउटा बूढोमान्छे रगतको कथा यसरी सुनाउँदैछ, खोलाको कथाजस्तै-खोइ दूध ? बिरालाले खायो । खोइ बिरालो ? मुसा मार्न गयो । खोइ मुसा ? दुलामा पस्यो । खोइ दुलो ? गोरुले कुल्च्यो । खोइ गोरु ? खोलाले बगायो । खोइ

खोलो ? सुक्यो । हाहाहा । खोइ रगतको इतिहास ? नेताले बोक्यो । खोइ नेता ? सिंहदरवार पस्यो । खोइ सिंहदरवार ? भारतमा पुग्यो...। यो व्यङग्य कम घतलाग्दो छैन । प्रश्न उठेको छ । थाम्नै नसक्ने गरी उठेको छ- आँखाआँखामा व्यङ्ग्य, ओठओठमा व्यङ्ग्य । पीडा छ, आक्रोस छ । यति मात्र छैन, विद्रोह पनि छ ।

म यही पीडा र आक्रोसबाट निसृत विद्रोह लेख्छु । सक्तिन म लेख्न खुसीमा । जब म छटपटिन्छु, जब म विद्रोहले अर्कैअर्कै मान्छे हुन्छु अनि कहाँबाट हो कोनि ममा अर्कै शक्ति आउँछ, साहस आउँछ । म अकर्ैै मान्छे हुन्छु । फुट्छ ज्वालामुखी र निस्कन्छ तातो लाभा । भित्रैबाट मूल फुटेझैँ फुट्छ-प्रवाहमा विचारतरङ्ग । हो यही प्रवाह भनेकै फेर्नु हो । नभत्काई साँधसिमाना, नफोरी पर्खाल, केही अर्कैअर्कै नगरी फेरिँदा रहेनछन् चीजहरू । पहिले आफैँभित्र, आफ्नै घरभित्र धावा बोल्नुपर्नेरहेछ ।

आजभोलि म एउटा मिथक पात्रलाई निकै सम्भिmन्छु-एकलव्य । तल्लो जातको गरिब परिवारको पात्र थियो त्यो । तल्लो जात हुनुको पीडा थियो । गरिब हुनुको मार खायो । औँला गुमायो उसले, तर अब एकलव्य बाठो भएको छ । ब्यूँझियो ऊ निद्राबाट । अब औँला गुमाएर ऊ अरूलाई नायक बनाउँदैन अब ऊ औँला गुमाएर असत्यलाई सत्य भन्दैन । गुमाए । धेरैले औँला गुमाए । घर गुमाए । परिवार गुमाए । शरीरका अङ्गहरू गुमाए । जीवन गुमाए । '२१ औँ शताब्दीको जनवाद'का लागि उनीहरूले धेरैधेरै चीज गुमाए । धेरैलाई 'नायक' बनाए । बेसमयमै, सिसिफसको कथाझैँ टुप्पामा पुग्नपुग्न लाग्दा टुङ्गिएको यस नयाँ महाभारतका एकलव्यहरू आजभोलि बडो व्यङ्ग्यका साथ हेरिरहेका छन् आकासमा उडेका मालचरीहरूका ताँतीलाई र लामो सास फेर्छन् । कस्तो व्यङ्ग्य ? मान्छेहरू खोजिरहेका छन्, हराएका सपनाहरू । छट्पटाइरहेका छन् कतै सपनाको हत्या नहोस् भनेर ।

यस्तै स्थितिले त पोल्ने हो । हरेक सूचनाभित्र हुन्छ 'पागल' मान्छे । हुँडलिएको मनलाई यी सूचनाले केही बेरसम्म भने पनि केही शान्त पार्छन्, केही उद्वेलित पार्छन्, केही पीडा दिन्छन,् केही आक्रोस दिन्छन् र मान्छे जुरुकजुरुक उठ्छ- हामीले तिमीलाई सपना दिएका थियौँ, हामीले तिमीलाई मुटुको टुक्राजस्तै छोरा दिएका थियौँ, छोरी दिएका थियौँ । रगत दिएका थियौँ अर्थात् जीवन दिएका थियौँ । खोइ हाम्रा मुटुका टुक्राहरू ? खोइ हाम्रा उज्याला सपनाहरू ? अनि त मान्छे विद्रोहले उम्लिन्छ ।

पत्रिकाका कटिङ जम्मा पार्नुको पनि भिन्नै अर्थ छ, आनन्द पनि छ र पीडा पनि । ती पढ्दापढ्दै मैले आफैँले आफैँलाई चिमोटेको पनि छु-तँ मरिस् कि क्या हो घोक्सिले माइला Û होइन, होइन । म मरेको छैन । छाम्छु छाती तातै छ, तातो मात्र होइन, रातो छ । भुतभुते मात्र होइन, आगो नै छ । म उठेर हेर्छु आकाशतिर रातो छ र क्षितिज पनि रातो छ । साँच्चै हो, पत्रिकाका कटिङ साथी हुन् । अलिकति भए पनि केही राहत दिन्छन् । एउटा दैनिक छापामा कतै छापिएझैँ लाग्छ, सुदूरपश्चिम बैतडी हो या दार्चुला वा अछामबाट कसैले पठाएको सूचना टुक्रा । कवितात्मक शैलीमा थियो त्यो । शीर्षक यस्तै थियो- 'बज्जीरे काका काठमाडाँै कहाँ छ ?' काठमाडौँप्रति भनौँ सिङ्गै हामीले भोग्दै गरेको समकालीनताप्रतिको व्यङ्ग्य थियो त्यो कविता-चिठी । राजनीतिदेखि लिएर सबै किसिमका फोहरमैला र विकृतिको डङ्गुरले भरिएको छ यतिबेर यो काठमाडौँ भन्ने ठाउँ । हामी अहिले यही फोहोरमैलाबाट मुक्त हुन खोजिरहेका त हौँ, तर खोइ, माथिबाट आएको पहिरोले झैँ र बाटो खन्दाखन्दै ढिस्कोले पुरिएर हराएझैँ, जति निस्कन खोज्छौँ, त्यति भास्सिँदै पो गएका छौँ हामी ।

सुदूरपश्चिम, सुदूर हुनुको सिङ्गो पीडा खपिरहेको छ । टिस्टा र काँगडाहरू ब्रहृमपुत्र र सतलजको छेउछाउको इतिहास छातीमा राखेर काठमाडौँलाई प्रश्न सोधिरहेछन्, कुन अपराधीले मेटायो हाम्रो इतिहास ? कर्णाली हुनुको पीडा कर्णाली भोगिरहेको छ । विकास र निर्माणका ठूलाठूला गँजेडीगफ चलेका छन् । नयाँ संरचना र सङ्घीयताका वाक्क लाग्दा बकवासहरू दिनदिनै सुनिन्छन् । सिंहदरवारका क्याबिनहरू र पाँचतारे होटलहरूमा सेती, महाकाली र कणर्ालीको चित्रे गफसँगै करोडौँको बजेट पनि चल्छ र हरेक वर्ष समाचारले भन्छ कणर्ालीको भोक, पीडा र मृत्युको समाचार भँगेरे टाउकामा । राता दिनहरूमा घुमेको छु म सेती महाकालीका भीरपहराहरू । घुमेको छु कणर्ालीका बिकट गाउँ र दलित बस्तीहरू । अरूको कुरा त त्यस्तै हो । ती गाउँका नाममा व्यापार गर्थे । ती गरिबीका नाममा व्यापार गर्थे । हिजो पनि गर्थे, आज पनि गर्छन् । ती त्यस्तै थिए । कठै Û कति चाँडै बिर्सियौँ हामीले रगतको त्यो इतिहास । सहरको रमझममा आँटो र रोटाको पीडा बिर्सियौँ । सिस्नु र खोले-सागको कुरा पनि बिर्सियौँ । बानेश्वरको सभाघरले रगतको कुरा गर्नेहरूलाई पनि गाउँको भूगोल बिर्सायो । शरीरमात्र होइन, दिमागमा पनि बोसो भरिएछ हजुर । यसो नभई यति चाँडै संस्मरण शक्ति कसरी पो गुम्दो होला र ?

कणर्ालीमा पानी होइन हजुर रगत बगेको छ । आवेगमा होइन यथार्थमै उद्घोष गथ्र्यौं/गर्छौं-'कणर्ालीका महिलाले आफ्नै कमान्डमा दुस्मनको बन्दुक खोसेर प्रतिरोध र साहसको अद्वितीय इतिहास प्रस्तुत गरे' । र हामीले धेरैपल्ट गीत पनि गायौँ-' हामी पनि लड्छौँ दाजु उठ्दैछ कणर्ाली प्रदेश...Û र हामीले यो पनि गायौँ छोरा मर्ने आमाहरू... हामी पूरा गर्ने छौँ...तिम्रा सपनाहरू' । सपनाहरू बाँकी छन् कमरेड, बाँकी छन् । अलि अघि एउटा समाचार पढेको थिएँ-छाक टार्ने केही नभएर, भोकभोकै दुई दिनपछि एउटी आमाले छोराछारीसहित नदीमा हाम फालेर आत्महत्या गरिन् । भर्खरै फेरि एउटा समाचार पढेँ-'बझाङको लेकगाउँ गाविस खोरी गाउँकी एक महिलाले गरिबीका कारण आफ्ना दुई सन्तानसहित खोलामा हाम फालेर आत्महत्या गरेकी छिन्' । दिमाग ठण्डा पार्न, अर्थात् 'रिल्याक्स' गर्न फूलबारीहरूको रमझममा एक रातमा लाखको अङ्क नाघेको समाचार पढ्छु र भोकले आत्महत्या गर्नेहरूको समाचार अगाडि राख्छु । खोइ केके पो हुन्छ यो छाती । घरभित्र नै यसरी बाँडिएका छन् हाम्रा सपनाहरू-वर्गवर्गमा । यो हाम्रै जमानाको कथा हो । यो पनि रातो इतिहाससित गाँसिएकाहरूको कथा हो । हजुर म कुनै दन्त्यकथाको कुरा गरिरहेको छैन । म कुनै बेताल पच्चिसी पनि सुनाइरहेको छैन ।

कति ठूलो व्यङ्ग्य । यो भन्दा ठूलो व्यङ्ग्य अरू के हुन सक्छ ! भन्छन् एउटा कुहेको आलुले बोराका सबै आलु कुहाइदिन्छ । आलु आलु नै हो । यो सानुमात्र कुहुँदो रहेनछ, ठूलो पनि कुहुँदो रहेछ । ठूलो आलु कुहेपछि झन् नराम्रो गरी गन्हाउँदो रहेछ । साँच्चै हो आकारमा फरक पर्ला, स्वादमा केही फरक पर्ला, विकासे हुन् या लोकल, पूर्वका हुन् या पश्चिमका आलु, आलु नै हुन् । दुस्मनको बन्दुकको गोलीले नहारेका हामी, माओले भनेझैँ सख्खरमा मिसाएको चक्कीको रमझमले हार्‍यौँ । कति छिटै र कति नराम्रो गरी हामी हार्‍यौँ । केही दिनअघिको एउटा समाचारको पीडा अहिले पनि छ- क्यान्टोन्मेन्टबाट भर्खरै छुटेको पूर्व लडाकूद्वारा आत्महत्या' । साँच्चिकै पीडाको समाचार थियो यो । दुस्मन हँसाउने समाचार थियो यो । उसका सपनाहरू पनि मरेर सडकमा छरपस्ट भए । त्यसका सपनाले पनि आत्महत्या गरे-बगे ती कोसी र कणर्ालीका भेलसँगै ।

आहा ! पहिलोपल्ट हातमा बन्दुक लिँदा कति सुन्दर सपना थिए ऊसित । भन्थ्यो-मरे सहिद, जिते संसार । पछिल्लो कटिङलाई पनि मैले यहाँ राखेको छु । बडो रोचक छ र पीडादायी पनि छ । बाहिरको पीडा, बाहिरको विकृतिका बारेमा त खुलेरै लेख्न सकिने रहेछ । गाह्रो त भित्रकै रहेछ । आफैँसित लड्नु रहेछ, आफ्नैसित लड्नु रहेछ । पद्धति, प्रक्रिया, जनवाद र केन्द्रीयता यी पनि शक्तिविम्ब रहेछन् । कहिलेकाहीँ त भ्रम पनि हुन्छ, म डार्विनवादभित्र छु कि माक्र्सवादभित्र । हामी उत्तरआधुनिकतावादी विभ्रमका विरुद्ध जोडदार लडाइँ लडिरहेका छौँ । खुला उत्तरआधुनिकतावादका विरुद्ध लड्न सहज रहेछ । माक्र्सवादलाई उत्तरआधुनिकताको जामा लगाएर नचाउन थालेपछि हाँडीगाउँको जात्रा पर्खिनु नपर्ने रहेछ । सारा लडाइँ नै यही यथार्थ र भ्रमका बीच रहेछ । दास मालिकहरूले लामो समयसम्म दासहरूलाई स्वर्ग र नरकको भ्रममा घुमाए । भाग्यको खेलको संसारभित्र सत्यलाई सामन्तहरूले लुकाए । पुँजीवादको रङ्गीचङ्गी दुनियाँको पर्दा चाँडै उघि्रयो । माक्र्सले घोषणा गरे-विद्रोह गर्नु न्यायसङ्गत छ । बूढा माओले जोडदाररूपमा घोषणा गरे- ठीक हो, एकदमै ठीक हो, विरोध गर्नु जायज छ र हामी भन्छौँ, म पनि भन्छु-भ्रमका विरुद्ध विद्रोह गर्नु न्यायसङ्गत छ ।

जहाँ लडाइँ हारियो, त्यहाँ सिद्धियो । माक्र्सवाद लडाइँबाटै विकसित भयो । माक्र्स, माओ सबैले लडे लडाइँ, भित्रै लडे, बाहिरै लडे । हामी पनि त्यही लडाइँ लडिरहेका छौँ । के के देखियो, के के लडियो, के के लेखियो, लेख्दै जौँला । भन्दै जौँला । रोचक छन्, रमाइला छन्, घतलाग्दा छन्, व्यङ्ग्यपरक छन् । मालेमाको आवरणभित्र लुकेको सत्य उद्घाटित गर्दै जौँला । जति पत्र उक्काउँदै गयो, त्यति नयाँनयाँ पत्र देखिँदै जान्छन् । भेटिँदै जान्छन् । तर प्याज छोडाएजस्तो वा बन्दाकोभी उधारेजस्तो होइन यो । यहाँ त कटहरको बियाँ भेटिन्छ-असाध्यै पोटिलो र पोषिलो । खोलौँ यो पोको ? पीडा-आक्रोस सबै चिज छन्, तर नडराउनोस् यो 'पेन्डोरामा बक्स' होइन । तपाईंहरूलाई थाहा छ, मलाई त झन् थाहा छ, म पनि एउटा महान् इतिहास निर्माणको महान् यात्रामा लामबद्ध थिएँ-मरे सहिद, बाँचे संसार ।

त्यो दिन गजबको पीडा भयो मलाई । पीडा त थुप्रै पटक दिएका छन् तिनले । यही घरमा बसेर ल्याउनु घातक होला । के घातक होला र खै । नहुनुपर्ने सबै भइसकेका छन् । अब तिनीहरूसित हामीलाई दिने खुसी पनि छैन र पीडा पनि बाँकी छैन । भित्रैदेखि भन्छु, अब मैले तिनीहरूसित लिनुपर्ने कुरा पनि केही छैन । समय आउला तिनका रकमी चाललाई बाहिर ल्याउने । सुरक्षित छ मसित डायरी । मेरो २२ औँ पुस्तक जनयुद्धसित गाँसिएको पुस्तक थियो त्यो । तिनले यसका विरुद्ध धावा बोले-नरमगरम दुवै एउटै पङ्क्तिमा उभिए । खरिपाटी, पालुङ्टार जेजे भने पनि राजनीति विचारमात्र कहाँ हो र'छ र यो त जोड र कोँण पनि रहेछ-त्यसैले त सत्ता र संस्कृति पचेन तिनलाई ! तिनले किन त्यसो गरे बुझिनसक्नु छ ।

होइन होइन, यो सहजै बुझिन्छ । मैले आफ्नो टाउकामा आफैँले आगो लगाउने कुरा गरेको थिएँ र भनेको थिएँ, यो आगो टाउकाहरूबाटै सुरु गर्नुपर्छ । मैले क्रान्तिभित्र क्रान्तिका कुरा उठाएको थिएँ र भनेको थिएँ-यसको सुरुवात माथिबाटै गर्नुपर्छ । पचेन तिनलाई । प्राविधिक नेतृत्व त चल्ला, चलेकै छ । तर खोइ कसरी पलाउला हजुर भित्रैदेखि श्रद्धा र हार्दिकता ? मलाई लाग्छ, मैले त केही पनि गुमाइन, तिनीहरूले धेरेधेरै गुमाएका छन् । सबैभन्दा बढी तिनले सपना गुमाएका छन् । अब सपना छैनन् तिनीहरूसित, लेनिनले भन्ने गरेको सपना । म सपनाको मृत्युविरुद्ध लडिरहेको छु । म सपना मृत्युको घोषणा गर्नेहरूविरुद्ध लडिरहेछु । लडिरहन्छु ।

यता 'शान्तिप्रक्रिया'मा आएपछि जे जे देखेँ, मेरीबास्सै देख्नेनदेख्ने सबै देखेँ-नाङ्गै, त्यसलाई पनि लेखेँ । पचेन कमरेडहरूलाई यो । म हनुमानचालिसा लेख्न सक्तिन । कालोलाई कालो भन्छु र रात्ाोलाई रातै । मैले सपनाहरूलाई टुकुचामा ˆयालेको छैन र सिंहदरवारको कुनै गोप्य फाइलको कुनै दराजको कुनै कुनामा पनि थन्क्याएको छैन । न त पेरिस डाँडाकै 'हावामहल' मा उडाएको छु । मलाई थाहा छ सपना छउन्जेल, आगो रहुन्जेल तातो मर्दैन । निभेको छैन मभित्रको आगो । विद्रोह बोल्छ यो आगो । चिमोट्ता अझै मलाई दुख्छ । मभित्रको मान्छे मरेको छैन । एउटा लडाइँ हार्दैमा सम्पूर्ण लडाइँ हारेको म मान्दिन । एउटा मोर्चा सिद्धिदैमा सबै मोर्चा सिद्धिएको भन्न मिल्दैन । सपना, रगतसित जोडिएको सपना, यसका लागि लड्न बाँकी नै छ-अन्तिम लडाइँ । यो लडाइँमा उहाँ हजुरहरू कुन ठाउँमा उभिनु हुन्छ, यो भने हेर्न बाँकी नै छ ।

मलाई विश्वास छ, भौतिकरूपबाट कसैको हत्या भए पनि उसको विचारको हत्या हुन सक्तैन । अरूको उदाहरण लिनै पर्दैन, कमरेड ऋषि देवकोटालाई सम्भिmए पुग्छ । हिजो आगो बालेकै हो । पूर्णविरामको कविताले भनेझैँ आगो बाल्नेले आगो बालेकै हो । अब खरानीको थुप्रो देखेर त्यहाँ आगो बलेको-बालेको रहेछ त भन्न सकिन्छ, तर त्यसलाई आगो नै भनेर भन्न सकिँदैन । खरानी आगो होइन, त्यो खरानी नै हो । चिसिएको खरानीमा हात घुसारेर तातोको बहाना गर्नु दुनियाँलाई ठग्नु मात्र हो, आफैँलाई ठग्नु मात्र हो । मलाई यो ठग कलादेखि घृणा छ ।

अग्लाअग्ला विम्बहरू पिउरीका 'पहाड'मा फेरिएकै हुन् तर चुलिँदैछन् लालभञ्ज्याङहरू । खरिपाटी भेलाका सन्दर्भमा एउटा कुटिप्पणीप्रति मैले प्रतिटिप्पणी गरेँ । एक जना भालुभुत्तेले मलाई सडकमा उभ्याएर गोली ठोक्ने हुँकार गर्‍यो । सत्ताको जुठोपुरो र रक्तचन्दन र यार्चागुम्बाको रमाइलोमा रमाउनेहरूको सेराफेरोमा रहनेहरूबाट आउने कुरा यिनै हुन् । रगतको इतिहाससित जोडिएका तिनका सपनाहरू अब मरिसकेका

छन् र सत्यको उद्घाटन गर्दा तिनलाई भित्रैसम्म पोल्छ, सिखण्डीहरू ! यी त दासमालिक प्लेटोभन्दा पनि निकृष्ट देखिए, कमसेकम प्लेटोले त सत्यको उद्घाटन गर्ने लेखकहरूलाई फूलमाला र भेडाको उनको लुगा लगाएर देश निकाला गर्ने फर्मान जारी गरेका थिए । यिनले त सडकमा उभ्याएर गोली ठोक्ने हुकुम जारी गरे । क्याबात कमरेड, अब यही बाँकी छ तर खुलेर भन्छु, छाती ठोकेर भन्छु, मर्ने छैनन् मेरा सपनाहरू गोलीले । ती महान् सहिदका रगतसित जोडिएका छन् ।

लालभञ्ज्याङका बारेमा मलाई अर्तिउपदेश दिएर निकै दर्शन-सुदर्शन छाँट्नेहरूबारे पत्रपत्रिकामा आएका समाचारहरू पनि म यतिबेर बडो धैर्यताका साथ पढिरहेको छु ।

जनआस्थामा छापिएको पछिल्लो समाचारले त मलाई असाध्यै स्तब्ध तुल्यायो । खोइ, यसलाई समाचार भनौँ कि सूचना । शीर्षकमा धेरैबेरसम्म आँखा केन्दि्रत भइरहे-'जनसेनाको गाँस काटेर आˆनै जय' । सम्झना ओली, दहवनका नाममा आएको यस सूचना-चिठीले मलाई मात्र होइन, छातीमा आगो बोकेर बाँचेकाहरू, सपना पूरा गर्न अझै रगत बगाउन तमतयार भएकाहरू सबैलाई स्तब्ध पार्दछ । लामो सास फेर्न बाध्य पार्दछ । कता पुग्यो होला त्यत्रो पैसा ! उत्तरआधुनिकतावादी-उपभोक्तावादी रमझममा रमाइरहेकाहरूका लागि यो सामान्य हुन सक्छ तर छातीमा तातो हुनेहरूलाई यसले छट्पटीको स्थितिमा पुर्‍याउँछ । खुल्दै जानेछन्, खुल्दै जालान् विस्तारै अरू सत्यतथ्य पनि । थाहा छ सबैलाई लेनिन र स्टालिनका सपनाभन्दा ट्रटस्की र ख्रुश्चेवका सपना फरक थिए । सो कटिङ राखेको छु मैले । धेरै दिनसम्म राख्ने कटिङमा पर्छ यो । ओहो ! कसरी लड्यौँ हामीले त्यत्रो युद्ध । परेवाहरूको बथानमा कसरी थाहै नपाई पसेछन् मलसाँप्राहरू ! लोककथामा मात्र पढेको थिएँ मैले, रङ पोतिएको स्यालको कथा ।

साथीहरू हो ! अब बेला आएको छ । खबरदारी गर्नुपर्छ । छातीमा आगो हुनेहरू एकजुट होऔँ, सपना हुनेहरू एकजुट होऔँ । सपनाको हत्याविरुद्ध एकजुट होऔँ । गम्छु गोविन्द बटालाहरू जेलबाट छुट्ने दिन कहिले आउला ? शक्तिखोरको रमझममा झन्डा सुम्पदै रमाउनेहरूका लागि बटाला बसेको जेल निकै टाढा लागे छ । 'राजाको राँगो' फुकेको बेला छ । चोरलाई चौतारो छ र साधुहरू सुलीमा चढ्नु परेको स्थिति छ । साँढेहरू मदमत्त भएर विचरण गरिरहेका छन् । यस्तो बेलामा बटालाहरू जेलमै हुने छन्, लालभन्ज्याङहरू आगोमा डढिरहनेछन् र हनुमानचालिसाहरूका खातका खात लाग्नेछन् । अपराधीहरू नयाँ डाँडाहरूको सुरम्य दृश्यमा रमाइरहने छन् र बरालहरूले सडकमा उभ्याएर गोली हान्ने धम्की पाइरहने छन् । गजबको व्यङ्ग्य भोगिरहेका छौँ हामी ।

बटाला कमरेड ! सपना नमार्नु होला । कमरेड ! लडाइँ सकिएको छैन लड्दै जानुपर्छ । लड्ने आ-आफ्ना तरिका हुन्छन् तर जितिन्छ । जित सत्यकै हुन्छ । सपना हुने कमरेडहरू, छातीमा आगो र तातो हुने कमरेडहरू, आउनोस्, फेरि एकपल्ट समवेत स्वरमा गीत गाऔँ, 'छोरा मर्ने आमाहरू... हामी पूरा गर्ने छौँ तिम्रा सपनाहरू.. । '

ठूला कमरेडहरू हेलि (यो हामीले युद्धकालमा प्रयोग गर्ने शब्द हो) चढेर जनयुद्ध दिवस मनाउन थवाङ पुगेकै दिन समाचार सुनेँ, समाचार पढेँ -कृष्णसेन इच्छुक बि्रगेडअन्तर्गत सैनामैना क्याम्पको सहायक कमान्डरद्वारा आत्महत्या ।

कस्तो व्यङ्ग्यात्मक स्थिति !

सूचना टुक्रा सत्य बोलिरहून् र हामी दृढताका साथ भन्छौँ, मर्ने छैनन् सपनाहरू, रगतसित गाँसिएका सपनाहरू । साथीहरू हो, सपनाको हत्याविरुद्ध उठौँ, सपना मार्नेहरूविरुद्ध जुटौँ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 जेठ, 2068

लेखकका अन्य रचनाहरु