देशको कारुणिक चित्र भएका कविताहरू

- होमशंकर बास्तोला

ओ उँभोखोले भरिया दाइ
कहिलेसम्म सहन्छौ
ढाकरका निर्मय थिचाइहरु ?
(उँभोखोले भरिया दाइ –पृ.५२)

हो, सुरेश हाचेकाली खोटाङ जिल्लाको दुृर्गम गाउँ कुभिण्डेमा जन्मिएर पहाडमा भोग्नु परेका निर्मम गरिबीका पीडा र त्यहाँको अवस्थालाई नजिकबाट नियालेका कवि हुन् । खोटाङ नेपालको एउटा दुर्गम पहाडी जिल्ला हो । पहाडका अधिकांश जिल्ला सदरमुकाम सडकले छोएको भए पनि खोटाङ आफैभित्र सडक निर्माणमा रुमलिरहेको छ । खोटाङ अझै गाडी गुडाउन हेलिकप्टरबाट गाडी र इन्धन लानुपर्छ । नत्र उही निर्मम ढाकरहरु हुन् । यो विवशता हो वर्तमान दुर्गम गाउँको । रावाखोला खोटाङ जिल्लाको ठूलै खोला हो । राखाखोलाको माथिल्लो बेल्टमा बस्ने बासिन्दालाई उँभिखोले भन्ने चलन छ । रावाखोला र अन्य खोला छेउ र आसपासमा बस्ने नागरिकहरु रावाखोलाको किनारैकिनार ढाकरमा सातु, सामल बोकेर नून, तेल लिन कटारी वा तराईतिर झर्छन् । यहाका मात्र होइन खोटाङ र पहाडका अधिकांश जनताहरु अझै पनि निर्मम ढाकरको किचाइबाट उठ्न सकेका छैनन् । एकपेट भर्न र एकसरो लाउन कटारी, घुर्मी, गाईघाट, बेल्टार ढाकर बोकेर सोझिनु पर्छ र नून, तेल भारी बोकेर आफ्नो र परिवारको गुजारा चलाउनु पर्छ । यी नै ग्रामीण पीडा र दुर्दशा उतारेर ‘सीमान्त आमाहरु’ कविता कृति उदाएको देखिन्छ ।

कवि सुरेश हाचेकाली कवि मात्र नभएर गीतकार पनि हुन् । त्यसो मात्र भनेर पनि एउटा लेखकलाई साँघुरो घेरामा राख्नु उपयुक्त देखिदैन । त्यसर्थ उनी नेपाली युवा समालोचकका सशक्त हस्ताक्षर हुन् भन्दा फरक पर्दैन । त्यसमाथि चक्रव्यूह सञ्चेतनाका एक अगुवा पनि हुन् ।

कवि सुरेशद्वारा सृजना गरिएको कविता सङ्ग्रह विभिन्न भावभूमिमा प्रस्फुरित गरिएका कविताहरुको सङ्ग्रह हो । पहाडको दुर्गममा र तराईको पछौटेपन मान्छे–मान्छेबीचमा रहेका एउटै किसिमका गरिबीपन र भौगोलिक विकटताहरु हुन् । गाउँघरमा मेलापात र अर्मपर्ममा मल बोकेर गाउँबाट बेसीतिर झर्नुपर्ने र बेँसीबाट धान–पराल बोकेर उक्लुन पर्ने बा–आमा, दाजुभाइ, आइमाईहरुका दिनचर्याहरु पीडापूर्वक गीतमय घन्किन्छन् । साँच्चिकै पीडा पनि गीत हो । गाउँका अधिकांश मान्छेहरु पीडालाई गीत बनाउँछन् र ओकल्छन् ।

त्यो नै उनीहरुको मन शान्त पार्ने बाटो हो । तर सानासाना नानीहरुलाई त्यसको के को चिन्ता छ र ? उनीहरु लहराको चश्मा लगाएर डाक्टर भएको अनुभूति गर्छन् । वास्तविक डाक्टर त त्यो दुर्गममा नबस्ने र भएका अस्पतालहरुमा दरबन्दी मात्र हो । यस्तो सरकारी कमजोरीका कारण सामान्य विरामीहरु समेत यमराजको मुखमा परिरहनु परेको छ । यो दुर्दशा हो तराईको निर्जन बस्ती वा पहाडका दुर्गम गाउँको ।
निम्ठो डोको मल बोकेर
बेँसी ओलेदै गरेका आइमाईहरु
ओरालो झर्दा पनि गीतमय छन्
उक्कालो चढ्दा पनि गीतमय छन्
(जीवनैजीवको दिग्विजय, पृ.१)

सुरेशका कवितामा बिम्ब विविधता, गीतिमयता, विषयगत विविधता स्पष्टै छन् भने कविताहरु पनि बेजोड शैलीका छन् । कविता लेखन वास्तवमै कठिन विधा हो । हुन त भन्ने र सोच्नेहरुले भाषणलाई पनि कविता भन्छन् । तर कविता हुनको लागि भाव, शैली बिम्ब, प्रतीक यावत कुराहरु हुनैपर्छ । त्यसमाथि ती नै शब्दहरुलाई कलात्मक प्रस्तुतिले पाठक र श्रोताको मन जित्न सक्ने हुनुपर्दछ । अरुले जेसुकै भनुन् सुरेश हाचेकाली ‘सीमान्त आमाहरु’ कविता कृति मार्फत् पाठकको मन जित्ने कवि हुन् । हुन त एउटा पाठकलाई मन परेको कविता अर्को पाठकलाई मन नपर्न पनि सक्छ । तर उनमा कविता लेख्ने जुन तागत छ त्यो मलाई मन परेको छ । त्यसमाथि कविले हाम्रोजस्तो प्रकृतिपूर्ण राष्ट्रमा वर्षौवर्षदेखि रक्तपिपासु, स्वदपिपासु जस्ता खलनायकहरुलाई शिरोपर गरिरहेकाले हाम्रो देश अग्रगतिमा बढ्न नसकेको हो । एकातिर विगतको द्वन्द्वले रगतको तलाउ अझै सुक्न सकेको छ्रैन भने नीला पसिनाको गहिरा पोखरीहरु गहिरीने क्रम जारी छन्, सुक्ने र समृद्धिको बाटोमा छैनन् । यो यथार्थ पनि कविले कवितामा बोलेका छन् । राजनैतिक परिवर्तन होस् वा समयको परिवर्तन, देश आर्थिक क्रान्तिको बाटोमा डोरिन नसकेको कारण रोजगारीहरु सृजना हुन सकेका छैनन् । आफ्नो पसिना अर्काको देशमा पोखेर नीला दह बनाउनु परेको छ । त्यसमा अरुले नै पौडी खेल्छन् वास्तविक श्रमिक ठगिनु परिरहेको छ । त्यसर्थ कविको चिन्तासँग देशले अग्रगामी छलाङ् मारेस् र तमाम नेपाली शान्ति र समृद्धिमा रमाउन् भन्ने कविको आसय हो ।

सुरेशका कविताले राष्ट्रियता मात्र सुसेलेका छैनन् । गाउँ शहरका जाति–जातिबीचको मित्रता, माटोको हृदयन्मुख तरङ्ग, मानवीय पीडा, मानवीय स्वतन्त्रता, ग्रामीण सञ्चेतना आदि कविता मार्फत् उद्देलित भएका छन् । वर्तमान परिवर्तनमा हरेक क्षेत्रबाटपछि परेका सीमान्तकृत जनताहरुका पीडा र अनुभूतिहरुलाई कविले कवित्वद्वारा तस्वीरहरु उतारेका छन् । त्यसैगरी सुविधा र साधन श्रोतबाट टाढा रहेका आमाहरुको वास्तविक पीडा र आमा भएर गर्नुपर्ने सुखद् वा दुःखद् खुसी÷पीडाहरुलाई कविले उजागर गरेका छन् । हामीलाई यो धर्तीमा जन्मदिने आमा हुन् र धर्ती तथा राष्ट्रको माया गर्नेहरुले राष्ट्र र आमालाई उत्तिनै माया र्गछन् । त्यसर्थ अन्य कुरालाई थाती राखेर सुरेश हाचेकालीका ‘सीमान्त आमाहरु’ भित्रका कविताहरु देशको कारुणिक चित्र हो भन्दा फरक नपर्ला ।

दुबेकोल–७, खोटाङ

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 19 जेठ, 2068

लेखकका अन्य रचनाहरु