अन्तर्वार्ता/बहिर्वार्ता

- रामशरण पुडासैनी

अन्तर्वार्ता मेरो जीजीविषासँग गाँसिएको छ । हरेक दिन अन्तर्वार्ता लिने गरेको छु या मैले अन्तर्वार्ता लिनु परेको छ । पेशा पत्रकारिता हुनाको अर्थ अन्तर्वार्ताबिना समाचार, कार्यक्रम अपुरो हुन जान्छ । म त्यही समाचार वा कार्यक्रम–सीप बेचेर पेटपालो गर्छु । एउटा कलमजीवी भएकाले पाइलापाइलामा खुराक सङ्कलन गर्नका लागि मैले वार्ता गर्नैपर्छ, गरिरहेको छ, यो मेरो दैनिकी हो÷ दैनन्दिन हो । यसो हुँदा मैले कति जनासँग कतिपटकसम्म अन्तर्वार्ता गरेँ हेक्का छैन ।

यो पनि सम्झना छैन कहिलेबाट मैले अन्तर्वार्ता लिन सुरु गरेँ । सबभन्दा पहिला कसलाई प्रश्न गरेँ हुला ? वा सोध्न नहुने सात महापापीय प्रश्न कसकसलाई थोपरेँ हुँला । कति प्रश्नहरु प्रश्नजस्ता भए होलान्, कति प्रश्नजस्ता भएन होलान् । मैले आफनो जागिरे अन्तर्वार्ताकारको रुपमा प्रश्नविहीन प्रश्न कति सोधेँ हुला । मेरो प्रश्नबाट कति मानिस उत्तरविहीन भए होलान, कति उत्तर नै उत्तरविहीन पनि रह्यो होला । कतिले उत्तर दिन सकेनन्, कति उत्तर दिएर थाकेनन् । म सोचिरहेछु अहिले, यतिबेला मलाई हिसाब राख्नुछ– एउटा अन्तर्वार्ताकारले कतिसम्म गर्नसक्छ ।

सम्झनाबिहीन सम्झनाहरुले मलाई निकै घोत्लाउँछ बेलाबखत । यही कुरा गरौँ, मलाई मैले कति जनासँग अन्तर्वार्ता गरेँ भन्ने नै हेक्का छैन । तर समय यस्तो भइदिएको छ कि मैले यो सबै हिसाबकिताब गर्नैपर्नेछ । ती सबै बिषय र सन्दर्भ मैले सङ्कलन गर्नै पर्नेछ । चाहे त्यो मस्तिष्कमा मात्र किन सीमित नहोस् ।

वार्ताको अनेकन रुप, स्वरुप छन् । अन्तर्वार्ता वहिर्वार्ता पनि हुनसक्छ । पत्रकारितामा गरिने वार्ता प्रायः किन अन्तर्वार्ता नै हुने गर्छ । म जान्दिनँ । म यही किन जान्दिनँ भन्ने पनि जान्दिनँ । यो नजान्नुमा मलाई चरम आनन्द लाग्छ । अज्ञानतामा हुने आनन्दानुभूतले द्रव्रिभूत हुन्छु म अचेल । जान्ने मान्छेले वा जानेजस्तो अभिनय गर्नेले यो अनुभूत सायदै गर्नसक्छ ।

एक दशक समाचारलेखनलाई पेशाको रुपमा अपनाएछु अहिलेसम्म । वार्तैवार्ता भयो यसवीच । तर जानेर अन्तर्वार्ता लिएको अलि पछिपछि हो । हरेक समाचारको लागि फिल्ड जानुपर्छ । थुप्रै सरोकारवाला पक्डनुपर्छ । संवादहीन अवस्थालाई छिचोल्नुपर्छ । कि आफूअनुकुल सरोकारवालाहरुलाई खुलाउनुपर्छ, कि उहीअनुकुल भइदिनुपर्छ । अन्तर्वस्तु ठम्याउनुपर्छ । समाचार खोजी गर्दा कहिलेकाहीँ थुप््र सरोकारवालाहरुले आआफुले देखेको सत्य कुरा ओकल्छन् । सत्य संयोजन पनि गाह्रो काम हो । यसलाई तथ्य भनौँ क्यार ! । भन्नेहरुले संसारमा केही सत्य छैन भन्छन् । तथ्यसंगत विश्लेषणको आधारमा निचोडमा पुगेर समाचार लेख्नु कम्ता गाह्रो विषय होइन ।

प्रत्यक्ष ÷अप्रत्यक्ष रुपमा समाचार नामको कुनै बस्तु खोजी गर्दा गरिने कुराकानी अन्तर्वार्ता मानिए पनि समाचार–अन्तर्वार्ता हुनपुग्छ । त्यसलाई धेरैले अन्तर्वार्ता भन्दैनन् । अन्तर्वार्ता हुनको लागि कागजकलम निकालेर छुटटै दुईतिर कुर्सीमा बस्नुपर्छ । रेकर्डर तेस्र्याउनुपर्छ । डायरी पल्टाउनुपर्छ । फोटो खिच्नुपर्छ अनि भटाभट् प्रश्नहरु तेस्र्याउनुपर्छ । त्यो अलि निकै समय तन्काउनु पर्छ । हामीले यस्तै देखेका छौ । यस्तो उपक्रमलाई फलानोले फलानोसँग अन्तर्वार्ता लियो भन्ने गर्छौ । के यस्ता हरेक वार्ता अन्तर्वार्ता हुन सक्छ ?

थुप्रै पत्रकारहरुले अन्तर्वार्ता लिने गर्छन । सञ्चारकर्मीको पनि काम हो अन्तर्वार्ता गर्नु । जागिर खान हातमा प्रमाणपत्र बोकेर हल्लिने हरेकले सामना गर्नुपर्छ अन्तर्वार्ता । तर सबै वार्ता÷कुराकानी अन्तर्वार्ता हुँदैन, भन्न मिल्दैन । भित्री तहसम्म नपुगी सतही ढङ्गबाट गरेका कुराकानी कसरी अन्तर्वार्ता हुन्छ । औपचारिकता पूरा गर्न गरिएको झाराटाराइ पाराको कुराकानी कसरी अन्तर्वार्ता बन्छ । अर्काको लागि लिइदिइएको संवाद–शब्द अन्तर्वार्ता हुन सक्छ र ?

अन्तर्वार्ता मनले लिइन्छ कि मस्तिष्कले । विवेकले लिइन्छ कि हृदयले । भावनाले लिइन्छ कि कामना वा चाहनाले । के सजिलै टेपरेकर्डर तेस्र्याउँदैमा कुनै प्रस्तोता अन्तर्वार्ताकार बन्न सक्छ ? प्रश्न सजिलो छ तर उत्तर निकै कष्टप्रद । अन्तर्वार्ताविहीन अन्तर्वार्ता लिइरहेका हुन सक्छौँ नि हामी ।

मलाई अन्तर्वार्ता लिने काम झन्झटिलो लाग्छ । उद्देश्यविहीन अन्तर्वार्ता झन् जटिल । सामान्य, खोजमूलक, अनुसन्धानमूलक को, के, किन, कहिले, कसरी, कहाँ भनेर प्रश्न सोध्ने कि अथवा वैचारिक चकाचर्की, कि दार्शनिक अन्तर्वार्ता, बहसमूलक अन्तर्वार्ता गर्ने बिषयको गहिराइमा पुग्ने सङ्घर्षात्मक व्यथावार्ता लिने । यो पनि उद्देश्य पहिचान भएपछि मात्र निदान हुनसक्छ । के प्रश्न सोध्नुमात्र अन्तर्वार्ता हुन सक्छ ? म पत्रकार भएँ भन्दैमा ‘तपाईँले यसो किन गर्नुभाको ?’ भन्न पाउँछु ? । ‘तपाईँले यसो किन गर्नुभएन ?’ भन्ने म को हुँ र ?

हामीले अनेकखाले अन्तर्वार्ता देखेका छौ । थुप्रैखाले अन्तर्वार्ता लिएका छौँ, दिएका छौँ । अनेकन अन्तर्वार्ता ठाउँठाउँमा झेलेका पनि छौँ । आफूले अन्तर्वार्ता दिएपनि, लिएपनि हिजोआज मलाई सन्तुष्टि प्राप्त हुन छाडेको छ । अन्तर्वार्ता लिनेक्रममा सारा प्रश्नहरु सकिन्छन् तैपनि अन्तर्वार्ता पुग्दैन । उत्तरहरु पुग्दैनन् । सारा प्रश्नहरु सकिन्छन् तैपनि अन्तर्वार्ता बन्दैन । आफ्ना प्रश्नहर सकिन्छन्, उसका उत्तरहरु समाप्त हुन्छन् तर प्रापकको प्रश्न सुरु हुन्छ । यतिबेला न प्रस्तोता उत्तरु दिनसक्छ न स्रोतव्यक्ति । स्रोतविहीन स्रोतव्यक्ति अथवा प्रश्नविहीन प्रस्तोता हाम्रा तीता सत्यहरु हुन् । आफँैलाई थाहा हुन्छ, अन्तर्वार्ता लिइरहँदा कि उत्तरकर्ताले सारा ढाँटीरहेछ । के गर्नुहुन्छ तपाईँ अन्तवार्ताकारको रुपमा, अब त्यो अन्तर्वार्ता रेडियोमा बजाउने कि नबजाउने ? तर्कसंगत ढङ्गबाट ऊ तर्कसंगत जवाफ दिइरहेछ । तथ्यपरक छैन । हामीलाई उत्तर चाहिएको हो कि तथ्यपरक उत्तर ।

म रेडियोमा काम गर्छु । पत्रिकामा पनि काम गर्छु । मलाई अन्तर्वार्तामा दिलचस्पी छैन । मलाई अन्तर्वार्तामा सन्तुष्टि पनि छैन । तैपनि मेरो काम अन्तर्वार्ता लिनु हो । हरेक दिन मैले गोटा चारेक समाचारअन्तर्वार्ता लिनैपर्छ र सकेसम्म राम्रा अन्तर्वार्ता लिन सकियोस् भन्नेमा हेक्का राख्छु । मलाई अन्तर्वार्ता लिन लाग्दा बिषयबस्तु आउनुपर्छ भन्ने लाग्छ । प्रश्नोत्तरपछि श्रोता÷पाठकका जिज्ञासाहरु समाप्त पार्नुपर्छ भन्ने लाग्छ । कैयन अन्तर्वार्ताहरुले झन् बढी जिज्ञासा उब्जाएका छन् । प्रश्नैप्रश्नको शृङ्खला थपेकोथप्यै छन् । के म सफल अन्तर्वार्ताकार हुन सकेँ । संवाद गर्दैमा, प्रश्न राखिदिँदैमा वा उत्तरकर्तालाई जबरजस्ती उत्तर ओकल्न लगाउँदैमा के ऊ असल अन्तर्वार्ताकार बन्न सक्छ ?

म आजकल एउटा रेडियोमा अन्तर्वार्ता गर्छु । समाचारमूलक कार्यक्रम उत्पादन मेरो दायित्वमा पर्छ । स्थानीय समसामयिक बिषय र सवाल मेरो सरोकार । म दैनिक अन्तर्वार्ता खातिर माइक अघि तेर्सो पर्छु । एकदेखि चार वटासम्म, एकदेखि चार जनासम्म मेरो निसानामा पर्छन्, कहिलेकाहीँ दोहोरिने गर्छन् ती विषयप्रशङ्गले । म आफुलाई त्यतिबेला निकै शक्तिशाली अनुभव गर्छु । जतिबेला प्रश्न नामको बारुदगोलाले कुनै घनघोर बस्तीमाथि आक्रमण गर्दै हुन्छु ।

अन्तर्वार्ता मेरो बाध्यता हो । मैले लिनैपर्छ । नभए सहकर्मी परिचालन गर्नैपर्छ । स्थानीय सवाल बुझनुपर्छ । बुझेर सहकर्मीहरुलाई प्रश्नखात पनि उपलब्ध गराइदिनुपर्छ बेलबेला। अथवा बिषय बुझाएर उत्तर खोसाउनु पर्छ । त्यसअर्थमा अन्तर्वार्ता एउटा खोसुवा व्यापार हो । अन्तर्वार्ता सीप तालिम लिँदा प्रशिक्षकले गराएको एउटा अभ्यासको सम्झना छ मलाई । प्रशिक्षकले हातमा एक मोहर लिए, च्याप्प हात बन्द गरे । सहभागीतर्फ देखाएर उनले हरेकले जसरी पनि ‘त्यो हात पार्न’ सुझाए । हामीले लडिबुडी गरेर खोसाखोस ग¥यौँ । हामी सफल भएको आत्मगौरवले बलेर बस्यौँ । उनले भने– ‘राम्ररी मागेको भए म उसै दिन्थँे, किन खोस्नुप¥यो । हामी तीनछक प¥याँै । वास्तवमा हाम्रो सोच्ने तरिका अलि जबरजस्ती पाराको छ । हामी प्रश्नकर्तालाई उत्तर चाहिएको हो– पाठक, श्रोता वा दर्शकका निम्ति । तर हामी जोरजबरजस्तीमा विश्वास हैन अतिविश्वस गर्ने भयौँ । अनि उत्तरदाता पनि हायलकायल नपारी साँचो बक्दैनबक्ने हुन थाल्यो । नकारमत्मक पाटोपट्टि धकेलिएझँै लाग्छ मलाई हाम्रो अन्तर्वार्ता ।

हिजोआज सञ्चारमाध्यममा छ्यापछ्याप्ती आउँछ अन्तर्वार्ता, समाचार–अन्तर्वार्ता मात्रै होइन, असमाचार अन्तवार्ता पनि । गैरसमाचारीय अन्तवार्ता पनि । हरेकको कार्यक्रममा कहीँनकहीँ कतैनकतै अन्तर्वार्ताको पाटो हुन्छ नै । तर धेरैजसो अन्तर्वार्ता जटिल प्रकृतिका लाग्छन् । प्रश्नकर्ता प्रश्न सोधूँलासोधूँलाझै गर्छ, मुल कुरै सोध्न विर्सन्छ । प्रश्न गरुलागरुलाझै गर्छ उत्तर आफैँ दिन थाल्छ । सजिलै उत्तर आउने ठाउँमा पनि प्रश्नकर्ता मुक्का बजारौँलाझँै गर्छ । प्रश्न सोध्ने व्यक्ति आवेशमा आउँछ । कहीँकतै घाँटी न्याकौँलाझै गरी ‘हो भने हो भन्’ ‘होइन भने होइन’ भन भनेर चेप्न खोज्छन् । मलाई त्याहाँ अन्तर्वार्ता उद्देश्यविहिन÷अर्थविहीन लाग्छ । सबै अन्तर्वार्तामा च्याप्नुपर्ने हँुदैन । एकाध अन्तर्वार्ता बिषय, सन्र्दभ, अवस्था आदिका कारण त्यस्तो हुनसक्छ ।

अन्तर्वार्तामा कम बोल्ने मानिसलाइ धेरै बोल्न उत्प्रेरित गर्नुपर्छ । धेरै बोल्नेलाई कम बोल्ने वातावरण मिलाउनुपर्छ । बोल्दाबोल्दै प्रश्नले मानिसलाई बाटो देखाउन सक्नुपर्छ । तर हिजोआज बढदो मिडिया चापसँगै जो पनि माइकमा पुगेर ‘लौ भन’ भन्न थालेका छन् । अन्तर्वार्ता गर्ने अधिकार त्यसलाई हुन्छ, जसले बिषय बुझेका छन्, र व्यक्तिलाई पनि बुझेको छ । आफैँले नबुझेको बिषयमा चर्को स्वरले ‘खुरुक्क भन’ भन्नु उपयुक्त हुँदैन । अन्तर्वार्ता लिनु, के, कहाँ, किन, कसरी, कुन, कहिले, भनेर एकोहोरो बर्बराउनु होइन । आफैँले नबुझेको कुरा सञ्चारकर्मीले कसरी अरु मानिसलाई सञ्चार गराउन सक्ला ।

अन्तर्वार्ताकारले हिजोआज शैली बसाउन पनि थालेका छन् । बिनम्रतापूर्वक गरिएका अन्तर्वार्ताले पनि मानिसले जानकारी गराउन सक्छ । यसैमा बिशिष्टता हासिल गरेका मानिसहरु पनि छन् । सँगै रेडियोमा काम गर्ने सहकर्मी पवनराज पौडेलको अन्तर्वार्ताशैलीबाट प्रभावित छु । उनले आफूलाई अपडेट गराउँछन्÷अध्ययन गर्छन् । र, जोसँग अन्तर्वार्ता गरिरहेछन्, आफैँसँग हिँडाउछन् र ऊ सँगै हिँडिदिन्छ । बिनाजोरजबरजस्ती मज्जासँग बिषयबस्तु खुलाउँछन् । त्यसैले त्यो वार्ता सुनौँसुनौ हुनेगर्छ ।
म रेडियो सुन्ने गर्छु, च्यानलहरु हेर्ने गर्छु । पछिल्लोपटक नयाँपुस्ताका मानिस अन्तर्वार्ता लिन तम्सेका देखिन्छन् । तर ती अधिकाँश आफैँ नाच्ने, प्रभावित हुने बलजफ्ती गर्ने खालका देखिन्छन् । यही प्रवृत्ति बढ्ने हो भने कुनै दिन तिनले अतिथिलाई बोलाएर स्टुडियोमै पिटनेछन् । कुनैबेला मलाई खट्कन्छ । अन्तर्वार्ता लिने व्यक्ति निकै बोधो छ । ल्वाँठ छ । न ऊसँग तर्क छ न बिषयबस्तुको गहिराइमा पुग्न सक्छ । उसले रिसर्च प्रश्न मात्र होइन, जो जवरजस्ती गर्ने तहसम्मै पुग्ने गर्छ । कतिपटक मलाई याद पनि छ ‘तपाईँ छातीमा हात राखेर भन्नोस् त, टाउकोमा हात राखेर कसम खानुस् त अथवा आमाको कसम खाएर भन्नोस् त ! सम्म भन्न भ्याउछन् प्रश्नकर्ता । म ठान्छु– र त्यो अन्तर्वार्ता किमार्थ सुन्नलायक हुन्न । श्रुतिमधुर बन्न सक्दैन । अनि बाध्य भएर च्यानल परिवर्तन गर्नैपर्छ । कतिपटक त अन्तर्वार्ताको मेरो आदर्शव्यक्तिको प्रश्नबाट हैरान भएको छु म ।

अन्तर्वार्ता पनि निकै औपचारिक हुन थालेको छ आजकल । बाहिर एकथरि भन्ने लाइभमा अर्कोथरि बोलिदिने । रेकर्डेट अन्तर्वार्ता नै नदिने पनि हुन थालेको छ । जान्दाजान्दै धमाधम ढाँट बोलिदिने । तैपनि प्रशारण गर्नुपर्ने अवस्था देखापर्दो छ । सयौँ मानिससँग लिइएको समीक्षात्मक बिश्लेषणात्मक अन्तर्वार्ताका क्रममा अन्तर्वार्ता लिने र दिने बीच निकै चिनजान भएजस्तो वा हिमचिम भएजस्तो लाग्छ । तर वहिर्वार्तामा ऊ चिन्दैचिन्दैन । कतिपटक अन्तर्वार्तामा ओ फलानोजी भनेकहरु र मैले दर्जनौँपटक अन्तर्वार्ता लिएको ब्यक्ति मलाई चिन्दैन । म ताजुपमा पर्छु मानिसको औपचारिकता देखेर । मात्र स्टुडियोमैत्री हुन्छ । स्टुडियोमै चिन्छ, बाहिर चिन्दैन । अन्तर्वार्तामा चिन्छ बहिर्वार्तामा चिन्दैन ।

मकवानपुर

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 17 जेठ, 2068

लेखकका अन्य रचनाहरु