प्रतिफल

- नारायण तिवारी

‘‘बुझ्नुभयो मैले दुई/तीन दिन भोक–भोकै विताएको छु ।’’ प्रदीपदाइ केही छिन् रोकिनु भयो र संगै सोफामा बसेकी श्रीमती तर्फ हेर्दै बोल्नु भयो– ‘‘यसले पेट काटेर लालाबालालाई हुर्काई...।’’

प्रदीप दाइ धाराप्रवाह बोल्न खोजिरहनु भयो, मानौं मनमा भएको भारी बिसाउन चाहनु हुँदो हो ।

‘‘रात–रातभरी घरको छाना चुहिएर जाग्राम बसेका छौं हामी ।’’ प्रदीप दाइ फेरि आफ्नी श्रीमती तर्फ उन्मुख हुँदै बोल्नु भयो– ‘‘यसले रात–रातभरी आँसु चुहाएकी छ । सहन सम्म सहन्छे यो । मानौं सहन नै यसको जन्म भएको थियो...।’’

म प्रदीप दाइको विगतमा आफैं पनि कमलो बनें । कुरा सुन्दै गएँ र भावुक हुँदै गएँ !
‘‘दाइ, जेहोस् तपाईंले संघर्ष गर्नुभयो । जीवनको कठिन यात्रामा धैर्य गुमाउनु भएन । सायद त्यसैको प्रतिफल आज यो वैभव...!’’

दाइले मेरो कुरा टुंगिन दिनु भएन । म इसारा गर्न खोज्दै थिएँ– आज उहाँका काठमाडौंमा ठूलठूला बिल्डिङ छन् । मोटर छ उहाँसित । छोराहरू डाक्टर, इञ्जिनियर छन् । सबै दाइको परिश्रमको फल... म इसारा गर्न चाहँदै थिएँ । तर दाइले बीचैमा उछिन्नु भयो– ‘‘होइन–होइन ! मैले केही संघर्ष गरेको छैन । मैले पसिना पनि चुहाएको छैन । म तपाईंलाई प्रष्ट भन्छु, मैले त खालि भ्रष्टाचार गरेको छु । ठूलठूला अनैतिक कार्यहरू मैले गरिसकेको छु....।’’

म मानौं छाँगाबाट खसें । भर्खरै मैले दाइलाई क्या संघर्षशील अनुकरणीय व्यक्तित्व ठानिरहेको थिएँ । म असमञ्जसमा परें– अब के ठानूँ उहाँलाई ?

उहाँ पुनः बोल्नु भयो– ‘‘मैले इमान्दारीसाथ पसिना मात्र चुहाइरहेको भए म बाँच्ने थिएँ ? मेरी श्रीमती बाँच्ने थिई ? यो देशको सेवामा समर्पित मेरा डाक्टर, इञ्जिनियर छोराहरू आज डाक्टर, इञ्जिनियर हुने थिए...?’’

म असमञ्जसमा पर्दै उठें– ‘‘दाइ ! अहिले जान्छु त !’’ बाटामा मलाई आफ्नै साथीहरूले भनेका कुराहरू तीर समान बिझ्दै रहे– ‘‘तँ भोकै मर्छस् ! हरिश्चन्द्र नबन्– तँ आफैं मात्रै होइन तेरा छोराछोरी पनि भोकै मर्नेछन्...!’’

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 14 जेठ, 2068

लेखकका अन्य रचनाहरु