एउटा मृत्युको कथा

- भरत बागलुङे

बाहिर सिमसिम झरी परिहेको छ । हिजो बिहान राजधानीबाट प्रकाशित हुने ठूला प्रकाशन गृहका अधिकांश पत्रिकाकोे समाचार थियो यस वर्ष पानी नपरी हिउँद बित्नै लाग्यो भन्ने । तर ती सबै समाचार छापिएको चौबिस घण्टा बित्दा–नबित्दै तिलस्मी शैलीमा मौसममा गडबढी शुरु हुनपुग्यो । साँझको प्रथम प्रहर शुरु हुँदा–नहुँदै शुरु भएको वर्षाले तापमान माईनसको दिशातिर घुम्न शुरु भएको छ । जाडो छल्नको लागि सिरक भित्र पसेर म टेलीभिजनको समाचारमा हराउन पुग्छु । आजको साँझ सबै भन्दा चिसो साँझ महशुस हुन्छ, आजको रात सबै भन्दा चिसो रात हुनेछ भोलीको दिन र रात अनिश्चित हुनेछन् कति अभागी अधमरा मान्छेको लागि । अभिमानको लागि ब्यवस्थाले ठगेकाहरु र ईश्वरको नाउँमा धर्म, संस्कृति र समाजका ठालुहरुका हैकमबाट ठगिएका र पिल्सिएका उनीहरु मध्ये कतिले भोलीको उज्यालो देख्न पाउने छैनन् । बाँच्नको लागि धेरै गाह्रो छ र मर्नको निमित्त यो चिसो रात काफी छ । सम्झदै दिक्क लागेर आउँछ ती पीडाजन्य क्षणहरु ।

देशको राजनीति विछट्टै विग्रदैं गएको छ टेलिभिजनका सादृष्य समाचार देख्दा अनुमान लगाउन सकिन्छ । राजनीतिले जनताको भविष्य निर्धारण हुने तेस्रो विश्वका देशहरुमा यस्ता उथलपूथल, हत्या, हिंसा र मारकाटले अर्थपूर्ण महत्व राख्छन् । मौसम जत्ति चिसो हुँदै गएको छ राजनीतिको क्रिया–प्रतिक्रिया उत्तिनै तातो हुँदै गएको छ । हठ, मूर्खता, परम्पराको अभिमानले चलेको राज्यसत्ता हरेक बिहान नयाँ निरङ्कुश चरित्र बोकेर जन्मिरहेको छ र साँझसम्म त्यस्ले अधिकार र स्वतन्त्रता खोज्नेहरुलाई आफ्नो शिकार बनाईरहेको छ । अब त यो देशको नागरिक भएर जन्मिएकोमा अफशोच लाग्न थालेको छ । माफ गर देश यो निराशा ब्यक्त गर्न अभिषप्त छु म किनकी म चौतर्फी रुपमा पराजित भईसकेको छु । मेरो लागि यो भन्दा आपैmलाई मूल्याङ्कन गर्ने कुनै शब्द नै छैन । मैले जस्लाई मनको आस्थाले ईश्वरको दर्जा दिएँ उनीहरुले नै मेरो विश्वासको भ्रुणलाई हुर्कन नदिई हत्या गरिरहेका छन् ।

निकै वर्षपछि मेरो उदास मन भुरुर्र उडेर चरी जसरी गाउँमा पुग्छ । थाहै नपाई पाँच–पाँच वटा हिउँद र वर्खाहरु वितेर गएछन् । गाउँ छोडेर हिंडे पछि, पाँच वर्ष पहिलेको एउटा चिसो हिउँदमा अकस्मात गाउँ छोडेर हिंड्नु परेको थियो । मैले गाउँ छोड्नुको एउटै कारण थियो वर्वरता विरुद्ध कविता लेख्नु । कविता लेखकै कारण मैले मेरो जीवनका थुप्रै उत्साहरु गुमाउन पुगें । मेरो घर भताभुङ्ग हुनपुग्यो । पूख्र्यौली वैभव लगभग माटोमा मिलीसकेको छ । म यता शहरमा जीवनका सुरक्षित ओत खोज्दै शरणार्थीको जस्तो जीवन घिसारी रहेको छु उता मेरी आमा अपमान र सामाजिक घृणाको आगोभित्र जल्दै छिन् उप्m.................।

सत्ताले थोपरेको बर्बरताको अर्को क्लिप देखापर्छ टेलीभिजनको पर्दामा र मेरो मनबाट मेरी दुःखी आमाको जीर्ण चेहेरा हराउन पुग्छ । अध्यक्ष राजाका पुलिसहरुमा सत्य प्रतिको आक्रोश चुलिदै गएको देखिन्छ । उनीहरु मृतप्रायः बनेको सत्ताको शरिरमा प्राण भर्न दिलोज्यानले लागिपरेका देखिन्छन् । विधिको शासन समाप्त भएको छ तर राज्यशक्तिको दुरुपयोग गरी राज्यसत्ताले कानुनीराज, प्रजातन्त्र र मानवअधिकारप्रतिको प्रतिवद्धताको वकालत गर्न लाज मानेको छैन । भविष्य धरापमा परिसकेको सत्ताको लाज भोकको उपचार खोजिरहेकी वेश्याको पेटिकोट भैंm निर्लज्ज उचालिन पुगेको छ । बेश्या र सत्ता–लाजको दार्शनिक कोणबाट नियाल्दा एउटै प्रतित हुन्छन् । दुबै निर्लज्ज । शहर कफ्र्यू र निशेधाज्ञाको चिहानघारीमा समाधिस्थ भएको छ । भयानक शुन्यता र रिक्तताको एउटा कोण थाहै नपाई जन्मिरहेको पनि छ .................“एक दिन एक युगमा एक पटक मात्र आउँछ र त्यस्ले उथल–पुथल र उलट–पुलट साथमै बोकेर पनि आउँछ”..........झ्यालबाट कालो वादलको गुम्फन भित्र गुम्सिरहेको आकासलाई नियाल्छु आकासको एक किनारामा उभिएर सधै हाँसिरहने रिमाल बाजे आज उनी पनि गुमनाम भएका छन् उनी पनि एक दिनको आगमनको प्रतिक्षा गर्दै होलान् आहा ! बालकको मन भैंm उद्देलित हुनपुग्छ मेरो मन ।

आज माघ सोह्र गते शहिद दिवसको दिन आज फेरी नेपाली राजनीतिले उल्टो बाटो हिंडीरहेको छ दुनियाँमा कुनै प्राणी या जीव–जन्तुले पछाडीको यात्रा तय गरेको रेकर्ड जीवशास्त्रीहरुले गरेका छैनन् तर राजनीतिको बाटोमा हिंडीरहेका केही पथिकहरु यो देशमा उल्टो यात्रामा देखिन्छन् । हत्याराहरुका उत्तराधिकारीहरुले आज शाासनको कुर्चिमा बसेर शहिदका फोटोहरुमा पूmल माला चढाउन दौरासुरुवालको राष्ट्रिय पोशाकमा सजिएर चिल्ला गाडीमा शयर गरी आईपुगेका छन् । शासकको शालिक शीरमा बोकेर अभिषप्त जीवन बाँचिरहेका शहिदहरु विलखवन्दमा परेका छन् । हत्यारा र अपराधिक कर्मका हिमायतीहरुले चलाएको शासन ब्यवस्थाका उत्पादनहरु कस्तो विचारका होलान् ? म दिक्दार साथ आपैmलाई प्रश्नवाचक चिन्हले घेरेर काँचको पर्दाबाट टाढा पु¥याउने यत्न गर्छु । जाने ठाउँ शुन्य मात्र छ जताततै फोहोरको डङ्गुर र कालो अँध्यारो मात्र छ यो घनघोर निस्पष्ट अँध्यारोमा सुखद र उल्लासपूर्ण भविष्यका डोरेठाहरु सारा पुरिन पुगेका छन् ।

जीवनका शेष प्रहरहरु साँच्चिकै यातनापूर्ण महशुस गर्न अभिषप्त भएको छु म । बर्बर सजाँयले जीवनका सबै सम्भावित सुखद क्षणहरु एक–एक गरी मरिरहेका छन् र म एउटा संवेदनाहिन मूर्दा शरिरको जीवन बाँचिरहने असफल प्रयासमा छु । जीवनका तिल गेडे सपना पूरा गर्न पनि कति गाह्रो भएको छ अहो ! एउटा औसत जीवनका औसत सपना पनि कति महङ्गा र दुर्लभ बन्दै गईरहेका छन् ।

बाहिर बिजूली चम्किन छोडेको छैन, वर्षाको गति अरु तीब्र बन्दै गएको छ । बेला–बेला गर्जिने बादलको भीषण आवाजले मुटुभित्र भय र सन्त्रासका भीमकाय पहाडहरु नै खडा हुनजान्छन् । झ्यालका मसिना प्वालबाट एकसाथ चिसो स्याँठ र कुकुरका स–साना छाउराको कुईंकुईं आवाज आईरहेको छ । पल्लो घरबाट आईरहेको बिहारीहरुको कोलाहलपूर्ण सर–सल्लाह अभैm सकिएको छैन । रोजीरोटीको नाउँमा नेपाल छिरेका भारतीय नागरिकहरुको कोलाहलले दिक्क बनाउँछ । कहिले काहिं त तिनीहरुलाई कोठामै गएर हप्काउनु पर्ने सम्म अवस्था हुन्छ । साईकलमा टोकरी राखेर घर–घरमा तरकारी बेच्न हिंड्ने विचराहरुको आफ्नै महाभारत छ उनीहरु मध्ये कतिजना यहि घरमा बस्न थालेको पनि दस वर्ष भईसक्यो भन्छन् । धोती र मधिसेको नाउँमा अपमान खाएर जीवनको रथ गुडाईरहेका उनीहरु भन्छन् अब त हामीलाई यस्ता सम्बोधनले केही असर पार्नै छाडेको छ ।

भारतीय नागरिक पछि एउटा अर्को पात्र मेरो स्मृतीमा सधैं आईरहन्छ नुवाकोटतिरको अधबैंशे उमेरको सोनाम तामाङ । दुई छोरी र एक छोरा सहितकी स्वास्नीको धनी सोनाम घर निर्माणसँग सम्बन्धित मजदुरी पेशा गर्छ, उस्की स्वास्नी बेलमाया दिनभरी सात वर्ष नकाटेका छोरा–छोरीहरुलाई काखमा राखेर धागो र काँटामा हात चलाई रहन्छे । छेवैमा हस्तकलाका सामान बेच्ने ब्यापारीको घर बैभवका सबै सनातन मान्यतालाई आत्मसाथ गरेर उभिईरहेको छ । धागो उसैले दिन्छ सोनामकी स्वास्नी गोराहरुको लागि स्वेटर, मफलर, टोपी र मिनीस्कर्ट इत्यादी बुन्छे मुनाफाको भारी बोक्छ आकास छुने महलको ब्यापारीले उस्को साँघुरो डेरामा चिसो चुल्होमा राम्रोसँग दुई छाक भात पाक्दैन र पनि विचरी सय पचास हात पर्दाको क्षण फुरुङ्ग परेर गालामा लाली चढुञ्जेल हाँस्न थाल्छे । साँझ सोनाम विजूली पानी चढाएर डेरामा फर्कन्छ र स्वास्नीको उत्साहलाई क्षणभङ्गुर खरानी बनाईदिन्छ । त्यसपछि शुरु हुने लोग्ने स्वास्नीको गृहयुद्धले टोलछिमेकको शान्तिलाई क्षण भरमै विथोलीदिन्छ ।

र तेस्रो थरी मान्छेहरुमा टोलका स्थायी बासिन्दाहरु छन् । अत्यन्तै छुद्र मनोवृत्ती यहाँको मान्छेको पहिलो परिचय हो । कहिल्यै कसैको–कसैसँग मेलमिलाप र भातृत्व छैन यहाँका बासिन्दामा । यो टोलको नाउँ मितेरी टोल भनेर कुन बुर्बकले राखे होला ? मेरो टाउको सधैं यहि विषयले दुखाई रहन्छ । यो अस्मेल र अमिल्दो नामाकरणले विगत पाँच वर्षदेखि मलाई गिज्याए जस्तो लाग्छ । मितेरी टोलको संक्षिप्त परिचय भनेकै कलह हो यसअर्थमा यस टोलको नाउँ कलह टोल हुनुपर्ने ! तर सरकारको कुन चैं निकायले हो कुन्नी यस टोलका घरका गेटहरुमा फलामका निला पाताहरुमा यस टोलको नाउँ मितेरी टोल भनेर टाँसिदिएको छ । आँखा नभएको मान्छेको नाउँ नेत्रलाल भए भैंm । धन नभएको बुङ्गाको नाउँ धन प्रसाद भने भैंm होला ! यसरी म आफ्नो मनको अशान्तिलाई मेटिरहन्छु ।

शहरको मुटुमा रहेको यो टोल शहर भित्रको पक्का गाउँ भैंm देखिन्छ गाउँले पाराको लवाई, खुवाई, हिंडाई, बोलाई देखि भट्टी हुँदै चिया पसलसम्म अनावश्यक समय ब्यतित गर्ने लोग्ने मान्छेहरु र एक अर्काको बदख्वाँई गर्दै घर गृहस्थीमा जोतिने आईमाईहरु यहाँ प्रशस्त छन् । त्यसो त यो टोलको निर्माण एक दशकदेखि मात्र तीब्र हुँदै आएको कुरा नव निर्मित घरहरुले बताउँछन् । गाउँबाट शहर छिरेका नब पिंढीका नब धनाढ्य वर्गको बर्चस्व रहेको यो टोल शहरका अरु थुप्रै टोलहरु भैंm एक अर्कासँग धेरै कुरामा समन्वय राख्छ । यहाँ थुप्रै भिन्न परिवेश र परिस्थितीले निर्माण भएका मान्छेहरु बसोबास् गर्छन् । राजनीतिका जंगलबाट आएकाहरु, ब्यवस्थालाई उपयोग गरेर राता–रात धनाढ्य बन्न पुगेका काला ब्यापारीहरु, युद्धबाट धन आर्जन गर्न खप्पिस मानवाधिकारबादीहरु, विकासे संस्थाका संचालकहरुदेखि लिएर दलाली बजारका भिन्न–भिन्न परिचयका मान्छेहरु यस टोलका खास मान्छेहरु हुन् । दस वर्ष पहिले झाडी वीच–वीचमा ज्यापूहरुले झाडी फडानी गरी निर्माण गरेका स–साना खेतका फोक्टाहरु बाहेक यहाँ सारातिर वनमाराको प्रकोप थियो । नजिकैको छाउनीका सिपाहीहरु कहिले काहिं यतातिर तरुनी लिएर टहलिन आउने गर्थे । र दिउँसै झ्याङ्मुनि रात पारी दिन्थे यहाँका आदीबासी ज्यापू बूढाहरु कहिले–काहिं ठट्टा गर्छन् प्रसंगवश । रातारात भू–माफियाको चंगुलमा परी विकसित हुन पुगेको यो टोलको इतिहास भनेको यत्ति हो ।

आज भोली नजिकैको छाउनीका सिपाहीहरुका स्वास्नी, छोरा–छोरीहरुको आश्रयस्थलमा परिणत हुनपुगेको यो टोलका चौंथोथरी मान्छेहरुको आफ्नै ब्यथा र कथा छ । गाउँमा युद्धको आगो दिन–प्रतिदिन नयाँ रुपमा विकसित हुँदै गएको छ–युद्धको यहि डढेलोको बीचबाट तिन्को जीवनको इतिहास शुरु हुन्छ ।

देशमा बढेको हिंसा–प्रतिहिंसा पछि शहरमा बढेको आवादीले मानवीय संकटको ठूलो चक्रब्यूहभित्र शहरलाई धकेली रहेको छ । यस टोलमा रहेका चौंथोथरी आईमाई मान्छेहरु युद्धले निर्माण गरेको संकट र भयभित्र त्रासपूर्ण जीवन ब्यतित गरिरहेका छन् । उनीहरु भन्छन् “लोग्नेले सरकारी सेनामा जागिर खाएकै कारण विद्रोहीहरुबाट असुरक्षाको महशुस गरी स्वेच्छा र बलजफ्ती गाउँ छोडेर हिंड्नु प¥यो ।”

शरणार्थीहरुको जस्तो लाचार जीवन ब्यतित गरिरहेका यी सरकारी सिपाहीका स्वास्नीहरु र म कविता लेखेकै कारण बर्बर सत्ताले गाउँबाट खेदेपछि सुरक्षित ओत खोज्दै शहरमा आईपुगेको अर्को एउटा विवश नागरिक हामी दुई यो टोलका समानान्तर बगाईका दुई असमानान्तर मिथकको परिचयमा बाँचिरहेका छौं ।

हामी यो टोलमा तेस्रो धु्रवका मान्छेहरुमा चिनिन्छौं–धेरै अर्थमा । हामी बीच न हार्दिक मित्रता छ न घृणाजन्य कटुता । मध्ये रातको एउटा निस्सास लाग्दो मोडमा पुगेर मैले अन्तिम पटक हाम्रो जीवनको पुर्नपठन गर्न पुगें ।

भोलीपल्ट म ब्यूँझदा टोल लगभग खाली भईसकेको थियो । सधैं मेरा कोठाको झ्याल छेउमा आएर चिच्याउने केटा–केटीहरु गायब थिए । जाडो छल्नको लागि घामको पहार ताप्न निस्कनेहरु पनि एउटै थिएनन् । सधैं देखिरहेका कुराहरु देख्न नपाउँदा मभित्र नरमाईलो लागि रहन्छ । सुर्यको छाँया र भित्तोमा झुण्डिएको घडीमा एकसाथ हेर्छु अहो एघार बजे सम्म सुतिएछ । अनी भुत्रो देखिन्छ केटाकेटीहरु र घाम ताप्न निस्कनेहरुको चेहेरा ! म आपैmभित्र फत्फताउँदै ओछ्यानबाट ज¥याक–जुरुक्क उठेर बाथरुम तिर ला्र्रग्छु ।

बाथरुमबाट निस्कदा–ननिस्कदै सुरेशको फोन आउँछ “यार थाहा पाईस् बर्दियामा भिडन्त भएछ हिजो राती दुबै पक्षका थुप्रै लडाकुहरु परेको आशंका छ । स्याङ्जाको चित्रे भञ्ज्याङ र मकवानपूरको फापर बारीमा पनि दोहोरो फायरिङ चलिरहेको छ रे ।

“तेरो पत्रिका बिक्री हुने एउटा सुवर्ण अवसर आएछ बधाई छ ।” मैले भनें ।

“के यो तँ बोल्दैछस् ?” सुरेश फोन मै गम्भीर बन्छ ।

“म हैन मेरो मरेको संवेदना बोल्दैछ । म सर्प जस्तो चिसो भएँ मित्र ।”

“तँ झुट बोल्दैछस् ।”

“साँचो बोल्नेहरु यो देशमा कति नै मान्छेहरु होलान् र !”

“आपैmलाई नढाँट ।”

“मेरो लागि यहि सबै भन्दा पीडाजन्य सत्य भएको छ । मैले आपूmलाई बदलें ।”

“किन ?”

“म मर्न चाहान्न ।”

“हा....हा....हा.......।” सुरेश फोन मै खित्का छोड्छ ।

“पत्यार लागेन ?” मैले फोन मै सोधें ।

“तँ बहुलाईस् ।”

“सुरेश म बाँच्न चाहान्छु–यसैकारण म बहुलाएँ ।”

“के अब बाँच्नको लागि प्रत्येक मान्छेले बहुलाउनै पर्ने भो त ?”

“सबैले हैन र जस्ले बाँच्न चाहान्छन्–उनीहरुले बहुलाउनै पर्छ ।”

“तैंले फेरी बिहान–बिहान पिउन शुरु गरिस् ?”

“मैले सत्य बोल्दैछु–नशामा हैन ।”

“के अब तँ नाङ्गिएर सडकमा महादेव जसरी हिड्ने छस् ?”

“जब मनुष्यको आत्म नै नाङ्गिई सक्यो भने बस्त्रले शरिर ढाक्नु किन प¥यो ।”

“तँ साँच्चिकै बहुलाईस् ।” यसपछि सुरेशले कुन्नी किन फोन काटी दियो ।

सुरेशको अकस्मातको निर्णयले मेरो मनमा नरमाईलो लाग्छ ।

सुरेशको पलायन पश्चात म पछाडी फर्कें । जीवनमा थोरै कुराहरु, थोरै विचारहरु, थोरै सोंचहरु मात्र पूर्ण हुन सक्छन् कतिपय कुराहरु यसरी नै अपूर्ण नै पूर्णविरामको बन्दी गृहभित्र बन्दी बन्न विवश हुन्छन् ।

हिउँदको एउटा चिसो साँझ मितेरी टोलमा पाईला राख्दा–नराख्दै एउटा दुखान्त सत्यलाई आत्मसात गर्नु प¥यो । मेरो कोठाको उत्तर तर्पmको छिमेकीको घरमा डेरा गरी बस्ने भोजपूरतिरको लिम्बु केटो र उस्कै बगलमा बस्ने पूर्वकै अर्को केटोको एउटै भीडन्तमा परी मृत्यु भएछ । मृत्यु हुने दुवै केटाहरु सेनाको रेञ्जर बटालियनका सिपाही थिए । माओवादीहरुसँग भएको मकवानपूरको भीडन्तमा एउटै घरमा डेरा गरी बस्ने ती दुई सिपाही केटाहरुको मृत्यु भएको खवर सुन्दा मेरो संवेदना मूर्छित हुन्छ । कतिन्जेल चल्छ यो हत्या र प्रतिहत्याको कुरुप खेल ? के प्राप्तिका लागि यसरी देशका होनाहार यूवाहरुले आपूmलाई बलिको बोका भैंm नष्ट पारेका छन् ? जीवनको अगाडी पनि अँध्यारो छ र पछाडी पनि उस्तै अँध्यारो छ, इतिहासको भूत मेरो मनलाई तर्साईरहेको छ ।

थोक–थोकमा मृत्युको खवर सुन्दा मृत्यु केही जस्तो लाग्न छोडीसकेको मेरो अन्तस्ःकरण छिमेकी भएर बसेका भाईहरुको मृत्युले विक्षिप्त बन्न पुग्छ । मुल्यहिन आँसु चुहानुको के अर्थ छ र ? तर पनि मेरा आँखाबाट खसेका आँसुमा ती भाईहरुप्रतिको प्रेमको प्रतिच्छाया नाचिरहन्छ । राज्यको नाउँमा मारिएका ती अभागीहरु एउटा थोत्रो भूतको रक्षाको लागि मात्र मरेका हुन् ? मेरो मनले समयसँग प्रश्न गर्छ ।

समय मलाई ब्यंग्य गर्छ–

“उनीहरु शहिद बनेका छन् !”

म–“हे समय शहिद भनेको को हो ?”

समय–“जो युद्धमा मर्छ ।”

म–“झुठ ।”

समय–“विश्वास गर र तिमी भन ?”

म–“अहम् ।”

समय–“अहम् नै शहिद हो ।”

म–घृणाको अहम् ।”

समय–“र प्रेमको अहम् ।”

म–“घृणा र प्रेमको अहम् !”

समय–“हो यहि अहम् नै जीवन र मृत्युको अन्तिम सत्य हो ।”

म समयसँग पराजित हुन्छु र पछाडी फर्कन्छु । जीवनको वरीपरी मृत्युको छाँया नाचिरहेको छ । जीवन अव यहाँ मृत्युको लागि मात्र जीवित रहेको छ !

नारायणस्थान, बागलुङ

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 14 जेठ, 2068

लेखकका अन्य रचनाहरु