प्रतिस्पर्धा

- कृष्ण बजगाईं

गरिबीका कारण देह ब्यापार गरिरहेकाहरु आम्दानी कम हुन थालेपछि चिन्तित बने । त्यो चिन्ता उनीहरुको संगठनसम्म पुग्यो । संगठनले ठान्यो–विश्वब्यापी आर्थिक मन्दीका कारण यस्तो भएको हुनसक्छ । तर सबैजना यस कुरामा सहमत हुन सकेनन् । त्यो असहमतिको स्वरलाई एउटा एन्जीओले प्रोजेक्ट बनाएर अगाडि बढायो ।

लामो अनुसन्धान पछि त्यो एन्जीओले रिपोर्ट तयार पार्यो । त्यसले देह ब्यापारमा संलग्न महिलाहरुको ठूलो भेला डाकेर सबैका अगार्डि त्यो रिपोर्ट सुनाउन थाल्यो । रिपोर्टमा लेखिएको थियो –‘परापूर्वकालदेखि चलिआएको यो ब्यापार दिन प्रतिदिन फस्टाउँदो छ । मात्र ग्राहकको रुची फेरिएको हो । आजकल उनीहरु सुन्दर, शिक्षित र ठूला घरानाका जस्ता लाग्ने यौन ब्यावसायी महिला खोज्न थालेका छन् । तिनलाई खोज्दै बाटो, .गल्ली, चोक तथा होटलमा भौंतारिनु भन्दा क्याटलग हेरेर, वेबसाइटमा खोजेर आफूलाई मनपर्ने लाई छान्ने गर्दछन् । नयाँ प्रविधिमा अभ्यस्त यस्ता नगरबधुहरुले यौन बजारमा कब्जा जमाएकाछन् । अब समयानुकुल तपाईहरुले पनि आफूलाई परिवर्तन गरी प्रतिस्पर्धामा आउनु पर्दछ । हामी तपाईहरुलाई प्रशिक्षण दिनेछौं । यसका लागि दाता समूहसँग सहयोगको लागि अनुरोध गरिसकेका छौं ।'

अनुसन्धानको रिपोर्ट सुनेर सहभागी ती सबै स्तब्ध भए । यत्तिकैमा एकजना सहभागी जुरुक्क उठेर बोल्न थाली– ‘हुन्छन् भनेर त्यसै भनेको होइन रहेछ । हामी जस्ता अनपढ गरिबको भाग खोसेर खानेहरुको सत्यानाश् होस् ! ती नखरमाउलीहरुलाई एडस् लागोस् !’

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 11 जेठ, 2068

लेखकका अन्य रचनाहरु