मृत्युको बस्तीमा
आशा के ?
निराशा के ?
कृत्रिम सास फेरेर
बाँच्नुको बहानाको
औचित्य के ?
अर्को अर्थमा
नपुसँकको निरिहपनालाई
सार्थक पारेको
जीवनको अर्थ के ?
औचित्य के ?
अदृश्य हातहरुको
ईशारामा नृत्य गर्ने
क्ठपुतलीको दाँजोमा
कत्ति फरक नहुने
जीवनमा रस के ?
निरस के ?
श्वासनली आफ्नै भए पनि
श्वास फेर्ने अर्कै छ,
पाईला आफ्नै भएपनि
हिंडिदिने अर्कै छ ।
सापटमा लगेको पाईला
अझै फिर्ता आएको छैन
डोब उसैको छ,
पदचाप पनि उसैको छ
उ निमग्न छ पाईलाको
प्रतिक्षामा
अनभिज्ञ छ उसको पाईलाको
दुरुपयोगको बारेमा ।
न त सास नै उसको रह्यो
मात्र आश बाँकि रह्यो
धमनीमा कुद्ने रक्त
अरु कसैको भयो ,
कसैसँग सापट लिए झैं
जीवन पनि तिर्नै पर्ने भयो ।
यसर्थ यसरी जिएको
जीवनको अर्थ के ?
मृत्यू के ?
मृत्युको बस्तीमा
आशा के ?
निराशा के ?
कृत्रिम सास फेरेर
बाँच्नुको बहानाको
औचित्य के ?
आर्लिङ्गटन, भर्जिनीया, अमेरिका
प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 9 जेठ, 2068