स्वतन्त्रताको वकालत गर्ने कविताहरू : मनको शिविरबाट

- होमशंकर बास्तोला

मान्छे शरणार्थी भएर होस् वा विपत्तिमा पर्दा ऊ सरकार वा सामाजिक सस्थाले संचालन गरेको शिविरमा आश्रयको लागि बस्दछ । तर मनको शिविरमा ती मानिसहरू बस्दछन्, जुन असल मित्रता वा व्यक्ति र समाजलाई पारेको सकारात्मक प्रभावबाट उसको मनको शिविरमा बस्न योग्य रहन्छन् । कवि छविरमण सिलवाल मनको शिविरबाट कवितासङ्ग्रह लिएर पाठकको माझमा आएका छन् । शिविरभित्र सुविधा छ वा छैन त्यहाँ बसेपछि मात्र सो थाहा पाइने कुरा हो । त्यसर्थ पनि छविरमणका कविताले पाठकको मन जित्न सक्छन् सक्दैनन् भन्ने थाहा पाउन सङ्ग्रहको शिविरभित्र छिर्नै पर्ने हुन्छ ।

समकालीन नेपाली साहित्यमा सरल र कुशल कविका रुपमा उनलाई चिन्दा फरक पर्दैन । कवि छविरमण सिलवाल साहित्यिक पत्रकारका रुपमा लागिरहेका भए पनि उनका सृजना समीक्षा, लेख, समालोचना तथा कवितामा पोखिरहेका छन् । यसै पृष्ठभूमिमा उनका ‘सहृदयी स्वरहरू’ (संयुक्त कवितासङ्ग्रह –२०५९), ‘र्सिजनाका लहरहरू’ (समालोचनासङ्ग्रह –२०६४) लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् भने मनको शिविर उनको तेश्रो कृति हो । यस सङ्ग्रहमा उनी समकालीन नेपाली बिषयवस्तु र युगीन यथार्थका चित्रहरूलाई उनको मनको शिविरबाट कृतिमा उतारेका छन् । यस सङ्ग्रहका अधिकांश कविता मनको कठोर शिविरलाई बाध्नेभन्दा पनि पाठकको कोमल हृदयलाई उद्देलित पारी समकालीन विषयबस्तुको बोध गराउन सफल छन्भन्दा फरक नपर्ला ।

यस सङ्ग्रहभित्रका कविताको अन्तरवस्तु हेर्ने हो भने समाजमा रहेका विसङ्गति, विद्रूपता, राजनैतिक अस्थिरता, प्रजातान्त्रिक अभाव अभिव्यञ्जित भएका छन् । समाज र परिवारमा देखिएका अभाव, गरिबी, अत्याचार तथा त्यसको उजागर गर्न काव्यिक बिम्बको माध्यमबाट व्यङ्ग्य गरेका छन् । यी कविताहरूमा समाजका यावत चित्रहरूको प्रतिबिम्ब घोलिएका छन् । त्यसमा पनि राज्यको लोकतान्त्रिक परिर्वतनको समेत उनले सालीन रुपमा व्यङ्ग्य गरेका छन् । एक त कवि जहिले पनि विसङ्गतिपूर्ण राजनीतिको प्रतिपक्ष रहन्छ । लेखकको कल्पनामा देशमा पूर्ण वाक्स्वतन्त्रता होस् र कलमले जहिले पनि नग्नताको कटाक्ष गरोस् भन्ने हो । निरङ्कुशताको बेलामा जव बन्दुक बोकेकाहरूको उन्मादले बन्दुक देखाएर कलमलाई ताक्छ । एउटा कवि वा लेखक बन्दुकको बदलामा कलम निकाल्छ र बन्दुकको गोलीले छेडेर बगेको रगतमा मसी भरेर लेख्छ । बन्दुकले मारे पनि त्यसको परिणाम अन्तमा स्वतन्त्रता स्थापना हुन्छ र कलम स्वतन्त्र रुपले बाँच्न पाउँछ ।
उसले ड्याम्म बन्दुक पड्कायो
रगत बग्यो
मैले रगतलाई मसी ठाने
र कलम चोबेर
नयाँ युगको थालनी गर्दै लेखेँ

हो त्यो रगतले लेखेको नयाँ युग कता गयो । जनताले नयाँ युग, नयाँ नेपालको कल्पना गरेर जीउ, ज्यान दिएर रगत बगाए जनयुद्ध वा लोकतान्त्रिक आन्दोलनमा तर त्यो नयाँ युग लोकतन्त्रको नाममा मात्र सीमित छ । संविधान निर्माणको नाममा राजनीतिज्ञहरू आफ्नो स्वार्थ पूर्ति गर्न लालायित भएकाले यो कलमले लेखेको नयाँ युग पुरानो युगको पुनरावृत्ति मात्रै होभन्दा फरक नपर्ला । कवि स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा छन् र देशमा भएको परिवर्तनले आम नेपालीमा सामाजिक र आर्थिक रुपान्तरणको नयाँ बिहानी आउनुपर्ने कविको मनसाय हो । कवि छविरमण सिलवालका कविताले राजनैतिक विद्रूपताको कटाक्ष मात्र गरेका छैनन् उनले लेख्ने र पढ्ने बेलामा दिउँसोको तातो घाममा खोलामा गिट्टी कुट्दै वालुवा चालेर छाक टार्ने ती राज्यद्वारा ठगिएका र गरिबीबाट प्रभावित भएका बाबुआमा, तीनका छोराछोरीप्रति ‘समर्पण गिट्टी कुट्ने हातहरूलाई’ भनेर देशको सरकारलाई मात्र होइन ईश्वरलाई समेत धिक्कार्छन् । रोजगारीको अभावमा कलम कापीहरू झोलामै थन्काएर विदेश पलायन हुनुपर्ने र आर्थिक उन्नतिको अभावमा बाँच्न विवश हाम्रो अवस्थालाई समेत कविताको भाषाद्वारा व्यक्त गरेका छन् । जताततै आफ्नो माग पूरा गर्ने नाममा प्रजातन्त्रको दुहाई दिँदै छाडातन्त्र देखिरहेको छ । यो पनि कविको वर्तमान नेपाली राजनैतिकज्ञहरूद्वारा आफ्नो अभिष्टता पूरा गर्ने क्रममा भएका दुष्कृतिको व्याङ्ग्य हो । यी कविताहरूले क्रान्तिकारी मनको अहमता उद्वोध गरिरहेका भए पनि विगतका रक्तपिपाशु प्रवृतिको अन्त्य गर्दै बुद्धत्व प्राप्तिको आशा राखेको देखिन्छ । कवितामा भएको विविध चेतना, युगवोध, युगीन चरित्र चित्रण, मानवीय आक्रोश, धार्मिक विक्रिति, भ्रष्ट र लिप्त प्रवृत्तिको समेत व्यङ्ग्यात्मक रुपमा कटाक्ष गर्दै नवीन चेतनाको कुशल संयोजनमा अग्रगामी आशा राखेको देखिन्छ ।

छोटा र सरल कविताले पाठकको अन्तरहृदय छुन सक्ने शक्ति कवि छविरमण सिलवालका कवितामा प्रस्ट पाउन सकिन्छ । उनका कविताले दासत्व, नारी उत्पीडन, राक्षसी प्रवृतिको विरोध गर्दै कविता मार्फत् क्रान्ति चेत छर्ने काममा समेत कोशेढुङ्गगा सावित हुने दिसामा अग्रसर रहेको देखिन्छ । नागरिक स्वाधीनता र लेखकीय स्वतन्त्रताको वकालत गर्ने उनका कविता पाठकीय मनलाई पगाल्न सक्षम छन् भन्ने कुरा कृतिको अध्यनबाट स्पष्ट पाउन सकिन्छ ।
कृति : मनको शिविरबाट (कवितासङ्ग्रह)
कवि : छविरमण सिलवाल
प्रकाशन : काभ्रेली साहित्य समाज
मूल्य : रु. १००/-
पृष्ट : ८०

दुबेकोल–७, खोटाङ

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 8 जेठ, 2068

लेखकका अन्य रचनाहरु