नेपाली साहित्यमा तत्वलेखन

- बिर्ख छेत्री "क्रान्ति"

क. तत्वलेखनः अनुभूतिको सार लेखन
जीवनयात्राका घटना, अनुभूति र विचारहरु विद्युतभन्दा तीब्र गतिमा बगिरहे । तर जीवनोपयोगी लोभलाग्दा अनेकौं तरङ्गहरू त्यत्तिकै खेर गए महाकालीको पानी, बिजुली र गरीबी जस्तै । ती तरङ्गहरू कागजको पर्खालमा थुनिहाल्न पाए, प्राकृतिक सम्वाद र दृश्यहरू माइक्रोचिप्समा ताजै ढकनी लगाइहाल्न पाए र सोचेका कुराहरू पामटपमा फरर टाइप भइहाल्न पाए नेपाली कला, साहित्य–संस्कृतिको समृद्ध भण्डारले सिङ्गो मानवीय सभ्यतालाई अझ कति सुन्दर र कालजयी बनाउँदो हो भन्ने लागिरह्यो । यही लागिरहनुको छट्पटीबाट तत्वलेखनको उपाय जन्मियो ।
तत्वलेखन अनुभूतिहरुको सार लेखन हो । अनगिन्ती भोक्ता, अनियन्त्रित व्यस्तता र अनन्त विचार तरङ्गहरुको संयोजन गरी सूक्ष्म आख्यान (क्याप्सुल साहित्य) निर्माण गर्ने प्रयत्न हो तत्वलेखन ।

ख. तत्वलेखनको विशेषता
1. तत्वलेखन नेपाली कला साहित्यमा अनुभूतिको सार प्रस्तुत गर्ने एक अभिव्यक्ति प्रयोग हुनेछ ।
2. लेखन, श्रव्य, दृश्य सबै विधिमा अभिव्यक्त गर्न सकिने विधा बन्नेछ ।
3. साहित्य लेखनमा बुँदा तथा उद्वरण लेखन विशेष शैलीको रूपमा देख्न सकिनेछ ।
4. मूर्त/अमूर्त कलाहरुमा इतिहास र परिघटनाहरुको समिश्रण हुनसक्नेछ (जस्तै बीचमा बुद्ध, अघि सुनामी, पछि शहीद महासङ्घ, माथि सुपर मुन, तल भूकम्प आदि) ।
5. चलचित्रहरूमा परिवेशको सग्लो चित्र देख्न सकिनेछ (जस्तै विजयको हाँसोभित्र पनि भय, अप्राप्तिको आँसुमा पनि संघर्षको स्वर र पुनः खोजीको बाटोमा कथाको समाप्ति आदि) ।
6. गीतहरूमा विषय वासनाको प्रेमभन्दा पर आत्मिक, पारिवारिक, मानवीय, प्राणीजन्य, प्रकृति तथ जलवायुसमेतको प्रेम र पात्रहरू प्रस्तुत हुन सक्नेछन् ।

ग. तत्वलेखनको भविष्य
1. यसले खानीमा थुप्रिएका अनुभवहरु बजारमा ल्याउनेछ । लेख्न सक्नेहरु आफ्नो अनुभूति आफैं लेख्नेछन् । लेख्न र देख्न नसक्नेहरुका लागि पनि वेदव्यासका गणेश लेखक निस्कनेछन् ।
2. अभिव्यक्तिका अनेकौं विधा र विधि विकास हुनेछन् ।
3. पात्रहरू ज्ञान, विज्ञान र मनोविज्ञान बोल्नेछन् । यसबाट कला साहित्यका सिर्जनाहरू दैनिक जीवनको आधारभूत आवश्यक्ता बन्दै जानेछन् ।
4. सिर्जनाहरू (घटना, अनुभूति, विचार) ताजा–ताजै सम्प्रेषण हुनेछन् । तिनले निजी तथा सामाजिक जीवनका दैनिक गतिविधिमा समेत प्रभाव पार्नेछन् (जस्तै महत्वपूर्ण सवालमा आम जनमत निर्माण आदि) ।
5. आम मानिसहरु सर्जक बन्न सक्नेछन् । विशेष गरी सार्वजनिक जिम्मेवारी बोकेका व्यक्तिहरूको अनुभव र अनुभूतिहरू समाजले पर्याप्त उपयोग गर्ने अवसर पाउनसक्नेछन् ।
6 बजार/समयको मागअनुसार तत्वलेखनको अर्थ र उपयोगिता रुपान्तरण हुँदै अघि बढ्नेछ ।


घ. तत्वलेखनका केही उदाहरणहरु
यस उदाहरणमा कविताका नमूना मात्र राखिएको छ । अन्य विधाका रचनाहरू क्रमशः आउनेछन् ।

१. सत्य
हो, सत्य एउटै रहेछ,
हरेकको आ–आफ्नै अडान ।
हो, सत्य अनेक पनि रहेछ,
हरेकको आ–आफ्नै दृष्टि ।

२. तटस्थता
तटस्थताको पक्षमा बक्नुपर्ने दिन,
म तटस्थ बसेको छु ।
चिन्यौ ! म कसको तट, कसको नदी हुँ ?

३. अक्षर
‘क’ पुरी ‘क’ नै भयो,
यसैले त यो ‘अक्षर’ अक्षर भयो ।

४. उद्घाटन
ढोकामा रिबन काटेर,
छातीमा व्याच भिर्ने पर्व,
कुन साल कसरी स्थापित भयो होला !

५. तोकिएकै समयमा संविधान बन्छ
तोकिएकै समयमा संविधान बन्छ–बन्छ ।
फरक यत्ति होः
समय कुनै पनि बेला तोकिनसक्छ,
समय जतिसुकै पनि तोकिनसक्छ,
समय जसले पनि तोक्नसक्छ ।
संविधान जत्रो पनि बन्नसक्छ,
जस्तो पनि बन्नसक्छ,
जसरी पनि बन्नसक्छ,
र, जसको पनि बन्नसक्छ ।

५. नयाँ नेपाल
हरेक नागरिकले आफ्नै योजना बनाउने प्रणाली देऊ,
हरेक नागरिकलाई उसको योजनामा सघाउने प्रणाली देऊ,
हरेक नागरिकले नयाँ नेपाल बनाउने एउटा पेन्सिल देऊ ।

६. शक्ति सन्तुलन
आजकल शक्तिशालीहरू सबभन्दा धेरै डराएका छन्,
डरले सबभन्दा धेरै कराएका छन्,
कराउँदा कराउँदा आफैंलाई हराएका छन्,
चोरेका, खोसेका र कमाएका शक्तिहरू पुनः वितरण गर,
तिम्रला लागि दुनियाँ काख थापेर पर्खिएका छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 2 जेठ, 2068

लेखकका अन्य रचनाहरु