झमकलाई सल्योट

- तुलसी प्रवास

प्रिय झमक,
हार्दिक बधाई तथा शुभकामना !
आज यो पत्रलाई फरक शैलीबाट प्रस्तुत गर्न मन लागिरहेको छ । तिमीलाई पत्र लेख्ने धेरै जमर्को गरेँ तर सबै असफल जस्तै भए । किन किन झमक तिमीसँग मलाई अति डर लाग्छ । मैले पढेका धेरै प्रिय लेखकहरुमध्ये तिमी पनि एक हौ । तिमीलाई पढ्दा पारिजातकी सकम्बरी याद आउँछ । त्यसैले पनि मलाई तिमीसँग डर लाग्छ । आज धेरै सोचेँ, सुरुमा त हात काँपेका थिए । तैपनि लेख्दै गएँ, लेख्दै गएँ । हेरौँ यो पत्र कहाँ पुगेर टुङ्गिन्छ ।

सर्वप्रथम त पत्र लेख्नु अगाडि तिमीलाई सम्बोधन गर्ने शब्द नै पाइन । के भनेर सम्बोधन गरुँ ? बहिनी भनूँ त मेरो भन्दा कैयौँ गुना उचाइ बनाइसकेकी तिमीभन्दा म आफू साह्रै फुच्चे लाग्यो । दिदी भनौँ भने उमेरले तिमीभन्दा २—४ वर्ष म पहिले आएको रहेछु । त्यसैले “प्रिय झमक” नै प्रिय लाग्यो र त्यसैले सम्बोधन गरेँ । आज विशेष गरी तिम्रो पछिल्लो पुस्तक “जीवन काँडा कि फूल” भित्र रहेर तिमीलाई केही कुरा लेख्ने प्रयास गरिरहेको छु ।

यस अगाडि मैले तिम्रो बारेमा धेरै सुनेको थिएँ । म एउटा साहित्यको विद्यार्थी र शिक्षक दुवै भएकोले तिम्रो बारेमा धेरै कुरा मेरा विद्यार्थीहरुलाई भनेको थिएँ । पत्रपत्रिका र पुस्तकहरुमा प्रकाशित तिम्रा विषयका लेखहरु र फोटाहरु लगेर कक्षा कोठामा देखाएको पनि थिएँ । विद्यार्थीहरु ठूला ठूला आँखा बनाएर सुन्ने गर्थे, हेर्ने गर्थे । तिम्रो बारेमा विद्यार्थीहरुलाई भन्दा कता कता मैले पढाउने गरेका पाठ्यपुस्तकहरुमा भएका हेलेन केलर, पारिजात र पछिल्लो समयका चर्चित वैज्ञानिक स्टेफेन हकिङ्ग जस्तै भनेर टिप्पणी गर्थे उनीहरु । संयोग कस्तो परेछ भने तिम्रो बारेमा बाहिर पत्रपत्रिकामा हल्ला चल्न थालेको र मैले पढाउन सुरु गरेको समय पनि एउटै जस्तो परेछ । त्यसैले पनि तिमी, म र मेरा विद्यार्थीहरुको सम्बन्ध झन आत्मीय बन्दै गयो । त्यतिबेलै तिम्रो पुस्तक “अवसानपछिको आगमन” बजारमा आउनासाथ सिधै कक्षाकोठामा लगेर पढाएँ । जसको कारणबाट हेडमास्टरले त मलाई गाली पनि गरे । ३२ र ३५ नम्बरको शिक्षाको भूतबाट ग्रसित हेडमास्टरलाई के थाहा मैले कस्तो शिक्षा दिइरहेको छु । त्यतिबेला तिम्रो लेखनी भर्खर भर्खर उर्वरावस्थामा थियो । माझिने र परिष्कृत हुने क्रममै थियो । मैले धेरै धेरै शुभकामना दिएको थिएँ तिमीलाई । त्यसपछि पनि तिम्रो बारेमा सुनिरहँे । तिमीले लेखेका लेखहरु पढ्दै गएँ । कान्तिपुर पत्रिकाको आफ्नै परिवेश स्तम्भद्वारा तिमीलाई आफूबाट अझै नजिक पाएँ । तिम्रा पुस्तकहरु लाइब्रेरी तथा पुस्तक पसलमा खोजी खोजी पढ्दै रहेँ । यसैक्रममा खूब चर्चा चल्यो तिम्रो जीवन काँडा कि फूल को बारेमा । गएँ बजार र किनेँ त्यो पनि ।

पुस्तक देख्दै किनौँ किनौँ रहेछ । मैले आजसम्म विशिष्ट व्यक्तित्वका जीवनीहरु धेरै पढेको छु । उनीहरुका विशिष्ट कार्यले नै मलाई जीवन बाँच्न र बाँचेर केही गर्नुपर्छ भन्ने प्रेरणा दिएका छन् । तिनै जीवनी पढ्दा र पढाउँदा वास्तवमै मलाई बडो आनन्द आउने गरेको छ । पुस्तक पसलमा बाहिरै झुण्ड्याएर राखेको तिम्रो पुस्तकको बाहिरी आवरणले नै पहिलो नजरमै प्रभाव पार्यो ।उज्यालो अनुहार ,सेता, टमक्क मिलेका दाँत र त्यो उन्मुक्त हाँसो ,आँखाको चस्मा, चस्मा भित्रका आधा खुलेका आँखा सहितको आकर्षक तस्वीर अनि त्यसैको छेउमा क्याक्टस जस्तो लाग्ने तीखा तीखा काँडासँगै मुस्कुराइरहेको फूल देख्दा साँच्चै पुस्तक किनौँ किनौँ ,पढौँ पढौँ लाग्दछ ।अनि पुस्तकको शीर्षक र यो आवरण बडो सुहाएको लाग्दछ । मैले पनि किनेँ , किन्नासाथ हस्ताक्षर गरेँ २०६७।१२।२४,पोखरा ।

मलाई मनपर्ने लेखकका कृतिहरु म बाहिरी आवरण पृष्ठबाटै कुनै अक्षर नछोडी पढ्ने गर्छु । पढ्दै गएँ ,आवरण पृष्ठबाटै । भित्रपट्टि तिम्रो आफ्नै हस्ताक्षर सहितको फोटो देख्दा झन आङ सिरिङ्ग भएर आयो । तिमीप्रति श्रद्घा, सम्मान र नेपाली साहित्यप्रतिको गौरव एकैचोटि छचल्किएर तरङ्गित भए । म हर्षले गदगद भएँ र त्यसैको अगाडिको खाली पानामा रातो कलमले यी शब्द लेखेँ —
तिमी अगाडि बढेको देखेर
दुनिया जलिरहन्छ
जलिरहन देऊ
तिम्रा सफल पाइलाहरु
कहिल्यै नरोकियून,
तिमी अगाडि बढिरहू,
तिमी शिखर चुमिरहू ।।
त्यसपछि प्रा. बालकृष्ण पोखरेलको “झमकलाई आदर आरती” पढेँ । अर्को पानामा डा. गोविन्दराज भट्टराईको लामो टिप्पणी पढेँ । यो पढ्दा पुस्तक आधा आधी बुझेको महसूस भयो । त्यो भन्दा पनि उनले लेखेको शीर्षक “यो भविष्यवाणी गर्दछु एकदिन झमक भेट्न विश्वसाहित्य नेपाल आउनेछ” ले मलाई अझै तरङ्गित बनायो ।

प्रिय झमक, यसरी नै पुस्तकका हरेक पृष्ठहरु पढ्दै गएँ । हातमा रातो कलम लिएर बसेँ । तिम्रा लेख भित्रका मन छुने र आफूलाई राम्रो लागेका हरफहरुमा रातो पोत्दै गएँ । पुस्तक पढेर सक्दा त पुस्तकका सबैजसो पानाहरु रातै रातो भएको पाएँ । यस अगाडि जगदिश घिमिरेको अन्तर्मनको यात्रा पढ्दा पनि मैले त्यसको त्यही हाल बनाएको थिएँ । तिमीले यस पुस्तकमा लेखेका हरेक शीर्षकका लेखहरु अत्यन्तै मर्मस्पर्शी छन् । तिम्रो लेखनी उच्च स्तरको छ । १० वर्ष अगाडिको तिम्रो पुस्तक अवसानपछिको आगमन भन्दा यसमा मैले धेरै विकसित लेखनी पाएँ । साँच्चै कुनै विश्वप्रसिद्घ लेखकको आत्मकथा भन्दा तिम्रो यो पुस्तक कम छैन । तिमीलाई बधाई छ अनि धेरे धेरै शुभकामना पनि यो तिम्रो नियमित पाठक र शुभचिन्तकको तर्फबाट ।

झमक, नेपाली साहित्य आफैमा महान छ । यहाँ समय समयमा यस्तै यस्तै प्रतिभावान व्यक्तित्वहरुले जन्म लिन्छन् । साहित्यको भण्डार चुल्याउँछन् ,जान्छन् तर उनीहरुले उचित सम्मान पाउँदैनन् । जीवनभर साहित्य लेखेर मर्ने बेलामा दर्दनाक र भयानक मृत्युवरण गर्ने देवकोटाको जीवनले हामीलाई समय समयमा झस्काइरहन्छ । देवकोटाको जन्म Geographical mistake थियो । हामीले उनलाई जीवीत छँदै चिन्नै सकेनौँ । त्यसैले पनि यो देशमा तिमीजस्ता प्रतिभावान मानिसलाई चिन्न र बुझ्न समय लाग्छ । जब समाजले बुझ्न थाल्छ तब धेरै ढिलो भइसकेको हुन्छ । तिम्रो जन्म पनि एक हिसाबले Geographical mistake नै हो । तिमी पश्चिममा जन्मेको भए आजसम्म हेलेन केलर बनिसक्थ्यौ होला । यो तिम्रो व्यक्तिगत जीवनको लागि घाटा भएपनि हामी नेपालीको लागि भने अहोभाग्य नै मान्नुपर्छ । मलाई तिम्रोबारेमा सुन्न थालेदेखि नै त्यही डर लागिरहेको थियो कतै झमकको प्रतिभा, झमकभित्रको त्यो सुनौलो, चम्किलो हिरा त्यसै मिल्किने त होइन भनेर । तर आज समय अलिकति अगाडि बढिसकेको छ । हिजो देवकोटाले जस्तै अब झमकले मर्नुपर्दैन, पारिजात झैँ अब झमकले खुम्चिएर बस्नु पर्दैन । तिमी लेखिमात्र रहू झमक तिमीलाई विश्वस्तरमा चिनाउने महान् हस्तीहरु तिम्रो साथमै छन् । डा. गोविन्दराज भट्टराईको लेख पढेपछि मलाई आज यो महसूस भइरहेछ । झमकलाई विश्वस्तरमा पुर्याउने जिम्मा उहाँहरुजस्तैको काँधमा छ । लेख्नुपर्छ, झमकको बारेमा उहाँहरुले अझै धेरै लेख्नुपर्छ । एकदिन विश्व साहित्य मात्र होइन विश्व मानव समुदाय झमकलाई सल्यूट गर्न नेपाल आउनेछ, यदि तपाइँहरुजस्ताको सद्भाव र सहयोग झमकप्रति रहिरह्यो भने । झमकको यस कृतिलाई विभिन्न भाषामा अनुवाद गरेर देश विदेशमा नेपाली साहित्य र झमक भित्रको अनौठो प्रतिभाको पहिचान गराउनुपर्छ विश्वभरि ।

पश्चिममा जन्मेकै कारण हेलेन केलर महान् बनिन्, स्टेफेन हकिङ्गले विज्ञान जगतका रहस्यहरु खोतल्दैछन् । बेलायतकी महारानीले आफ्नो व्यक्तिगत खर्चबाट उनको जीवन बचाइरहेकी छन् भन्ने सुनिन्छ । उनलाई अझै केही समयमात्र बचाउन सकियो भने विज्ञान जगतका सारा रहस्यहरु पत्ता लगाइदिन्छन् भन्ने विश्वास गरिएको छ । नेपालमा पनि समय समयमा यस्ता प्रतिभाहरु जन्मिन्छन् तर त्यसै ओइलाएर जान्छन् । त्यही नियति अब झमकले भोग्नुपर्ने छैन । तिमीले बाँचेको संघर्षशील जीवनबाट सारा मानव जगतले प्रेरणा लिनेछ । शारीरिक अपाङ्गता भन्दा मानसिक निश्क्रियता अभिषाप हो जुन हामी भोगिरहेछौँ । शरीर सपाङ्ग भएर पनि बुद्घिका अपाङ्ग हामीहरु यस धर्तीको लागि भार नबनौँ । सकिन्छ भने शरीर जस्तै बुद्घिलाई पनि सपाङ्ग बनाउनतिर लागौँ ।सम्पूर्ण मानव जगतलाई तिम्रो आत्मजीवनीपरक निबन्धले यही प्रेरणा दिन्छ । झमक तिमी बाँचिरहू युगयुगसम्म । तिम्रो सम्मान र कदर नेपाली साहित्यले गरिरहनेछ ।

प्रिय झमक, मलाई माफ गर म विषयवस्तुमा गहिरिन सकिन । के लेख्छु भनेर बसेको थिएँ के भयो । भावनामा डुब्दा डुब्दा कता कता हराएछु । जे होस् फेरि फेरि पनि लेख्दै गरुँला । तिम्रो नाम नै पर्याप्त छ । जति लेखे पनि तिम्रो संघर्षको कथा हामीले पूरा गर्नै सक्तैनौँ । तिमीले भोगेको पीडा हामी महसूस पनि गर्न सक्तैनौँ, मात्र अलि अलि अनुमान गर्न सक्छौँ । जीवन त जसले जस्तो भोग्यो उसैलाई मात्र थाहा हुन्छ । सबैलाई आफ्नै जीवनको घाउ ठूलो लाग्छ । तर तिम्रो घाउ अरुको भन्दा बेग्लै छ । एकदिन अवश्य पनि त्यस घाउमा खाटा लाग्नेछ । त्यही विश्वासका साथ तिम्रो अर्को कालजयी कृतिको प्रतिक्षा गर्दै र तिम्रो सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामनाका साथ आजलाई बिदा हुन्छु ।
उही तिम्रो
तुलसी प्रवास
पोखरा ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 29 बैशाख, 2068

लेखकका अन्य रचनाहरु